‘कलाकार भावनामा बग्ने जात हो’

सोमबार, १८ पुष २०७३, १० : १३ गोपाल दाहाल , Kathmandu
‘कलाकार भावनामा बग्ने जात हो’

नेपाली संगीतमा गणेश रसिक गायक, संगीतकार र गीतकारका रुपमा चिनिन्छन् । धेरै कथा र कविता पनि लेखेका रसिकको पुस्तक ‘दशगजामा उभिएर’ले २०६३ सालमा पद्मश्री सम्मान पायो । लेकाली समूहका संस्थापक उनका ‘घरबेटी नानी’, ‘कुखुरी काँ’, ‘आज भेडाबाख्रा कता लाने’ लगायत चार सय हाराहारी गीत छन् । हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव रसिकसँग गोपाल दाहालले गरेको अन्तरंग कुराकानी ः
‘रसिक’ उपनाम कसरी रह्यो ?
मेरो बुबा दार्जिलिङ पढ्दा उहाँको साथी हुनुहुन्थ्यो, अच्छा राई रसिक । मैले उहाँका उपन्यास पढेको थिएँ । मेरो परिवारमा गणेश नाम गरेका धेरै जना थिए । आफू चिनिनलाई फरक हुनुपर्ने भयो । त्यतिबेला साहित्य लेख्नेहरूले उपनाम राख्ने होड थियो । त्यसपछि मैले पनि गणेशकुमार राईको सट्टा गणेश रसिक राखेँ ।
नयाँ सिर्जना के–के गर्दै हुनुहुन्छ ?
नयाँ गीत, संगीत, कविताहरू सिर्जना गरिरहेको छु । चौथो कथासंग्रहको तयारीमा छु । त्यससँगै जिल्लाजिल्लामा कार्यक्रम हुँदैछन् । पुष २८ गते धरानमा सांगीतक कार्यक्रम हुँदैछ । त्यसै गरी, माघ अन्तिममा नेपालगञ्ज, महेन्द्रनगर, धनगढीमा ‘बार्दली’ले मेरो सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । अहिले गायक बन्न प्रविधि पछ्याउनुपर्ने रहेछ । त्यसको अभ्यासमा छु ।
कसरी पछ्याइरहनुभएको छ प्रविधिलाई ?
मैले धेरै गीत गाएँ तर अहिलेसम्म एउटा पनि म्युजिक भिडियो छैन । युट्युब, सामाजिक सञ्जालको पहुँचमा रहने अनि नयाँ गीतसँगै पुराना गीतहरूको भिडियो बनाउने सुरमा छु । भिडियो नबनाई नहुने रहेछ अहिलेको समयमा ।
अहिलेका गीत कस्ता लाग्छन् ?
नेपाली गीतमा मौलिकता हराउँदै गएको छ । अहिले पनि मौलिक गीत, लोकगीतको भविष्य चाहिँ राम्रो देख्छु । बजारमा पपुलर भएका गीतहरू लोक बेसकै हुन्छन् । त्यसले पनि मौलिक गीतको बजार छ भन्ने देखाउँछ ।
अहिलेका गायकहरूको कसरी मूल्यांकन गर्नुहुन्छ ?
अस्ति ‘धरानमा इलाम’ कार्यक्रममा गएको थिएँ । आफ्नै गीत भएका गायकहरूले पनि नारायणगोपालका गीत गाएको सुनेँ । अहिलेको पुस्तामा आफ्ना गीतप्रति आत्मविश्वास कमजोर छ । साधना कम भएर पनि त्यस्तो भएको हो ।
गीतसंगीतमा कसरी आकर्षित हुनुभयो ?
