ठगी धन्दा घातक फन्दा

आइतबार, १० पुष २०७३, १२ : २६ अम्मर जिसी , Kathmandu
ठगी धन्दा घातक फन्दा

ठगहरू यति बढेका छन् कि हामी पाइला–पाइलामा ठगिइन सक्छौँ । ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् । भीआईपीसँग खिचाएको फोटो देखाएर ठग्नेदेखि फेसबुकसम्मलाई ठगीको अस्त्र बनाउनेहरू छन् । जागिर लगाइदिन्छु, विदेश पठाइदिन्छु, ग्रहदशा शान्त गरिदिन्छु, घरजग्गा मिलाइदिन्छु आदि आदि भनेर सर्वसाधारण ठग्न पल्केकाहरू सर्वत्र छन् । अलिकति होश नपु¥याउने हो भने तपाईं जहाँ पनि, जुनसुकै बहानामा ठगिइन सक्नुहुन्छ । अम्मर जिसीले बढ्दा ठगहरू र मौलाइरहेको ठगी धन्दाको वृत्तान्त उतारेका छनु ।
विज्ञापनः ठगीको अस्त्र
अभय भन्ने पुष्कर खड्काको ठगी धन्दाको अस्त्र थियो, विज्ञापन । ‘मोडल चाहियो’ शीर्षकमा उनका आकर्षक विज्ञापन पत्रपत्रिका र सामाजिक सञ्जालमा छाइरहन्थे । मोडल बन्ने सपना बोकेका युवतीहरू उनका ‘टार्गेट’ थिए ।
विज्ञापनमार्फत सम्पर्कमा आएका युवतीहरूलाई सुरुमा उनी नानाथरी नाममा पैसा असुल्थे । पैसा असुल्नुमात्र उनको ध्येय कहाँ हुन्थ्यो र ? युवतीहरूलाई होटलमा कथित अन्तर्वार्ताका लागि भनेर बोलाउँथे । र, उनीहरूको यौन शोषण गर्थे ।
पछिल्लो पटक काठमाडौँ, पुतलीसडकको एउटा होटलमा उनले एक युवतीलाई बलात्कार गरे । प्रहरी वृत्त जनसेवाका डीएसपी सन्तोष आचार्यका अनुसार पुष्करले मंसिर २३ गते अन्तर्वार्ताका लागि भनेर होटलमा बोलाएर ती युवतीमाथि बलात्कार गरेका थिए । उनले विज्ञापनमार्फत सम्पर्कमा आएकी युवतीलाई सुरुमा फर्म भर्न पठाएर १० हजार रुपैयाँ माग गरेका थिए । पैसा तिर्न नमानेपछि युवतीलाई फकाउने अनेक बहाना रचे । अन्तिममा युवती पैसा नतिरेर अन्तर्वार्ताका लागि राजी भइन् । र, पुष्करले जघन्य अपराध गरे ।
डीएसपी आचार्यका अनुसार पुष्करले लामो समयदेखि मोडल बनाउने नाममा काठमाडौँ, पोखरालगायत शहरमा युवतीहरूमाथि आर्थिक, मानसिक र शारीरिक शोषण गर्दै आएका थिए । ‘फरकफरक युवतीलाई फरकफरक होटलमा लगेर ऊ अन्तर्वार्ताको नाटक रच्थ्यो,’ डीएसपी आचार्यले भने, ‘सामाजिक सञ्जालबाट समेत युवतीहरूसँग सम्पर्क बढाउँथ्यो । धेरै युवती उसको शोषणमा परेका देखिन्छन् ।’ पुष्कर अन्तर्वार्तामा बोलाएका युवतीहरूको आर्थिक अवस्था हेरेर अघि बढ्थे । धनाढ्य भए सुरुमा ठग्ने र त्यसपछि बलात्कार गर्ने वा कमजोर आर्थिक अवस्था भए सुरुमै फकाएर वा जबर्जस्ती यौन शोषण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिलेसम्म उनले छ जना युवतीलाई बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । उनीबाट ठगिएका युवतीको संख्या भने यकिन भइसकेको छैन । पोखरा कारागारबाट फरार भएका र विभिन्न अपराधमा कैद तथा जरिवाना तिर्न बाँकी रहेका पुष्कर ठगीका माहिर धन्दावाल भएको प्रहरीले जनाएको छ ।   
पत्रपत्रिकामा वर्गीकृत विज्ञापन छापेर ठग्ने धन्दा नौलो होइन । आकर्षक तलबसहितको रोजगारीको लोभ देखाएर बेरोजगार युवायुवतीको शोषण गर्नेलाई प्रहरीले प्रभावकारी कारबाही चलाउन बेवास्ता गरिरहेको गुनासो पीडितहरूको छ ।
‘अफिसभित्रै बसेर ५० हजार तलब’ अंकित विज्ञापन पछ्याउँदै जाँदा घरखेत गुमाउनुपरेकी विराटनगरकी सौभाग्या ज्ञवाली प्रहरी र अदालतसँग रुष्ट छिन् । ‘सुरुमा प्रहरीले मलाई नै सीधै दोषी भन्यो,’ उनले पीडा व्यक्त गरिन्, ‘अदालतले पनि ठगलाई सामान्य धरौटीमा छाड्यो । अहिले त्यो ठगले धम्क्याउँछ । के गरौँ ? सोच्न सकेकी छैन ।’ जागिर खोज्दै कमल न्यौपाने नामक व्यक्तिको कार्यालयमा पुगेकी उनले सुरुमा त राम्रै काम पाइन् । महिनामा २०÷३० हजार रुपैयाँ बुझेकै थिइन् । महँगा सौन्दर्य सामग्री बेच्नुपथ्र्यो उनले । बिस्तारै लगानी गर्न आकर्षित गरे सञ्चालक कमलले । राम्रै कमाइ हुने सोचेर घरखेत नै धितो राखेर कमललाई पाँच लाख बुझाएकी सौभाग्याले लगानीको फल चाख्ने सौभाग्य पाइनन् । पैसा लिएको भोलिपल्टदेखि कमल सम्पर्कविहीन भइदिए । सौभाग्यालाई पत्तो नहुँदै अफिस बिक्री भइसकेको थियो । उनले अहिले पत्तो पाएकी छिन्, ‘त्यो त महाठग रहेछ । सुरुमा टन्न तलब दिएर राख्ने । अनि, ‘यसमै लगानी गरौँ’ भनेर फकाउने । लगानी गरेपछि भाग्ने गर्दो रहेछ ।’
‘फेक’ विज्ञापनकै भरमा लाखौँ आम्दानी गर्ने एजेन्सीहरू पनि छन् । त्यस्ता एजेन्सी सुरुमा फर्म भराउने, तालिम दिलाउने, सामान दिलाउनेलगायत निहुँमा बेरोजगारहरूबाट सुरुमै उल्टै दशौँ हजार असुल्ने गरेका छन् । जागिर त कहाँ हो कहाँ ? ठग्ने गिरोहको फेला परेर भएको सम्पत्ति पनि गुमाउनुपर्ने घटना बढेका छन् ।   
सुनदेखि नुनसम्ममा ठगी
धनमाललाई ग्रहदशाबाट शुद्ध गरिदिने नाममा ठग्नेहरूको फन्दामा परेका पीडितहरू उत्तिकै छन् । यस्तैमध्ये एक पीडित नुवाकोटकी संगीता शाह प्रहरी कार्यालय धाउँदाधाउँदा थाकिसकिन् । धनमाल शुद्ध गरिदिने नाममा आठ तोला सुन एक भारतीय नागरिकलाई बुझाएकी उनले अहिले त्यो सुन फिर्ता हुने आशमा पूजा लाउनबाहेक के गर्न सक्थिन् र ? ‘सुनलाई माटोमा हालेर खै केके ग¥यो ? मलाई त अहिले पनि त्यो सम्झेँ भने रिंगटा लाग्छ,’ उनले भनिन्, ‘‘भोलि मात्र माटो हटाएर सुन झिक्नू’ भन्यो । त्यसै गरेको । कहाँ भेटिन्थ्यो सुन ?’
