‘युवतीहरू मसँग तर्सेर भाग्थे’

सोमबार, ०४ पुष २०७३, ०९ : ४६ अनिल यादव , Kathmandu
‘युवतीहरू मसँग तर्सेर भाग्थे’

लामो समयदेखि नेपाली फिल्ममा ‘भिलेन’ भएर देखिइरहेका छन्, सुशील पोखरेल । रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका उनको अभिनय यात्राले तीन दशक पार गरिसक्यो । दुई दर्जनजति नाटकमा काम गरेका उनले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनीसँग अनिल यादवले अन्तरंग कुराकानी गरेका छन् ।

फिल्ममा ‘भिलेन’को परिचय बनाइएला भन्ने कहिल्यै सोचिएको थियो ?
थिएन । रंगमञ्चमा काम गर्दा म सकारात्मक पात्रको भूमिकामा हुन्थेँ । मेरा केही नाटक त नारीवादी नै थिए । जब मेरो पहिलो फिल्म ‘कर्मयोद्धा’मा काम गरेँ, फिल्ममा मेरो भूमिका नकारात्मक थियो । हिरोले नेगेटिभ तरिकाले हेर्ने र सोच्नेबित्तिकै त्यो पात्रलाई दर्शकले पनि त्यही ढंगले हेर्दा रहेछन् । सबैमा नकारात्मक छाप बस्यो । यस्तो ट्रेडमार्क बन्यो नि, त्यसपछि त मलाई त्यस्तै खालको नेगेटिभ रोलमा मात्र अफर आयो ।

अभिनय क्षेत्रमा कसरी प्रवेश गरियो ?
संयोगले हो । आईएससीको फाइनल परीक्षा दिइसकेपछि रमाइलै–रमाइलोमा ०४२ सालतिर गाउँमा एउटा नाटक गरेको थिएँ । ‘तेरो त नाटक राम्रो हुँदो रहेछ’ भन्दै गाउँमा सबैले हौस्याएपछि ममा अभिनयको रहर जागेको थियो । पहिलेदेखि नसिकीकन, नपढीकन कुनै पनि काममा हात हाल्नु हुँदैन भन्ने सोच ममा थियो ।  त्यसपछि मैले काठमाडौँमा हरिहर शर्मा, सुनिल पोखरेल लगायतसँय अभिनय कक्षा लिएँ । र, यसरी रंगमञ्चबाट मेरो अभिनय यात्रा सुरु भयो ।

फिल्ममा भिलेनको अफर आइरहे पनि हिरो बन्ने रहर पनि थियो कि ?
एकदमै थिएन । त्यो बेला र अहिले पनि कतिपय मान्छेमा हिरो भन्नेबित्तिकै एउटा आकृति आइहाल्छ दिमागमा– जीउडाल मिलेको एउटा चकलेटी अनुहार ।  म त्यसअनुरूपको थिइनँ । मैले आफूलाई ऐनामा राम्रोसँग हेरेको थिएँ । म त्यो लायकको थिइनँ । तथापि, कथाको नायकको हिसाबमा मैले केही फिल्ममा काम गरेको छु, जस्तो– गुरुप्रसाद मैनालीको फिल्म ‘छिमेकी’ ।

एक समय भिलेन भनेकै तपाईं र तपाईं भनेकै भिलेनको अवस्था आयो, है ?  
हो ।  अहिले त केही राम्रा फिल्म मेकरहरू आउनुभएको छ । अभिनेतालाई आफ्ना पात्रअनुसार  काम गराउनुहुन्छ । एकपल्ट यस्तो समय थियो, अभिनेता हेरेर फिल्मको पात्र बनाउने ।  त्यो बेला कपडाजस्तै पात्र पनि रेडिमेड उठाइन्थ्यो । भिलेन भन्नेबित्तिकै सुनील थापा, हेमन्त बुढाथोकी, मुकुन्द श्रेष्ठ, सुशील पोखरेलको नाम आइहल्थ्यो । भिलेनमा यसरी फलानो–फलानो मात्र भन्दाखेरि व्यक्तिगत रूपमा मलाई पनि फाइदा थियो । यही कारण कुनै वर्ष मैले १० वटासम्म फिल्म गरेको छु । मेरो भित्री रुचि कहिल्यै पनि यसरी एकै खालको भूमिकामा बाँधिएर काम गर्ने थिएन । तर, चुल्हो बाल्ने बाध्यताले म घेरिएको थिएँ ।

