फुच्चे फ्यानको बिहे गर्ने जिद्दी

आइतबार, ०३ पुष २०७३, ११ : २८ शुक्रवार , Kathmandu
फुच्चे फ्यानको बिहे गर्ने जिद्दी

लोकदोहोरी गायनमा परिचित नाम हो, राधिका हमाल । पछिल्लो समय उनी देशविदेशका कार्यक्रममा व्यस्त छिन् । ‘क्याम्पस पढ्न आउनी’, ‘ढल्क्यो जवानी’, ‘झोर्ले हो’ आदि उनका रुचाइएका गीत हुन् । उनका थुप्रै प्रशंसक छन् । यस्तो छ– उनको फ्यान–कहानीः
सुनको चुरा दिने फ्यान
कार्यक्रमका लागि लन्डन गएकी थिएँ । मेरो ‘रातो सारी’ भन्ने गीत मुना सापकोटालाई खूब मन परेको रैछ । गीत गाएपछि उहाँले रंगिन पेपरमा बेरिएको उपहार दिनुभयो । मैले लिन मानिनँ । उहाँले त्यो प्याकिङ खोल्नुभयो । त्यसमा भएका घडी र सुनको चुरा उहाँले मेरा हातमा लगाइदिनुभयो ।
खाडीको माया  
सबै ठाउँका फ्यानले गर्ने मायाको प्रकार उस्तै हो । सबै ठाउँमा पुग्दा फ्यानहरूले आफूले सकेको उपहार दिनुहुन्छ । खाडीमा फ्यानको भीड देख्दा मनै अर्काे हुन्छ । उहाँहरूले गर्ने माया केहीसँग तुलना हुन सक्दैन ।
फुच्चे फ्यानको बिहे गर्ने जिद्दी
आठ वर्षअघि कार्यक्रमका सिलसिलामा गुल्मी गएकी थिएँ । त्यहाँ आठ वर्षका एक जना बाबु आमालाई ‘म राधिका हमालसँग बिहे गर्छु’ भन्दा रहेछन् । कार्यक्रममा उनी आमासँग आएका थिए । उनले मसँग बिहे गर्छु भनेर जिद्दी गरे । हैरानै पारे । अन्त्यमा एक प्याकेट चकलेट दिएर फकाएँ ।
 
रुन्चे फ्यान
मलेसियाको एउटा कार्यक्रममा थिएँ  । गीत गाउँदै थिएँ, एक जना युवा साथी मञ्चको पछाडिबाट आउनुभयो । उहाँ मेरो ठूलो फ्यान हुनुहुँदो रहेछ । उहाँलाई आफ्नै हातले मलाई उपहार दिन मन रहेछ । तर, दर्शकले स्टेजमा जान पाउँदैनन् । उहाँलाई त्यहाँबाट प्रहरीले हटाउन खोज्यो । उहाँ ह्वाँह्वाँ रुनुभयो । मलाई साह्रै नरमाइलो लाग्यो ।

प्रस्तुतिः राधिका अधिकारी

 

Leave A Comment