‘बियरले नुहाइदिँदा सास फेर्नै गाह्रो भो’

सोमबार, ११ पुष २०७३, ११ : ३७ अनिल यादव , Kathmandu
‘बियरले नुहाइदिँदा सास फेर्नै गाह्रो भो’

हाल हिट भइरहेको फिल्म ‘लुट–२’को ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’ बोलको आइटम गीतमा कम्मर मर्काएकी अभिनेत्री हुन्, एलिसा राई । यो गीतमा नाच्नुभन्दा अघि नै उनले दर्जनौँ म्युजिक भिडियो र दुई दर्जनजति सर्ट फिल्ममा काम गरेकी थिइन् । तर, यो एउटै गीतले उनलाई चर्चाको चुलीमा पु¥याएको छ । अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनी यही फिल्ममा दयाहाङ राईको अपोजिटमा देखिँदैछिन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

पर्दामा त निकै परिपक्व देखिनुहुन्छ । तर, बिलकुल फरक हुनुहुँदो रहेछ ?
हो । म रियलमा फुच्ची नै हो । तर, क्यामेरामा परिपक्व देखिन्छु । मेकअप र लुक्सले गर्दा होला ।

यही कारण पहिलोपल्ट भेट्दा निर्माता÷निर्देशक तपाईंसँग झुक्किँदा हुन् ?
अहिलेसम्म मलाई सुरुमा भेट्ने सबै जना प्रायः झुक्किनु नै भएको छ । चकित नै पर्नुहुन्छ । ‘स्क्रिनमा त अर्कै देखिनुभएको थियो, यहाँ त अलि योङ नै देखिनु हुँदोरहेछ’ भन्दै काममा लिऊँ कि नलिऊँ भनेर दोधारमा पर्नुहुन्छ । तर, काम गरेपछि चाहिँ ‘राम्रो गर्दी रहेछौ’ भनेर सन्तुष्ट हुनुहुन्छ ।

‘लुट–२’को आइटम गीत रिलिज भइसकपछि तपाईंको परिचय पनि फेरियो । धेरैले ‘ठमेल बजारकी सुन्दरी’ भन्न थाले भन्ने सुनिन्छ नि ?
हो नि । आफ्नो नामभन्दा पनि आफूले गरेको कामबाट चिनिँदा खुशी नै लागिरहेको छ । मैले राम्रो गर्न सकेको भएरै परिचय बदलिएको हो कि जस्तो लाग्छ ।

एउटै गीतले यति धेरै चर्चामा ल्याउँदा आफूलाई सम्हाल्न कत्तिको गाह्रो हुने रहेछ ?
‘ठमेल बजार’ गीतबाट मलाई धेरैले चिन्नुभयो । तर, योभन्दा अघि पनि सर्ट मुभिज र म्युजिक भिडियो गर्दै आइरहेकी थिएँ । त्यहाँबाट पनि मेरो उमेरका दर्शकले चिन्नुभएकै थियो । अहिले अलि धेरैजना चिन्नुभएको हो । तर, ‘ए मलाई अब धेरैले चिन्यो’ भन्दै कसैलाई नगन्ने टाइपको केटी होइन म । किनकि, मलाई म कहाँबाट आएकी हुँ र कसरी बस्नुपर्छ भन्ने थाहा छ । मैले आफ्नो धरातल बिर्सिएको छुइन ।

तपाईंलाई ‘लुट–२’मा कसरी अफर आयो ?
ब्ल्याक हर्स प्रोडक्सनका दाइहरूले युट्युबमा मेरो म्युजिक भिडियो र सर्ट मुभीहरू हेर्नुहुन्थ्यो रहेछ । असिस्टेन्ट डिरेक्टर अनिल खड्काले मलाई ‘लुट–२’ का लागि यस्तो रोलका लागि केटी चाहिएको’ भनेर जानकारी दिँदै अफिसमा भेट्न बोलाउनुभयो । ‘लुट’ जस्तो हिट फिल्म बनाउने ब्यानरबाट फिल्मको अफर आएपछि एकछिन त म अलमलमा परेकी थिएँ । त्यसपछि भेट्न जाँदा निर्देशक निश्चल बस्नतले मलाई फिल्मको क्यारेक्टर र रोलबारे स्पष्ट पार्नुभयो । उहाँले ‘बार गर्लको क्यारेक्टर हो, आइटम गीतमा नाच्नुपर्छ, बोल्ड देखिनुपर्छ, उसको मुखबाट भद्दा शब्दहरू आउनसक्छन्’ भन्नुभयो । नाच्न र डायलग भन्न लगाइयो । त्यसपछि छनोट भएकी हुँ ।  