दैनिक उपभोग्य सामानदेखि विलासिताका महँगा चिजवस्तुमा ठगी हुने गरेका घटना नौला रहेनन् । एक समय प्रहरीको अपराध महाशाखाले पेट्रोल पम्पहरूलाई कारबाहीको लहरै चलायो । पेट्रोलियम पदार्थको मात्रा÷नाप कम गर्ने उपकरण पम्पमा जडान गरेर उपभोक्ता ठग्दै आएका राजधानीका दर्जनौँ पम्पका सञ्चालक र प्राविधिकलाई प्रहरीले पक्राउ गरेको थियो । बजारमा अभाव सिर्जना गराएर महँगो मूल्यमा ग्यास, तेल, खाद्यान्नलगायत सामान बेच्न पल्केका ठगहरू प्रहरीको कारबाही सेलाउनेबित्तिकै सलबलाउन थालिहाल्छन् ।
ठग कन्सल्ट्यान्सी
‘स्विडेनमा वर्क परमिटको ग्यारेन्टी । जम्मा १० दिनमा भिसा आउने । काममा सामान्य अनुभव भए पुग्ने । शैक्षिक योग्यताको बन्देज नभएको । लागत मात्र ६ लाख ६० हजार । किस्तामा तिर्न सकिने ।’
यस्तो आकर्षक विज्ञापन प्रकाशित भएपछि बेरोजगार युवाहरूको लाम लाग्ने नै भयो । अन्तर्वार्ता तय भएको थियो, काठमाडौँ, ताहाचलस्थित होटल प्लाटिनम एन्ड स्पामा । दुई भारतीय नागरिक थिए अन्तर्वार्ताकार, अभिषेक यादव र मुकेशकुमार शर्मा । उनीहरूलाई साथ दिइरहेका थिए, चितवनका रमेश बास्तोलाले ।
उनीहरूलाई पछ्याउनेमा बेरोजगार युवा मात्र थिएनन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पनि विज्ञापन प्रकाशित भएदेखि नै पछि लागिरहेकै थियो । अन्तर्वार्ता भइरहेकै स्थलबाट तीनै जनालाई प्रहरीले पक्राउ ग¥यो । नेपालबाट श्रम स्वीकृतिको कानुनी प्रावधान नै नरहेको देश स्विडेनको वर्क परमिट दिलाइदिने भन्दै छापिएको विज्ञापन आफैँमा शंकास्पद थियो । झुटा विवरण र गलत आश्वासन दिएर बेरोजगारहरूलाई ठग्न खोजेको भन्दै उनीहरूविरुद्ध ठगी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
ब्युरोका अनुसार दुई सय युवाले आवेदन दिएका थिए । दुई दर्जनजति युवा अन्तर्वार्ताको लाइनमा थिए । सुरुमै प्रतिव्यक्ति दुई लाख रुपैयाँ माग गरिएको थियो । ब्युरोका अनुसार विज्ञापनमा प्रकाशित भारतको गुजरातमा रहेको नेक्सेल्सियर रिसर्च नामक कम्पनी ठगीकै लागि रचिएको नाम थियो । ब्युरोले पक्राउ गरेका बास्तोला चितवनमा रहेको द टाइम्स इन्टरनेसनल नामक कन्सल्ट्यान्सीका प्रबन्धक हुन् ।
राजधानीमा सञ्चालित दर्जनौँ कन्सल्ट्यान्सीलाई प्रहरीले पटकपटक कारबाही चलाउँदै आएको छ । यति हुँदाहुँदै पनि कन्सल्ट्यान्सीको ठग्ने धन्दा अझै नरोकिएको पीडित विद्यार्थीहरू बताउँछन् ।  
खुशीमान गुरुङले जापान पठाइदिने भन्दै मनमाया(नाम परिवर्तन) सँग ४० लाख रुपैयाँ मात्र ठगेनन्, उनले मनमायाको जीवन नै तहसनहस पारिदिए । विभिन्न प्रलोभन दिएर नजिकिएका खुशीमानले मनमायालाई गर्भवती बनाए । त्यसपछि सम्पर्कविहीन भएका उनी अहिले प्रहरी वृत, सोह्रखुट्टेको थुनामा छन् । मनमाया सात महिनाको बच्चा काखी च्यापेर प्रहरीसँग गुहार माग्दैछिन्, ‘मलाई पैसा चाहिँदैन । उसले मलाई श्रीमती स्विकारे पुग्छ ।’ सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठोरका अनुसार खुशीमानले जापान पठाउने नाममा मनमायाजस्ता धेरै युवतीको सम्पत्ति मात्र कुम्ल्याएका छैनन्, उनीहरूको जीवनै भताभुंग पारिदिएका छन् ।
फेसबुकबाट ठगी
कसैले ‘फ्रेन्ड रिक्वेस्ट’ पठायो भन्दै दंग परेर ‘एसेप्ट’ गर्दिहाल्ने बानीले फसाद पार्न सक्छ ? फेसबुकमार्फत ठग्न पल्केकाहरू छिनभरमै लाखौँ चट पारिदिन सक्ने हैसियत राख्छन् भन्छ प्रहरी ।  
पछिल्लो समय फेसबुकमार्फत ठगी गर्ने गुरुयोजनासहित गिरोह नै सक्रिय हुने गरेका घटना प्रहरीमा आउने गरेका छन् । केही समयअघि सीआईबीले पक्राउ गरेका ललितपुरका अनीलनाथ श्रेष्ठ र काठमाडौँका अनीता महर्जनले फेसबुकलाई ठगीको हतियार बनाए ।
एक युवतीलाई फेसबुकमा साथी बन्न आग्रह आउँछ । युवती पनि सहजै स्विकार्छिन् । युवकले आफू बेलायतमा बस्ने भन्दै युवतीसँग नानाभाँती कुराकानी गर्छ । केही समयपछि युवकले बेलायतबाट गिफ्टस्वरूप महँगो सामान पठाइदिएको खबर युवतीलाई दिन्छ । युवती गिफ्टको पखाईमा हुन्छिन् । यत्तिकैमा युवकले त्यो गिफ्ट भारत ट्रान्जिटमा अड्केको बताउँछ । र, केही रकम बैँकमार्फत फलानोलाई पठाए सामान सजिलै पास हुने भन्दै युवतीसँग पटकपटक गरी छ लाख असुल्न भ्याइसक्छ ।  
पैसा पठाएको केही दिनपछि त्यो युवक फेसबुकबाट सम्पर्कविहीन हुन्छ । कहिल्यै भेट नभएको व्यक्तिलाई फेसबुकमै कुरा गरेको भरमा विश्वास गरेर त्यत्रो ठूलो रकम पठाइदिने युवती अन्तिममा निधारमा हात लाउँदै सीआईबी पुग्छिन् । उनकै विवरणका आधारमा सीआईबीले अनील र अनीताको जोडीलाई पक्राउ गरेको हो । उनीहरू लामो समयदेखि फेसबुकमार्फत विभिन्न जालझेल रचेर लाखौँ असुल्दै आएको सीआईबीले पत्ता लगायो । केटीसँग केटाका रूपमा र केटासँग केटीका रूपमा उनीहरू सम्बन्धको जालो बिछ्याउन माहिर बनिसकेका थिए ।
