‘अतीतका कारण अपमान खेपेँ’

बिहिबार, १४ पुष २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
‘अतीतका कारण अपमान खेपेँ’

विभिन्न विवाद, आलोचना र विरोधका बीच सनी लियोनले बलिउडमा अभिनेत्रीका रूपमा काम गर्न थालेकी छिन् । छिट्टै उनी शाहरुख खानको फिल्म ‘रइस’ को आइटम नम्बर ‘लैला औ लैला’ मा देखिनेछिन् । एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

‘लैला ओ लैला’ गीतको सुटिङका क्रममा शाहरुखबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
शाहरुख खानसँग काम गर्ने अवसर पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो । उनी भद्र मानिस छन् । अनि, एकदमै व्यावसायिक पनि । पहिलो दिन त म एकदमै नर्भस थिएँ । शाहरुख, जीनत अमान र प्रोडक्सन हाउसले राखेको अपेक्षा पूरा गर्ने दबाब ममाथि थियो । जब मलाई यो गीत मिल्यो, म प्रफुल्ल भएँ । मैले यसको ओरिजनल गीत हेरेकी छु । मेरो गीत त्योभन्दा फरक छ । मेरो गीत रिमेक होइन, ट्रिब्युट हो ।

शाहरुखसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
म यति मात्र भन्न चाहन्छु, म कहाँ थिएँ र कहाँ पुगेँ । सपनामा पनि सोचेकी थिइनँ, शाहरुखजस्तो सुपरस्टारसँग काम गर्ने अवसर पाउनेछु भनेर । जीवनमा जे पनि हुन सक्छ । फिल्ममा मेरो काम तीन मिनेटको पनि छैन । तर, यो मेरा लागि कुनै सपनाभन्दा कम होइन । मेरो मेहनत सफल भएको छ । यो अनुभव मबाट कसैले खोस्न सक्दैन । अफ द सेट हामी धेरै कुरा गथ्र्यौं । शाहरुख र मेरो जिम ट्रेनर एउटै हुन् । बिहान टे«नरलाई फोन गर्दा उनी शाहरुखको ट्रेनिङ सकाएर सुत्ने तयारीमा हुन्थे । शाहरुख आधा रातदेखि नै ट्रेनिङ गर्थे । हामी दुवैका कारण ट्रेनर राम्ररी सुत्न पाउँदैनथे ।

तपाईं आफूलाई डान्सर मान्नुहुन्छ ?
मान्दिनँ । सानो हुँदा आमाबुबाले मलाई डान्स सिकाउन भरपूर प्रयास गरे । तर, म डान्स भन्नासाथ टाप कस्थेँ । सानोमा म टमब्वाई थिएँ । मैले कहिल्यै पनि बार्बी डलसँग खेलिनँ । ‘लैला ओ लैला’ गीतका कोरियोग्राफरले मलाई धेरै मेहनत गराए । कडा मिजासको शिक्षक वा निर्देशक भयो भने काम राम्रै निस्कन्छ । यो गीत चार दिनमा पूरा भयो ।

यो गीत पाउन कत्तिको मेहनत गर्नुप¥यो ?
अतीतका कारण बलिउडमा मैले धेरै अपमान खेपेँ । अत्यन्त हतास भएँ । मानिसहरू अहिले पनि मलाई ‘एक्सवाईजी’ भन्छन् । अतीतका काम र निर्णयका कारण मेरो छवि बोल्ड छ । यो कुरा म पनि मान्छु । म एउटा अडल्ट स्टार हुँ । तर, यी कुराले मलाई परिभाषित गर्दैनन् । त्यो मेरा एउटा व्यवसाय मात्र थियो । वास्तविक जीवनमा म त्यो होइन । सुरुमा यहाँ आउँदा मलाई सबैले अस्वीकार गरे । अतीतका कारण कोही पनि मसँग काम गर्न चाहन्थेन । मदेखि डराउँथे । तर, आजको सत्य यही हो, म शाहरुख खानसँग काम गरिरहेकी छु । आजभोलि मलाई हेर्ने बलिउडको दृष्टिकोण बदलिएको छ ।

 

तपाईंले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो– ‘ठूलठूला स्टार मलाई यस कारणले अस्वीकार गर्छन्, किनकि उनका श्रीमती चाहँदैनन् कि उनीहरू मसँग काम गरुन् ।’ फिल्म ‘रइस’ पछि  स्थिति बदलिन्छ त ?

म आशा गर्छु– स्थिति बदलिनेछ । शाहरुख र उनकी श्रीमती गौरीको सम्बन्ध एकदमै बलियो छ । जब श्रीमान्–श्रीमतीको आपसी सम्बन्ध बलियो हुँदैन, त्यतिखेर उनीहरू असुरक्षित महसुस गर्छन् । श्रीमतीले स्वीकृति नदिएकाले नै धेरै स्टारले मसँग काम गर्न अस्वीकार गरेका छन् । म कसरी उनीहरूलाई सम्झाऊँ ? मलाई उनीहरूको श्रीमान्मा रुचि छैन ।

 

Leave A Comment