कलाकारको राजनीतिक ‘जम्प’

आइतबार, ०३ पुष २०७३, १० : ३५ डिबी खड्का , Kathmandu
कलाकारको राजनीतिक ‘जम्प’

केही दिनअघि अभिनेत्री रेखा थापा, केही हप्ताअघि गायिका कोमल वली र केही महिनाअघि अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक यात्रा सुरु गरे । नेपालको राजनीतिमा कलाकारले त्यस्तो उत्पातै प्रगति गरेको उदाहरण छैन । बरु, पार्टीहरूले कलाकारलाई चुनावी तथा अन्य प्रयोजनका लागि प्रयोग गरेको इतिहास छ । कला र राजनीतिको के–कस्तो सम्बन्ध छ ? को–को कलाकर्मी किन र कसरी राजनीतिमा लागे ? को कुन पार्टीमा छन् ? धनबहादुर खड्काले कलाकारका राजनीतिक फड्कोबारे गरेको खोजीनिती ।
संविधान संशोधनको विषयले तातेको राजनीतिलाई कलाकारहरूले थप तताइदिएका छन् । फिल्ममा ‘हट हिरोइन’को छवि बनाएकी रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छिन् । राजनीतिमा उनको यो पहिलो पाइलो भने होइन तर अघिल्लो पल्ट सारेको पाइला नराम्रोसँग चिप्लिएपछि राजनीतिमा उनले दोस्रो पाइला सारेकी छिन् । यस पल्ट नचिप्लिने ग्यारेन्टी गर्दै शुक्रवारसँग भनिन्, ‘त्यतिबेला कलाकार रेखा थापा राजनीतिमा थिई । यस पल्ट एउटा परिपक्व व्यक्ति राजनीतिमा छ ।’
रेखाले जे भने पनि चर्चाका लागि सबै हथकण्डा अपनाउने रेखाको बानी भएकाले उनको यो राजनीतिक यात्रालाई पनि फन्डाकै रूपमा बुझ्ने धेरै छन् । फिल्म करिअरमा चर्चाको माहोल चिसो हुँदै जान लागेको समयमा उनी राजनीतिक माहोल तताउन आइपुगेको भन्नेकै जमात ठूलो छ । फिल्म राजनीतिकी यी सफल खेलाडीको वास्तविक राजनीतिको दोस्रो ‘इनिङ्स’ सुरु भएको छ । राजनीतिको परम्परागत संस्कार रहेको यो पार्टीमा उनको अपेक्षा पूरा हुन सक्ने सम्भावना पनि धेरैले देखेका छन् । किनकि, फिल्मकर्मबाटै राजनीतिमा पुगेका उद्धव पौडेल यही सन्दर्भमा कोषाध्यक्ष चुनिएका छन् ।
रेखाले राप्रपाको रातो टीका थापेको केही दिनअघि अर्की सेलिब्रिटी पुगेकी थिइन्, यही पार्टीमा । गायन र समाचारवाचनका कारण नेपाली जनताको मन जितेकी कोमल वलीले राप्रपा रोजिन् । गायिका वलीकै कुरा पत्याउने हो भने कलाकर्ममा नाम बनाइसकेका अरू धेरै व्यक्ति पनि चाँडै राप्रपाका अध्यक्ष कमल थापाको हातबाट टीका ग्रहण गर्ने लाइनमा छन् । यो महिनाभित्रै राप्रपाको टीका लगाउने स्टारमध्येमा उनले अभिनेता भुवन केसीको नाम लिएकी छिन् तर केसीले भने उक्त दाबीलाई अस्वीकार गरेका छन् । अन्यथा नहुञ्जेल उनी एमाले सम्बद्ध कलाकार हुन् ।
लामो समयसम्म राजनीतिलाई ‘साँघुरो घेरा’ ठानेर स्वतन्त्र रहेका कलाकर्मी पछिल्लो समय कतै न कतै आबद्ध भइरहेका छन् । ‘कलाकारले राजनीति गर्नु हुँदैन’ भन्ने मान्यता लिनेहरू पनि थुप्रै थिए । तर, पछिल्लो समय कहिले हूल बाँधेर माओवादी प्रवेश गर्ने त कहिले एकएक गरी राप्रपा रोज्ने उपक्रम चलिरहेको छ  ।