फेसबुक प्रयोगकर्ता सावधान हुनुपर्ने सीआईबी प्रमुख डीआईजी नवराज सिलवाल सुझाव दिन्छन् । भन्छन्, ‘अपरिचित व्यक्तिबाट आएको प्रस्ताव सीधै स्विकारिहाल्नु हुँदैन । कुनै संघ–संस्थाबाट नाना बहानामा उपहार तथा पैसा दिलाइदिने वा सहयोग माग्ने भन्दै म्यासेज पठाएको छ भने त्यस्ताको विश्वास गर्नु हुँदैन । हरेकले सामाजिक सञ्जालको सचेत प्रयोगकर्ता बन्नुपर्छ ।’ डीआईजी सिलवालका अनुसार यतिबेला अनलाइनमार्फत अन्तर्राष्ट्रिय स्तरमै ठगी धन्दा मच्चाउने गिरोहहरू नेपालमा पनि सक्रिय छन् ।

सप्तरीकी सन्ध्या वाग्लेको निधन फेसबुकसँगै जोडिएको छ । फेसबुकबाट भेट भएका आफूलाई ज्योतिष बताउने श्यामसिंह बस्नेतले सुरुमा सन्ध्यालाई विभिन्न बहानामा ठग्नुसम्म ठगे । कहिले दशा सपार्ने नाममा त कहिले उत्तम जीवनसाथी जुटाइदिने नाममा । कहिले जागिर लाइदिने नाममा त कहिले सस्तोमा सुन मिलाइदिने नाममा । श्यामको ठगी यतिमा मात्र सीमित भएन । उनले ‘तिमीलाई बिहे गरेर काठमाडौँमा घर किनिदिएर राख्छु’ भन्दै सन्ध्याको शारीरिक शोषण गर्न थाले । जब उनले वास्तविकता थाहा पाइन्, प्रहरीमा उजुरी गर्ने सोच बनाइन् । त्यसको सुइँको पाएर श्याम सन्ध्याको हत्या गरेर फरार भए । अहिले पनि प्रहरी उनको खोजीमा छ ।  
प्रहरी भेषमा ठग
प्रहरीको भेषमा ठग्नेहरू पनि छन् । आफूलाई प्रहरी बताउँदै ठग्ने र प्रतिबन्धित कामहरू गर्ने समूह तथा व्यक्तिलाई प्रहरीले समयसमयमा पक्राउ गर्दै आएको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोलाई एक समय ठमेलमा ‘चरेस बेच्ने प्रहरी’को खोजीमा निकै तनाव झेल्नुपरेको थियो । ‘प्रहरी हुँ’ भन्दै सहजै चरेसको कारोबार गर्दै आएका एक टर्किस नागरिकलाई खोज्न प्रहरीले कम्ती दुःख गरेन ।  
नक्कली प्रहरी बनेर प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गर्ने काठमाडौँ, चाबहिलका अजित बस्नेतलाई महाशाखाले पक्राउ गरेको थियो । एआईजीको ड्राइभर भएको र राष्ट्रिय अनुसन्धान विभागको असई पदमा जागिर लगाइदिने बहानामा उनले युवाहरूलाई ठगेका थिए । डीआईजीलाई घुस खुवाउन भन्दै उनले रकम माग गरेका थिए ।
यस्तै, ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै ठगी धन्दा चलाएका सिन्धुपाल्चोकका दीपेन्द्र केसीलाई पनि महाशाखाकै टोलीले पक्राउ गरेको थियो । उनले प्रहरीको बर्दी लगाएको फोटो खिचेर त्यही फोटो देखाउँदै ठग्दै आएका थिए ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा ठगहरू यस्तै हुन्छन् भन्न नसकिने बताउँछन् । ‘ठग र अपराधीको भेष जस्तो पनि हुन सक्छ,’ एआईजी थापा भन्छन्, ‘त्यसैले हरेक व्यक्ति सधैँ सचेत र चनाखो हुनुपर्छ ।’   

ठूलाबडासँग खिचिएका फोटो भजाउनेहरू
‘फोटो फिर्ता लेऊ’ बोलको गीत कुनै बेला निकै चर्चामा थियो । राजनीतिक दलका नेता, प्रशासक, सुरक्षा अधिकारीलगायत ठूलाबडाहरू यतिबेला त्यही गीतमा भनिएजस्तो फोटो फिर्ता माग्नुपर्ने अवस्थाबाट  गुज्रिँदैछन् ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका नेता, प्रहरीका उच्च अधिकारी वा अन्य प्रभावशाली व्यक्तिसँग खिचिएका फोटो वा गरिएका कुराकानीको अडियो सुनाउँदै आफ्नो पहुँच ‘धेरै माथि’ भएको दाबीसाथ सर्वसाधारण ठग्नेहरूलाई अहिले प्रहरी कारबाही गरिरहेको छ । प्रहरीका अनुसार पछिल्लो समय फोटा देखाउँदै ठग्ने ‘ट्रेन्ड’ नै बनिसकेको छ । सुशील कोइराला, माधव नेपाल, महेश बस्नेत, जनार्दन शर्मालगायत नेतासँग खिचाएका फोटो देखाएर ठग्नेहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।  
राष्ट्रपति विद्यादेवी भण्डारीसँग खिचेको फोटो देखाउने हेटौँडाका देवेन्द्रकुमार बर्तौलालाई अपराध महाशाखाले काठमाडौँमा पक्राउ ग¥यो । उनले सिन्धुपाल्चोकका कांग्रेस नेता हरिशरण श्रेष्ठलाई सांसद बनाइदिने भन्दै २० लाख रुपैयाँ ठगेका थिए । महाशाखाका अनुसार बर्तौलाले ठूलाबडासँग सम्बन्धको भ्रम छर्दै युवाहरूलाई विदेश पठाउने नाममा समेत लाखौँ ठगेका थिए ।

