‘काठमाडौँले पैसाको महत्व चिनायो’

शनिबार, ०२ पुष २०७३, १० : ३९ सृजना खड्का , Kathmandu
‘काठमाडौँले पैसाको महत्व चिनायो’

–सेरफ मोक्तान
मेरो घर काभ्रे कोशीपारि माझीफेद हो । स्कुलको पढाइ गाउँमै पूरा गरेर सुनौलो भविष्यको खोजीमा काठमाडौँ छिरँे । बागेश्वरी उच्च माध्यामिक विद्यालय च्याम्हासिंह, भक्तपुरमा कक्षा ११ मा भर्ना भएँ । अहिले त्यही कलेजमा बीए तेस्रो वर्षमा अध्ययन गर्दैछु । गाउँबाट उच्च शिक्षाका लागि काठमाडौँ आउने धेरै विद्यार्थीजस्तै मेरो जीवन पनि संघर्षले भरिएको छ ।
बिहान ५ बजेबाट मेरो दैनिकी सुरु हुन्छ । बिहान कलेज जान्छु । कलेजबाट साढे १० बजे फर्केर थान्का चित्रको काम गर्छु । भक्तपुरमा अरू काम गरेर पढ्न समय नमिल्ने भएकाले थान्कातिर आकर्षित भएको हुँ । शनिवार बिदाका दिन त झन् बिहानै काममा पुग्छु । १५ वर्षमा एसएलसी सकेपछि थान्काको काम गर्न थालेको हुँ । यो काम गर्दागर्दै पाँच वर्ष बितिसके । कमाएको पैसा खानबस्न र कलेजमा फी तिर्न ठिक्क हुन्छ । घरको आर्थिक अवस्था कमजोर भएकाले कहिलेकाहीँ घरमा पनि पैसा पठाउन मन लाग्छ । तर, यो पैसा मेरा लागि नै पुग्दैन कसरी घर पठाउनु ? १० रुपैयाँ खर्च गर्नुअघि १० पटक सोच्नुपर्छ । काठमाडौँले पैसाको महŒव राम्ररी बुझाएको छ । पाँच रुपैयाँ भाडा नपुग्दा बस कन्डक्टरले गरेको बेइज्जती अहिलेसम्म बिर्सेको छैन, परीक्षा शुल्क ढिला हुँदा परीक्षा हलमा नै शिक्षकले नाम बोलाएर शुल्क तिर्न दिएको चेतावनी अहिले पनि मेरो कानमा गुञ्जिन्छ ।
काम गर्दै पढ्नु आमाबुुबासँग पैसा मागेर पढ्नुजस्तो सजिलो होइन । प्लस टूमा पढ्दा पैसाकै कारण धेरै नमीठा अनुभव बटुलेको छु । कलेजको पहिलो, दोस्रो, तेस्रो घण्टी बज्थ्यो मेरो मन विचलित हुन थाल्थ्यो । बे्रकमा साथीहरूलाई के भनेर टार्ने होला । साथीहरू ब्रेकमा क्यान्टिन जान्थे । मलाई पनि हिँड भन्थे । कहिले ग्यास्टिक, कहिले वाकवाकी त कहिले आमाबुबालाई फोन गर्छु भनेर क्यान्टिन जान्थिनँ । भोक लाग्थ्यो तर सहेर बस्थेँ ।
बिदाको समयमा साथीहरूसँग रमाइलो गर्न मन लाग्छ, घुम्न मन लाग्छ । तर, जादिनँ । बिदाको दिन पनि थान्काकै काममा व्यस्त हुन्छु । दुई पैसा बढी आउला भनेर ।
साहित्य र राजनीति मेरो चासोको विषय हो । कक्षा ११ मा भर्ना भएदेखि कलेजमा हुने हरेक साहित्यिक प्रतियोगितामा सधैँ प्रथम हुन्छु । संघर्षभित्र पाएका यही स–साना सफलताबाट नै भविष्यमा केही गर्ने आँट गरेको छु । बेलुका खाना खाइसकेपछि होमवर्क गर्छु । निन्द्रा नआउञ्जेलसम्म पढ्छु । पाठ्य पुस्तकबाहेक अनलाइनमा आउने विभिन्न समाचार र जानकारी पनि पढ्छु ।
परीक्षाका बेला अप्ठ्यारो पर्छ । पढ्नका लागि धेरै समय पाउँदिनँ । काम छोडेर पढाइतिर मात्र लागौ भने बिहानबेलुका हातमुख जोड्न गाह्रो होला । अरूसाथीहरू परीक्षामा मज्जाले पढ्छन् तर म परीक्षाका बेला पनि काम नै गरिरहेको हुन्छु ।

 

Leave A Comment