केही वर्षअघि तपाईले ‘अबदेखि भिलेन नबन्ने’ घोषणा नै गर्नुभएको थियो । खास कारण के थियो ?
मैले पर्दामा भिलेन भएर खेलेकै कारण मलाई धेरै जनाले मुखै छाडेर गाली गरे । बाटोमा हिँड्दाखेरि पनि तथानाम गाली गरे । आठ वर्षअघि ग्वार्कोको गुण सिनेमा हलअगाडि हिँडिरहेको थिएँ । मेरो छेउमा केही युवा ‘ऊ त्यो फलानो गुण्डा’ भन्दै कुरा गरिरहेका थिए । उनीहरू मेरो पछिपछि आइरहेका थिए । ‘यसलाई निखिल उप्रेतीले यसरी किक हान्यो, म पनि हान्दिऊँ ?’ भन्दै उनीहरू पछाडिबाट किक नै हान्न खोजिरहेका थिए । पर्दामा निर्वाह गरिएको चरित्रलाई दर्शकले वास्तविक रूपमा त्यसरी नै लिए भनेर खुशी हुन पनि पाइयो । अभिनयको हिसाबले त यो मेरो सफलता पनि हो । कतिपय ठाउँमा त मलाई देख्नासाथ युवतीहरू तर्सिएर चिच्याउँदै भागेका छन् । त्यस्तो अवस्थामा म मुख छोपेर तर्किन्थे । कहिलेकाहीँ त समाजमा मुखै देखाउन नमिल्ने गरी किन काम गरिएछ भन्ने पनि लाग्थ्यो । यो पनि एउटा कारण हो । अर्को कारण– जुनजुन तरिकाले हामीकहाँ भिलेनलाई प्रस्तुत गरिन्छ, त्यो लगभग मैले सबैथरी गरेँ । अब पुग्यो भनेर पनि नगर्ने निर्णय गरेको हुँ । अर्को एउटा कारण मेरी छोरी पनि हो । छसात वर्षअघिको कुरा हो । छोरी सानी थिई । एक दिन टेलिभिजनमा मेरो पुरानो फिल्म आइरहेको थियो । राजेश हमालले मलाई भक्कु कुटिरहेको दृश्य थियो । त्यो देखेर मेरी छोरीले आँशु झारी । ‘म त्यसलाई मारिदिन्छु, त्यो कहाँ छ ? मेरो बाबालाई कुट्ने । मलाई त्यसकामा लैजानुस्’ भन्दै रोई । मेरो त्यस्तो कामले बालमनोविज्ञानमा असर गर्दो रहेछ । त्यसपछि मैले छोरीलाई मेरो फिल्म कहिल्यै देखाइनँ ।

नेपाली फिल्ममा पहिले ‘हिरो’को गुनगान बढी गाइन्थ्यो, अहिले क्यारेक्टरको गाउन थालिएको हो ?
हो । आठ वर्षअघि र आजको कुरा गर्ने हो भन्ने भिन्नता पाइएको छ । मेरो त्यही पुरानो फिल्मलाई आज दर्शकले त्यसरी प्रतिक्रिया दिँदैनन्, जसरी पहिला दिए । उनीहरूको प्रतिक्रिया फरक छ । त्यो बेलाको जस्तो फिल्मको क्रेज त छैन अहिले । पहिले मनोरञ्जनको विकल्प थिएन, त्यसैले वर्षमा एक–दुइटा फिल्म रिलिज हुन्थ्यो र मान्छेहरूको हलमा मेला लाग्थ्यो । दर्शकको मानसिकतामा अहिले हरेक कुरामा परिवर्तन आइसकेको छ ।

तपार्इंलाई त बलिउड एक्टरसँग पनि दाँज्ने गर्छन् नि, थाहा छ ?
हो । मलाई नामै तोकेर नेपालको परेश रावल भन्छन् । मलाई सीधै नभने पनि परबाट अरूलाई चिनाउँदाखेरि त्यसरी भनेको धेरै सुनेको छु । उहाँ साँच्चिकै भव्य अभिनेता हो । उहाँजस्तो हुन त कहाँ सक्नु र ? यद्यपि, उहाँसँग मेरो नाम जोडिँदा मलाई मज्जै लाग्छ ।