फोटोसपबाट ठूलाबडासँग भएको जस्तो देखिने फोटो बनाएर ठग्नेहरू पनि कम छैनन् । सुर्खेत, छिन्चुका भागचन्द्र महरलाई काठमाडौँमा पक्राउ गर्दा प्रहरी नै अचम्भित भएको थियो । उनको काठमाडौँ, टेकुस्थित ‘सेन्ट्रल इन्भेस्टिगेसन सेक्युरिटी फोर्स’ नामक कार्यालयमा पुग्दा उनको ठाँटबाँट र कार्यालयको साजसज्जा हेर्दै उनी चानचुने व्यक्ति होइनन् जस्तो भान हुन्थ्यो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका नाम चलेकै नेताहरूसँग खिचेका तस्विरहरू कार्यालयभर सजाइएका थिए । उनका सुरक्षागार्ड नै एक पूर्वडीएसपी थिए । सजिलै अमेरिका उडाइदिने भन्दै ठग्ने धन्दाका मालिक उनले यही झुटो रवाफलाई नै बेरोजगार युवायुवतीको विश्वास जित्ने आधार बनाएका थिए । उनले ठूलाबडासँग फोटो खिचेको नभएर फोटोसपबाट बनाएर सजाएको प्रहरीले जनाएको छ ।
उता, फोटोसपबाट अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट पुरस्कृत भएको फोटो देखाएर युवतीहरूबाट लाखौँ ठग्ने नुवाकोटका जीवन तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
युवाहरूलाई प्रहरी अधिकृत बनाइदिन्छु भनेर ठग्दै आएका कराते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई समेत प्रहरीले पक्रियो ।
आफूलाई कहिले डाक्टर त कहिले डीआईजीको छोरी भन्दै ५० भन्दा धेरै युवालाई ठगेकी भगवती केसीलाई प्रहरीले यसअघि नै पक्रिसकेको छ । उनी डाक्टरको भेषमा डाक्टरहरूलाई नै ठग्दै आएकी थिइन् । नायक राजेश हमालसँग खिचाएको तस्बिर देखाएर उनी आफूलाई डा. सुहाना केसीका रूपमा परिचित गराउँथिन् । बिहे गर्छु भन्दै युवाहरूबाट लाखौँ असुलेको अभियोग उनीमाथि छ ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्, ‘फोटो देखाएर ठग्ने ट्रेन्ड बढेकाले ठूलाबडाले पनि फोटो वा आफ्नो सम्बन्धबारे सचेत हुनैपर्छ । अनि, सर्वसाधारणले पनि फोटोकै भरमा कसैको विश्वास गर्नु हुँदैन ।’

भक्तपुरमा घरजग्गामा ठगी बढेको भक्तपुर प्रहरी परिसर प्रमुख एसपी किरण राणा बताउँछिन् । ‘मालपोतमा बुझ्ने, फिल्डमै गएर हेर्ने, छिमेकीलाई सोध्ने जस्ता सामान्य कुरा पनि नबुझी सीधै पैसा बुझाइहाल्ने बानीले धेरैजना ठगको फेला पर्ने गरेका छन्,’ एसपी राणा भन्छिन् ।  
घरजग्गामा हुने ठगी झन् विकराल छ । नयाँनयाँ तरिका अपनाएर ठग्नेहरू प्रशस्तै छन् । एउटै जग्गा वा घर चारपाँच जनालाई बेचिएको, सार्वजनिक जग्गा मेरो भन्दै बेचिएको जस्ता घटना प्रहरीमा आउने गरेका छन् ।
नटवरलाल ‘राजा’ मनोज

कुनै भीआईपीको भन्दा कम हुन्थेन उनको ‘सवारी’ । अगाडि–पछाडि गरेर तीनटा गाडी लहर लाएर हुइँक्याउँदै उनलाई कुदाउँथे उनका सेक्रेटरीहरू । झ्याप्प गाडी रोकिएपछि ढोका खोल्न कुदिहाल्ने सञ्चारसेटसहितका ‘पर्सनल सेक्युरिटी’हरूको स्याल्युटको आवाज टाढैबाट सुनिन्थ्यो ।
‘सिद्धिदाता इन्टरप्राइजेज प्रालि’ बोर्ड राखेर खोलिएको थियो, उनको कार्यालय । जहाँ पुग्ने हरेकको सेक्युरिटी जाँचका लागि ‘स्क्रिनिङ’ हुन्थ्यो । निकै व्यस्त, हरेक क्षण कडा सुरक्षा घेरामा रहने यी सुटेड–बुटेडलाई देखेर प्रभावित नहुने कमै हुन्थे ।
मन्त्री, सांसद, सचिव, पूर्व राजपरिवारका सदस्य, उच्च पदस्थलगायतसँग सहज पहुँचको दाबी गर्थे उनी । उच्च पदस्थकै पछाडि लाएर सजिलै विदेश पठाइदिन सक्ने क्षमता आफूसँग भएको बताउँथे । ठूलाबडासँग सम्बन्ध जोडिदिने, महँगो घरजग्गा सस्तैमा पास गराइदिने, आकर्षक जागिर दिलाइदिने, अधुरो सरकारी काम फत्ते गराइदिने... यस्तैयस्तै सपना बाँडेर दुनियाँ ठग्न पल्केका थिए, यी महाठग ।  
जहिल्यै ठाँटबाँटका साथ सवार हुने यी कथित भीआईपी अहिले प्रहरी खोरमा छन्, ‘हाई प्रोफाइल ठग अनुप भन्ने मनोजबहादुर सिंह’का रूपमा । नटवरलाल पाराले अहिलेसम्म उनले चलाएको ठगी धन्दाको सूची निकै लामो छ । उनी पक्राउ परेको केही दिनभित्रै प्रहरीमा दुई करोड रुपैयाँ ठगेको उजुरी आइसक्यो । अझै उजुरीको क्रम रोकिएको छैन । १० करोड रुपैयाँ जति ठगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ ।
धन्दा विवरण
स्थायी ठेगाना वीरगञ्ज भएका ४५ वर्षीय मनोज ललितपरको इमाडोलमा बस्दै आएका थिए । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीका अनुसार अमेरिका, यूके, जापानलगायत देश पठाइदिन्छु भनेर सिंहले सय जना हाराहारीलाई ठगेका थिए । ‘मन्त्रीको पछि लाएर पठाइदिन्छु र उतै भाग्न मिल्ने वातावरण बनाइदिन्छु’ भन्दै प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुल्थे ।
