रोनाल्डोलाई चौथो पटक बालोन डिओर

शनिबार, ०२ पुष २०७३, १० : ४१ शुक्रवार , Kathmandu
रोनाल्डोलाई चौथो पटक बालोन डिओर

रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले बालोन डिओर अवार्ड जितेका छन् । ३१ वर्षे रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै चौथो पल्ट बालोन डिओर अवार्ड हात पारेका हुन् । यो पटक दोस्रो स्थानमा रहेका मेस्सीले गएको वर्ष पाँचौँ पल्ट बालोन डिओर जितेका थिए । पछिल्ला नौ वर्षमा रोनाल्डो र मेस्सीबाहेक अरूले यो अवार्ड जितेका छैनन् ।
रोनाल्डोले गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा पोर्चुगललाई युरोकप २०१६ को उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मिलानमा भएको अवार्ड वितरण समारोहमा रोनाल्डोले भने ‘चार पटकसम्म गोल्डेन बल जित्छु भन्ने मैले सोचेकै थिइनँ । मलाई यो व्यक्तिगत अवार्ड जित्न सहयोग गर्नेहरूप्रति आभारी छु ।’ रोनाल्डोले गएको सिजन क्लब र राष्ट्रिय टिमबाट गरी ५४ गोल गरेका थिए । उनले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी २० खेलमा १९ गोल गरिसकेका छन् ।
दोस्रो स्थानमा चित्त बुझाएका २९ वर्षे मेस्सीले गएको सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, पनि उनी राष्ट्रिय टिमलाई महŒवपूर्ण उपाधि दिलाउनबाट भने अन्तिम समयमा चुके । अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलसम्म पु¥याए पनि उपाधि भने दिलाउन सकेनन् । चिलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भए पनि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे । तर, गएको अगस्टमा उनले सन्न्यासको निर्णय फिर्ता लिएका थिए । मेस्सीले सन् २०१६ मा देशका लागि ५० खेलमा ५० गोल गरिसकेका छन् । उनले गएको सिजन बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
फ्रान्सेली फुटबलले जुरी तथा विश्वका १ सय ७३ खेल पत्रकारको मतको आधारमा अवार्ड प्रदान गरेको हो । एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्सेली फुटबल म्यागजिनले सन् १९५६ देखि अवार्ड प्रदान गर्दै आएको छ । तर, गएको छ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा फिफा बालोन डिओर प्रदान गरिँदै आएको थियो । यद्यपि, गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि म्यागजिन एक्लैले बालोन डिओर प्रदान गरेको हो । फिफाले आउँदो जनवरी ९ मा वर्ष खेलाडी अवार्ड प्रदान गर्दैछ ।

 

Leave A Comment