‘लुट’को आइटम डान्स भन्नासाथ दिमागमा झट्टै केही त आयो होला ?  
पक्कै पनि । मलाई त सुषमा कार्कीले नाचेको ‘उध्रेको चोली’ गीतको याद आइहाल्यो । मेरो मनमा त्यही खालको गीत पो हो कि भन्ने पनि भयो । काम गरौँ कि नगरौँ भन्ने दोधारमा पनि परेँ । मैले एक हप्ताजति सोचेँ र काम गर्ने निर्णय लिएँ ।

बारमा आइटम गीतको सुटिङ सक्न तीन दिन लागेको थियो रे ?
हो नि । मलाई त त्यो गीत सुटिङ भन्नासाथ दुःखहरू मात्र याद आउँछ । तर, दुःखमै रमाइलो थियो । नाच्दाखेरि लाइटको तापले खलखली पसिना आउँथ्यो । यतिसम्म कि पसिनाले ढाडमा लगाएको डुप्लिकेट ट्याटू नै उप्काइदिएको थियो । मैले कहिल्यै बियर खाएको थिइनँ । तर, बियर जीउभरि खनाउनुपर्ने सिन गर्दाखेरि त कम्ती तनाव भएको थिएन । सबै बियर कसैले खाइदिएछ । जम्मा छ वटा बाँकी रहेको थियो । त्यसैले वान टेकमा ओके गर्नुपर्ने थियो । त्यतिबेला बियरले नुहाइदिँदा त मलाई सास फेर्नै गाह्रो भयो । मुखभरि बियर परेको थियो । आँखा पनि पोलेको थियो ।
सुनिएअनुसार फिल्मका लागि तपाईलाई बार गर्लको भूमिका दिइए पनि तपाईंले त्यसभन्दा अघि डान्सबार र त्यहाँ काम गर्ने युवती देख्नुभएको थिएन ।
हो, मैले देखेको थिइनँ । त्यसैले मलाई सुरुमा एकदमै गाह्रो भयो । त्यही भएर मलाई ‘लुट’कै कलाकार सुशील पाण्डेले एक दिन ठमेलको डान्स बार लानुभयो । फस्ट टाइम मैले बार त्यहीँ देखेको थिएँ । केटीहरूले कसरी नाच्दा रहेछन्, कसरी हिँड्दा रहेछन्, बस्ने, खाने र ग्राहकसँग गर्ने व्यवहार सबै राम्रोसँग नियालेँ ।

फिल्ममा अभिनेता दयाहाङ राईंको अपोजिटमा काम गर्नु कत्तिको सहज थियो तपाईंका लागि ?
मैले त उहाँसँग काम गर्न पाउँछु होला भनेर कहिले पनि सोचेकी थिइनँ । उहाँ ‘कबड्डी’ फिल्मको डायलग ‘कता हो सोल्टिनी चिटिक्क परेर’को त डबस्म्यासमा नक्कल नै गरेर फेसबुकमा राखेकी थिएँ । आज त्यही मान्छेसँग काम गर्न पाउँदा खुशी छु । उहाँसँग काम गर्दा धेरै सिक्ने मौका पाइयो । उहाँ धेरै सहयोगी हुनुहुन्छ ।

अभिनयमा कसरी प्रवेश भयो ?
नृत्यबाटै भएको हो । म बच्चैदेखि विभिन्न संस्थाका कार्यक्रममा नाच्थेँ । त्यही भएर राई समुदायमा मलाई मेरो नामले चिन्दैन थिए, ‘नाच्ने बहिनी’ भनेर चिन्थे । त्यत्तिकैमा तीन वर्षअघि म एसएसली दिएर बसेको बेला किराती मिथकमा आधारित फिल्म ‘बिनायो’मा काम गर्नेे मौका पाएँ । त्यतिबेला १६ वर्षकी थिएँ ।