ठगी, हातहतियार, वन्यजन्तुका अंग, पुराताŒिवक सामग्री तस्करीलगायत मुद्दामा पटक–पटक पक्राउ पर्दै, छुट्दै, कैद भुक्तान गर्दै गरिरहेका उनी आफूलाई ‘राजा’ उपनामले चिनाउँथे । यसअघि ठगी काण्डमा उनलाई पक्राउ गर्दा सीआईबीले वन्यजन्तुका अंग र पुराताŒिवक सामानको भण्डार नै भेटेको थियो । उनको कोठामा छापा मार्दा प्रहरीले प्रहरीकै नियुक्तिपत्रहरू, तत्कालीन राजदरबार सचिवालयको छाप, विभिन्न परिचयपत्रलगायत कैयौँ किर्ते कागजात फेला पारेको थियो ।
देशका ठूलाबडासँग खिचिएका फोटाहरू सजाउन र व्यवस्थापन गर्न उनले कर्मचारी नै राखेका थिए । ती तस्बिर उनको ठगी धन्दाका धारिला हतियार बन्थे ।
कुनै बेला सेना र प्रहरीमा जागिर लाइदिने भनेर उनले पाँच करोड रुपैयाँ ठगेको अभियोग पनि उनीमाथि थियो । एक समय बेलायत पठाइदिन्छु भन्दै उनले ३८ जनासँग प्रतिव्यक्ति चारदेखि आठ लाख रुपैयाँसम्म लिएका थिए । बेलायतको नक्कली भिसा नै तयार पारेका थिए । जर्जिया पठाइदिने भनेर पनि उनले दुई जनासँग २२ लाख रुपैयाँ लिएका थिए । युरोपका अन्य देश पठाउने नाममा उनले करोडभन्दा बढी नै ठगे । नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर ३२ जनासँग प्रतिव्यक्ति ५० हजारदेखि ८० हजारसम्म लिएका थिए । नेपाली सेनामा जागिर लाइदिन्छु भन्दै उनले १२ जनासँग प्रतिव्यक्ति ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुलेका थिए । राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी निरीक्षक बनाइदिने भन्दै छ जनासँग ३६ लाख र प्रहरी सहायक निरीक्षक पदका लागि भन्दै २० लाख असुलेको विवरण सीआईबीले फेला पारेको थियो । सीआईबीका अनुसार उनको कुरा सुन्दा यस्तो लाग्थ्यो– उनले गर्न नसक्ने काम केही थिएन ।
नायक भुवन केसीकी पूर्वपत्नी सुष्मितामार्फत उनले १० लाख रुपैयाँ ठगी गरेको प्रहरी विवरण छ । उनले युवाहरूलाई उच्च तहका अधिकारीहरूसँग आफ्नो सम्पर्क रहेको विश्वास दिलाउन धेरै गुरुयोजना बुन्थे । तत्कालीन राजदरबार सचिवालयको नाममै कार्यक्रमको निमन्त्रणा–पत्र पठाउने, दरबार, उच्च तहका सरकारी अधिकारी, सेना र प्रहरीका उच्चपदस्थ व्यक्तिहरूलाई पार्टी दिई रकम असुलेकाहरूलाई समेत सहभागी गराउने गरेका थिए । विभिन्न दलका नेताहरूसँगको कथित सम्बन्ध भजाउन माहिर थिए । राप्रपा नेता तथा मन्त्री दीपक बोहोरालगायत नेतासँगको सम्बन्धलाई उनले दुरुपयोग गरेर ठगेको प्रहरीले फेला पा¥यो । चार वर्षअघि प्रहरीले उनलाई पक्राउ गर्दा ८६ थान पासपोर्ट, वन्यजन्तुको अंग, पुराताŒिवक मूर्ति र हतियारसमेत फेला पारेको थियो ।         
उनले ‘हिमानी सरकार’, ‘पारस सरकार’ जस्ता नाम लेखेर नम्बरहरू मोबाइलमा सेभ गर्ने गरेका थिए । श्रीमतीको नम्बर ‘हिमानी सरकार’ भनेर सेभ गरेको र फोन आउँदा ‘ल, ल सरकारको फोन आयो’ भन्दै ठूलो धाक लाउँदै नानाभाँती गफ लडाउँथे । दर्जनौँ युवालाई पछि लाएर उनले डफ्फा नै तयार पारेका थिए । रमेशकुमार खत्रीलगायत उनका सहयोगीहरूलाई समेत पक्राउ गरेको प्रहरीले अरू सहयोगीलाई पनि पक्राउ गर्ने क्रम बढाएको जनाएको छ ।   
पीडितको बिल्लीबाठ
पर्वत, कुश्मा–८ का शेरबहादुर परियारलाई यतिखेर भोकनिद्रा छैन । विदेशको सपनाले लाखौँ गुमेपछि उनी समस्यामा छन् । ३८ वर्षे परियार विदेश जान चाहन्थे । उनको भेट भयो, आफूलाई ज्योतिष बताउने रमेश पौडेलसँग । ज्योतिषले पु¥याए, ललितपुर, इमाडोलका अनुप भन्ने मनोजबहादुर सिंहकहाँ । र, सिंहले देखाए अमेरिकाको सपना । सपनाले डुबायो, ३८ लाख नगद ।
सजिलै अमेरिका पठाइदिने कुरामा विश्वास गरेर शेरबहादुरजस्ता सय जना हाराहारी युवाको बिल्लीबाठ बनाउने सिंह यतिबेला प्रहरी नियन्त्रणमा छन् । गुमेको सम्पत्ति सम्झेर शेरबहादुरसँगै रामहरि श्रेष्ठ, विष्णु गौतम, प्रेम श्रेष्ठ, कमल श्रेष्ठ, कृष्णकान्त श्रेष्ठलगायत दर्जनौँ युवाहरू यतिबेला ‘घरको न घाटको’ अवस्थामा पुगेको बताउँछन् ।
सिंह यसअघि कैयौँ पटक पक्राउ पर्ने र सजिलै छुट्ने क्रमदेखि सबै अचम्ममा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा पीडितहरूलाई कानुनी सहयोग दिँदै आएका अधिवक्ता कृष्णप्रसाद न्यौपाने करोडौँ ठगीका उजुरी पटकपटक आउँदा समेत सिंहले कसरी कानुनी दायराबाट छुटकारा पाउँछन् भन्नेमा आफू पनि अचम्भित हुने गरेको बताउँछन् ।
फोटोलाई हतियार बनाउने जीवन
प्रहरीका अनुसार उनले अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट पुरस्कृत भएको जस्तो देखिने फोटो देखाएर मात्र लाखौँ रुपैयाँ ठगे । आफूलाई अमेरिकी सेनाको उच्चपदस्थ अधिकारी बताउँथे उनी । जसका लागि फोटोसप उनको सहयोगी बन्थ्यो । उनले तयार पारेका फोटाहरू हेर्दा लाग्थ्यो– उनी अमेरिकी सेनासँग कुनै न कुनै सम्बन्ध भएकै व्यक्ति हुन् !