त्यसअघि बाबुराम भट्टराईले नेकपा एमाओवादी छाडेर नयाँ शक्ति गठन गर्दा करिश्मा मानन्धर, सरोज खनाल  र अशोक शर्माजस्ता पुराना कलाकार पनि उक्त पार्टीमा समेटिएका थिए । अघिल्लो महिना मात्रै नेपाली कांग्रेसले पनि लोकतान्त्रिक चलचित्रकर्मी संघ गठन गरी केही फिल्मकर्मीलाई पार्टी सदस्यता दिएको छ ।
गायक–गायिकलाई पार्टीमा आबद्ध गराउने प्रचलन नेपाली राजनीतिमा पुरानै हो । किनकि, राजनीतिक सभा–सम्मेलनमा ‘मास’ जुटाउने हतियार नै कलाकार हुन्छन् । चुनावको सम्भावना नजिँकिँदै जाँदा फेरि एक पल्ट सभा–सम्मलेनको माहोल बन्दै गएको छ । चुनावमा बलियो बन्ने क्रममा विभिन्न क्षेत्रमा पार्टीहरू आफ्नो पहुँच बढाउन चाहन्छन्  ।
विभाजित पार्टीलाई भर्खरै जोडेको राप्रपाले अन्य क्षेत्रमा छरिएका आफ्ना समर्थकलाई पनि एकीकृत गर्ने अभियान थालेको छ । कला क्षेत्रमा आफ्नो पकड कमजोर महसुस गरेको उसले अहिले यसैलाई लक्ष्य गरिरहेको छ । फिल्मकर्मीको नसनाडी छामिसकेका फिल्म निर्माता उद्धव पौडेल राप्रपाको उपल्लो ओहदामा पुगेकाले पनि उनी यो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै लैजान चाहन्छन् । कोमल र रेखाको पार्टी प्रवेश यसैको उपज हो ।
पार्टीमा के पाएका छन् कलाकारले ?
रेखा थापा एमाओवादीको सिंहदरबार घेराउ कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेपछि माओवादी कहलिएकी थिइन् । त्यो उनको माओवादी हुने योजना अनुरूपको घटना भने थिएन । पहिलो संविधानसभाको चुनावबाट पहिलो दल बनेको एमाओवादी कटवाल काण्डपछि प्रतिपक्ष बन्न पुग्यो । त्यसपछि उसले चलाएको आन्दोलनमा सबै कलाकारलाई सहभागी भइदिन आग्रह गर्दै निम्तो पठाइएको थियो । फिल्म प्रमोसनका लागि मास खोजिरहेकी रेखालाई त्यो उपयुक्त अवसर लाग्यो र कार्यक्रममा पुगिन् । प्रचण्डसँग नाचिन्  । घटना चर्चित भयो र रेखा प्रभावशाली नेता प्रचण्डसँग निकट भइन् । उपयोगको सिद्धान्तलाई राम्रैसँग अवलम्बन गर्न सक्ने प्रचण्डले पनि फिल्म क्षेत्रबाट रेखाले कमाएको लोकप्रियतालाई ‘क्यास’ गर्न खोजे । रेखा एक समय माओवादीको ब्रान्ड एम्बेसडर जस्तै भइन् । एकैपल्ट ९६ जना फिल्मकर्मीलाई माओवादीमा प्रवेश गर्ने वातावरण बनाउनुमा उनको भूमिका थियो ।
दोस्रो संविधानसभाको चुनावको केही अघिसम्म रेखालाई प्रत्यक्षबाट सभासद उठाइने भनियो । चुनावकै सँघारमा आएर उनले राजनीतिको चक्रव्यूहमा आफू फसेको थाहा पाइन् र त्यही दिनबाट उनमा माओवादी मोह सकिएको थियो । त्यसको केही समयपछि शुक्रवारसँग गरेको कुराकानीमार्फत उनले आफू ‘माओवादी नभएको’ घोषणा गरिन् ।
