युवालाई थाक्ने हक हुँदैन

आइतबार, १० पुष २०७३, ११ : ३० सृजना खड्का , Kathmandu
युवालाई थाक्ने हक हुँदैन

नवीना लामा
अनेरास्ववियु, अध्यक्ष

म मध्यम वर्गीय परिवारमा हुर्किएकी केटी हुँ । काभे्र, कोशीपारिको महेन्द्र माध्यमिक विद्यालयमा पढेँ । स्कुलमा खेलकुद, पुस्तकालय र भौतिक संरचनाको अभावले त्यो बेला ममा एक किसिमको असन्तुष्टि पैदा ग¥यो । पञ्चायती व्यवस्थाविरुद्ध लाग्नुभएका मेरा बुबाले मलाई राजनीति क्षेत्रमा प्रवेश गर्न निकै हौसला दिनुहुन्थ्यो । तर, घरको काम नगरी बाहिरबाहिर हिँडेकोमा आमाले चाहिँ कराउनुहुन्थ्यो । छोरीले कुनै अफिसमा जागिर खाओस् भन्ने चाहना आमाको थियो । तर, समाज परिवर्तनका लागि राजनीतिक क्षेत्रमा मैले आफ्नो कदम बढाइसकेकी थिएँ ।
समाजमा भएको अशिक्षा, पछौटेपन, परम्परागत सोच र विभेद हटाउनका लागि मैले बढाएको कदम कहिल्यै पछाडि हटाइनँ । युवाहरूले ‘डर्टी गेम’ भनेर लिने राजनीतिलाई समाज परिवर्तनको बलियो हतियार हो भनी मैले गरेको प्रयास आजसम्म पनि यथावत् नै छ । राजनीतिलाई नकारात्मक रूपमा लिएको भए आज म यो स्थानसम्म आइपुग्ने थिइनँ । मलाई लाग्छ, देशलाई अहिले हामीजस्तो नेतृत्व गर्न सक्ने युवाकोे खाँचो छ । यसका लागि युवा तथा विद्यार्थीहरू राजनीतितर्फ जोडिनुपर्छ । राजनीतिलाई सिर्जनात्मक ढंगले समाजमा स्थापित हुने वातावरण निर्माण गर्नुपर्छ ।
देशको सरकार गलत ढंगबाट चलिरहेको छ भने त्यसमा युवाहरू चनाखो हुनुपर्छ । युवाहरूले निराश हुने हैन सपना देख्नुपर्छ, त्यसलाई साकार पार्न अगाडि बढ्नुपर्छ । हामी युवाहरूले गरेको काम सिर्जनशील र फरक किसिमको हुनुपर्छ । हामीले गरेको संघर्ष देश र जनताका निम्ति हुनुपर्छ । हामीले अरू युवाका लागि उदाहरण बन्न सक्नुपर्छ । युवाहरूलाई कहिल्यै थाक्ने हक हँुदैन । युवामा साहस हुनुपर्छ ।
सरकारी विश्व विद्यालयका प्रोफेसरहरू सरकारको तलब खाएर निजी विद्यालय र कलेजमा पढाउन जान्छन् । यो पनि एक किसिमको भ्रष्टाचार नै हो । समाज र युवाका यस्ता जटिल समस्या धेरै छन् । विद्यार्थी तथा युवाले यस्ता कामको आलोचना गर्न सक्नुपर्छ । गलत कामको खण्डन र राम्रो काममा सहयोग दिन पछि पर्नु हुँदैन । गलत काम गरेर देशमा नकारात्मक प्रभाव जमाउनेलाई कानुनको दायरामा ल्याउन आजका युवा सक्रिय हुनुपर्छ । समाजमा भएका गलत क्रियाकलापलाई हामीले नजरअन्दाज गर्नु हुँदैन ।
