पुरानै गीत खोज्छन् स्रोता

आइतबार, १० पुष २०७३, ०१ : १५ शुक्रवार , Kathmandu
पुरानै गीत खोज्छन् स्रोता

–राधिका अधिकारी
गायक प्रमोद खरेल हिजोआज काठमाडौँबाहिर बढी भेटिन्छन् । सिजन मेला– महोत्सवको छ, चलेका कलाकारलाई भ्याइ–नभ्याइ छ । चलेका कलाकार आफ्ना चलेका गीतसँगै नयाँ गीतका ट्र्याक बोकेर कार्यक्रममा पुग्छन् । गायक प्रमोद खरेल पनि स्टेजमा नयाँ गीत प्रस्तुत गर्न चाहन्छन् । तर, उनका स्रोता पुरानै गीतको माग गर्छन् । भन्छन्, ‘स्रोता हाम्रा नयाँ गीतका बारेमा जानकार हुनुहुन्छ, तर हुटिङ पुरानैमा गर्नुहुन्छ । त्यसपछि नयाँसँगै पुरानो गीत पनि गाउने गरेको छु ।’ उनी थप्छन्, ‘सबैभन्दा धेरै ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’, ‘अन्त माया लाको भए’ बोलको गीत नै स्रोताहरूले गाउन भन्नुहुन्छ ।’
लोकगायिका राधिका हमाल पनि आफ्ना नयाँ गीतका ट्र्याक बोकेर कार्यक्रममा पुग्छिन् । तर, उनले करिब १० वर्षअघि गाएको ‘क्याम्पस पढ्न आउनी’गीतको अफर बढी आएपछि उनी सोही गीत गाउन बाध्य हुन्छिन् । भन्छिन्, ‘स्रोताभन्दा माथि हाम्रा सिर्जना हुनै सक्दैनन् ।’ तीज ताका भने उनले गाएको ‘लरक्कै लर्कियो रातो सारी’को अफर आउने बताउँदै उनले थपिन् ‘१० वर्षपछि बल्ल ‘झोर्ले हो’ स्रोताको माग हुने नयाँ गीत बनाएकी छु ।’
गायक हेमन्त शर्मा पनि मेला–महोत्सवमा बाक्लो उपस्थिति जनाउने गायक हुन् । वर्षमा थोरै गीत सार्वजनिक गर्ने उनलाई पनि यस्तै खालको अनुभूति छ । भन्छन्, ‘स्रोतालाई नयाँ गीत पनि थाहा हुन्छ, तर पुरानो गीत नगाई सुखै दिनुहुन्न ।’ उनले पछिल्लो समय गाएको गीत ‘जमिनमुनी बदाम’ समेत चर्चामा छ, तर दर्शक– स्रोताले पुरानै गीत ‘मूल हौ भने रसाइदेऊ’, ‘माया साह्रै महँगो’ लगायत पुरानै गीत गाउन आग्रह गर्ने शर्मा बताउँछन् ।
लोकगायक पशुपति शर्मा वर्षमा सबैभन्दा धेरै गीत गाउने गायकभित्र पर्छन् । उनी तीजदेखि तिहारसम्म गाउनैमा व्यस्त हुन्छन् । उनका नयाँ गीतभन्दा पुरानै गीत स्रोताको फर्माइसमा पर्छ । ‘‘क्याम्पस पढ्न आउनी,’ ‘स्रोह दुना आठ’लगायत गीत गाउन लगाउनुहुन्छ,’ उनी भन्छन्, ‘पछिल्लो समय ‘मलाई अमेरिका यहीँ’ पनि दर्शकको रोजाइमा पर्ने गरेको छ ।’
गायिका अञ्जु पन्तका कैयौँ गीत चर्चामा छन् । तर, उनका स्रोताले पनि नयाँभन्दा पुराना गीत नै गाउन लगाउने गरेको उनी बताउँछिन् । भन्छिन्, ‘स्रोताले धेरै ‘नबिर्से तिमीलाई’, ‘हाँस्नलाई ओठ खोलेँ’, ‘तिमीले पराई ठानेपछि’ लगायतका पुराना गीत गाउन भन्नुहुन्छ ।’
लोकगायक बद्री पंगेनी पनि मेला–महोत्सवमा अत्यधिक रुचाइएका गायक हुन् । उनलाई पनि स्रोताले पुरानै गीत गाउन लगाउने गरेका छन् । भन्छन्, ‘स्रोताले ‘ससुरालीमा’ भनेर हुटिङ गर्दा मेरा नयाँ गीत स्रोताले सुन्नु नै भएको छै न कि भन्ने लाग्छ ।’
स्टेज कार्यक्रमका लागि हिँड्ने धेरै कलाकार आफ्ना नयाँ गीतका ट्र्याक बोकेर पुगेका हुन्छन् । तर, सबैले पुरानो गीत गाएन स्रोताको माग पूरा गरिदिनुपर्छ ।

Leave A Comment