त्यतिबेला क्यामेरा फेस गर्दा कस्तो अनुभव भयो ?
त्यतिबेला त मलाई के ग¥या, के ग¥या जस्तो लाग्थ्यो । भाडाँकुटी खेल्या जस्तो के ! एउटै कुरा दुईतीन चोटि खिचेको जस्तो लाग्थ्यो । पहिलो पल्ट क्यामेरा देखेर होला मलाई त फिल्म खेलेको जस्तो नै लागेन । केही फिल नै नभएर होला, त्यति नर्भस पनि भइनँ । काम गराउँदा डिरेक्टरले पनि केटाकेटीलाई फकाएजसरी मायाले गराउनुभयो । पछि फिल्म हेरेपछि पो छक्क परेँ ।

‘बिनायो’पछि अभिनयलाई निरन्तरता दिनुभएको हो ?
होइन । पढाइका कारण दुई वर्ष ब्रेक गरेँ । प्लस टू सकेपछि युजिक भिडियो र सर्ट मुभीतिर काम गर्न थालेँ । सक्रिय भएर काम गरेको एक वर्ष मात्र हुँदैछ ।

छाटो समयमै यसरी चर्चामा आइएला भन्ने सोचिएको थियो ?
सोचिएको थिएन, इच्छा चाहिँ थियो । बच्चैदेखि म मान्छे त फिल्मी नै थिएँ । फिल्महरू पनि एकदमै हेर्थें । तर, मेरो परिवारबाट कोही यो क्षेत्रमा थिएन । त्यसैले यो क्षेत्रमा कसरी आउने भन्ने नै थाहा थिएन । कसैलाई  चिनेको पनि थिएन ।

तपाईंको बढी रुचि चाहिँ नृत्यमा हो ?
हो । मैले थुप्रै इन्स्च्यिुटमा नृत्य सिकेँ । कल्चरल, क्लासिकल, बेली, साल्सा सबै खाले डान्स सिकेँ ।

फिल्मको सुटिङ सेटमा सबैले ‘फुच्ची’ भन्थे रे तपाईंलाई ?
मलाई मायाले सबैले फुच्ची भन्थे । खास गरी दया दाइ, निश्चल दाइहरूले भन्नुहुन्थ्यो ।

अहिले त कामको अफर पनि बढेको होला ?
अलिअलि आइरहेको छ । मैले फिल्म चाहिँ ओके गरिसकेको अवस्था छैन ।

आइटम डान्सरका रूपमा बढी अफर आइरहेको होला ?  
हो । फिल्ममा भन्दा पनि बढी म्युजिक भिडियो मेकरबाट यस्तो अफर आइरहेको छ । सबैले आइटम गीत जसरी नै ग्ल्यामरस रूपमा बारतिर नाच्नुपर्छ भन्दै अफर लिएर आउन थालेका छन् । अडियन्सलाई पनि मोनोटोनस हुन्छ भनेर मैले काम गरेको छुइन ।

‘लुट–२’मा काम गरिसकेपछि अभिनय सिक्नुपर्छ भन्ने महसुस पनि गर्नुभएछ ।
यो फिल्म खेलिसकेपछि अभिनय सिक्नुपर्छ भन्ने फिल भएको हो । त्योभन्दा अगाडि म अलि कच्चा नै थिएँ । अहिले पनि कच्चा नै छु । तीन महिना भयो, रंगकर्मी सुनील पोखरेलसँग अभिनय सिकिरहेकी छु ।

प्रेममा त परिएको छैन नि ?
छैन । भर्खर त करिअर सुरु भइरहेको छ । लभ गर्न फुर्सदै छैन ।

तैपनि, कस्तो प्रेमी चाहनुहुन्छ ?
परिपक्व होस्, जिम्मेवार होस् । बुझ्ने र माया गर्ने होस् । तर, अघि नै भनेँ नि मलाई लभ गर्ने फुर्सद छैन ।

 

Leave A Comment