यौन दुराचारीको निशानामा बालक

आइतबार, १७ पुष २०७३, १० : ११ अम्मर जिसी , Kathmandu
यौन दुराचारीको निशानामा बालक

कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र कुत्सित इरादा पूरा गर्ने  यौन दुराचारीहरू बढिरहेका छन् । पछिल्लो समय बालिकाका साथै बालकहरू पनि उनीहरूको निशानामा परिरहेका छन् । अझ सडक बालबालिका जोखिममा पर्ने नै भए । घुम्ने निहुँमा नेपाल आएर बालकहरूलाई शिकार बनाउने पर्यटक पनि बढ्दै छन् । अन्तर्राष्ट्रिय स्तरमै कुख्यात बाल यौन दुराचारीहरू पनि नेपालमा पक्राउ परिरहेका छन् ।  विदेशीलाई बालक उपलब्ध गराउने गिरोह नै सक्रिय छ । अम्मर जिसीले बाल यौन दुराचारको भयानक तस्बिर प्रस्तुत गरेका छन् ।
खैरो मेहदी लगाएको कपाल । जिन्स प्यान्ट र बुद्धको चित्र अंकित कालो टिसर्ट लगाएका सुवासको चेहरा उज्यालो छ । साँच्चै, मायालु देखिन्छन् उनी ।   
‘बुद्धको चित्र मन पर्छ ?’
सुरुकै जिज्ञासा भुइँमा खस्न नपाउँदै उनले भने, ‘बुद्धभन्दा त मलाई रोनाल्डो मन पर्छ ।’
१३ वर्षे बालापनमा रमाइरहेका यी बालकले त्यो नमिठो विगत लगभग बिर्सिसकेका हुन् कि भन्ने संकेत देखिन्थ्यो उनका हाउभाउमा । आफूलाई संरक्षण दिइरहेको संस्थाको छतमा घाम ताप्दै कापीमा सिसाकलमले केरकार गर्दै गरेका बेला भेटिएका उनी भविष्यमा ‘ठूलो मान्छे’ बन्न चाहन्छन् । अंग्रेजीमा आफ्नो हस्ताक्षर गर्न सिपालु छन् उनी ।  
किशोरावस्थामा प्रवेश गर्दै गरेका उनीमाथि केही महिनाअघि मात्र वज्रपात आइप¥यो । प्रहरीका अनुसार ललितपुरको बंगलामुखी मन्दिर परिसरको पेटीमा सुतिरहेका सुवासमाथि २८ वर्षका योगेश श्रेष्ठले घिनलाग्दो र क्रूर चरित्र देखाए । मन्दिरभित्रको भजनगृहमा लगेर सुवासमाथि यौन दुराचार गरेका थिए । यतिबेला ललितपुर जिल्ला अदालतले जबर्जस्ती करणी तथा अप्राकृतिक मैथुन मुद्दामा योगेशलाई नख्खु कारागार चलान गरेको ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले जानकारी दिए ।
०००
यौन दुराचारीका गिद्धे नजरहरू यतिबेला कलिला बालकतिर सोझिएका छन् । जबर्जस्ती करणी अर्थात् बलात्कारजस्तो जघन्य अपराधको शिकार भइरहेका छन् उनीहरू । घुम्ने निहुँमा पर्यटक भेषमा नेपाल छिरेका विदेशी हुन् वा टोलछिमेककै चिनजानका वा आफन्त भनाउँदाहरू र बालबालिका संरक्षणका नाममा आफ्नो निहित स्वार्थ पूरा गर्नेहरू नै किन नहून्, बालकहरूमाथि यौन दुराचारको आतंक मच्चिरहेको तथ्य सार्वजनिक भएका छन् र अभिभावकहरू त्रस्त छन् ।
०००
