विद्वानले लोभ गर्दैन

शनिबार, १६ पुष २०७३, ०९ : २८ शुक्रवार , Kathmandu
विद्वानले लोभ गर्दैन

उज्ज्वल कर्म गर्ने मानिस एक–दुई घण्टै भए पनि असल कर्म गर्दै बाँचोस् । त्यो उत्तम हो । किन्तु दुवै लोकको विरोधी कर्म गरी एक हजार युग बाँच्ने भए पनि उसको जीवन व्यर्थ छ ।
बितिसकेका वस्तु र कुराको सोच गर्नु हुँदैन । भविष्यमा कस्तो आइपर्ला वा के होला भन्ने चिन्ता पनि लिनु हुँदैन । विद्वानहरूले जुन समयमा जस्तो पर्न आउँछ, त्यस्तो व्यहोर्छन् । वर्तमान समयलाई हेरेर विद्वानहरू चल्दछन् ।
देवता, सज्जन र बाबु असल वा उत्तम स्वभावले सन्तुष्ट हुन्छन् । भाइबन्धुवर्ग खानपानबाट प्रसन्न रहन्छन् । विद्वानहरू भने मीठो बोली मात्रले प्रसन्न हुन्छन् वा सन्तुष्ट रहन्छन् ।
ठूला र विद्वान पुरुषको चरित्र आश्चर्यलाग्दो हुन्छ, जसको कुनै वस्तुमा लोभ, मोह रहँदैन । उनीहरू धनलाई घाँसपात समान ठान्दछन् । जतिजति धन बढ्दै जान्छ, त्यति नै नम्र हुन्छन् । उनीहरूलाई धन प्राप्त भएपछि रत्तिभर घमण्ड हुँदैन ।
जसमा प्रेम, स्नेह छ, उसैमा डर छ । प्रीति–स्नेह दुःखको भाँडो हो र प्रीति स्नेह नै दुःखको कारण पनि हो । अतः त्यस्तो स्नेह वा प्रेमका कारण उत्पन्न हुने दुःखलाई त्यागी सज्जन व्यक्ति ढुक्कसँग बसोस् ।
आउन लागेको आपत्विपत्बाट बच्नका लागि अग्रिम उपाय सोच्ने व्यक्ति तथा आपत्ति आएको बेला निवारणका लागि तत्कालै विकल्प सोचिहाल्ने व्यक्ति, यी दुईले सुखपूर्वक समृद्धि प्राप्त गर्दछन् ।
चाणक्यको नीतिशास्त्र

Leave A Comment