षडानन्दसम्बन्धी अशुद्धि

आइतबार, १७ पुष २०७३, ०९ : ४५ प्रा. दिनेशराज पन्त , Kathmandu
षडानन्दसम्बन्धी अशुद्धि

काठमाडौँबाट कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि. द्वारा प्रकाशित वि.सं. २०७३ मार्ग २० गतेको कान्तिपुर २४ वर्ष २८५ अङ्कको ४ पृष्ठमा छापिएको षडानन्दलाई राष्ट्रिय विभूति घोषणा माग भन्ने खबरमा षडानन्दले सन् १८७९ मा देशकै पहिलो संस्कृत पाठशाला खोली शिक्षा प्रचार सुरु गरेका थिए भनी लेखिएको छ । सन् १८७९ भनेको वि.सं. १९३५ वा १९३६ हुन्छ । षडानन्द अधिकारीले वि.सं. १९३२ मा भोजपुरको दिङ्लामा संस्कृत पाठशाला खोलेका हुन् । यो कुरा सबैलाई थाहै छ । काठमाडौँबाट वि.सं. २०७० मा आबालब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित बालागुरु षडानन्दसम्बन्धी अभिलेख तथा कागजातमा छापिएको माधवप्रसाद घिमिरेको मन्तव्यमा यो लेखिएको पनि छ । यसकारण कान्तिपुरमा दिइएको साल अशुद्ध छ भन्ने स्पष्ट छ । अर्काे कुरा, षडानन्दले खोलेको पाठशाला पहिलो संस्कृत पाठशाला पनि होइन । षडानन्दले वि.सं. १९३२ मा संस्कृत पाठशाला खोल्नुभन्दा ३५ वर्षअगाडि नै वि.सं. १८९७ मा संस्कृत पाठशाला खुलेको प्रमाण पाइसकिएको छ । काठमाडौँबाट वि.सं. २०६८ मा खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको बडागुरुज्यू विजयराजसँग सम्बद्ध पत्रहरूका १७–१९, मूलपत्र खण्डका १८०–१८२ पृष्ठमा तथा काठमाडौँबाट वि.सं. २०७१ मा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा ११० पूर्णाङ्कका ७४–७७ पृष्ठमा छापिएको दिनेशराज पन्तको पौने दुई सय वर्षअघिको संस्कृत पाठशाला भन्ने लेखमा यस विषयमा सप्रमाण लेखिएको छ । यसरी एउटा खबरमा धेरैवटा अशुद्धि रहन गएको देखिएकोले हाम्रा अखबारहरू पढ्दै नपढी, बुझ्दै नबुझी खबर बनाउन हतारिन्छन् भन्ने देखिन आउँछ ।
 

Leave A Comment