यत्रो लामो समय फिल्म क्षेत्रमा बिताइसक्नुभयो । नेपाली फिल्ममा पहिलेभन्दा अहिले के–के परिवर्तन महसुस गर्नुभएको छ त ?
परिवर्तन धेरै भएको छ । छर्लंगै देखिने परिवर्तन भनेको प्रविधिमा हो । अहिले भन्ने गरिन्छ– ‘रंगमञ्चबाट आएका कलाकारलाई अभिनय गराएर नेपाली फिल्मले बढी फाइदा उठाइरहेको छ ।’ यसमा म के थप्न चाहन्छु भने– ‘नेपालमा फिल्म भनेकै रंगमञ्चले थेगेको हो ।’ ‘आमा’ फिल्मका कलाकारहरू हरिप्रसाद रिमाल, बसुन्धरा भुसाल सबै रंगमञ्चमै काम गर्नुहुन्थ्यो । पहिलेदेखि नै नेपाली फिल्म क्षेत्रलाई रंगकर्मीले नै काँधमा बोकेर हिँडेको हो ।

परम्परागत कथा भन्ने शैली (स्टोरी टेलिङ)बाट नेपाली फिल्म बिस्तारै मुक्त हुँदैछ । तपार्इंले कत्तिको परिवर्तन पाउनुभएको छ  ?
नेपाली फिल्मको इतिहासलाई हेर्ने हो भने यहाँ राजनीतिक रूपमा जुन व्यवस्था लागू गरिएको थियो, त्यसको प्रचारका लागि मात्र फिल्म बनाउन थालिएको थियो । पञ्चायत व्यवस्थाका बेला बनेका फिल्ममा पञ्चायतकै दर्शनका बारेमा विचार दिने काम भयो । एउटा सत्य चाहिँ के हो भने नेपाली फिल्मले ‘पोलिटिकल कल्चर’को विकास गराउने काम ग¥यो । त्यतिबेला राजा, संविधान र सेनाका बारेमा केही कुरै गर्न पाइँदैनथ्यो । भनेपछि त्यतिबेला बनेका फिल्मले उठाउने कथा भनेको कति संकुचित हुन्थ्यो ? कहिले नियम–कानुनसँग गएर बाझिन्थ्यो, कहिले के हुन्थ्यो । त्यसैले सामाजिक कुरामात्र, घरका कुरामात्र गर्न पाइन्थ्यो । त्योभन्दा माथि उठ्ने धरातल नै दिइएको थिएन । त्यो माहोलमा हाम्रो कथा जति भने पनि एउटा ‘पेरिफेरी’बाट माथि उठ्नै सकेन । लोकतन्त्र स्थापनापछि फिल्मले पनि राजनीतिक स्वतन्त्रता पायो । त्यसपछि केही राम्रा फिल्म बने, कथा भन्ने शैलीमा केही परिमार्जन भयो । तर, पनि त्यति सुधार चाहिँ भएन जति हामीले चाहेका थियौँ ।

पहिले र अहिलेका भिलेनमा पनि धेरै भिन्नता देखिन्छ नि ?
हो । अहिले त क्यारेक्टरको विकास गर्ने शैलीमै परिवर्तन आएको छ । पहिले नेगेटिभ क्यारेक्टर भन्नेबित्तिकै अनुहारमा खत राख्ने, घाउ बनाइदिने, डरलाग्दो हुनुपर्ने बाध्यात्मक परिपाटी थियो । बरु एक्टिङ गर्न नजाने पनि हुन्थ्यो । तर, अहिले चरित्रलाई स्वरूपले होइन, स्वभावले नकारात्मक देखाउन थालिएको छ । अभिनय क्षमता खोज्न थालिएको छ ।
रोचक कुरा– तपाईंले धेरै फिल्ममा भ्रष्ट मन्त्रीको भूमिका निर्वाह गर्नुभयो, है ?
हो । सबैभन्दा धेरै पल्ट मन्त्री भएको मान्छे होला सायद म, तर पर्दामा मात्रै । त्यही पनि सधैँ भ्रष्ट मात्रै । यो हाम्रा राजनीतिज्ञमाथि कडा व्यंग्य पनि हो ।  हाम्रा नेताहरू असक्षम भएकैले आज नागरिकले दुःख पाएका हुन् । देश पछाडि परेको छ । त्यसैले फिल्ममा त्यस्तो चरित्र निर्वाह गरेर हिरोको कुटाइ खाँदा सधैँ खुशी नै लाग्यो । किनभने, त्यहाँ एउटा भ्रष्ट मन्त्रीले पिटाइ खाइरहेको हुन्थ्यो ।  

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17