२०६० सालतिरको घटना हो । काठमाडौँका एक घरबेटीले डेरावालको सात वर्षीय छोरामाथि गरेको यौन दुराचारलाई अदालतले छिनोफानो गरिदिएको थियो । कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की अधिवक्ता पुण्यशिला दवाडीका अनुसार अदालतले यो घटनामा दण्ड सजाय ‘बालिका सरह नै हुने गरी’ जबर्जस्ती करणीको फैसला गरेको थियो । उनका अनुसार त्यसअघि पनि विदेशीहरूबाट भएका यौन दुराचार घटनामा अदालतले संवेदनशील भएर न्यायनिसाफ गरिरहेकै थियो । ‘यद्यपि, त्यतिबेला कानुनमा स्पष्ट व्याख्या नहुँदा केही समस्या थियो,’ उनले भनिन्, ‘व्यावहारिक रूपमा संवेदनशील भएर नै मुद्दा अघि बढ्ने गरेका थिए । त्यसपछि मुलुकी ऐनको एघारौँ संशोधनले अप्राकृतिक मैथुन उल्लेख ग¥यो । २०७२ सालको पछिल्लो संशोधनले त झन् बाल यौन दुराचारी (पेडोफाइल)  नै उल्लेख गरेकाले कानुनी रूपमा सहज भएको छ ।’
ललितपुर जिल्ला अदालतमा न्यायाधीश टेकनारायण कुँवरको बन्द इजलासले ४८ दिन लामो बहसपछि ४४ पेज लामो फैसला गरेको थियो । जुन फैसला अहिले पनि बाल यौन दुराचारका घटनामा नजिर बन्ने गरेको बताईन्छ । अपांगता भएका १५ वर्षीय बालकलाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने ७१ वर्षीय क्यानडाली नागरिक अर्नेस्ट फेनविक म्याक्लन्तोसलाई सात वर्ष कैद, १५ लाख रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो । एक हात नभएका बालकलाई कृत्रिम हात बनाइदिने, विदेश लगिदिने, पैसा दिलाइदिनेलगायत प्रलोभन देखाएर उनले नेपाल आएपिच्छे यौन दुराचार गर्ने गर्थे । उनी कुख्यात यौन दुराचारीका रूपमा अन्तर्राष्ट्रिय स्तरमै चिनिएका थिए । क्यानडामा मात्र उनीविरुद्ध बालकमाथि अप्राकृतिक मैथुनका ४६ ओटा मुद्दा दर्ता थिए । भारत र श्रीलंकामा पनि पटकपटक बालकमाथि अप्राकृतिक मैथुन अभियोगमा पक्राउ पर्दै क्यानडा सुपुर्दगी हुँदै आएको उनको विगत थियो ।
‘हामीले संवेदनशील भएर जतिसक्दो कडा कानुनी व्यवस्थालाई अंगालेर पीडितलाई न्याय दिन खोजेका थियौँ,’ हाल चितवन अदालतमा मुख्य न्यायाधीश रहेका कुँवरले भने, ‘ती विदेशीको उमेर र अवस्थालाई पनि मध्यनजर गरेर जबर्जस्ती करणीमा छ वर्ष र अप्राकृतिक मैथुनमा एक वर्ष गरी सात वर्ष कैद फैसला ग¥यौँ । नत्र १० र एक गरेर ११ वर्षसम्मको कैद फैसला गर्न सकिन्थ्यो ।’
काठमाडौँको अत्तरखेलमा फ्रेन्च नागरिक जी ज्याक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका थिए । चितवनमा बालकसँग यौन दुराचार गरेको अभियोगमा देवराज पौडेललाई प्रहरीले पक्रेको थियो । चितवनमै बाल यौन दुराचारको आरोपमा पक्राउ परेका जर्मन नागरिक मेनफ्रिन्टमाथि प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको थियो ।
जर्मन नागरिक स्किलिङ भोन कन्सट्याटलाई प्रहरीले पोखराको लेकसाइडस्थित एक होटलबाट बालकमाथि यौन दुराचार गर्दै गरेका बेला रंगेहात पक्राउ गरेको थियो । पोखरामै बाल यौन दुराचार गरेको आरोपमा भारतको उडिसा घर भई पोखरा बस्दै आएका अशोक रावलले १० वर्षीय बालकमाथि यौन दुराचार गरेको अभियोगमा कास्की प्रहरीले पक्रेको थियो ।