समाजमा परिवर्तन ल्याउन युवाहरू आफैँले स्वरोजगारको अभियानको थालनी गर्नुपर्छ । आफैँ आत्मनिर्भर बन्ने कोसिस गर्नुपर्छ । अरूको आश नगरी आफैँबाट काम सुरु गर्नुपर्छ । सरकारी कामको कार्यान्वयनका पक्षमा युवा वर्ग एकजुट भएर लाग्नुपर्छ । हामीले आफ्नो अधिकार खोज्ने मात्र हैन । आफ्नो कर्तव्यको पाटोतर्फ पनि ध्यान पु¥याउनुपर्छ । समाजमा युवाले फड्को मार्न साहस जुटाउनुपर्छ ।
अहिलेको युवापुस्तामा नकारात्मक सोच भरिपूर्ण छ । सामाजिक समस्यालाई नकारात्मक मात्र नभई सकारात्मक रूपमा पहिचान गरी अगाडी बढ्न सकेको खण्डमा यसले समाज परिवर्तन ल्याउन सघाउ पु¥याउँछ ।
अहिले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले विभिन्न किसिमका समस्या भोगिरहेका छन् । लोकतन्त्र र गणतन्त्रले पढ्न पाउने र जागिर खान पाउने अधिकार प्रदान  गरेको छ । तर, नेपालको शैक्षिक क्षेत्रमा विभिन्न समस्या दिनप्रतिदिन विकराल रूपमा प्रस्तुत हुँदै छन् । समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा विद्यार्थीले विभिन्न किसिमका समस्या भोग्नुपरेको छ । शैक्षिक क्यालेन्डरलाई मर्यादित बनाउनु एकदमै जरुरी छ । आजका युवापुस्ता जुझारु भएर अगाडि बढ्नुपर्छ । विद्यार्थीहरूको सीप, योग्यता र क्षमताको खिल्ली उडिरहेको छ । बजारमा अरू सामग्री मज्जाले बिक्छ । तर, हामीले लाखौँ खर्च गरेर पढेर निकालेको सर्टिफिकेट बिक्न मुस्किल छ ।
हामीले विद्यार्थीको प्रमाणपत्रको आधारमा शैक्षिक ऋण लिन पाउने व्यवस्थाका लागि पहल गरिरहेका छौँ । जसअन्तर्गत स्नाकोत्तर, स्नातक र प्लस टू उतीर्ण भएका विद्यार्थीहरूको लागि क्रमशः १०, ७ र ५ लाख ऋण पाउनुपर्ने उल्लेख  गरेका छौँ । यसले दिनहुँ लाखौँको संख्यामा विदेशिने युवाहरूलाई केही हदसम्म राहत मिलोस् भन्ने हाम्रो उद्देश्य हो । त्यस्तै शिक्षालाई व्यापारीकरण गर्नै प्रवृत्तिको हामी युवा वर्गले नै विरोध गर्नुपर्छ । राजनीतिलाई फोहोर खेल भन्नु हुँदैन । राजनीतिमा व्यक्तिले गरेको व्यवहार फोहोर हुन सक्छ । तर, राजनीतिक क्षेत्रलाई नै फोहोर भन्न मिल्दैन । यदि युवा वर्गले राजनीतिलाई फोहोर भन्छ भने त्यसलाई सफा गर्न पनि उसको उत्तिकै महŒवपूर्ण भूमिका हुन्छ ।

देश निर्माणका लागि राजनीति अपरिहार्य हुन्छ । असल युवा नेतृत्व तहमा आयो भने समाजमा सकारात्मक प्रभाव जम्छ । यसरी नै युवा बिस्तारै आलोचना र टीकाटिप्पणी गर्दै राजनीति क्षेत्रबाट टाढिँदै जाने हो भने नेतृत्व तहमा असल मान्छे आउन निकै मुस्किल पर्छ । कसको सरकार बनाउने र कसको ढाल्ने भन्दा पनि युवा विकास निर्माणको कार्यतर्फ लाग्नु जरुरी छ ।
 

 

Leave A Comment