अहिले रेखा दाबी गर्छिन्, ‘मैले एमाओवादीको सदस्यता लिएकै थिइनँ ।’ जसलाई उनी आफ्नो बुद्धिमत्ता जस्तै गरी प्रस्तुत गर्छिन् । राप्रपा प्रवेश गर्ने दिन पनि उनले सोही कुरा दोहो¥याइन् । वास्तवमा माओवादीले उनलाई सदस्य ठानेकै थिएन । सदस्य ठानेको भए उनलाई उम्मेदवार पक्का भनेर निर्वाचन क्षेत्रतिर हिँडाएपछि अर्काे उम्मेदवार घोषणा गरिने थिएन । उम्मेदवार फेर्नैपरे पनि उनीसँग सल्लाह गरिन्थ्यो । त्यो समय उनीसँग निर्वाचन क्षेत्रतिर हिँडेका रेखाका निकटस्थ एक कलाकार भन्छन्, ‘रेखा दिदीले हेटौँडा पुगेपछि आफूलाई झुटो उम्मेदवार बनाइएको थाहा पाउनुभएको थियो ।’
नेता बन्ने आशा गरेर चुनावभरि दौडधुप गर्दा अन्तिममा अभिनेतामै सीमित हुन पुगेका थिए, भुवन केसी पनि । नेपाली फिल्मका सदाबहार हिरोलाई सुरुमा नेकपा एमालेले काठमाडौँ क्षेत्र नं १ बाट उठाउने आशा देखायो । अभिनेता केसी रातदिन खटे । त्यसपछि त्यहाँ एमाले नेतृ विद्या न्यौपानेलाई उठाइयो र उनको नाम समानुपातिक सभासदको सूचीमा समावेश गरियो । तर, उनी समानुपातिकमा पनि पर्न सकेनन् । त्यसपछि एमालेप्रति असन्तुष्ट उनी राजनीतिको बुझिनसक्नुको खेलबाट टाढा छन् ।
यी पछिल्ला घटना भए । नेपाली राजनीतिमा कलाकारले यथोचित स्थान नपाएको पहिलेदेखि नै हो । नेताहरूसँगै भूमिगत भएर जनताको घरदैलो गरेका, राजनीतिक चेतना  पनि बलियो भएका कलाकारसमेत पीडित बनेका छन् । ‘गाउँ गाउँबाट उठ’ जस्ता  गीत गाएर जनतालाई व्यवस्था परिवर्तन गर्न उक्साएका रामेश र रायनको योगदानको राजनीतिक दलले कदर गर्न सकेनन् । जनतालाई पहिले बहुदल र पछि गणतन्त्रका पक्षमा उठाउन उनीहरूलगायत जनवादी कलाकारले गीतसंगीतमार्फत गरेको योगदान कम छैन  तर पार्टीहरूले भने उनीहरूलाई सधैँ किनारा लगाइरहे । आफ्नो जीवनको ऊर्जाशील कालखण्ड एमाले फलाउन–फुलाउन खर्च गरेका गायक जेबी टुहुरेले जीवनको उत्तराद्र्धमा पार्टी छाड्नुप¥यो ।
चर्चित गायिका नलिना चित्रकारलाई नेपाल मधेशी जनाधिकार फोरमले समानुपातिक उम्मेदवार बनायो । गायनबाट कमाएको लोकप्रियताको उपयोग उनले पार्टीका लागि गरिन्  । तर, उनलाई सभासद भने बनाइएन ।  
भर्खरै राप्रपा प्रवेश गरेका गायिका कोमल र अभिनेत्री रेखाले पार्टीभित्र कस्तो जिम्मेवारी पाउने हुन् ? थाहा भइसकेको छैन । उनीहरूलाई केन्द्रीय सदस्य बनाउने आशा देखाइएको छ । कोमल भन्छिन्, ‘नबन्दै के भन्नु, केन्द्रीय सदस्यसम्म बनाउलान् ।’
धेरै गायक–गायिका छन्, जसलाई पार्टी नेताले चुनावका बेला सम्झिन्छन् । तर, नेपाल चलचित्र विकास बोर्ड, संगीत नाट्य प्रतिष्ठान जस्ता ठाउँमा पार्टीको प्रतिनिधित्व गराउँदा भने क्षमतावान कलाकारलाई नभई ‘कार्यकर्ता बढी, कलाकार कम’लाई रोजिने गरेको छ । यसका अनेकौँ उदाहरण छन् । यसअघि चलचित्र विकास बोर्डमा अध्यक्ष बनेका धर्मेन्द्र मरवैता पप्पु एउटा यस्तै नाम हुन् ।
अवसरवादी कि आशावादी ?
