‘न खानाको ठेगान, न खाजाको’

सोमबार, ११ पुष २०७३, ११ : ०७ सृजना खड्का , Kathmandu
‘न खानाको ठेगान, न खाजाको’

बा.१ ज ७२४७
चालकः बिर्खबहादुर मगर

हालखबर के छ गुरुजी ?
अहिलेसम्म त ठीकै छ ।
घर कता प¥यो नि ?
रामेछाप ।
ड्राइभिङ गर्न थालेको कति भयो ?
२६ वर्ष पूरा भइसक्यो । पहिला मिनी ट्रक चलाउँथे । ट्याक्सी चलाउन थालेको जम्मा पाँच वर्ष भयो ।
आफू चाहिँ कति वर्षको हुनुभयो नि ?
४७ कटेर ४८ लागेँ ।
कामबाट सन्तुष्ट हुनुहुन्छ ?
केको सन्तुष्टि, बाध्यता हो । नगरी हुँदैन ।
यस क्षेत्रका समस्या केके हुन् ?
पार्किङ गर्ने ठाँउ छैन । प्यासेन्जर ओराल्दाओराल्दै ट्राफिक आएर पाँच सयको चिट काटिदिन्छन् । हरेक दिन हैरानी खेप्नुपर्छ ।
ट्राफिक नियमबारे के भन्नुहुन्छ ?
ट्राफिक नियम मान्छु । तर, कतिपय अवस्थामा गल्ती नगर्दा नगर्दै पनि फन्दामा परिन्छ ।
ट्याक्सी आफ्नो कि साहूको ?
साहूको । आफूले त यत्रो ट्याक्सी कहाँबाट ल्याउनु ?
कमाइ कति हुन्छ ?
१५ हजारजति कमाइन्छ । कमाएको पैसा खाँदै र कोठाभाडा तिर्दैमा ठिक्क हुन्छ ।
खानपानको टुंगो हुन्छ कि हुँदैन ?
कहाँ हुनु नि ! १० बजे खानुपर्ने खाना कहिलेकाहीँ १ बजे खाइन्छ । जाममा फसियो भने त झन् न खानाको ठेगान हुन्छ न खाजाको । गीतसंगीत सुनिन्छ ?
कहिलेकाहीँ सुन्छु । लोेकगीतसंगीत एकदमै मन पर्र्छ । तर, गाउने मान्छे को हो भनेर ठम्याउन सक्दिनँ ।
फिल्म नि ?
फिल्मको त कुरै नगरौ । फिल्मले मलाई ट्याम्पू ड्राइभर बनायो । ‘नेपाली बाबु’ फिल्ममा भुवन केसी ट्याम्पू ड्राइभर बनेको देखेर मलाई पनि ड्राइभर बन्ने लहर चलेको हो । केही वर्ष त नेपाली बाबु बनेरै ट्याम्पू पनि चलाएँ ।
राजनीतिमा पनि चासो राख्नुहुन्छ कि ?
चासो त छ तर हामीले मात्र चासो राखेर के गर्नु नेताहरूलाई हाम्रो वास्तै छैन ।
तपार्ईंको सपना के छ ?
पूरा नहुने सपनाको के कुरा गर्नु । ड्राइभिङ पेशामा लागेको मान्छे अब ढुंगा बोक्न सकिँदैन । त्यसैले अब यही पेशामा लागेर जीवन बिताउनु नै मेरो सपना पनि हो, विपना पनि हो ।
जीवन भनेको के रैछ त ?
जन्मेपछि मर्नुपर्ने एउटा प्रक्रियालाई मैले जीवन हो भनेर बुझेको छु ।

 

 

Leave A Comment