सफा र स्वादिलो ‘युनिटी’

सोमबार, ११ पुष २०७३, ०१ : ०८ शुक्रवार , Kathmandu
सफा र स्वादिलो ‘युनिटी’

काठमाडौँको चहलपहल बढी हुने क्षेत्रमध्ये एक हो, बागबजार । बागबजारको चहलपहल देखेर नै रामछापका टेकराज श्रेष्ठ र ओम श्रेष्ठले यहाँ युनिटी फुड क्याफे सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटो र त्रिपुरेश्वरमा युनिटी फुड क्याफे सञ्चालन गरिरहेका यी दाजुभाइले बागबजार क्षेत्रमा खाना र खाजाका लागि स्तरीय सेवा दिने उद्देश्यले रेस्टुरेन्ट खोलेको बताए । ‘हामी काठमाडौँका विभिन्न क्षेत्रमा युनिटीको आउटलेट विस्तार गर्ने क्रममा बागबजार आएका हौँ,’ सञ्चालक टेकराज भन्छन्, ‘सस्तो मूल्यमा ग्राहकलाई सफा र स्वादिला परिकार पस्कने हाम्रो एकमात्र लक्ष्य हो ।’
भक्तपुर बसपार्कको आडैमा रहेको क्याफे ग्राउन्ड र फस्र्ट फ्लोरमा अवस्थित छ । फेमली रुमसहित एकै पटकमा १ सय ५० जनासम्म अट्ने क्याफेको सजावट पनि निकै आकर्षक छ । पर्याप्त पार्किङ सुविधा भएको क्याफेले होम डेलिभरी सुविधा पनि उपलब्ध गराउँछ । क्याफेका मुख्य सेफ अमर श्रेष्ठ अन्यत्रभन्दा फरक स्वादमा परिकार बनाउन युनिटीले विशेष प्रकारका खानाका रेसिपीको विकास गरेको बताउँछन् । ‘हामी सरसफाइमो विशेष ध्यान दिन्छौँ,’ सेफ अमर भन्छन्, ‘खानाका लागि चाहिने मसला पनि आफैँले बनाउने गरेका छौँ । खानामा स्वाद ल्याउने मसला बजारको रेडिमेड किनेर प्रयोग गर्ने गरिएको छैन ।’
इन्डियन, चाइनिज, कन्टिनेन्टलदेखि नेपाली दाल, भात र तरकारीसम्म सर्भ गर्ने युनिटीमा कफी पारखीहरूका लागि माउन्टेन कफी बिन्सको आउटलेट पनि सञ्चालन गरिएको छ । तीन हजार फीटदेखि छ हजार फीटसम्म उत्पादन गरिएका अर्गानिक नेपाली कफीको स्वाद युनिटीमा लिन पाइन्छ । माउन्टेन कफी बिन्सका रविन्द्र भण्डारी नेपाली कफी उत्पादकहरूलाई प्रोत्साहन गर्न नेपाली बिन्स नै प्रयोग गर्ने गरिएको बताउँछन् ।
युनिटीमा टिमुर चिकेन, क्रन्ची चिकेन, झोल मःम, चिकेन सिज्लर ग्राहकले बढी रुचाउने गरेको सञ्चालक टेकराज बताउँछन् । नौ वर्षदेखि रेस्टुरेन्ट क्षेत्रमा काम गरिरहेका टेकराज स्वदेशमै बसेर केही गर्न सकिन्छ भनेर प्रमाणित गर्न आफूहरूले कडा परिश्रम गरिरहेको बताउँछन् । स्वादिला परिकार, सुलभ मूल्य र सफा भएपछि रेस्टुरेन्ट व्यवसायमा सफलता प्राप्त गर्न सकिने उनी बताउँछन् ।

Leave A Comment