नाकको साइज मिलाउन सकिन्छ

बुधबार, १३ पुष २०७३, १० : ०८ डा. जयनमान श्रेष्ठ , Kathmandu
नाकको साइज मिलाउन सकिन्छ

अनुहारको केन्द्रमा हुने नाक व्यक्तिको सुन्दरतासँग जोडिएको हुन्छ । अनुहारको अन्य भाग मिलेको तर नाकको साइज ठूलो या सानो हुँदा व्यक्तिको सुन्दरतामा फरक पर्न सक्छ । बाहुन, क्षत्रीको नाक अलि ठूलो र चुच्चो हुन्छ भने मंगोलियनहरूको नाक थेप्चो र सानो हुने गर्छ । मंगोलियनहरूको नाकको कुरकुरे हड्डी सानो हुने गर्छ । कुरकुरे हड्डी पूर्ण रूपमा विकास भएको हुँदैन । जसले गर्दा नाक थेप्चो र सानो देखिन्छ । नाकको छाला पनि बाक्लो हुन्छ । नाक सानो या ठूलो हुँदा यसले केही असर त गर्ने होइन । तर, अनुहारको अन्य बनावटसँग मेल नखाने गरी ठूलो या सानो हुँदा व्यक्तिको सुन्दरतामा भने असर पारेको हुन्छ । कसैकसैको नाक ठूलो, बढी चुच्चो हुनुको साथै बांगो पनि हुन्छ । यस्ता नाक भएकाहरूको नाकको साइज आफूले चाहेजसरी मिलाउन सकिन्छ । ‘राइनोप्लास्टिक’ भनिने यो कस्मेटिक सर्जरी नेपालमा हुन थालेको निकै भइसक्यो ।   
‘नोज रिसेपिङ’ भनिने नाकको साइज मिलाउने प्रक्रियामा ठूलो नाकलाई काटेर ठिक्कको बनाउने र सानोलाई कुरकुरे हाड जोडेर ठूलो बनाउने गरिन्छ । नाकको टुप्पोभन्दा तल माथिल्लो ओठको माथि नदेखिने भागबाट गरिने नाकको सर्जरीमा ठूलो हुनेको कुरकुरे हाड खुरकेर फालिने र सानो हुनेको शरीरका अन्य भागबाट कुरकुरे हाड लिएर जोडिने गरिन्छ । थेप्चो नाकलाई इम्प्लान्ट राखेर चुच्चो बनाउने सुविधा पनि नेपालमा उपलब्ध छ ।
तलतिर बढी नै झुकेको नाकको टुप्पोलाई माथि उठाउने सुविधा पनि उपलब्ध छ । थेप्चो नाकमा सिलिकन वा मेडपोर राखेर चुच्चो देखाउन सकिन्छ । राइनोप्लास्टिक गरिसकेपछि एक हप्तासम्म नाकलाई चोटपटकबाट जोगाउनुपर्छ । नाक कतै ठोकिएला कि भनेर होश गर्नुपर्छ । यो धेरै ठूलो अपरेसन होइन । सानो प्वाल बनाएर अपरेसन गरिने भएकाले नाकमा खत पनि देखिँदैन । अपरेसन गरेको कुरा अरूलाई नभन्ने हो भने सजिलै थाहा पनि हुँदैन ।  
 

Leave A Comment