मोबाइल व्यापारमा छलाङ

आइतबार, १७ पुष २०७३, ०९ : ५० दिलीप पौडेल , Kathmandu
मोबाइल व्यापारमा छलाङ

नेपालको जनसंख्याभन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढी देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब २ करोड ६५ लाख भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् । तथ्यांक विभागले २०७८ सम्ममा जनसंख्या तीन करोड पुग्ने पूर्वानुमान गरेको भए पनि अहिले जनसंख्याभन्दा धेरै मोबाइल बिक्री भएका हुन् ।
यसले यहाँ सूचना तथा सञ्चारमा वृद्धि भएको पहुँच र उपभोक्ताको मोबाइल क्रेजलाई देखाउँछ । घरमा चर्पी नभएका नागरिकले मोबाइल फोन किनेर प्रयोग गरेकोसमेत देखिएको थियो । परिवारका सदस्यपिच्छे मात्र नभएर एकै व्यक्तिले दुई मोबाइल प्रयोग गर्न थालेपछि मोबाइल व्यापारले छलाङ मारेको छ ।
अघिल्ला वर्षमा चौथो स्थानमा रहेको मोबाइल व्यापार गत आर्थिक वर्षमा तेस्रो स्थानमा आएको छ । पेट्रोलियम पदार्थ, फलामपछिको तेस्रो ठूलो व्यापार मोबाइल बनेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले जनाएको छ । ‘मोबाइलमा क्रान्ति भएको छ,’ एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले भने, ‘मोबाइलको व्यापार वार्षिक ४० प्रतिशतले बढिरहेको छ ।’
देशमा मोबाइल फोनको व्यापार तीव्र रूपमा बढ्दो छ । व्यवसायीका अनुसार अझै पनि झन्डै ६० प्रतिशत नेपालीले स्मार्टफोन नबोकेको व्यवसायीको आँकलन छ । आर्थिक वर्ष ०७२÷७३ मा करिब २५ अर्ब रुपैयाँको मोबाइल फोन बिक्री भएकोमा चालु आर्थिक वर्षको पहिलो चार महिनामै करिब १२ अर्ब रुपैयाँ व्यापार भइसकेको छ । ‘गत वर्षको आधा व्यापार चार महिनामै भयो,’ उनले भने, ‘यो वर्ष करिब ३६ अर्ब रुपैयाँको व्यापार हुने देखिएको छ ।’
व्यापारमा वृद्धिसँगै यो क्षेत्रले राजस्वमा पनि उच्च योगदान पु¥याएको छ । गत आर्थिक सरकारलाई १ अर्ब ६५ करोड रुपैयाँ भ्याट तिरेकोमा यो वर्ष करिब दोब्बर ३ अर्ब ४० करोड भ्याट तिर्ने व्यवसायीले अनुमान गरेका छन् । व्यापार वृद्धिसँगै यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौँले रोजगारी पाएका छन् ।
मोबाइलमा आकर्षण बढेपछि अन्तर्राष्ट्रिय बजारमा नाम चलेका ब्रान्डहरूले यहाँ बजार विस्तार गरिरहेका छन् । नेपाल अहिले ४०–४५ वटा ब्रान्डका मोबाइल आयात भइरहेका छन् ।
मोबाइल बजार बढ्दै गएपछि आयातकर्ताहरूले इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) गठन गरेर बजार व्यवस्थित बनाउन लागेको दाबी गर्छन् । यहाँ आउने नक्कली सामग्री नियन्त्रण, बजारलाई व्यवस्थित गरी उपभोक्तालाई ठगिनबाट रोक्नको लागि न्यूनतम र अधिकतम मूल्य निर्धारण गर्ने तयारी गरेको व्यापारीको दाबी छ । यसले सिन्डिकेट बढाउन सक्ने भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् ।
स्मार्टफोनमा प्रयोगकर्ता अभ्यस्त भइसकेका छन् । व्यक्तित्व प्रदर्शन गर्ने माध्यम मोबाइल सेट हुन थालेको छ । आफूलाई ‘स्मार्ट’ देखाउन चाहनेले चर्चित ब्रान्डका नयाँ संस्करण प्रयोग गर्छन् । मोबाइलमा क्यामेरा, अनलाइन टेलिभिजन, मुभी हेर्न, गीत÷संगीत सुन्न, बैंकिङ सेवा, समाचार, सामाजिक सञ्जालको प्रयोग,  इमेल, इन्टरनेट, मौसम, बजार, लोडसेडिङ तालिका, ट्राफिक जामबारे जानकारी लिन, गेम खेल्नेसहित सबै काम मोबाइलमा हुने भएकाले पनि गाँस, वास, कपासजस्तै मोबाइल पनि अनिवार्य आवश्यकता बनेको हो । मोबाइल फोनको प्रयोगमा विधिकीकरण हुँदै गएको छ ।
मोबाइल बजारलाई व्यवस्थित गर्नको लागि सरकारले पनि अझै सघाउनुपर्ने व्यवसायीको माग छ । नेपालमा दूरसञ्चारको विकासमा समेत मोबाइलको महŒवपूर्ण भूमिका रहेको एसोसिएसनका महासचिव अमित अग्रवालले बताए ।  ‘नेपालको सम्पूर्ण टेलिकम्युनिकेसनको पूर्वाधारमा मोबाइलको योगदान झन्डै ९४ प्रतिशत  छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ मोबाइल बजारको भ्याटबाट योगदान हुँदै छ ।’ पछिल्लो समय मागभन्दा वितरण धेरै भएकाले अवस्थ प्रतिस्पर्धा बढेको अग्रवाल बताउँछन् ।
बजारमा विदेशी ब्रान्ड भिœयाउने होड चलेको छ । प्रत्येक महिना नयाँ ब्रान्ड नेपाल भित्रिरहेका छन् । मोबाइल आयातमा भने सीमिति व्यापारीको सिन्डिकेट रहेको बिक्रेताले आरोप लगाएका छन् । उपभोक्तालाई अझै सस्तोमा मोबाइल उपलब्ध गराउन आयातमा एकाधिकार अन्त्य हुनुपर्ने नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए । ‘अहिलेको सिन्डिकेटलाई हटाउनुपर्छ,’ बस्नेतले भने, ‘स्वस्थ प्रतिस्पर्धा नहुँदा यसले कालोबजारीसमेत बढाउने सम्भावना छ ।’ आयातमा सबैलाई सहज हुनुपर्ने उनको भनाइ छ ।
मोबाइल बजार बढ्दै जाँदा गुणस्तर, सेवा र सुरक्षाका चुनौती थपिँदै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । ‘मोबाइल व्यवस्थित गर्ने चुनौती बढेको छ,’ प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ‘तर, मोबाइलको प्रयोगमा विविधीकरण गर्दै लैजानुपर्छ ।’

