कतारमा बल्ल सहज

बुधबार, १३ पुष २०७३, १० : २४ रुद्र खड्का , Kathmandu
कतारमा बल्ल सहज

वैदेशिक रोजगारीका लागि नेपालको प्रमुख गन्तव्यमध्ये एक खाडी राष्ट्र कतार सरकारले निकै लामो दबाबपछि कफाला प्रणालीको अन्त्य गरेको छ । रोजगारदाता (मालिक) ले कामदारलाई ‘मनमर्जी’ गर्ने व्यवहार कफाला प्रणाली हो ।
सन् १९६३ देखि स्पोन्सरसिप व्यवस्थाको नाममा चल्दै आएको कफाला प्रणालीमा रोजगारदाताले श्रमिकलाई बँधुवा मजदुरसरह व्यवहार गर्ने अधिकार थियो । र, अधिकांश रोजगारदाताले श्रमिकलाई बँधुवा मजदुरसरह व्यवहार गर्दै आएका थिए ।
कतारका ‘छोटे राजा’ र नवधनाढ्यको दबाब मुताबिक तत्कालीन सरकारले सुरु गरेको स्पोन्सरसिप व्यवस्था कामदारमैत्री नभएको भन्दै लामो समयदेखि विश्वभरिबाटै दबाब सिर्जना भए पनि त्यहाँको सरकारले बेवास्ता गर्दै आएको थियो । श्रमिकको पक्षमा सशक्त काम गर्दै आएको संयुक्त राष्ट्र संघको मुख्य अंग अन्तर्राष्ट्रिय श्रम संगठनले समेत कतार सरकारलाई पटकपटक स्पोन्सरसिप व्यवस्था रोक्न सुझाव दिँदै आएको थियो । सोही व्यवस्थाविरुद्ध कामदार पठाउने मुलुक, कामदार तथा कामदारको पक्षमा काम गर्ने संगठन र विश्वजगत्ले सशक्त आवाज उठाए पनि कतार सरकार आन्तरिक दबाबमा परेर पुरानो निर्णय खारेज गर्न असफल भइरहेको थियो ।
पछिल्लो समयमा श्रमिकको पक्षमा काम गर्दै आएका विभिन्न संगठन र सञ्चार माध्यमले कफाला अर्थात् स्पोन्सरसिप व्यवस्था कायमै रहे कतारले आउँदो सन् २०२२ मा गर्ने भनिएको विश्वकप फुटबल प्रतियोगितासमेत अवरुद्ध हुन सक्ने चेतावनी दिएपछि बाध्य भएर कतार सरकार अघिल्लो साता कफाला प्रणाली खारेजीको निर्णयमा पुगेको धेरैको अनुमान छ । विश्वकप फुटबलको तयारीका लागि विभिन्न पूर्वाधार खडा गर्न कतार सरकारले ठूलो रकम खर्च गरिसकेको छ । कतिपय पूर्वाधार चाँडै तयारी हुने अवस्थामा छन् । विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेर कतार विश्वजगत्मा अब आफ्नो नयाँ परिचय दिने सोचमा रहेको देखिएको अनुमान गरिएको छ ।
कतारको प्रशासन, विकास, श्रम तथा सामाजिक मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब कतारमा कामका लागि जाने कामदारले कफाला प्रणाली मान्नुपर्ने छैन । कतारका अमिर शेख तमिम विल हमाद अल–थानीले आप्रवासी कामदारको प्रस्थान, स्वदेश फिर्ता, आवासीय र कफालासम्बन्धी कानुन नम्बर २१, २०१५ एक वर्षअघि अनुमोदन गरेका थिए । कतारको सरकारी संयन्त्रले नयाँ प्रावधानअनुसार काम गर्न सक्ने भएपछि अहिले कार्यान्वयनमा ल्याइएको हो ।
सन् १९६३ को स्पोन्सरसिप व्यवस्थालाई पछिल्लो पटक कतारले सन् २००९ मा परिमार्जन गरेको थियो । अघिल्लो साताको सरकारी निर्णयपछि अब स्पोन्सरसिपसम्बन्धी कानुन नम्बर ४, २००९ प्रतिस्थापन भएको छ । कफाला प्रणालीलाई धेरैले ‘आधुनिक युगको दासता’ को संज्ञा दिँदै आएका थिए । कफाला कानुन अस्तित्वमा रहँदा कामदारलाई कठिन काममा लगाउने, सम्झौता अनुसारको तलब नदिने, समयमा पारिश्रमिक नदिने, बिनापारिश्रमिक ओभरटाइम काम गराए पनि सुविधा नथप्ने तथा कामदारको राहदानी साहुले नियन्त्रणमा लिनेजस्ता अत्याचार हुन्थे । मालिकको कुनै पनि अत्याचारविरुद्ध आवाज उठाउन श्रमिकलाई प्रतिबन्ध थियो ।
कतार सरकारको कफाला प्रणाली अन्त्य गर्ने निर्णयबाट नेपाली श्रमिक पनि लाभान्वित हुनेछन् । हाल कतारमा करिब पाँच लाख नेपाली श्रमिक रहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५० हजार कतार गएका छन् । वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले कतार सरकारको कफाला प्रणाली अन्त्य गर्ने निर्णयले नेपाली श्रमिकलाई पनि सहज हुने बताइन् । ‘खाडीको कतारलगायत मुलुकमा नेपाली श्रमिक बढी नै शोषित हुने गरेका छन्,’ भट्टराईले भनिन्, ‘उक्त निर्णय सकारात्मक रूपमा कार्यान्वयन होला भन्ने अपेक्षा गरेका छौँ ।’

चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि कात्तिकसम्म कतारमा जानेको संख्या
महिना    संख्या
साउन     ८,८५६
भदौ    १०,७८३
असोज     ७,९८१
कात्तिक     ९,७३८
जम्मा    ३७,३५८
स्रोतः वैदेशिक रोजगार विभाग

कफला कानुन अन्त्यपछि
–राहदानी आफैँ बोक्न पाउने
–करार सकिएपछि स्वदेश फर्कन पाउने
–पाँच वर्ष काम गरेपछि कम्पनी परिवर्तन गर्न सक्ने
–रोजगारदाताको सक्कली करार पत्रबिना कतार जान नपाइने
–कम्पनीले जबर्जस्ती राहदानी राखे १०–२५ हजार रियाल जरिवाना हुने
–अनुमतिबिना फरक कम्पनीमा कामदार पठाए ५० हजार रियालसम्म जरिवाना हुने

Leave A Comment