स्टेज भाँच्ने ब्यान्ड

शुक्रबार, ०८ पुष २०७३, ११ : १५ शुक्रवार , Kathmandu
स्टेज भाँच्ने ब्यान्ड

–राधिका अधिकारी
१९७४ एडीका गिटारिस्ट तथा प्रोड्युसर मनोजकुमार केसी २०५९, ०६० सालतिर स्टेजमा कार्यक्रम गाउँदै थिए । अधिकांश दर्शक भावविह्वल भएर रोए । त्यो समयको सम्झना गर्दै केसी भन्छन्, ‘त्यो समय हामीले राजा वीरेन्द्रको गीत प्रस्तुत गरेका थियौँ । कति दर्शक डाँको छाडेर रुनुभयो ।’ त्यो बेला स्टेजमा थामिएर गाउन उनलाई निकै मुस्किल भयो । अमेरिकाको वासिङ्टन डीसीमा गाएर फर्किएका मनोज धरानको स्टेजमा भने थामिन सकेनन् । ‘दर्शकको आँखाबाट बगेको आँशु देखेर म पनि रोएँ,’ उनी सम्झन्छन् ।
करिब २२ देशका स्टेजमा प्रस्तुति दिन पुगेका मनोजले थुप्रै पटक साउन्ड बिग्रिएर दुःख पाएका छन् । तर, उनको त्यो दुःखलाई दर्शकको मायाले सधैँ ‘रिकभर’ गरिरह्यो । केही वर्ष पहिलेको कुरा हो, १९७४ एडीका सबै सदस्य नारायणगढमा प्रस्तुति दिँदै थिए । त्यो समयको सम्झना गर्दै मनोज भन्छन्, ‘हामी यति धेरै उत्तेजित भएछौँ कि स्टेज नै आधा भाँच्चियो । दर्शकको क्राउड र दौडले स्टेजको बार पनि बाँकी रहेन ।’
मनोजले धेरै पटक स्टेजमा यस्ता उपद्रो गर्न भ्याएका छन् । स्टेजमा धेरै उफ्रिनेमध्येमा पर्छन् उनी । स्टेजमा उफ्रिएरै कैयौँ पटक पाइन्ट च्यातेका मनोज भन्छन्, ‘एक पटक धरानमा गाउँदा ममा यति धेरै जोश आयो, स्टेज छाडेर बाहिर जान मन लाग्यो । बाहिर जाने ठाउँ थिएन । स्टेजबाट गिटारसहित हाम फालेँ ।’ उनलाई स्टेजमा हुँदा त होचै जस्तो लागेको थियो । हाम फालेपछि पो थाहा पाए, स्टेज त जमिनबाट राम्रै उचाइमा रहेछ । ‘मैले भुइँमा ल्यान्ड गर्नुपूर्व अब मेरा हातखुट्टा सग्ला रहँदैनन् भन्ने ठानेको थिएँ,’ उनी स्मरण गर्छन्, ‘धन्न, भगवानले हात थापे । मलाई सामान्य चोटसमेत लागेन ।’
ब्यान्डका भोकलिस्ट तथा किबोर्डिस्ट प्रज्वल मुखियासँग पनि यस्ता धेरै अनुभव छन् । मुखियाले यो ब्यान्डमा आवद्ध भएर गाउन थालेको दई वर्ष मात्रै भयो । केही समयअघि मात्रै धरानको एक कार्यक्रममा पुगेका उनले स्टेजमा गाउँदागाउँदै साउन्ड सिस्टम बिग्रिएर सास्ती बेहोर्नुप¥यो । उनले सम्झिए, ‘जोसमा गीत गाउँदै थिएँ, साउन्ड बिग्रिएर मुडै खराब भो ।’
ब्यान्डका अर्का भोकलिस्ट अमृतजंग क्षत्रीसँग पनि स्टेजका थुप्रै तीता– मीठा अनुभव छन् । एउटा रमाइलो प्रसंग सम्झँदै उनी भन्छन्, ‘स्टेजबाट गाएर झर्दै गर्दा एक युवतीले मलाई अंकमाल गरेर चुम्बन गरिन्, म नर्भस भएँ ।’

Leave A Comment