कलाकारको राजनीतिक विचार र प्रतिबद्धतामाथि सधैँ शंका गरिँदै आएको छ । उनीहरूलाई धेरैले अवसरवादी ठान्छन् । तर, कलाकारले राजनीतिबाट अवसर पाएका छैनन् । यस अर्थमा कलाकार अवसरवादी भन्दा पनि आशावादी देखिन्छन् । र, जसले आशा देखाउँछ, उतै लहसिन्छन्  ।
यो सन्दर्भमा केही वर्षअघि फिल्मकर्मी लाइन लागेर माओवादीमा प्रवेश गर्दाको क्षण सम्झिनुपर्ने हुन्छ र त्यहाँ नीर शाहले दिएको भाषण अंश पनि सान्दर्भिक हुन्छ । प्रवेश गर्दा टीका र माला चाहिँ विशेष कारण नलगाएका उनले भनेका थिए, ‘नसोच्नुहोला मेरो निधारमा टीका छैन । तर, मेरो मनभित्र यो टीका निकै गढेको छ । मेरो गलामा माला छैन । तर, यो माला कहिल्यै नखस्ने गरी मन र मस्तिष्कमा लगाएको छु । यो विद्वत् समूहको पार्टी हो । मेरो सलामले यो पार्टी चिरायु हुन्छ भने सलाम मात्र किन म लालसलाम नै भन्छु ।’
उनको मनमा गढेको टीका र मनमष्तिकमा रहेको माला चुँडिन धेरै वर्ष कुर्नु परेन । तेस्रो दलमा खुम्चिएपछि उनले एमाओवादी पार्टीप्रति निधार खुम्च्याए र अहिले कांग्रेससँग निकट छन् । त्यसअघि दरबारिया पार्टी निकटस्थ मानिन्थे उनी । त्यताबाट आशा मरेपछि माओवादी निकट भए । माओवादीले पनि उनको आशा पू्रा गर्न नसकेपछि अहिले शाह कांग्रेस समर्थक छन् । कांग्रेस निकट पुगेपछि विमलेन्द्र निधि सूचना तथा सञ्चार मन्त्री हुँदा उनलाई नेपाल टेलिभिजनको निर्देशक बनाइयो । उता, कांग्रेसका पछि लागेका कलाकार फेरि जिल्लाराम भए । वर्षाैंदेखिका कांग्रेस समर्थक अभिनेता दीपकराज गिरीले हालसालै गरेको दलको यही प्रवृत्ति लक्षित टिप्पणी छ– ‘दलहरूले टीका लगाउनेलाई होइन, टिकिरहनेलाई विश्वास गर्नुपर्छ ।’
नीर अपवाद हुन् । धेरै कलाकारले पार्टीबाट अवसर पाएका छैनन् । तर, राज्यका महŒवपूर्ण निकायमा राजनीतिक दलकै हालीमुहाली हुने हुँदा ‘केही प्राप्त भइहाल्छ कि’ भन्ने आशामा सदा रहन्छन् ।
यसैको परिणाम हो, अहिले राप्रपा नेपालप्रतिको आकर्षण । हिन्दू राज्यलाई एजेन्डा बनाएको र एकजुट पनि भएको हुनाले धेरैले आगामी निर्वाचनमा राप्रपा ठूलो शक्ति बन्ने अनुमान गरेका छन् । राप्रपाले कलाकारसँग ‘एप्रोच’ पनि उसको हिन्दू राज्यवाला एजेन्डा स्थापित गर्न गरिरहेको छ । चुनाव गर्नुपर्ने बहस पनि भइरहेकाले राप्रपा यतिबेला चुनावकेन्द्रित एजेन्डाअनुरूप आशा देखाएर समर्थक बटुल्दैछ ।
एमाओवादी ठूलो पार्टी हुँदा कलाकारको ठूलै लाइन त्यता लागेको धेरैले बिर्सिसकेको हुनुपर्छ । माओवादीमा प्रवेश गरेका कलाकार सम्झिँदा धेरैले रेखा मात्रै सम्झिन्छन् । नेपाली फिल्ममा गिनेचुनेका ९६ जना फिल्मकर्मी प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा एकैदिन पार्टी प्रवेश गरेका थिए । त्यसमा अभिनेता÷निर्देशक नीर शाहदेखि अभिनेता राजेन्द्र खड्गी, गायिका अञ्जु पन्त, गायक दीपक लिम्बू, निर्माता छवि ओझा, संगीतकार चेतन सापकोटा, अभिनेता सीताराम कट्टेल, अभिनेत्री कुञ्जना घिमिरेसम्म थिए । त्यो ९६ जनाको टोलीमा फिल्म लेखक मौनता श्रेष्ठ, निर्माता तथा वितरक वसन्तकुमार श्रेष्ठ, हरि बराल, वितरक तथा प्रदर्शक केबी क्षत्री, द्वन्द्वनिर्देशकहरू कुमार श्रेष्ठ, हिमाल केसी, कुमार महर्जन, निर्देशकहरू योगेश घिमिरे, रामजी लामीछाने, सागर लामीछाने, फिल्म सम्पादक राजु भण्डारी, अभिनेत्री मौसमी मल्ल, सिर्जना बस्नेत, निर्माता तथा नायक राहुल केसी, निर्माता तथा कलाकार विवेक सापकोटा, प्रदर्शक तथा वितरक गोपाल कायस्थ, छायांकार दुर्गा पौडेललगायत थिए ।  तर, उनीहरूमध्ये धेरै अहिले सकेसम्म त्यो दिन बिर्सिन चाहने स्थितिमा छन् । कतिपय भने अर्कै पार्टीका नेतासँग निकटस्थ भइसके ।
आशावादी भएर पार्टी चहार्दै हिँड्ने कलाकारप्रति दीपकराज गिरीले रमाइलो टिप्पणी गरेका छन्, ‘रेखाजी राप्रपामा जानुभयो । यो समाचार सुनेर म त खुशी भएँ ! हामी कलाकारको एउटै फिल्ममा झुन्डिएर बस्ने बानी नै हुँदैन । जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ । त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरु । कुरो क्लियर छ, फिल्म चेन्ज, हिरो चेन्ज । हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ !’