कुख्यात अन्तर्राष्ट्रिय यौन दुराचारीको निशानामा
अन्तर्राष्ट्रिय स्तरमै कुख्यात भनेर चिनिएका बाल यौन दुराचारीको निशानामा नेपाली बालबालिका परेका छन् । पछिल्लो समय पक्राउ परिरहेका विदेशीको पृष्ठभूमि केलाउँदा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो । यसैकारण नेपालका पर्यटन व्यवसायीहरू पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ । त्यस्ता विदेशीहरू नेपाल आउँदा उनीहरूलाई बालक खोजिदिन गिरोह नै लाग्ने गरेको छ । पछिल्लो पटक ठमेलमा पक्राउ परेका अमेरिकी नागरिक केनेथ जोसेफ कमबसलाई बालक उपलब्ध गराउने लुच्चे भन्ने बुद्ध पतुवार पक्राउ परेपछि धन्दामा संलग्न गिरोह नै फरार भएको बताइन्छ । ‘यसमा ठूलो सञ्जाल नै छ,’ पीडितको वकालत गरिरहेको संस्थाका एक प्रतिनिधिले भने, ‘लुच्चे पक्राउ परेपछि सबै फरार भए । बालबालिका जम्मा पार्ने गिरोह गाउँदेखि शहरसम्म फैलिएको हुन्छ ।’ विदेशीलाई बालक उपलब्ध गराउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गुपचुप राख्न खोज्ने प्रवृत्ति
यस्ता घटनालाई सार्वजनिक हुनै नदिने, भइहालेमा पनि मिलाउन खोज्ने प्रवृत्तिका कारण न्याय दिलाउन समस्या हुने गरेको अधिकारकर्मीहरूको भनाइ छ । ‘घटनालाई प्रहरीसम्म पुग्न नदिने र पुगिहालेमा प्रहरीलाई दबाब, प्रभावमा पार्ने चलनले मुद्दालाई बलियो रूपमा अघि बढाउन समस्या भइरहेको छ,’ बालअधिकारको क्षेत्रमा काम गर्दै आएको एक संस्थाका प्रतिनिधिले भने । उनका अनुसार पछिल्लो पटक काठमाडौँ, नयाँ बानेश्वर–३४ को सामुदायिक प्रहरी कार्यालयमा आएको एउटा घटना दर्ता हुन नपाउँदै तुहाउन खोजियो । ३४ नम्बर वडाभित्रकै एक निजी स्कुलका कर्मचारीबाट १६ वर्षीय बालकमाथि भएको दुराचार गुपचुप गर्न खोजिएको छ । सामुदायिक प्रहरीका प्रमुख सई वासुदेव नेपालले एक सार्वजनिक कार्यक्रममै यो घटनाको खुलासा गरेका थिए । उनी अहिले यो घटनाबारे थप बोल्न चाहँदैनन् ।
बालअधिकार क्षेत्रमा कार्यरत ती प्रतिनिधिका अनुसार सिंहदरबार प्रहरी वृत्तमा दर्ता भएको एउटा घटनालाई पनि प्रहरी सार्वजनिक नहोस् भन्ने चाहन्छ । उनी भन्छन्, ‘‘पत्रकारलाई किन खबर गरेको ?’ भन्दै प्रहरी कर्मचारीहरू पीडितको पक्षमा वकालत गरिरहेकालाई प्रश्न गर्छन् ।’ आफूलाई क्लिनिक सञ्चालक डाक्टर जीत बताउने एक ४० वर्षीय व्यक्तिले कोटेश्वरमा एक किशोरमाथि यौन दुराचार गरेका थिए । अपराध महाशाखाको साइबर क्राइम युनिटको सहयोगमा यो घटनामा अभियुक्त र पीडितको ‘कल डिटेल’ प्राप्त भइसकेको छ । तर, लोकेसन प्राप्त नहुँदा आरोपी पक्राउ गर्न समस्या भएको वृत्तका सई विशाल बोगटीले बताए ।