खाइलाग्दो ज्यानका धनी नुवाकोटका जीवन तामाङको परिचय गनिसाध्य छैन । सन्तोष, विक्रम, बाबुराजा, राजजस्ता धेरै नाम थिए उनका । ठगी धन्दा चलाएकै अभियोगमा पटकपटक पक्राउ पर्ने, छुट्ने र फेरि धन्दा चलाउने उनको क्रम कहिल्यै रोकिएन । पछिल्लो समय उनी फेसबुकलाई ठगी धन्दाको हतियार बनाउँदै आएका थिए । त्यो हतियारको टार्गेट सोझासाझा युवतीहरू थिए । जसलाई बिहे गरेर अमेरिका लैजाने सपना देखाएर सजिलै आफ्नो पासोमा पार्थे उनी ।
नुवाकोटकी एक युवतीलाई फकाउन फेसबुकमा उनले सुरुमा पठाएको म्यासेज यस्तो थियो– ‘हाई !  मैले तपाईंको फेसबुक प्रोफाइल हेरेँ । म अमेरिकन आर्मी हुँ । अहिले क्यालिफोर्नियामा छु । नेपाल आउने तयारीमा छु । मेरो घर पनि नुवाकोट नै हो । आएपछि फोन गर्छु ल !’ उनीसँग भएका आकर्षक लाग्ने फोटोहरू पठाए । अमेरिकन आर्मीका विभिन्न कार्यक्रममा सामेल भएको, राष्ट्रपति बाराक ओबामा र राष्ट्रसंघका महासचिव वान की मुनसँग हात मिलाएको जस्ता फोटाहरू पठाएपछि युवती मख्ख पर्दै विश्वस्त भइहालिन् ।
केही समयपछि जीवनले आफू नेपाल फर्किएको भन्दै तिनै युवतीलाई फोन गरे । उनीहरूको भेट काठमाडौँ, न्युरोडको एउटा कफी सपमा भयो । जीवनले ‘तपाईं त फेसबुकमा राखेको फोटो भन्दा रियलमा धेरै राम्री’ भन्दै प्रशंसामा धेरै वाक्य खर्चे । परिवारलाई समेत भेटाउन आग्रह गरेपछि ती युवतीले जीवनलाई घरमै लगिन् । ठूला गफ लडाएर परिवारलाई समेत मख्ख पारे उनले । बिहेपछि अमेरिका लैजाने कुराले परिवारलाई तान्यो ।
बीचमा फोन सम्पर्क भइरहेकै थियो । लगत्तै जीवनले एकाएक युवतीलाई फोन गरेर विलाप गर्न थाले, ‘म अंकलको उपचारका क्रममा बैँग्लोरमा छु । ठूलो समस्यामा परेँ । जसरी भए पनि चार लाख चाहिने भयो । नेपालको एटीएमले यहाँ काम गर्दो रहेनछ । नवलपरासीमा मेरो आफन्त छ । ऋण–सापट गरेर भए पनि उसलाई पैसा पठाइदेऊ न प्लिज ! म काठमाडौँ आएलगत्तै तिरिदिन्छु ।’
पटकपटकको फोनपछि युवतीले परिवारमा यो कुरा राखिन् । जीवनलाई ज्वाइँ बनाउन राजी भइसकेकी उनकी आमाले पैसाको जोहो गरिहालिन् । मनी ट्रान्सफरमार्फत पैसा पनि पठाइयो । पैसा पाएको केही समयपछि जीवन एकाएक गायब भए । फोन स्विच अफ भयो । युवती र उनको परिवारले चक्मा खायो । अन्तिममा, प्रहरीमा उजुरी दिनबाहेक अरू के गर्न सक्थे र उनीहरूले !