को कुन पार्टीमा छन् ?
नेपाली कांग्रेसमा नायिका झरना थापा, मेलिना मानन्धर, कलाकार मुकेश ढकाल, मदनदास श्रेष्ठ, किरण खरेल, निर्माता रोज राणा, मधुकुमार श्रेष्ठ, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक सुरेश दर्पण पोख्रेल, रूपा राना, जनकदीप पराजुली, ऋषि लामिछाने, योगेन्द्र श्रेष्ठ, आयुष रिजाललगायत खुलेर लागेका छन् ।
सबैभन्दा कम फिल्मकर्मी नेकपा एमालेका छन् । एमाले भनेर खुलेरै लागेकामा भुवन केसीपछि केशव भट्टराईको नाम आउँछ । निर्वाचनताका एमालेको प्रचारमा हिँडेका कारण अभिनेत्री जिया केसीलाई एमाले भनिन्छ । यीबाहेक नाम चलेका कलाकार एमाले भनेर खुलेका छैनन् । चर्चित कलाकार मनोज गजुरेल, राजा राजेन्द्र र गायक बद्री पंगेनी एमाले निकट मानिन्छन् ।
यसअघि  राप्रपामा फिल्मकर्मी उद्धव पौडेल, गायक सञ्जय श्रेष्ठ, गायिका मिरा राणा सक्रिय थिए भने कोमल वली र रेखा थापा भर्खरै थपिएका छन् ।
माओवादी तेस्रो पार्टी मात्रै होइन, विभाजित हुँदै गएपछि धेरै कलाकार यसबाट अलग्गिसकेका छन् । फिल्म क्षेत्रमा त वर्तमान स्थितिमा आफूलाई माओवादीका रूपमा चिनाउने कलाकार भेट्नै हम्मे पर्छ ।

‘जनताको मन जितेर नेता हुन चाहन्छु’
कोमल वली
एक्कासि राजनीति गर्ने रहर कसरी जाग्यो ?
राजनीति गर्ने रहर पहिलेदेखि नै थियो । उपयुक्त समय पाइरहेकी थिइनँ । अब समय आयो ।
तपाईंको लोकप्रियता ‘क्यास’ गर्न के लोभ देखाइयो ?
विगतमा कलाकारलाई लोभ देखाएर प्रयोग गरेको देखिन्छ । मलाई त्यस्तो केही लोभ देखाइएकै छैन । म दानभिख मागेर राजनीति गर्न पनि चाहन्नँ । जनताको मन जितेर नेता हुन चाहन्छु । तुरुन्तै प्रतिफलको आशा गर्दिनँ । आत्मसन्तुष्टिका लागि राजनीतिमा आएकी हुँ ।
तपाईंको सम्बन्ध त ठूला पार्टीका नेतासँग पनि थियो । राप्रपा नै रोज्नुपर्ने के कारण होला ?
ठूलो पार्टी होइन, सही पार्टी रोज्ने हो । मेरा लागि राप्रपा सही पार्टी हो । एमाले अध्यक्ष केपी ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासँग मेरो निकट सम्बन्ध छ । राप्रपा रोज्नुको कारण यो राष्ट्रवादी पार्टी हो र देशको वैकल्पिक शक्ति हो । यसले हिन्दू राज्य कायम राख्ने लक्ष्य लिएको छ ।
तपाईंजस्तो चेतनशील कलाकार अग्रगामी सोचविरुद्धको विचारमा कसरी सहमत हुनुभयो ?
मलाई २०३६ सालको जनमत संग्रहदेखि २०६२/६३ को आन्दोलनसम्म थाहा छ । परिवर्तन पटक–पटक भए । तीमध्य पछिल्लो परिवर्तनले के दियो ? विभाजन, दण्डहीनता र अनुशासनविहीनता । राप्रपाले विखण्डनविरुद्ध, आम जनताको सोचअनुरूपको विचार अंगीकार गरेको छ । अनि कसरी अग्रगामी सोचविरुद्धको भन्न मिल्छ यसलाई ?