सानैदेखि बच्चु कैलाशको फ्यान थिएँ । इलाममा हुँदा २०२१ सालतिरबाटै गाउन थालेँ । सानोमा हामीलाई पढाउन दार्जिलिङबाट शिक्षकहरू भोजपुर आउँथे । स्कुलमा पढाउने शिक्षकलाई चामल, दाल सिदा दिनुपथ्र्यो । शिक्षकको तलब हुँदैनथ्यो । वार्षिक रूपमा सांगीतिक कार्यक्रम गरेर उठेको पैसा उनीहरूलाई तलबबापत दिन्थ्यौँ । त्यसबेला म नाच्थेँ । यस्तै वातावरणले संगीतकर्ममा लागेँ ।
तपाईंको पुस्तक ‘दशगजामा उभिएर’मा लाहुरे भिड्न हिँडेको प्रसंग छ नि ?
अधिकांश आफन्त लाहुरे थिए । त्यही लहैलहैमा म पनि टेस्ट पास गरेपछि भोजपुरबाट गल्ला छनोट भएर लाहुर भिडेँ । त्यतिबेला जीउडाल हेरेरै छनोट गर्थे । मेरा बुबा, हजुरबाहरू लाहुेर थिए, वंशाणुगत विशेषता हेरेर पनि मलाई छाने होला । तर, इन्डिया जाँदा राजबिराजमा विरामी भएपछि उता जान सकिनँ । आमा सानैमा बित्नुभएको थियो । बुबा असफल राजनीतिज्ञ थिए । सानीआमासँग बिदा भएर हिँडेको थिएँ, भोजपुर फर्किन मन लागेन । मेरा पत्रमित्र विष्णु नवीनले बोलाएपछि इलाम पुगेँ । त्यसपछि संगीतमा सक्रिय भएँ ।
पहिला आफैँ संगीतकर्मी हुँदा र अहिले प्रतिष्ठानको सदस्य–सचिव हुँदा के फरक पाउनु हुन्छ ?
पहिला सरकारले केही गरेन भनेर असन्तुष्ट हुन्थ्यौँ । तर, यहाँ बसेर हेर्दा सबै कुरा सरकारले मात्र गरेर हुँदैन भन्ने लाग्छ । सिर्जना भनेको व्यक्ति आफैँले गर्ने हो ।
तर, कलाकर्मीको अवस्था त राम्रो छैन नि ?
हाम्रो देशमा हरेक क्षेत्र संकटकालीन अवस्थामा छन् । जहाँ कलाकार व्यावसायिक रूपमा बाँच्न सक्दैनन्, त्यहाँ सरकारले केही गर्नुपर्छ । विदेशमा कलाकारलाई यस्तो एकेडेमीमा जागिर दिँदा पनि खाँदैनन् । किनकि, उनीहरूको एउटा सिर्जनाले नै जागिरभन्दा धेरै कमाउँछ । हाम्रो बजार सानो छ । धेरै समस्या छन् ।
एल्बम बिक्दैन तर पनि एल्बम निकाल्नेको संख्या बढिरहेको देखिन्छ । किन होला ?
संगीत क्षेत्रमा विभिन्न कारणले लाग्नेहरू छन् । कोही आत्मसन्तुष्टिका लागि भए पनि एल्बम निकालिरहेका छन् । कोही चाहिँ अरूको देखासिकीमा रहरले गीत गाइरहेका छन् । एकथरि चाहिँ पैसाकै बलले गायक बनेका पनि छन् । स्पोन्सर खोजेर गर्ने पनि छन् भने अर्काथरि घरखेत बेचेर गायक बन्ने पनि छन् । यस्तो भीडमा केही राम्रा कलाकार पनि आएका छन् । कति प्रतिभाले अवसर नपाएको अवस्था पनि छ ।
प्रतिभा भएर पनि अवसर नपाउनेका लागि के गरिनुपर्छ ?
प्रतिभाहरूलाई सरकारले संरक्षण गर्नुपर्छ तर बजेटको सीमाले चाहेको कुरा गर्न पनि धेरै गाह्रो छ । हाम्रो सिस्टममा एक लाखको काम गर्नुप¥यो भने ३० हजारको विज्ञापन गर्नुपर्छ । तीन पटक विज्ञापन छाप्दा बजेटै सकिन्छ । एक आनाको मासुलाई दश आनाको मसला भने जस्ता छन्, हाम्रा ऐन– कानुन । तिनलाई सच्याउनु आवश्यक छ ।
नेपाली संगीतको विकासका लागि प्रतिष्ठानले के गरिरहेको छ त ?
