विषपान

सोमबार, ११ पुष २०७३, १० : ५४ ईश्वर दाहाल , Kathmandu
विषपान

भगवान् शिवले पिएको कालकूट विष सदियौँ कालदेखि चर्चामा छ । लोकको संकट मोचनका लागि कालकूट पिएर शिवले आफूलाई संकटमा पारेका थिए । उनी नीलकण्ठका नामले पूजित छन् । हाम्रा मध्यमार्गी कमरेडहरू पनि विष पिउन बाध्य रहेछन् । संघीयता, धर्मनिरपेक्षता र समावेशितारूपी विषले कमरेडहरूको हृदय भतभती भएको रहेछ । उनीहरूले माओवादी र मधेशीका लागि विष पिएका रहेछन् । कमरेडहरूले विष पिएर पनि ‘विषले पोल्यो’सम्म भन्न सकेका रहेनछन् । बाध्य भएर विष खानु छ । विषले पोल्यो समेत भन्न नसकेर पिल्सनु छ । यो दशक कमरेडहरूका लागि साँच्चै दुःखदायी दशक भएछ । अति भएपछि के गर्ने ? सहनुको पनि हद हुन्छ । धैर्यको पनि सीमा हुन्छ । अर्काेतर्फ भित्र एकथोक राखेर बाहिर अर्काेथोकको फूलबुट्टा भरेर धेरै दिन चल्दैन । नचल्दो रहेछ । भित्र एकथोक र बाहिर अर्काेथोकको पिङमा हल्लँदाहल्लँदै कमरेड उपाध्यक्षले भन्नुभयो, ‘विष वमन गरिएन भने सखाप होइन्छ ।’ कमरेडले जे भन्नुभयो सही भन्नुभयो । विष बोकेर मान्छे बाँच्न सक्दैन । विषधारीलाई बचाउनु छ भने विषलाई वमन गराउनुपर्छ । विष पिएकाहरूलाई जीवित राख्नका लागि गरिने पहिलो प्रयत्न वा उपचार नै विष वमन हो । उपाध्यक्ष कमरेडले मोर्चा खोलिदिएपछि विषपान गर्नेहरू आफ्नो छटपटी र पीडा सुनाउन तँछाडमछाड गरिरहेका छन् । पूर्व उदार अर्थमन्त्री अर्थात् मन्त्री भएपछि अर्थमन्त्रीकै टीको लाग्ने प्रजातान्त्रिक पार्टीका नेतालाई पनि विषले हुनुसम्म अत्याएको रहेछ । उहाँले भन्नुभयो, ‘संघीयताको गीत यसरी गाइयो कि जहाज पहाडमा ठोकिएकोसम्म थाहा भएन ।’ आज संघीयताको गानाले जहाज ठोकिएको थाहा भएन । हिजो उदारीकरणको ¥यापले घर भत्किएको थाहा भएन । यतिसम्म कि नाफाका उद्योग बन्द भए, पत्तो भएन । देशका गौरव रहेका कलकारखानाहरू कौडीको भाउमा निजीकरण भए, याद भएन । देश बोर्डरमा गएर भन्सार उठाउने मुन्सी बन्यो, थाहा भएन । संयोग पनि बडो विचित्रको हुन्छ । हिन्दू राष्ट्र, केन्द्रीकृत शासन र राजतन्त्र पुनर्बहालीको पाञ्चजन्य बजाएर चुनावमा उत्रिएका अध्यक्ष थापाकाजीलाई संविधान कार्यान्वयनको हतारो देखिन्छ । उनी संविधान कार्यान्वयनका लागि आफ्नो मुद्दा ‘भाडमा जाए’को मुद्रामा देखिन्छन् । जन्मजात हँसिया–हथौडा झण्डाको सियाल र सधैभरि माक्र्सवादको सिरानी हालेको पार्टी । चुनावमा जनताको घरदैलोमा जाँदा धर्मनिरपेक्षता, संघीयता र समावेशितालाई शिरमा राखेर पुगेका कमरेडहरू, अहिले आएर विष वमनका लागि आतुर छन् । माओवादी कित्ता पनि आफूले विष पिएको पीडाबाट मर्लान्त छ । जन्मजात छिछि गरेको संसदलाई स्विकार्नु, प्रत्यक्ष कार्यकारीको सपनालाई बीचबाटोमै छाड्नु र क्यानटोनमेन्टको ताला–साँचो अर्काको हातमा सुम्पनुजस्ता दर्दनाक पीडा सुनाउँदै माओवादीहरू आक्रोशको मुद्रामा बर्बराउँछन्, ‘माओवादीले शान्ति र संविधानका लागि के गरेन ? दशकौँ लगाएर आर्जिएको शक्ति र सामथ्र्य गुमायो । आज जे प्राप्त भएको छ, त्यो सब माओवादीको विषपानबाट प्राप्त भएको छ ।’ ओली, दाहाल, देउवा र भट्टराई सबैलाई लागेको छ– आफूहरूले नचाहँदा नचाहँदै विष खाइयो । अब खान सकिँदैन । नयाँको खोजमा पुरानो घर छाडेर निक्लएका डाक्टर सापले घर छाड्दै गर्दा भन्नु भाथ्यो, ‘मलाई संविधानमा हस्ताक्षर गर्न पटक्कै मन थिएन । तर, भुइँको टिप्न खोज्दा पोल्टाको गुम्ने डरले हस्ताक्षर गरेँ । मनले नमान्दा नमान्दै पनि विषपान गर्न बाध्य भएँ ।’ हिजोआज ओली कमरेड पनि भन्नहुन्छ, ‘संघीयता मेरो शब्दकोशमा थिएन । माओवादी र मधेशीले उल्कै उठाएपछि संघीयतालाई स्वीकार गरेर विषपान ग¥यौँ । विष पचाउन निक्कै हम्मे प¥यो । तसर्थ अब बान्ता नगरीकन चैनको सास फेर्न सकिन्न ।’ विषपान गर्नेहरूको लहरमा पूर्वराजा ज्ञानेन्द्र पनि छन् । अरूको जस्तो सोझोसोझो नभने पनि उनले पनि बेलाबेलामा आफ्नो विषपानको पीडा पोख्दै आएका छन् । उनको स्पष्ट भनाइ छ– ‘पुर्खाले आर्जेको राज्यको मुकुट र गद्दी छाडेर मैले कालकूट पिएको हुँ । यदि मैले विष पिउने हिम्मत नगर्दाे हुँ त धेरै अनर्थ हुने थियो ।’ कुरो छर्लङ्ङ छ, लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, गणतन्त्र, संघीयता र समावेशित कसैका सपना, चाहना र लक्ष्य होइनन् । यी सबैले देश बन्छ भनेर कसैले सोचेका र चाहेका होइन रहेछन् । यी सब थोक बाध्यताका विषपान रहेछन् ।

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17