अब व्यावसायिक गायनलाई किनारा लगाउनुहुन्छ होला ?
कलाकार म सबैको साझा हुँ । गायन मेरो पहिलो रोजाइ हो । त्यसैले गायन कहिल्यै छाड्दिनँ । अन्य पार्टीका भ्रातृ संगठनका कार्यक्रममा बोलाउँदा गएर पहिले पनि गीत गाइदिएकी हुँ । अहिले पनि सम्मानपूर्वक बोलाउँछन् भने जान्छु ।
बक्समाः

‘देशभक्त छोरीको निर्णय हो यो’
रेखा थापा, अभिनेत्री
पहिलो पल्ट रेखा थापाले जानीबुझी गरेको निर्णय हो यो । किनभने, अहिले म जान्ने भए,  ठूली पनि भएँ । यसकारण यो एक सच्चा देशभक्त छोरीले गरेको निर्णय हो । हिजो कलाकार रेखा थापा जनलहर देखेर कतै गई होली, तर मनैदेखि माओवादी नभएकाले सदस्यता लिएकी थिइन । आएको अवसर उपयोग गरिहालौँ भन्ने थियो । अवसरवादी नै भएकी भए माओवादीमै बार्गेनिङ गरी बस्थेँ । अर्काे ठूलो पार्टीमा जान्थेँ । मैले त्यसो गरिनँ । चुनावलगत्तै आफूलाई अलग्याएँ । शुक्रवारमार्फत नै त्यतिबेला मैले म माओवादी नभएको बताएकी थिएँ । आफूलाई राष्ट्रको कार्यकर्ता भनेकी थिएँ । म हिन्दू नारी हुँ । मलाई हिन्दू राष्ट्रको विचार मन परेको छ । मलाई राप्रपाको राष्ट्रवादले आकर्षित गरेको छ ।
‘जनसेवाका लागि राजनीति रोजेँ’
करिश्मा मानन्धर, अभिनेत्री
म एकै दिन निर्णय गरेर राजनीतिमा आएकी होइन । केही वर्षदेखि नै राजनीतिमा आउने सोच थियो । मेरो सोच मिल्ने पार्टी यही समयमा गठन भएकाले यतिबेला आएकी हुँ । एउटा कलाकारका रूपमा मैले जनताको मन–मुटुमा ठाउँ पाइसकेकी छु । त्यसबाहेक खानलगाउनदेखि अन्य केही गरौँ भन्ने इच्छा जाग्यो भने पूरा गर्न नपुग्दो केही छैन । म पहिलेदेखि नै विदेश जाँदा महसुस गर्थें, हाम्रो देशमा चाहिँ किन सिस्टम नभएको ? विकास किन नभएको ? हाम्रो देशका हरेक व्यक्ति राष्ट्रभक्त छन् । हरेकलाई देशका लागि केही गर्ने चाहना हुन्छ तर त्यो अवसर नै छैन ।  ममा पनि त्यही चाहना थियो । जनसेवा गरौँ भन्ने थियो । अवसर अहिले मिलेको हो । राजनीति जनसेवाका लागि सही बाटो हुनसक्छ भन्ने महसुस गरेर लागेकी हुँ ।
जो अभिनयबाट राजनीतिमा फड्किए
आर्नोल्ड स्वार्जनेगर
फिल्म जगतमा जमेको व्यक्ति राजनीतिमा लागेको प्रसंग आउनासाथ धेरैले सम्झिने व्यक्ति हुन्, हलिउड स्टार आर्नोल्ड स्वार्जनेगर । अभिनय क्षेत्रमा आर्नोल्डको जस्तै उचाइ बनाएको अर्को कुनै पनि राजनीतिमा जम्न सकेको छैन ।
खास गरी, एक्सन थ्रिलर फिल्ममा स्थापित आर्नोल्डले ‘प्रिडेटर्स’, ‘द टर्मिनेटर’, ‘पम्पिङ आइरन’जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् । हलिउडमा प्रतिष्ठा कमाएपछि उनी अमेरिकी राजनीतिमा प्रवेश गरेका थिए ।
पूर्व मिस्टर युनिभर्ससमेत रहेका आर्नोल्डले सन् २००३ मा अमेरिकी राज्य क्यालिफोर्नियाको गभर्नर पदमा उम्मेदवारी दिए र विजयी भए । सन् २००६ मा भएको गभर्नरको अर्को निर्वाचनमा समेत उनी विजयी भए । यसरी २००३ देखि २०११ सम्म उनी लगातार गर्भनर पदमा आसीन भए ।

रोनाल्ड रेगन