अधिवक्ता पुण्यशिला दवाडीको भनाइमा पछिल्लो समय प्रहरी केही संवेदनशील देखिएको छ । ‘पहिला त प्रहरीको साथ नपाउँदा एकदम दुःख पाइन्थ्यो,’ उनले अनुभव सुनाइन्, ‘अहिले प्रहरीको साथ पाएका छौँ । कुनै एक युनिटलाई दोषी देखाउनुभन्दा यस्ता घटनामा पीडितलाई संरक्षण गर्ने कुरामा सबै चनाखो हुनैपर्छ । ठूलाबडाबाट प्रहरीलाई दबाब, प्रभाव भएन भने काम गर्न सजिलो हुन्थ्यो ।’
दुराचारीहरूको पहुँच र शक्तिका सामु अधिकारकर्मीसमेत त्रसित हुने गरेका छन् । बालकमाथि भएका यौन दुराचार घटना बारेको समाचारमा संस्थाको पहिचान उल्लेख नगरिदिन उनीहरू आग्रह गर्छन् ।
किशोर तथा युवाहरू पनि पीडित
यौन दुराचारीबाट पीडित छन्, किशोर तथा युवाहरू पनि । सडक छेउमा ठेला पसल चलाउँदै आएका १९ वर्षीय सुजन आफूलाई प्रलोभनमा पारेर ३० वर्षीय व्यापारीले यौन दुराचार गरेको बताउँछन् । ‘सस्तो, उधारोमा सामान दिने भनेर उसले ममाथि मनपरी ग¥यो,’ उनले घटना सुनाए, ‘त्यसपछि उसकोमा कहिल्यै गइनँ म । यो घटना अरूलाई कसरी भन्नु ?’ २० वर्षका रमेश यस्तै घटना घरमा सुनाउँदा घरनिकाला नै भएको दुखेसो पोख्छन् । ‘मलाई फरक लिंगको भन्दै घरबाटै निकाला गरियो,’ उनले भने, ‘अहिले भाडामा बस्छु ।’
सुमन अहिले २२ वर्षका भए । आफूमाथि दुई वर्षअघि भएको दुराचार घटना सम्झँदा अहिले पनि झस्किन्छन् । ‘मलाई प्रलोभनमा पारेर होटलमा लगेर रक्सी खुवाएर केके ग¥यो, अहिले पनि सम्झँदा कहाली लाग्छ,’  उनले भने, ‘मोबाइलबाट रेकर्ड पनि गरेको रहेछ । त्यसलाई नै ब्ल्याकमेल गर्ने हतियार बनायो । मेरो इज्जत र धन धेरै लुट्यो । अहिले सम्पर्क हुन छाडेकोमा एकदम खुशी छु ।’
मनोवैज्ञानिक पाटो
यस्ता घटनामा समलिंगी, तेस्रोलिंगी स्वभाव भएका व्यक्ति मात्र संलग्न हुने बुझाइलाई तथ्यहरूले गलत साबित गरिदिएका छन् । जुनसुकै व्यक्तिबाट पनि यस्ता घटना हुने गरेको देखिन्छ ।  
मनोचिकित्सक डा. रवि शाक्यको बुझाइमा मनोरोग भएका व्यक्ति पनि यस्ता घटनामा सामेल हुन सक्छन् । ‘यस्ता घटनामा पीडित भएका बालकहरू नै पछि गएर त्यस्तो अपराध गर्न सक्नेप्रति सचेत भएर आवश्यकता हेरेर मनोसामाजिक उपचार पनि गर्नुपर्छ,’ उनले खतरा औँल्याए, ‘घटनालाई जति लुकाउन खोजिन्छ, पछि गएर हुने ठूलो विष्फोटले झन ठूलो खतरा निम्त्याउन सक्छ ।’
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार सडक बालबालिका यौन दुराचारको ठूलो जोखिममा छन् । ‘जसलाई सानो प्रलोभनमा आफूतिर तान्न सकिन्छ, दुराचारीहरूले उसलाई ताक्ने गरेका छन्,’ उनले भने, ‘नशालु पदार्थ खुवाएर पनि त्यस्तो गर्न सक्छन् । पर्यटन क्षेत्र, होस्टेल, गुम्बा र संघसंस्थाले संरक्षण गरिरहेका स्थानमा यस्ता घटना भएका देखिन्छन् ।’    
(फिचरमा उल्लेखित पीडितहरूका नाम परिवर्तन गरिएका छन् ।)
कुख्यात दुराचारी केनेथ

नामः केनेथ जोसेफ कमबस