न्युरोडमा बृहत् मोबाइल एक्सपो सुरु
मोबाइलको बजार व्यवस्थित गर्दै एकै स्थानमा प्रयोगकर्तालाई सबै ब्रान्डका मोबाइल किन्न र जानकारी लिन सघाउने उद्देश्यले काठमाडौँको न्यूरोडमा बुधवारबाट मोबाइल एक्सपो सुरु भएको छ । मोबाइल हबको रूपमा चिनिने न्यूरोडमा नेपाल मोबाइल व्यवसायी संघको आयोजनामा सुरु भएको एक्सपो आगामी मंगलवारसम्म चल्नेछ ।
अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर आयोजना गरिएको एक्सपो अन्तर्राष्ट्रिय स्तरको भएको संघका संयोजक पुरुषोत्तम बस्नेतले बताए । ‘मोबाइल व्यवसायलाई वृद्धि र प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको हो,’ बस्नेतले भने, ‘यो महोत्सव अन्तर्राष्ट्रियस्तरको हुन्छ ।’ न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा, पाकोलगायत क्षेत्रमा मोबाइल महोत्सव आयोजना गरिएको छ ।
यो मोबाइल महोत्सवमा अधिकांश कम्पनीले अफरहरू राखेका छन् । महोत्सवमा छुटसहित नयाँ संस्करणसमेत सार्वजनिक हुने नेपाल मोबाइल व्यवसायी संघका प्रवक्ता सन्दिपमान श्रेष्ठले बताए । ‘मोबाइलमा छुटसहित लक्की ड्रमार्फत पुरस्कारको पनि व्यवस्था गरेका छौँ,’ श्रेष्ठले भने, ‘उपभोक्ताले एनसेलको डाटा कार्ड र सिमसमेत निःशुल्क पाउँछन् ।’

Leave A Comment