प्रतिष्ठानले विशेष गरी संगीत र नाट्य क्षेत्रका विषयमा अनुसन्धान गर्ने, संस्कृति संरक्षणको काम गर्ने हो । यही क्रममा नृत्यसम्बन्धी पुस्तक निकाल्यौँ, भैरवबहादुर थापाको । नेपाली संगीतमा नारी स्रष्टा नामक पुस्तक, नेपाली नाटकको विगत र वर्तमानबारे कृष्ण साह यात्रीको किताब निकाल्यौँ । अरू किताब पनि तयार गर्ने क्रममा छौँ । त्यस्तै, सात प्रदेशमा संगीत र नाट्य विधाको अभिलेख तयार गर्ने भनेर सात जना प्राज्ञको संयोजकत्वमा समितिहरू बनेका छन् । वैदेशिक सम्बन्धका लागि भारत सरकारसँग सांस्कृतिक आदानप्रदान गर्ने सम्झौता भएको छ ।
प्रतिष्ठानले पर्याप्त काम गर्न नसकेको गुनासो सुनिन्छ नि ?
यो प्रतिष्ठान स्थापना भएको जम्मा छ वर्ष भयो । मेरो पनि दुई वर्ष बित्यो, अब दुई वर्ष बाँकी छ । प्रतिष्ठानको आफ्नो भवन छैन, प्रदर्शनका लागि हल छैन । तालिम केन्द्र, लाइब्रेरी बनाउन सकिएको छैन । चाहेर पनि धेरै काम गर्न सकेका छैनौँ । कोसिसमा छौँ । अहिले पुराना स्रष्टालाई एक÷एक लाखसहित सम्मान गर्न थालेका छौँ दुई वर्षदेखि । कलाकारलाई व्यावसायिक बनाउने पहल गरिरहेका छौँ ।
कलाकारलाई कसरी व्यावसायिक बनाउन सकिन्छ त ?
धेरै कलाकारले अहिले पनि रेडियो, टेलिभिजन, दूरसञ्चारबाट पाउनुपर्ने रोयल्टी पाएका छैनन् । सीडी बिक्दैन । अहिले युट्युबको जमाना छ । प्रविधिसँग अपडेट नहुँदा मेरै गीतका अहिलेसम्म भिडियो बनेका छैनन् । अहिले पहिला जस्तो कलाकार एक्लैले गरेर बाँच्ने अवस्था छैन, टिम वर्क चाहिन्छ । टिममा सबै किसिमका ज्ञान भएका मान्छे चाहिन्छन् । त्यसैले कलाकारलाई प्रविधिसँग जोडेर लानुपर्ने अवस्था छ ।
पहिलेका गीतको तुलनामा अहिले गीतको गुणस्तर खस्कियो भनिन्छ नि ?
अहिले नेपालको संगीतबजार एकदमै अव्यवस्थित भयो । यसलाई व्यवस्थित गर्नैपर्ने अवस्था छ । हुन त साहित्य संगीत जस्ता क्षेत्रमा बन्देज लगाउनु हुँदैन भनिन्छ तर अहिलेको अवस्था देख्दा केही हदसम्म नियन्त्रण आवश्यक रहेछ जस्तो लाग्छ ।
लेकाली समूह कसरी स्थापना भएको थियो ?