कुनै बेला अभिनय क्षेत्रमा सक्रिय रहेको व्यक्ति राजनीतिमा कति माथिसम्म पुग्न सक्छ भन्ने उदाहरण हुन्, रोनाल्ड रेगन । अभिनयलाई छोडेर राजनीतिमा प्रवेश गरेका उनी अन्ततः अमेरिकी राष्ट्रपति भएका थिए ।
गत शताब्दीको ३० र ४० को दशकमा रेगनले केही थान फिल्ममा अभिनय गरेका थिए । ‘किंग्स रो’, ‘नुट’, ‘बेडटाइम फर बोन्जो’ लगायत फिल्ममा उनले काम गरेका थिए । तर, फिल्म क्षेत्रमा उनले खासै सफलता पाउन सकेनन् ।
फिल्म जगतबाट बिस्तारै  हराउँदै जाने छाँटकाँट देखेपछि उनी राजनीतिमा सक्रिय भए । सुरुमा डेमोक्य्राट रहेका उनी पछि रिपब्लिकन बने र सोही पार्टीबाट क्यालिफोर्नियाको गभर्नर बने । सन् १९६७ मा उनी अन्ततः अमेरिकी राष्ट्रपति निर्वाचित भए र करिब आठ वर्ष सत्तामा रहे ।
जे जयललिता
अभिनयबाट राजनीतिमा फड्को मार्ने भारतीयमध्ये सबैभन्दा सफल पात्र हुन्, जे जयललिता । भारतीय राज्य तमिलनाडुकी मुख्यमत्री पदमा बहाल रहेकै बेला केही साताअघि उनको निधन भयो ।
राजनीतिमा लाग्नुअघि उनी दक्षिण भारतीय फिल्मकी स्थापित अभिनेत्री थिइन् । उनले तीन पटक फिल्म फेयर अवार्डसमेत जितिसकेकी थिइन् । तमिलनाडुको सबैभन्दा ठूलो पार्टी एआईएडीएमकेका संस्थापक एमजी रामाचन्द्रनले जयललितालाई राजनीतिमा प्रवेश गराएका थिए ।
फिल्म क्षेत्रमा जयललिताले हासिल गरेको ख्याति उनको राजनीतिका लागि सहायकसिद्ध भयो । उनी तीन पटक तमिलनाडुको मुख्य मन्त्री भएर संसारबाट विदा भइन् ।

अमिताभ बच्चन
बलिउड फिल्म उद्योगमा सम्भवतः सबैभन्दा बढी ख्याति कमाएका अमिताभ बच्चनको परिवार भारतको गान्धी परिवारसँग निकै अघिदेखि नै निकट थियो । गान्धी परिवारका सदस्य राजीव गान्धी भारतीय प्रधानमन्त्री पदमा विजयी हुने आकांक्षा राखेर निर्वाचनमा होमिएपछि उनको समर्थन गर्दै अमिताभसमेत राजनीतिमा लागेका थिए ।
राजीवको पक्षमा विभिन्न ठाउँमा भाषण दिनुका साथै उनले भारतको आठौँ लोकसभा निर्वाचनमा अलाहबादबाट उम्मेदवारीसमेत दिएका थिए । त्यतिबेला उनका विपक्षी थिए, उत्तर प्रदेशका पूर्वअर्थमन्त्री एचएन बहुगुना । निर्वाचनमा अमिताभ ठूलो मतान्तरले विजयी भएर सांसद भए । तर, सांसद भएपछि उनलाई राजनीति आफ्नो वशको कुरा होइन भन्ने महसुस भयो । फलस्वरूप उनले सांसद पदबाट राजीनामा गरे । पछि आफ्ना मित्र अमर सिंहले समाजवादी पार्टी खोलेपछि यसको पक्षमा समेत उनी केही समय सक्रिय भए । तर, उनले पार्टीमा आफ्नो सट्टा श्रीमती जया बच्चनलाई सक्रिय बनाए ।

गोविन्दा
सन् १९९० को दशकमा बलिउडका सर्वाधिक लोकप्रिय अभिनेता बन्न सफल गोविन्दा फिल्म क्षेत्रबाट बिस्तारै छायामा पर्न थालेपछि राजनीतिमा प्रवेश गरे । हास्यप्रधान फिल्ममा अभिनय गरेर भारतभरि उनले प्रशस्तै फ्यान बनाइसकेका थिए । आफ्नो यस्तो लोकप्रियतालाई राजनीतिमा ‘क्यास’ गरेर उनी सांसद निर्वाचित भए ।