देशः अमेरिका
उमेरः ४८ वर्ष
भिसाः पर्यटक
आवरणः समाजसेवी
उद्देश्यः बाल यौन दुराचार
काठमाडौँ, ठमेलको एक होटलमा तीन जना बालकसँग आपत्तिजनक अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यी कथित पर्यटकलाई फेला पा¥यो । ठमेलमा लामो समयदेखि केही विदेशीहरूबाट बाल यौन दुराचार जस्तो गम्भीर अपराध भइरहेको सूचनाका आधारमा कारबाहीमा उत्रेको सीआईबीले केनेथसहित बालबालिकाको दलाली गर्ने काठमाडौँका लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ ग¥यो । सीआईबीले केनेथसँगै भेटिएका तीन जनासहित आठ जना १२ देखि १६ वर्ष उमेर समूहका बालकहरूलाई समेत उद्धार गरेको थियो ।
प्रहरीका अनुसार अमेरिकामा समेत दशौँ पटकसम्म बाल यौन दुराचार गरिसकेर अन्तर्राष्ट्रिय स्तरमै कुख्यात बाल यौन दुराचारीका रूपमा परिचित केनेथ नेपाललाई पनि आफ्नो सहज गन्तव्य ठान्थे । पछिल्लो पटक ९० दिनको पर्यटक भिसामा भदौ ७ मा नेपाल उत्रिएका उनले आफ्नो उद्देश्य पूर्तिका लागि सुरुमा लुच्चेलाई सम्पर्क गरेका थिए ।
राजधानीमा पढाइदिने, जागिर लाइदिने, विदेश पु¥याइदिने, पैसा दिलाइदिनेलगायत प्रलोभन देखाउँदै गाउँगाउँबाट बालकहरू जम्मा पार्ने गर्थे लुच्चे । यस्ता कैयौँ प्रलोभनमा पारेर सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट ल्याएका बालकहरूलाई लुच्चेले स्वयम्भूस्थित आफ्नो डेरामा राख्ने गर्थे । बालकहरूलाई नयाँ कपडा लाइदिएर विदेशीले माग गरेको ठाउँमा ‘डेलिभर’ गर्थे उनी । अन्य विदेशीलाई जस्तै केनेथलाई पनि नेपाल आएपिच्छे मागअनुसार बालक सप्लाई गर्दै आएका थिए उनी । अहिलेसम्म ६० जना भन्दा बढी बालक विदेशीलाई सुम्पेको बयान लुच्चेले सीआईबीलाई दिएका थिए । बालबालिकाको दलालका रूपमा विदेशीहरूमाझ लुच्चे परिचित थिए । यो धन्दामा गिरोह नै सक्रिय रहेको सुइँको पाएको सीआईबीले हाल त्यो सञ्जालको खोजी गरिरहेको जनाएको छ ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवालका अनुसार केनेथले बालकहरूलाई होटलमा बोलाएर यौन दुराचार गर्ने र फोटो÷भिडियो समेत खिच्ने गर्थे । ‘होटलमा बोलाएर नुहाइधुहाई सफा हुन पठाएर आफ्नो उद्देश्य पूरा गर्ने गरेको पाइयो,’ डीआईजी सिलवालले भने, ‘फोटो, भिडियोसमेत खिचेर एकदुई हजार रुपैयाँ तथा केही कपडा र सरसामान दिएर बच्चाहरू लुच्चेकै जिम्मा लाउँथे । प्रायः दिउँसो होटलमा बालकहरू बोलाएर साँझ फिर्ता पठाउने गर्थे ।’ उनका अनुसार केनेथको मोबाइल र ल्यापटपमा बालकहरूसँग यौन दुराचार गरेका तस्बिर र भिडियोहरू प्रशस्त भेटिएका थिए । ती तस्बिर र भिडियो उनी स्वदेश फर्किएर अन्य दुराचारीलाई देखाउने र यहाँको लोकेसन तथा सम्पर्क दिने गर्थे । प्रहरीका अनुसार केनेथ फरार यौनदुराचारीका रूपमा अमेरिकाको इन्डियाना प्रहरीको सूचीमा समेत रहेका छन् ।
