सन् २०१६ का शक्तिशाली

शनिबार, १६ पुष २०७३, ०९ : ३९ शुक्रवार , Kathmandu
सन् २०१६ का शक्तिशाली

अमेरिकी म्यागजिन ‘फोब्र्स’ले हरेक वर्ष विश्वका शक्तिशाली व्यक्तिको सूची सार्वजनिक गर्छ । यस वर्ष ‘फोब्र्स’ले तयार पारेको सूचीको उत्कृष्ट १० मा यी व्यक्ति छन्ः

१ भ्लादिमिर पुटिन, रुसी राष्ट्रपति
एक दशकदेखि संसारकै शक्तिशाली व्यक्तिको सूचीमा रहँदै आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यो वर्ष पनि संसारकै सर्वाधिक शक्तिशाली नेतामा दरिएका छन् । रुसी प्रभावलाई रुसको सीमाभन्दा बाहिर सफलतापूर्वक विस्तार गरेबापत यस वर्ष उनी सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएका हुन् । सिरियामा जारी संकटमा रुसलाई सैन्य हिस्सेदार बनाई सिरियाली सत्ताको पक्षमा रुसी सेनालाई युद्धमोर्चामा खटाएर उनले यस पटक शक्ति प्रदर्शन गरे । साथै, अमेरिकामा हालसालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई विजयी गराउन रुसी ह्याकरहरू प्रयोग भएको चर्चा अमेरिकाको उच्च नेतृत्व तहमा समेत भयो ।

२ डोनाल्ड ट्रम्प, नवनिर्वाचित अमेरिकी राष्ट्रपति
हालसालै अमेरिकामा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेर ट्रम्पले ह्वाइट हाउससम्मको आफ्नो यात्रा सुनिश्चित गरे ।
राष्ट्रपतिमा निर्वाचित नहुँदैदेखि ट्रम्प आफ्ना आक्रामक चुनावी नाराका कारण चर्चित भए । विश्व व्यापारमा अमेरिकी हित प्रवद्र्धन गर्ने, अमेरिकाभित्र रहेका गैरकानुनी आप्रवासीप्रति कडा रवैया अपनाउने र आतंकवादविरुद्ध अझ आक्रामक नीति अवलम्बन गर्ने चुनावी घोषणापत्रसहित विजयी भएका ट्रम्प यस वर्षका दोस्रो शक्तिशाली व्यक्ति बन्न सफल भए ।

३ एन्जेला मर्केल, जर्मन चान्सलर
युरोप र अमेरिकामा दक्षिणपन्थी राजनीतिक आन्दोलन उत्कर्षमा पुगेको बेला यस्ता आन्दोलनको पर्वाह नगरी खास गरी आप्रवासी मामिलामा उदार खालको नीति अवलम्बन गरेको भन्दै मर्केललाई संसारकै तेस्रो शक्तिशाली व्यक्ति मानेको छ, ‘फोब्र्स’ले । युरोपेली संघबाट बेलायतले बाहिरिने निर्णय गरेपछि संघलाई संगठित राख्न मर्केलले गरेको पहल, रुसको बढ्दो क्षमताका  बीच युरोपको स्वार्थ संवद्र्धन गर्न उनले खेलेको भूमिका, मुसलमानबहुल राष्ट्रबाट आएका एक लाख शरणार्थीलाई जर्मनीमा आश्रय दिने उनको निर्णय आदिका कारण उनी यस वर्ष चर्चित भइन् ।

४ सि जिनपिङ, चिनियाँ राष्ट्रपति
चिनियाँ राष्ट्रपति सि जिनपिङ आफ्ना पूर्ववर्तीहरूभन्दा बढी शक्तिसम्पन्न भएका छन् । किनकि, यस वर्ष चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई ‘मूल नेतृत्व’ घोषणा ग¥यो । यस्तो उपाधि यसअघि माओत्से तुङ र देङ सियाओपिङलाई मात्रै दिइएको थियो । ‘मूल नेतृत्व’ बनेपछि चीनको आन्तरिक तथा बाह्य क्षेत्रमा आमूल परिवर्तन गर्ने अधिकार सिलाई प्राप्त भएको छ ।
सन् २०१२ मा राष्ट्रपति बनेपछि उनले निजीकरणको क्षेत्रमा लिएका निर्णय, हङकङ र ताइवान मामिलामा उनले लिएको अडान, साउथ चाइना सीसम्बन्धी विवादमा उनले लिएको असहिष्णु नीतिका कारण उनलाई यस वर्षको चौथो शक्तिशाली व्यक्ति किटान गरिएको छ ।

५ पोप फ्रान्सिस, रोमन क्याथोलिक चर्चका धर्माधिकारी
संसारको जनसंख्याको एक तिहाइ क्याथोलिक क्रिश्चियन छन् । उनीहरूका सर्वोच्च धार्मिक नेता भएको हैसियतले उनलाई यस वर्षको पाँचौँ शक्तिशाली व्यक्ति मानेको छ, ‘फोब्र्स’ले ।
पोप फ्रान्सिसको कार्यकालमा क्याथोलिक चर्चको पुरातनवादी र रुढिवादी खालको विम्बमा सुधार आइरहेको छ । उनले क्याथोलिक चर्चालाई समय सान्दर्भिक र आधुनिक बनाउन भूमिका निर्वाह गरिरहेका छन् । यसअघि गर्भपतनलाई क्याथोलिक चर्चाले अक्षम्य अपराध मान्थ्यो । फ्रान्सिसले गत नोभेम्बरमा गर्भपतन गराउने महिलालाई माफी दिने अधिकार चर्चका पादरीहरूलाई प्रत्यायोजन गरेका छन् । साथै, उनले जलवायु परिवर्तनको पक्षमा वकालत गरिरहेका छन् । मुसलमानबहुल राष्ट्रबाट युरोपतिर छिरेका शरणार्थीको व्यवस्थापन निम्ति उनले खेलेको भूमिकालाई समेत ध्यानमा राखेर उनलाई शक्तिमान व्यक्तिको पाँचौँ स्थानमा राखिएको ‘फोब्र्स’ले जनाएको छ ।