भारतीय राष्ट्रिय कांग्रेसको सदस्यता लिई उनले सांसद पदमा उम्मेदवारी दिए र विजयी भए । सन् २००४ देखि २००९ सम्म उनी सांसद भए । सांसद छँदाताका आफ्नो निर्वाचन क्षेत्रमा गइरहने र त्यस क्षेत्रका मानिसको गुनासो सुन्ने सवालमा उनी निकै अगाडि थिए । राजनीतिमा राम्रैसँग जम्दै गएका उनले दोस्रो पटक भने उम्मेदवारी दिएनन् । बरु राजनीतिसँग नाता तोडेर पुनः फिल्म क्षेत्रमै फर्किए ।

शत्रुघन सिन्हा
बलिउडमा हिरो र भिलेन दुवै भूमिकामा राम्रोसँग जमिसकेपछि अभिनेता शत्रुघन सिन्हा राजनीतिमा प्रवेश गरे । भारतीय जनता पार्टीको सदस्यता लिएर उनले आम निर्वाचनमा भारतीय राज्य बिहारको राजधानी पटनाबाट उम्मेदवारी दिए र विजयी भए ।
सो वर्ष भाजपा भारतको सबैभन्दा ठूलो पार्टी भएपछि भाजपा नेता अटल बिहारी बाजपेयीको नेतृत्वमा सरकार गठन भयो । सरकारमा शत्रुघन सिन्हा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीको हैसियतले मन्त्री परिषद्मा सामेल भए । त्यसपछि उनी भारतको जल पारवाहन मन्त्री बने । मन्त्री पद समाप्त भएपछि उनी भाजपाको संस्कृति र कलासम्बन्धी विभागका प्रमुख पनि भए । अझै पनि उनी भाजपाका तर्फबाट राजनीतिमा सक्रिय नै छन् ।

हेमा मालिनी
कुनै बेला बलिउडकी ‘ड्रिम गर्ल’का रूपमा परिचित हेमा मालिनीले केही वर्ष बलिउडमा शासन गरिन् भन्दा पनि हुन्छ । उनको समयकी उनी सबैभन्दा चर्चित बलिउड अभिनेत्री थिइन् । बउिउडमा शासन गरेर धीत मरेपछि उनी राजनीतिमा संलग्न भइन् ।
भारतीय दल भाजपाले उनलाई भारतको राज्यसभा सदस्यका रूपमा मनोनीत ग¥यो । राज्यसभा सदस्य भएर उनले पार्टीले दिएको जिम्मेवारी पूरा गरिन् । सन् २००४ मा उनले भाजपाका तर्फबाट कर्नाटकको एउटा निर्वाचन क्षेत्रबाट राज्यसभा सदस्यमा उम्मेदवारी दिइन् । निर्वाचनमा उनी भारी मतले विजयी भइन् ।


राखीलाई फापेन राजनीति  
अभिनय क्षेत्रबाट राजनीतिमा लागेर सफलता पाउनेहरू थुप्रै छन् । यस दिशामा बलिउड नृत्यांगना राखी सावन्तले भने ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखान चरितार्थ गरेकी छन् ।
भारतमा भएको पछिल्लो आम निर्वाचनमा उनलाई पनि राजनीतिमा सक्रिय हुने लालसा जाग्यो । हेमा मालिनीदेखि जया बच्चनसम्मले राजनीतिमा ठाउँमा बनाएको देखेर उनी लोभिइन् । फलस्वरूप उनले राजनीतिमा सक्रिय हुने उद्घोष गरिन् ।
राखीले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय आम आदमी पार्टी’ गठन गरिन् । अरविन्द केजरीवालको नेतृत्वमा उदाइरहेको ‘आम आदमी पार्टी’को नक्कल उनले गरेकी थिइन् । आफ्नै पार्टीका तर्फबाट उनले मुम्बईको एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणासमेत गरिन् । आफ्नो पार्टीको चिन्ह उनले हरियो खुर्सानी तोकिन् । हरियो पहिरन र हरियो खुर्सानीजस्तो देखिने इयररिङ लगाएर उनले केही ठाउँमा निर्वाचन प्रचारप्रसार गर्नसमेत गइन् ।
तर, निर्वाचनमा उनको लज्जास्पद हार भयो । उनले दुई हजार भोट पनि पाउन सकिनन् । उनको जमानत नै जफत भयो । सो हारपछि आफ्नो पार्टीको भविष्य उनले देखिनन् र भारतीय जनता पार्टीमा प्रवेश गरिन् । भाजपामा प्रवेश गरेपछि पनि राजनीतिक रूपमा उनी गुमनामजस्तै भएकी छिन् ।

Leave A Comment