हामी चे ग्वेभारा, गोर्की, लुसुनका साहित्य पढ्थ्यौँ, रेड बुक पढ्थ्यौँ । त्यसरी नै लेफ्टिस्ट भयौँ तर हाम्रा नेता थिएनन् । हामी जनवादी गीत गाउँथ्यौँ । राल्फा समूहका रामेश, मञ्जुल, रायन, नारायणभक्तहरूसँग पनि गायौँ तर पछि हिरन्य भोजपुरे, म, उर्मिला, निर्मला लगायतले २०२४ सालमा लेकाली समूह बनाएका हौँ । लेकालीले २५ साल, २६ साल र २८ सालमा ठूला कार्यक्रम आयोजना ग¥यो । पछि लेकाली कार्यक्रमका लागि एक महिना क्यानडामा बस्यो । अहिले लेकाली स्थापनाको ५० वर्ष भयो । ५० वर्ष पुगेको अवसरमा कार्यक्रम गरेर नयाँ पुस्तालाई हाम्रा गीत हस्तान्तरण गर्ने योजनामा छौँ ।
राल्फा समूहसँग गाउँदागाउँदै लेकाली गठन गर्नुपर्ने अवस्था किन आयो ?
सँगै गाउँदा हामीलाई राल्फाका गीत राजनीतिक नारा जस्ता लागे । शब्द क्रान्तिकारी, राजनीतिक, लय चाहिँ लोक थियो उहाँहरूको । हामीले चाहिँ ठेट लोक, लोक उखानतुक्का र आधुनिक गीत गर्न थाल्यौँ । ‘रातो भाले क्वाय क्वाय’ गीत त्यसरी नै बनाइयो । ‘ए है आज भेडाबाख्रा कता लागे’ गीत पनि त्यसरी नै । हामीले सामाजिक जनजीवनका गीतहरूलाई प्राथमिकता दिँदै लेकाली समूह चलायौँ । कुनै पार्टीमा आबद्ध भएनौँ । हामी जागिर पनि नछाडी प्रोगे्रसिभ धारमा गीत संगीत गरिरह्यौँ ।  राल्फालीहरू जागिरै छाडेर पार्टीमै आबद्ध भएर लागे ।
कलाकारितामा पहिलाभन्दा के फरक देख्नुहुन्छ ?
मैले देख्दा पहिलाभन्दा अहिले कलाकारको इज्जत बढेको छ । मेरै परिवारमा मलाई संगीत क्षेत्रमा लाग्दा आफन्तले ‘गाइने भयो’ भनेर हेला गर्थे । दुखिया भयो भनेर कुरा गर्थे । पुर्खाको इज्जत खत्तम पा¥यो भन्थे तर अहिले मेरै नाममा चिनाउन चाहन्छन् कतिले । कलाकारलाई माग्ने, गाइने भन्दैनन् अहिले । पहिला कलाकारिता जातिगत पेशा थियो । एकपटक गाउँमा विवाहमा नर्सिङ्गा फुकेको देखेर मज्जा लाग्यो । मैले पनि फुकेँ । आफन्तहरूले इज्जत फाल्यो भनेर हप्काए । अहिले ब्राह्मण, गुरुङ सबैले नौमति बजाउन थालेका छन् । पहिला गन्धर्व जातिले गाउने गर्थे, अहिले गायक बन्न कति मरिमेट्छन् सबै ।
तपाईंहरू जमिनदार हुनुहुन्थ्यो, होइन ?
हाम्रा पुर्खा कसैको बिर्ता पाएर जमिनदार भएका होइनन् । हामी खोटाङको सल्लेबाट भोजपुरको छिनामुख आएपछि सन्तानका छजना दाजुभाइ लाहुरे भए । त्यसबेला ढ्याके पैसा आउँथ्यो लाहुरेको तलब । बाजेहरू पैसा बोक्न धरानसम्म ढाकर बोकाएर मान्छे पठाउँथे । त्यही पैसाले जग्गाजमिन जोडे । बाजेहरूलाई चेतना भयो, सबैलाई पढाए राम्रो ठाउँमा ।
तत्कालीन राजा महेन्द्रलाई गीत सुनाउन दरबार जानुहुन्थ्यो रे !