६ जेनेट येलेन, अमेरिकाको केन्द्रीय बैंककी प्रमुख
अमेरिकाले आर्थिक समस्या झेलिरहेको बेला अमेरिकाको केन्द्रीय बैंक यूएस फेडरल रिजर्भ सिस्टमकी प्रमुख जेनेटले अमेरिकाभित्र ब्याजदर बढाउने मागलाई प्रोत्साहन गरिनन् । यसअघि उनले दुई पटक ब्याजदर बढाउने निर्णय गरिसकेकी छिन् ।
बैंकको ब्याजदर निर्धारण गरेर उनले अमेरिकीसहित विश्वअर्थतन्त्रलाई धेरै हदसम्म नियन्त्रित र निर्धारित गरिन् । अमेरिकाभित्रको मौद्रिक नीति निर्धारण उनको तजबिजको विषय हो । यस वर्ष उनी ‘फोब्र्स’को शक्तिशालीहरूको सूचीमा छैटौँ नम्बरमा परिन् ।
७ बिल गेट्स, अमेरिकी अर्बपति
माइक्रोसफ्टजस्तो सूचना–प्रविधिको क्षेत्रमा अग्रणी संस्थाका मालिक हुन्, बिल गेट्स । व्यापारबाहेक उनी सामाजिक सेवामा पनि संलग्न छन् । ‘द बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसन’का तर्फबाट उनले तेस्रो विश्वका मानिसको जीवनस्तर उकास्ने परियोजनामा बर्सेनि करोडौँ डलर खर्चिने गरेका छन् । उनले लोकोपकारका निम्ति भन्दै मुनाफा नआउने क्षेत्रमा समेत मोटो लगानी गरिरहेका छन् । यी सब तथ्यलाई ध्यानमा राखेर उनलाई ‘फोब्र्स’ले यस वर्ष संसारको सातौँ शक्तिशाली व्यक्ति मानेको छ ।

८ ल्यारी पेज, अल्फाबेटका कार्यकारी प्रमुख
सन् २०१५ मा ल्यारी पेज टेक कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए । गुगल र यस मातहतका सम्पूर्ण गतिविधिको व्यवस्थापनलगायत सम्पूर्ण पाटो हेर्ने गरी अल्फाबेटलाई माउ संस्था बनाइएको हो । उनको पालामा अल्फाबेटले गुगलमार्फत सूचना–प्रविधिको क्षेत्रमा सन्तोषप्रद फड्को मा¥यो । साथै, यस वर्ष गुगलको मुनाफा र यसमार्फत राज्यले संकलन गर्ने राजस्वमा पनि उल्लेख्य वृद्धि भयो । यही कारणले गर्दा उनलाई ‘फोब्र्स’ ले संसारको आठौँ सर्वशक्तिमान व्यक्ति ठहर ग¥यो ।
९ नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री
यस वर्षको अन्त्यतिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजार रुपैयाँका नोटलाई विमुद्रीकरण गरे । उनको यो काम ऐतिहासिक र दुस्साहसिक थियो । संसारभरि हाँगा फैलाइसकेको भारतीय अर्थतन्त्रको मेरुदण्ड मानिएका यी दुई नोटलाई विमुद्रीकृत गर्नु साधारण कुरा थिएन ।
यस वर्ष मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गरे । पर्यावरण संरक्षणका क्षेत्रमा पनि उनले विश्वका ठूला नेताको हाराहारीमा आफ्नो भनाइ राखे ।  उनकै पालामा गत वर्ष भारतमा ब्रिक्स सम्मेलन भव्यतापूर्वक सम्पन्न भयो । यी गतिविधिमार्फत आफ्नो क्षमता प्रदर्शन गरेको भन्दै उनलाई ‘फोब्र्स’ले संसारको नवौँ शक्तिशाली व्यक्ति मान्यो ।

१० मार्क जुकरबर्ग, फेसबुकका कार्यकारी प्रमुख
फेसबुकका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग शक्तिशाली मानिस हुन्, किनभने उनले संसारभरिका करोडौँ मानिसलाई फेसबुकमा सक्रिय गराइराखेका छन् । संसारमा अधिकतम मानिससमक्ष कुनै सूचना पु¥याउनुप¥यो भने सबैले सुरुमै सम्झिने नाम फेसबुक नै हो ।
सूचना–प्रविधिसम्बन्धी व्यापारमा संलग्न हुनुका साथै उनी सामाजिक कार्यमा पनि सरिक छन् । पत्नी प्रिसिला चानसँग मिलेर उनले यस वर्ष आगामी दशकसम्ममा सबै रोगहरूको समाधान खोज्न भनेर चिकित्सा क्षेत्रमा तीन अर्ब डलर सहयोग गरेको घोषणा गरे । यसअघि उनीहरूले फेसबुकबाट हुने आम्दानीको ठूलो हिस्सा समाजसेवामा लगाउने घोषणा गरिसकेका थिए । फेसबुक र समाजसेवामार्फत करोडौँ मानिसलाई प्रभावित गर्ने व्यक्ति भनेर ‘फोब्र्स’ले उनलाई यस वर्षको दशौँ शक्तिशाली व्यक्ति ठहर गरेको छ ।

Leave A Comment