बजारमा ‘क्रिसमस’को रौनक

शनिबार, ०९ पुष २०७३, १२ : ४८ शुक्रवार , Kathmandu
बजारमा ‘क्रिसमस’को रौनक

राजधानीमा अहिले ‘क्रिसमस’को चहलपहल छ । २५ डिसेम्बर अर्थात् इसाई धर्मका प्रणेता जिसस क्राइस्टको जन्मदिन ‘क्रिसमस डे’ नजिकिँदै गर्दा काठमाडौँका डिपार्टमेन्टल स्टोर, सपिङ मल, गिफ्ट पसल, होटल, क्याफेको प्रवेशद्वारामा क्रिसमस ट्री राखिएका छन् ।
इसाई धर्मावलम्बीले मात्र नभएर अरू धर्मकाले पनि यो पर्वमा शुभकामना र उपहार साटासाट गर्ने भएकाले बजारमा क्रिसमस डेलक्षित छुटका विभिन्न प्याकेज व्यापारीहरूले ल्याएका छन् । क्रिसमसपछि अंग्रेजी नयाँ वर्ष सुरु हुने भएकाले ग्राहकका लागि भारी छुटका योजनासमेत बजारमा आएका छन् ।
दसैँ, तिहारपछि सुस्ताएको बजारमा क्रिसमसले केही वृद्धि भएको व्यवसायी बताउँछन् । सिभिल मल र भैसेपाटीमा आरचिज गिफ्ट पसल सञ्चालन गरिरहेका आकाश शर्माले क्रिसमसले व्यापार ह्वात्तै बढाएको बताए । ‘क्रिसमसकै लागि उपहार लैजान दिनहुँ ६०÷७० ग्राहक आउँछन्,’ शर्माले भने, ‘यसले व्यापार बढाएको छ ।’ दैनिक करिब २० हजार रुपैयाँका क्रिसमस सामग्री बिक्री हुने उनले बताए ।
क्रिस्चियन मात्र नभर सबै धर्म मान्ने व्यापारीहरूले आफ्नो पसलको गेटमा क्रिसमस ट्री राख्न अनिवार्यजस्तै गरेका छन् । क्रिसमस ट्री उपहार दिन सानो १ सय ५० रुपैयाँदेखि  प्रवेशद्वारमा सजाउन अधिकतम आठ हजार रुपैयाँसम्म पर्छ ।
यो चाडमा उपहार दिएर खुशी साटासाट गर्नुका साथै विभिन्न परिकार, घर डेकोरेसन गर्ने सामान, लगाउने लुगासमेत गिफ्ट दिने प्रचलन रहेको छ । सिभिल मलमा गिफ्ट किन्न पुगेकी प्रमिला वाङ्देलले क्रिसमसकै तस्बिर भएको कप किनिन् । ‘क्रिसमसमा दिएको भन्ने सम्झना हुन्छ भनेर साथीलाई उपहार दिन कप किनेकी हुँ,’ वाङ्देलले भनिन् । अन्य धर्म मान्ने साथीहरूसँग क्रिसमस मनाउने गरेको वाङ्देलले बताइन् ।
उपहारमा मात्र नभएर इलेक्ट्रोनिक्स, मिठाई, खाद्यान्न, फेन्सीलगायत सामानमा समेत छुटका कार्यक्रम ल्याएका छन्, व्यापारीहरूले । सिजी ग्रुपले टेलिभिजनलगायत विद्युतीय उपकरणमा १५ प्रतिशत छुट दिएको छ । ‘क्रिसमस र नयाँ वर्षलाई लक्षित गरेर छुट दिएका हौँ,’ सिजी सोरुमा कार्यरत शंकर सापकोटाले भने ।
भाटभटेनी डिपार्टमेन्टल स्टोरले आफ्नो प्रवेशद्वारमा ‘क्रिसमस ट्री’ बनाएर त्यहाँ पुग्ने ग्राहकलाई यो पर्व मनाउन उत्प्रेरित गरिरहेको छ । रेडिमेट गार्मेटका सामानमा १५ प्रतिशत छुट दिएको स्टोरका भानु पौडेलले बताए ।  नेपाल घुम्न आउने पश्चिमा पर्यटक क्रिसमस इभमा झुम्ने भएकाले होटलहरूले पनि तयारी गरेका छन् । बिगमार्टले खाद्यान्नमा छुट दिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि छुटका अफर ल्याएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर भायोनेट कम्युनिकेसन्सले क्रिसमस र न्यु इयर अफरमा ‘सान्त’को ‘गिफ्ट भिया भायोनेट’ ल्याएको हो । यो अवधिमा खपत हुने इन्टरनेटको मागलाई मध्यनजर गर्दै अफरअन्तर्गत ग्राहकले प्रतिमहिना ९ सय ७५ रुपैयाँमा पाँच एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् । नौ महिनाको अग्रिम शुल्क भुक्तानी गर्दा थप तीन महिना निःशुल्क इन्टरनेट तथा तीन महिनाको भुक्तानीमा थप एक महिना निःशुल्क इन्टरनेट सुविधा पाउनेछन् ।

Leave A Comment