बुबाको पुस्ता सुरुदेखि कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । त्यसबेला कांग्रेस दुई फ्याक बनाए मातृका र बीपीले । बुबाहरू मातृकाको पक्षमा हुनुहुन्थ्यो । २०१७ को परिवर्तनमा मातृकाले राजालाई समर्थन गरे । बीपी जेल परे । महेन्द्र हुँदासम्म उहाँहरूको सम्बन्ध थियो दरबारमा । वीरेन्द्र राजा भएपछि दरबारमा चाकरीप्रथा सुरु भयो । त्यसपछि हाम्रो पुस्ता भने लेफ्टिस्ट गयो । राजा महेन्द्र गज्जबका थिए । हामी लेफ्टिस्ट भनेर थाहा पाए पनि उनी दरबारमा गीत सुनाउन बोलाउँथे । ‘यस्तो गीत नगाउनू’ भन्दैनथे । हामी दरबारमै गएर जनवादी टाइपका गीत महेन्द्रलाई सुनाउँथ्यौँ । पछि रेडियो नेपालले क्रान्तिकारी गीत भनेर नबजाएका गीत वीरेन्द्रलाई सुनायौँ ।
तपाईंलाई दरबारनिकट कलाकार पनि भन्छन् नि ?
म त्यतिबेला राष्ट्रिय नाचघरको कलाकार थिएँ । राजाको जिल्ला भ्रमणका बेला कलाकारलाई पनि लैजान थाले । जिल्लामा गएर नाच्यौँ । २०३८ सालमा रत्न रेकर्डिङको महाप्रबन्धक भएँ । २०४० सालमा मन्त्रीसँग सम्बन्ध राम्रो नहुँदा छाडेँ । त्यही साल सांस्कृतिक संस्थानको महाप्रबन्धक नियुक्त भएँ । २०४७ सालसम्म रहेँ । त्यसैले यी ठाउँहरूमा बस्दा दरबारसँग नजिक हुनु स्वाभाविक थियो । तर, मलाई चित्त नबुझेको कुरा– राजाको हातको टीका लगाउनेहरू, राजाको पालामा गोली ठोक्नेहरू, राजाको आदेशमा काम गर्ने नेताहरू राजावादी नहुने तर हामी गीत गाएर हिँड्दा चाहिँ राजावादी हुने । राजनीति गर्नेले चाहिँ जे गरे पनि हुने हो ?
अहिले एमाले हुनुभएको हो ?
हामी कलाकार स्वभावैले भावनामा बग्ने जात हो । जसले राम्रो ग¥यो, उसैको नजिक हुने स्वभाव हुन्छ । मलाई पनि राजा वीरेन्द्रले तिमीले साथ दिनुपर्छ भनेपछि मख्ख परेँ । राजनीतिक नेताहरू पनि आफूसँग नजिक हुने, आफूलाई मन पर्नेसँग संगत हुन्छ । म पहिलादेखि अहिलेसम्म प्रगतिशील धारमा छु । अहिले झलनाथ खनालसँग कुरा मिल्छ, विचार मिल्छ । तर, म एमाले होइन, झमाले हुँ । एउटा कलाकार भएकाले मन मिल्नेसँग नजिक भएँ हुँला तर भन्नेहरूले पञ्चायत, बहुदल, लोकतन्त्रदेखि गणतन्त्रसम्म रसिकले खायो पनि भन्छन् । राजनीति गर्नेहरू समयअनुसार परिवर्तन हुन सजिलो तर कलाकारलाई दोष पखाल्ने ठाउँ नहुँदो रहेछ ।
नयाँ पुस्ताका संगीतकर्मीलाई कस्तो सुझाव दिनुहुन्छ ?
गुलाम अलीलाई उनका गुरुले २० वर्षसम्म स्टेजमा गाउन दिएनछन् । २० वर्षको साधनापछि भने, ‘ल गाउन जाऊ, तिमीले पछाडि फर्किनुपर्दैन ।’  त्यस्तै पनि भयो । त्यसैले नयाँ पुस्ताले हतार नगरी अभ्यास गर्नुपर्छ, सिक्नुपर्छ, साधना गर्नुपर्छ । सस्तो लोकप्रियताको पछाडि लाग्नु हुँदैन ।

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17