यसअघि केनेथ विभिन्न निहुँमा धेरै पटक नेपाल आइसकेका थिए,  कहिले भूकम्पपीडितलाई राहत दिने नाममा त कहिले स्कुलमा विद्यार्थीलाई सामान बाँड्ने नाममा । गरिब परिवारलाई सहयोग गर्ने भन्दै उनले नेपालको पश्चिम क्षेत्रमा समेत दर्जनौँ पटक भ्रमण गरिसकेका थिए । उनी दलालमार्फत मात्र नभएर अभिभावकबाट पनि सीधै बालकहरू जिम्मा लिएर राजधानी आउने गर्थे । आफू अमेरिकाको सम्मानित व्यक्ति भएको र नेपालमा समाजसेवाका लागि आएको बताउँदै अभिभावकको आँखामा सजिलै छारो हाल्न सक्थे उनी ।
‘दुराचारीलाई दण्ड दिन कानुन अपर्याप्त छैन’  

टेकनारायण कुँवर, मुख्य न्यायाधीश
चितवन जिल्ला अदालत

कानुन अपर्याप्त भएर बालकमाथि हुने यौन दुराचार घटनामा न्याय दिलाउन नसकिएको भन्ने तर्कलाई म सीधै नकार्छु । चाहने हो भने अहिलेकै कानुनी व्यवस्थाको दायरामा रहेर पनि पीडितलाई सजिलै न्याय दिन सकिन्छ । तर, यहाँ तलदेखि माथिसम्मका हरेक निकाय÷संरचनाबाट मनैदेखि चाहेर पीडितलाई न्याय हुने गरी मुद्दा अघि बढाउने अभ्यास कम छ ।
बालकमाथि हुने यौन दुराचारका घटनामा न्याय दिलाउन मैले केही चुनौती देखे÷भोगेको छु । सुरुमा घटना प्रकाशमै आउँदैनन् । ‘यस्तो पनि होला र ?’, ‘त्यस्तो कहाँ हुन सक्छ ?’ जस्ता वाक्यहरूले यस्ता गम्भीर घटनालाई टार्न खोज्छन् । सुरुमै अवधारणागत त्रुटि भइदिएपछि मुद्दा सहज रूपमा अघि बढ्न समस्या यहीँबाट सुरु भयो । प्रकाशमा आइहाल्यो नै भने पनि उजुरी कम हुन्छ । बीचमै मिलाउन खोजिन्छ । उजुरी भइहालेमा अनुसन्धान फितलो हुन्छ । गहिराइमा पुगेर नगरिने त्यस्ता टालटुले अनुसन्धानले न्याय कसरी दिलाउँछ ? तुरुन्त मेडिकल चेकअप गर्न आवश्यक हुने भए पनि त्यो गरिँदैन । तथ्य जुट्ने खाले रेकर्डहरू मेटाउन खोजिन्छ वा खोतल्ने प्रयास गरिँदैन । प्रत्यक्षदर्शीलाई साक्षी नराखिदिँदा बयान तलमाथि भइराख्छ ।
त्यसपछि अभियोजनको बेला आउँछ । सरकारी वकिलले अभियोग लगाउँदा कडा सजाय हुने खाले दफा नलाउने हो भने न्यायाधीशले पनि के गर्न सक्छ र ? जस्तो, बालकमाथि भएको यौन दुराचारलाई जबर्जस्ती करणी उद्योग भन्यो भने त्यो कि त ठहर्दैन वा ठह¥यो नै भने पनि धेरै कम सजाय भइदिन्छ । मुद्दा दायर गर्दा नै कडा सजाय हुने दफा टेकेर अघि बढ्नुपर्छ । न्यायाधीशले तलबाट आएको मुद्दामा सजाय बढी भएको जस्तो लागेमा कुनै अवस्थामा घटाउन सक्ला । तर, सुरुमै दण्ड कम हुने बाटोबाट आइदियो भने न्यायाधीशले दण्ड बढाउन सक्दैन । कहिलेकसो न्यायाधीश नै पनि संवेदनशील नभइदिने पनि समस्या आउन सक्छ । यस्ता घटना हुँदा दाबी गर्ने बेला अप्राकृतिक मैथुन भनेन भने मुद्दा कमजोर बन्ने वा दण्ड, सजाय कम भइदिन सक्छ ।  
