नेपालमा पोकेमन गो

बुधबार, १३ पुष २०७३, १० : ०५ शुक्रवार , Kathmandu
नेपालमा पोकेमन गो

बहुप्रतीक्षित मोबाइल खेल ‘पोकेमन गो’ नेपालमा सार्वजनिक भएको छ । वास्तविक लोकेसनमा आधारित उक्त खेल एकैसाथ दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकामा समेत सार्वजनिक गरिएको हो । चर्चित कार्टुन सेरिज पोकेमनमा आधारित यो खेल अमेरिकामा सार्वजनिक भएको छोटो समयमै सबैभन्दा बढी नाफा कमाउने गेम बनेको छ । गेम सार्वजनिक भएको करिब पाँच महिनापछि नेपाललगायत दक्षिण एसियाली देशमा सार्वजनिक गरिएको हो ।
यो गेम दी पोकेमन कम्पनीसँगको सहकार्यमा नियान्टिकले विकास गरेको हो । गत असारमा सार्वजनिक भएको खेल अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा मात्रै सीमित थियो । नेपालमा यो खेल अनधिकृत डाउनलोड हुन थालेपछि नियान्टिकले गेम रिलिज नभएका देशहरूमा ‘जियो ब्लक’ गरेको थियो ।
के हो पोकेमन गो ?    
‘पोकेमन गो’ गेम मोबाइलमा जीपीएस लोकेसन र इन्टरनेट कनेक्सन गरेर खेलिन्छ । गेममा पोकेमन ट्रेनरहरूले पोकेमन पक्रने, खोज्ने र पोकेमनबीच ब्याटल गर्नसक्ने भएकाले खेल्दै हिँड्ने गरिन्छ । यो गेम एन्ड्रोइड किटक्याटभन्दा माथिका अपरेटिङ सिस्टममा मात्र चल्छ । यो एउटा साधारण मोबाइल गेममात्र नभएर यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग जोड्ने भएकाले यसको लोकप्रियता चुलिएको हो । स्मार्टफोन लोकेसनको आधारमा क्यामरामार्फत यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग भेट गराइदिन्छ । फोनको क्यामेरा एक ठाउँमा प्वाइन्ट गरेपछि आसपास कहीँ पनि पोकेमन देखिन सक्ने हुन्छ । खेलमा ती पोकेमनलाई समात्दा खेलमा नम्बर प्राप्त हुन्छ ।
यो खेल रिलिज भएको साता नबित्दै सामाजिक सञ्जाल ट्वीटरलाई उछिनेपछि मोबाइल गेमको दुनियाँमा यसले नयाँ तरंग पैदा गरेको थियो । एक सातामा अमेरिकामा मात्रै ९ लाख ५० हजारले यो गेम खेल्ने तथ्य सार्वजनिक भएको थियो । यसले छोटो समयमै नयाँनयाँ कीर्तिमान पनि राखेको थियो ।
पोकेमन खेलका कारण दुर्घटना बढेपछि कतिपय देशले यसमाथि प्रतिबन्ध लगाएको छ । व्यक्तिगत तथा राष्ट्रिय सुरक्षाका कारण अधिकांश मुस्लिम राष्ट्रले यस खेलमा प्रतिबन्ध लगाएका छन् । चीनमा पनि यो पूर्ण रूपले प्रतिबन्धित  छ ।
सुरक्षा निकायले यो गेममा मोबाइलको क्यामेरा प्रयोग हुने भएकाले सुरक्षामा दखल पुग्ने, लोकेसन र महŒवपूर्ण जानकारी चोर्न यो गेमको रूपमा कुनै शक्तिले सुराकी गर्ने आशंकामा प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । एक प्रयोगकर्ताले अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउसमा पस्न खोजेको समाचार पनि प्रकाशित भएको थियो ।
नियान्टिकले यो खेल नेपालमा पनि खेल्न सकिने वेबसाइटमार्फत जानकारी गराएको छ । तर, सुरक्षासँग जोडिएको उक्त खेलमा नेपाल प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्लले नेपालमा यो गेमले पार्न सक्ने प्रभावबारे अनुसन्धान गरिने जनाकारी दिएका छन् । ‘यो गेमबारे प्रहरीमा खासै जानकारी प्राप्त भएको छैन । त्यसले पार्न सक्ने प्रभावबारे अनुसन्धान गर्दै वास्तविक विषय बाहिर ल्याउने छौँ,’ उनले भने ।    
 

Leave A Comment