लगत्तै जीवनविरुद्ध पाँच जना युवतीको उजुरी काठमाडौँ प्रहरी परिसरमा प¥यो । प्रहरीले जीवनलाई पक्राउ गर्दा थाहा लाग्यो– उनी त युवतीहरूलाई यस्तै जालमा उन्दै ठगी धन्दा चलाउने अर्का नटवरलाल रहेछन् । प्रहरी अनुसन्धानका अनुहार दर्जनौँ युवतीहरू उनीबाट ठगिएका थिए । खोजतलास गर्दै जाँदा उनको कोठामा पुग्यो प्रहरी । चाबहिलस्थित डेरामा बसेका जीवनले मासिक ३५ हजार भाडा तिर्दा रहेछन् । एसी सुविधासहितको उनको फ्ल्याटको साजसज्जा कुनै घरानियाँ व्यक्तिको भन्दा कम देखिँदैनथ्यो ।
प्रहरीका अनुसार उनी युवतीहरूलाई सुरुमा फेसबुकमा म्यासेज पठाउँथे । त्यसपछि भेट्ने योजना बनाउँथे । गफमा मस्त बनाउँथे । ‘त्यो त भयानक नाटककार हो,’ एक जना पीडितले भनिन्, ‘नाटक रच्न त त्यसलाई कसैले भ्याउँदैन होला ।’
उनी आफ्ना फोटा देखाएर कुनै युवतीलाई विश्वास लिन्थे । लगत्तै, विवाह गरेर अमेरिका लैजाने सपना देखाउँथे । र, ठग्थे व्यक्ति हेरी, दुई लाखदेखि १० लाख रुपैयाँसम्म ।  
हरेक युवतीलाई फरक नम्बर दिन्थे । उनका धेरैवटा फेसबुक आईडी थिए । श्रीमान्को ठगी धन्दालाई साथ दिएर आईएमईमार्फत पैसा बुझ्ने जिम्मेवारी श्रीमती सुबीको थियो ।

ईश्वरीको अस्त्र स्वर
बैँकका सीईओदेखि गुन्डा नाइकेसम्मलाई ठग्न सक्ने क्षमता भएका प्युठानका ईश्वरीप्रसाद पोखरेलका किस्सा बेग्लै छन् । धेरै थरी नेता र प्रशासकहरूसँगको कथित सम्बन्ध भजाउँदै उनले कैयौँलाई ठगे । उनको ठग्ने अस्त्र हो– स्वर । ठूलाबडाको स्वर दुरुस्तै निकाल्न सक्ने उनी त्यही स्वरमा फोन गर्दै धेरै थरी मागहरू तेस्र्याउँथे ।
एक पटक किस्ट बैँकका तत्कालीन सीईओ कमल ज्ञवालीलाई माओवादी नेता जनार्दन शर्माको जस्तो स्वर बनाएर फोन गरी रकम माग गरे उनले । ज्ञवाली रकम दिन राजी भए । रकम लिन पुगे, नेता शर्माको प्रतिनिधि भन्दै ईश्वरीप्रसाद पोखरेल । भाका गरेकै समयमा फिर्ता पनि गरिदिए ।
अर्को पटक फेरि ज्ञवालीलाई सहयोगका लागि उनै ‘नेता’को फोन आयो । यो पटक रकमको माग अलि ज्यादा हुँदाहुँदै पनि ज्ञवालीले दिए । फिर्ता पनि भयो । ‘ठूलै नेतासँग विश्वसनीय लेनदेन भइरहेको’मा दंग थिए ज्ञवाली ।
ज्ञवालीलाई केही महिनापछि उनै ‘नेता’ले फेरि फोन गरे । यसअघिभन्दा अझ ज्यादा रकमको माग भयो । विश्वास जितिसकेकोमा ढुक्क भएका ज्ञवालीले त्यो रकम पनि सजिलै दिए । तर, फिर्ता हुने छाँटकाँट गुम्दै गयो । ज्ञवाली मात्र नभएर नबिल बैँकका अधिकारीहरूले पनि यसरी नै नक्कली नेतामाथि लगानी गरेका रहेछन् । पैसा डुबेको जस्तो लागेपछि बैँकरहरू महानगरीय प्रहरी अपराध महाशाखा पुगेर उजुरी गरे । महाशाखाले खोज्दै जाँदा पोखरेलले जनार्दन शर्मा, नेत्रविक्रम चन्द, हिमाल शर्मालगायत नेताको स्वर बनाएर मान्छे झुक्याउने मात्र होइन, नेताहरूकै नाममा विभिन्न बैँकमा खाता नै खोलेर ठूलो रकम असुल्दै आएका थिए ।
२०६७ सालतिर महाशाखाले काठमाडौँ जिल्ला अदालतमा बुझाएको ठगी मुद्दामा २१ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका पोखरेल त्यसपछि फरार थिए । त्यसको दुई वर्षपछि उनै पोखरेल कपिलवस्तु प्रहरीको फेला परे । माओवादी नेता अग्नि सापकोटा र लेखराज भट्टको जस्तो स्वर बनाएर फोनबाट पैसा मागेर लाखौँ रुपैया ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
पोखरेलले गुन्डा नाइके दीपक मनाङेलाई समेत छोडेनन् । प्रहरीका अनुसार उनले मनाङेसँग आफू माओवादी नेता लेखराज भट्ट हो भनी दुई लाख रुपैयाँ आईएमईमार्फत माग गरेका थिए । पछिल्लो समय राजनीतिक दलका नेतासँगको पहुँच देखाएर सरकारी जागिर र वैदेशिक रोजगारीका नाममा पोखरेलले करोडौँ ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार आवरणमा मोटरपाट्र्सको काम देखाउने पोखरेललाई यसअघि नागरिकता किर्ते गरी ठगेको मुद्दामा अदालतले दुई वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । त्यो कैद पनि भुक्तान नगरी उनी फरार थिए ।
पछिल्लो पटक पोखरेल ठग्ने शैली, परिमाण र दायरा सबै बदलेर सक्रिय थिए । नेपालबाट फरार भएर भारतको लखनउमा बस्दै आएका उनी पछिल्लो पटक अमेरिका जान भनेर भिसा लगाउन काठमाडौँ आएका बेला महाशाखाको टोलीले पक्राउ गरेको हो । उनको फन्दामा परेका दर्जनौँ बेरोजगार युवायुवती अहिले उजुरी गर्न महाशाखा पुग्ने क्रम रोकिएको छैन ।
एक युवतीमाथि चरम शोषणको उजुरी
उनीविरुद्ध उजुरी दिने युवायुवतीहरूमध्ये एक युवतीको वेदना दर्दनाक छ । उनले चरम शारीरिक र मानसिक शोषण बेहोर्नुप¥यो । प्रहरीमा पोखरेलविरुद्ध उजुरी दिन पुगेकी ती युवतीले आफ्नो आक्रोश यही वाक्यबाट सुरु गरिन्, ‘यसले मलाई डेढ वर्षदेखि धम्क्याउँदै, तर्साउँदै शारीरिक, मानसिक शोषण गरिरह्यो ।’  
