‘महिला हेडमास्टर भनेर खिल्ली उडाउँथे’

बिहिबार, १४ पुष २०७३, ११ : ४२ सृजना खड्का , Kathmandu
‘महिला हेडमास्टर भनेर खिल्ली उडाउँथे’

चार दशकअघि दोलखा जिल्लाको एउटा प्राथमिक विद्यालयबाट स्वयंसेवीका रूपमा पढाउन थालेकी थिइन्, डा. गीता खरेल शिवाकोटीले । हाल उनी रत्नराज्य उच्च माविकी प्रधानाध्यापक हुन् । बिहान ६ बजे नै विद्यालयको गेटमा भेटिन्छिन् उनी । उनले  सृजना खड्कालाई आफ्नो संघर्षको कथा सुनाएकी छिन् ।

एसएलसी पास गर्नेबित्तिकै दोलखाको लामानागी प्राविमा  भोलेन्टियरका रूपमा पढाउन थालँे । जिल्ला शिक्षा अधिकारीका सामु सबै छोरीहरूले समान शिक्षा पाउनुपर्छ भन्ने प्रस्ताव राखेँ । लामानागी प्राविमा थामी जातिका छोरीहरूलाई स्कुल जान प्रोत्साहित गरेँ । उनीहरूको घरघरमा गएँ, पढ्यो भने भोलि जागिर पाइन्छ, घरमा सीमित भएर बस्नु पर्दैन भनेर सम्झाएँ । कसैलाई कपीकलम, कसैलाई चकलेट, बिस्कुट दिएर फकाउँथेँ । त्यसका लागि आफ्नो तलबको पैसा खर्च गर्थें । एक महिनापछि जिल्ला शिक्षा अधिकारी विद्यालय भ्रमण गर्न आउँदा ५० प्रतिशत विद्यार्थी संख्या बढेको देखेर दंग परे । मैले दरबन्दी पाएँ । त्यसपछि पढाउन सुरु गरँे । एक वर्षपछि त्यसै विद्यालयको प्रधानाध्यापक भएँ । त्यसको केही समयपछि मेरो बिहे भयो ।
विवाहपछि प्राइमरी शिक्षकका रूपमा २०३८ साल भदौ ४ गते बालदिवसका दिन रत्नराज्यमा सरुवा भएँ । त्यो बेला म एसएलसी पास मात्र थिएँ । गाउँमा हुँदा खासै समस्या थिएन । तर, गाउँबाट शहर झरेर स्थापित हुन निकै संघर्ष गर्नुप¥यो ।
काठमाडौँमा बाटोघाटो थाहा थिएन । गाडी चढ्ने पैसासमेत हुँदैनथ्यो । कति पटक त हिँडेरै जिल्ला शिक्षा कार्यालय पुग्थेँ । त्यस बखत महिलाहरू घरमा नै सीमित हुन्थे । जागिर गर्ने महिला कमै मात्र थिए ।
काठमाडौँमा बस्न पाउँदा म संसार जितेको अनुभव गर्थें । यहाँ पढाइ र जागिर दुवै गर्न पाएँ । काठमाडौँ नआएको भए अहिले मैले पीएचडी सक्ने थिइनँ जस्तो लाग्छ । स्कुल पढाउँदै आईए पास गरँे निमाविको शिक्षक भएँ । स्कुलले दिएको होइन आफैँले दरबन्दी थपेर आएँ । बीए पास गरेँ, एमए पास गरँे । एमए पास गरेको भोलिपल्टदेखि बानेश्वर क्याम्पसमा पढाउन थालेँ । पीएचडी सकिएको पनि चारपाँच वर्ष भइसक्यो । यहाँ प्लस टू खोलेपछि संस्थापक भएँ । शहर नआएको भए हेडमास्टर हुनु मेरो सपनामै सीमित हुन्थ्यो होला ।
रत्न राज्यको इतिहासमा स्थायी रूपमा पहिलो महिला हेडमास्टर म नै हो । हेडमास्टर हुने बेला पनि असाध्यै दुःख भोग्नुप¥यो । त्यसबेला महिला हेडमास्टर भनेर खिल्ली उडाउँथे । ‘महिलालाई नेतृत्व तहमा  पु¥याउनु हँुदैन, उनीहरूले सक्दैनन्’ भन्ने आवाज पनि उठे । ‘गेटमा ताल्चा लाग्छ’ भन्ने तर्क पनि आए । महिला भएकै कारण हेडमास्टर बन्न नपाउने हो भने शिक्षा नियमावली च्यातिनुपर्छ भनेर म शिक्षा मन्त्रालयसम्म पुगेँ । हेडमास्टर भएपछि झन् दुःखका दिन सुरु भए । कसैले विद्यार्थी उचाल्ने गर्न थालेँ, कसैले अभिभावक । मलाई स्कुल छोडाउन धेरै प्रयास गरिए । तर, मैले काम गर्न छोडिनँ । हिम्मत हारिनँ । पितृसतात्मक समाजमा महिला अगाडि बढ्यो भने आफू पछाडि परिन्छ भनेर खुट्टा तान्ने पुरुषहरू धेरै भेटेँ ।
पहिला स्कुलको नाममा जग्गा थिएन । आफ्नो छ महिनाको तलब र अरूसँग चन्दा मागेर ५८ लाख जम्मा पारी स्कुलको नाममा जग्गा किन्यौँ । कम्प्युटर ल्याब र अतिरिक्त क्रियाकलापका लागि हल बनायौँ । अंग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन ग¥याँै । अहिले निजीका विद्यार्थीसमेत हाम्रो स्कुलमा आउँछन् । महिलाले गर्न सक्छे भनेर देखाउनु थियो । गरेर देखाए पनि ।
घर र विद्यालय दुवैलाई सँगसँगै व्यवस्थापन गर्दै अगाडि बढाएँ । दिउँसो स्कुल पढाएर बेलुका अस्पताल गएर बच्चा जन्माएको थिएँ । माइती नजिकै भएकाले आमाले रेखदेख गरिदिनुभयो । बच्चा जन्मिएपछि पनि मैले जागिर र पढाइ दुवै छोडिनँ । गाह्रो थियो, तर मलाई केही गर्नुपर्छ भन्ने भित्री आत्मबल थियो । म केही गर्छु भनेपछि त्यो पूरा नगरी बीचमा कहिल्यै छोड्दिनँ ।
जीवनमा संघर्ष गर्नुपर्छ भन्ने मेरो मान्यता हो । संघर्ष भनेको चुनौती र अवसर दुवै हो । जीवनलाई अप्ठ्यारो मानेर काम गर्न छोड्यौँ भने कहिल्यै अगाडि बढ्न सकिँदैन जस्तो लाग्छ ।
 

Leave A Comment