मुलुकी ऐनको पछिल्लो संशोधनले बाल यौन दुराचारमा पीडितलाई न्याय दिन झन् सजिलो भएको छ । जबर्जस्ती करणी महलको दफा ९(क) मा ‘बाल यौन दुराचारी (पेडोफाइल)’ भनेर स्पष्ट उल्लेख छ । अप्राकृतिक मैथुनलाई यही दफाबाट सम्बोधन गर्न सकिन्छ । यसमा दुईबीच यौन सम्पर्क हुनैपर्छ भन्ने छैन । मुख मैथुन, अश्लील चित्र देखाउनेलगायत त्यस्ता सबै खाले गतिविधिलाई यसै बुँदाले समेट्न सक्छ । यसमा जबर्जस्ती करणीमा लाग्ने भन्दा थप एक वर्ष बढी कैद सजाय र मनासिब क्षतिपूर्ति पनि भराइदिनुपर्ने उल्लेख छ ।  
यहाँ चितवनमा पछिल्लो आर्थिक वर्षमा १० वटा जति अप्राकृतिक मैथुनका घटना अदालतसम्म पुगेको रेकर्ड छ । वयस्कले नाबालकमाथि दुराचार गर्ने गरेका घटना बाहिर आउने गरेका थिए । यहाँ त बालकहरूबीच नै त्यस्ता गतिविधि हुने गरेका घटना अदालतमा दर्ता छन् । पहिले विदेशीहरूबाट हुने गरेका अप्राकृतिक मैथुनका घटना धेरै आउँथे । पछिल्लो समय नेपालीहरूबाटै भएका त्यस्ता घटना बाहिर आउने क्रम बढेको छ । सडक बालबालिका बढी जोखिममा छन् । संस्थाको संरक्षणमा राखिएका, होस्टेलमा बसेका, मजदुरी गर्ने नाबालकहरू पनि ज्यादा जोखिममा रहेको घटनाहरूले देखाउँछन् ।
       
‘बालकहरू जोखिममा छन्’

तारक धिताल, कार्यकारी निर्देशक
केन्द्रीय बालकल्याण समिति

सुरुमा बालकमाथि भएको दुराचार घटनालाई विश्वास नगरिदिने समस्याले घटना बाहिरै आउँदैन । लुकाउन, छिपाउन खोजिन्छ । पीडित सम्पर्कमा आएन भनिन्छ वा अरू केही बहाना तयार हुन्छ । बालकहरू पनि यौन दुराचारको जोखिममा छन् है भन्ने सन्देश सबैको कानमा पुग्नैपर्छ । अभिभावकले आफ्नो छोराबारे पनि संवेदनशील भएर ख्याल गर्नैपर्छ । ‘मेरो त छोरा छ है’ भनेर ढुक्क भएर बस्न नसकिने अवस्था आएको घटनाहरूले बताउँछन् ।
जोखिम क्षेत्र थाहा पाउनुपर्छ । सबभन्दा धेरै जोखिम पर्यटन क्षेत्रमा छ । बालबालिकामाथि यौन दुराचार गर्ने उद्देश्यले मात्र यहाँ आउने विदेशी पनि छन् भन्ने बुझ्नैपर्छ । विदेशीहरूले विभिन्न निहुँ पारेर बालकमाथि अत्याचार गरिरहेका घटना बाहिर आइरहेका छन् । सडक बालबालिका सबैको तारो बन्ने गरेका छन् । उनीहरूबीच नै पनि यस्ता गतिविधि हुन्छन् । होस्टेल र गुम्बाहरू पनि जोखिम क्षेत्रमा पर्छन् । केटाकेटा मात्र बस्ने ठाउँमा पेडोफालियाका घटना हुने गरेको देखिन्छ । संस्थाले बालबालिका संरक्षण गरिररहेको स्थानमा पनि यस्ता घटना हुने गरेको विगतले देखाउँछ ।
सुरुमा अभिभावक नै ज्यादा संवेदनशील भएर बच्चाको ख्याल गर्नुपर्छ । त्यसपछि घटना भइहालेमा पीडितलाई न्याय र पीडकलाई दण्ड हुने गरी अघि बढ्नुपर्छ । बालबालिकाको भविष्यलाई ख्याल गरेर संवेदनशील भएर मुद्दा अघि बढाउनुपर्छ । ढाकछोप गरिएको घटनाले पछि झन् गम्भीर आपत् आइलाग्न सक्नेप्रति सबै सचेत हुनुपर्छ ।

 

Leave A Comment