‘मन्त्रीज्यूलाई गिफ्ट दिने घर’ खोज्ने निहुँमा पोखरेलले उनीसँग सम्बन्ध जोडेका थिए । उनी बसेकै घर किनेर गिफ्ट दिने भन्दै सुरुकै भेटमा पोखरेलले उनको आँखामा छारो हालिसकेका थिए । सुरुकै भेटमा पोखरेलले उनको नम्बर मागिहाले । ‘मन्त्रीको मान्छे’ले जागिरको खोजीमा सहयोग गर्ला भन्ने आशा उनमा पलायो । लगातार फोन हुन थाल्यो । कामको खोजीमा राजधानीमा भौँतारिइरहेका युवायुवतीलाई कसरी फसाउने भन्ने कुरामा विज्ञ नै थिए, पोखरेल । प्रहरीका अनुसार यसअघि उनले ती युवतीजस्ता कैयौँ बेरोजगार युवतीलाई ठग्ने र सकेजति शोषण गर्ने गरिसकेका थिए ।
जागिरका लागि ती युवतीलाई उनले आफ्नै अफिसमा बोलाए । काम पनि दिलाए । सम्बन्ध बाक्लियो । श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको भन्दै पोखरेलले उनीसँग बिहे गर्ने बताए । र, आफ्नो ठगी धन्दामा उनलाई पनि सामेल गर्न थाले ।
पोखरेलको कुरा र गतिविधिबाट ठगी धन्दाबारे जानकार भएपछि ती युवती थप आपतमा परिन् । ‘मलाई धोका दिइस् भने त्यो सेक्स भिडियो सार्वजनिक गरिदिन्छु’ भन्दै धम्क्याएर आफू अनुकूल उनलाई प्रयोग गर्न थाले पोखरेलले । ठगीको पैसा ‘रिसिभ’ गर्ने र त्यो रकम व्यवस्थापन गर्नैपर्ने बाध्यता युवतीमाथि आइलाग्यो । पोखरेलले ठगीका लागि बनाइएका किर्ते कागजमा साक्षी बसाउन थाले उनलाई । जे भन्यो त्यही गर्न बाध्य थिइन् उनी ।
         

‘बाठाहरू नै ठगिएका छन्’
प्रा. माधवप्रसाद आचार्य, अपराधशास्त्री
धेरैले ठगीलाई सामान्य अपराध ठान्छन् तर यो गम्भीर प्रकृतिकै अपराधमा गनिन्छ । मुद्दा सरकारवादी नै हुन्छ । अन्य अपराधभन्दा निकै सजिलो हुने भएर पनि होला, दिनदिनै नयाँनयाँ तरिका र स्टाइलमा ठग्न पल्केकाहरू बढ्दै गएको देखिन्छ । ठगीबाट अरू गम्भीर अपराध मौलाउने सम्भावना धेरै हुन्छ । फेरि हामी नेपालीहरूलाई ठग्न सजिलो छ । किनभने, हामी अर्काको विश्वास चाँडो गर्छौं । हल्लाको पछि लाग्छौँ । कतैबाट धनको वर्षा हुनेमा आशावादी हुन्छौँ । अदृश्य शक्तिमाथि भरोसा गर्छौं ।
किर्ते गर्ने, गलत कुरामा विश्वास दिलाउने, झुक्याउने, विदेश पठाइदिन्छु, जागिर लाइदिन्छु भन्नेजस्ता धेरैथरी ठगी हुने गरेको छ । पछिल्लो समय प्रविधिको आडमा ठग्नेहरू धेरै छन् । यो समयमा ठगिनेहरू जानेबुझेकै हुन्छन् । पढेलेखेकै हुन्छन् । बाठाहरू नै बढी ठगिने गरेका छन् । उहिलेको जस्तो सोझासोझा ठगिने धेरै कम घटना अचेल सुनिन्छन् ।
सोझासाझा ठगिएका केही घटनाबाहेक अहिले गलत तरिकाले काम गराउन खोज्नेहरू धेरै ठगिन्छन् । ठगहरूको निशाना पनि गलत नियतबाटै लाभ लिन खोज्नेहरू नै हुन्छन् । लोभलालचले अन्तिममा ठगको पासोमा पार्छ । हाम्रो जस्तो समाजमा ठगहरू धेरै हुन्छन् । किनभने, जस्तासुकै कुरामा पनि विश्वास गरिहाल्ने र ज्यान दिएर त्यस्ताका पछि लागिहाल्ने जमात ठूलो छ ।
यही समाजले नटवरलालहरू उत्पादन गरिरहेको छ । पसिनामा भन्दा अरू नै मेलोबाट आर्जेको धनमा धेरैको ध्यान छ । फिल्महरूले पनि ठग्ने नयाँनयाँ तरिका सिकाउने गरेका छन् । फिल्म बनाउनेहरू फिल्मले समाजमा के प्रभाव पार्ला भन्ने सोच्दैनन् ।
मुख्य कुरा, सर्वसाधारण आफैँ सजग हुनुपर्छ । नटवरलालहरू चिनेर त्यस्ताबाट जोगिन सक्नुपर्छ ।  

‘ठगहरू महाचतुर छन्’
एसएसपी पीताम्बर अधिकारी
प्रमुख, महानगरीय प्रहरी परिसर, ललितपुर
कसैले पाँच दिनभित्र अमेरिका उडाइदिन्छु भनेकै भरमा फ्याट्ट १० लाख गनिदिने मान्छेहरू पनि छन् । सस्तोमा सुन पाएको नाममा फलाम र पित्तलका डल्ला किन्नेहरू पनि छन् । ‘मेरो अपुताली खाने कोही भएन’ भनेकै भरमा विश्वासमा परेर ज्यानै दिन खोज्नेहरू पनि छन् । परीक्षा नै नदिएर फस्ट क्लास अफिसरको सरकारी जागिर लाइदिन्छु भन्दा पत्याएर पछि लाग्नेहरू पनि छन् । सुन चोख्याइदिन्छु भनेकै भरमा सारा धनमाल पोको पारेर कोही अपरिचितको हात लाइदिने मान्छेहरू पनि यहीँ छन् ।
यस्ता अपत्यारिलो तवरबाट फाइदा लिन खोज्नेहरू अन्ततः नटवरलालहरूकै फेला पर्ने हुन् । पछिल्लो समय ठगी एकदमै मौलाएको कारण पनि यस्तै हचुवामा महत्वाकांक्षा राख्नेहरू धेरै हुनु नै हो । दुईचार जना सर्वसाधारण ठगिएका होलान् । धेरैजसो गलत तवरबाटै आर्जन गर्न खोज्नेहरू ठगिएका छन् । ठगहरू पनि महाचतुर भइसके । उनीहरू हरेकका अनुहार पढ्न सक्छन् । कसलाई कसरी घुमाएर नियन्त्रणमा लिने ? उनीहरूलाई पर्याप्त ज्ञान छ । उनीहरूका टार्गेट धेरैजसो बेरोजगार र अन्धविश्वासीहरू हुन्छन् । लोभलालच गर्नेहरूलाई नै टार्गेट गरेर योजना बनाउने ठगहरू धेरै छन् ।
अचेल अनलाइनबाट ठग्न पल्केकाहरू धेरै छन् । अनलाइनको दुरुपयोग गर्न जान्ने ठगहरू प्रशस्त छन् । त्यस्ताको निगरानी गर्न हामी कस्सिएर लागेका छौँ । अनलाइनमा गफ दिएकै भरमा विश्वास गर्नु भएन । ठगहरूबाट धनमाल मात्र नभएर, ज्यानलाई पनि जोखिम उत्तिकै छ । आफ्नो योजना सफल नभए त्यसको बदला लिने छुट्टै योजना पनि उनीहरूसँग हुन्छ । ठगी मौलाउनुमा हामी सबै जिम्मेवार छौँ । यसलाई कम गर्न पनि हामी सबैले चाह्यो भने सकिन्छ ।

 

Leave A Comment