अमेरिकाको ‘नीद हरामकर्ता’

शनिबार, ०२ पुष २०७३, १० : २९ शुक्रवार , Kathmandu
अमेरिकाको ‘नीद हरामकर्ता’

‘फिडेल, फिडेल’ शब्दको उच्चारण र करतल ध्वनिले हवानाको आकाश गुञ्जायमान भयो । क्युबाली नागरिकले ‘दाह्री पालेको जवान गुरिल्ला हाम्रो उद्धारका निम्ति आएको छ’ भन्ने महसुस गरे ।
 फिडेल विशुद्ध विद्रोही थिए । एउटा क्रान्तिकारीमा हुनुपर्ने सबै गुण उनमा थियो ।
अमेरिकी प्रभुत्वलाई अस्वीकार गर्ने फिडेल ल्याटिन अमेरिका र अन्यत्र पनि प्रतिरोधका प्रतीक बन्न पुगे । त्यस्तै, उनको बाक्लो दाह्री, ओठमा च्यापिरहने मोटो क्युबाली सिगार र उनले पहिरिने हरियो पोशाक संसारभरि विद्रोहका प्रतीक बन्न पुगे ।
‘अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले त तपाईंलाई निर्मम सैन्य तानाशाह भनेका छन् नि ?’ भनी गरिएको प्रश्नमा फिडेलको जवाफ थियो– ‘विधिसम्मत आदेशमार्फत शासन गर्नु तानाशाही हो भने पोपलाई पनि तानाशाह भन्नुपर्ने हुन्छ । रेगनसँग थर्मोन्युक्लियर युद्धका निम्ति आदेश दिने हदैसम्मको विकृत अप्रजातान्त्रिक अधिकार निहित छ । उनी तानाशाह हुन् कि म ?’

–एन्थोनी डिपाल्मा
शीतयुद्धलाई पश्चिमी गोलाद्र्धसम्म पु¥याउने, अमेरिकालाई झण्डै आधा शताब्दीसम्म लगातार अटेर गर्ने, अमेरिकाका ११ जना राष्ट्रपतिको नीद हराम गर्ने र विश्वलाई पारमाणविक युद्धको सँघारमा पु¥याउने क्रान्तिका होनहार दूत फिडेल क्यास्ट्रोको हालसालै ९० वर्षको उमेरमा निधन भयो ।
पछिल्ला केही वर्षयता उनको स्वास्थ्य निरन्तर बिग्रिरहेको थियो । आफूले आरम्भ गरेको कम्युनिस्ट क्रान्तिले निरन्तरता पाउने आशा राख्दै आएका उनले स्वास्थ्यमा गम्भीर समस्या आएपछि सन् २००६ मा शक्ति हस्तान्तरण गरेका थिए । केही समयका लागि भनेर उनले आफूमा निहित अधिकांश शक्ति भाइ राहुल (८५) लाई हस्तान्तरण गरे । त्यसको दुई वर्षपछि औपचारिक रूपमै क्युबाको राष्ट्रपति पदबाट राजीनामा गरे । राहुल क्यास्ट्रो विद्रोह सुरु हुँदाका दिनदेखि फिडेलको पक्षमा लड्दै आएका थिए । पछि उनी क्युबाको रक्षामन्त्री र दाजु फिडेलका सर्वाधिक विश्वासपात्र बने । उनले पनि सन् २०१८ मा पदत्याग गर्ने घोषणा गरिसकेका छन् ।
सत्तामा सबैभन्दा लामो समय टिक्ने जीवित नेताहरूमा फिडेललाई महारानी एलिजाबेथबाहेक अरू कसैले उछिन्न सकेन । २० औँ शताब्दीमा उनले क्युबाजस्तो मुलुकको राष्ट्रप्रमुखले पाउनुपर्नेभन्दा कैयौँ गुणा बढी ख्याति र महŒव पाए ।

क्रान्तिका प्रतीक
सन् १९५९ को जनवरी ८ मा विजयी भएर क्युबाको राजधानी हवाना पुगेको दिनदेखि उनले आफूमा निहित क्षमता र यसका आधारमा निर्मित आफ्नो सामाजिक छविमार्फत क्युबामाथि प्रभुत्व जमाए । हवानामा दशौँ हजार समर्थकका बीच पहिलो महŒवपूर्ण भाषण गरेर उनले फुल्जेन्सियो बाटिस्टाको सत्तालाई जरैदेखि उखेलेर मिल्काइदिए । साँझपख भाषण सकिएपछि शान्तिका प्रतीक सेता परेवा उडाइए । ‘फिडेल, फिडेल’ शब्दको उच्चारण र करतल ध्वनिले हवानाको आकाश गुञ्जायमान भयो । उनको भाषण प्रत्यक्ष अथवा टेलिभिजनमार्फत युद्धबाट थकित क्युबालीले असीम उत्साहका साथ सुने र ‘दाह्री पालेको जवान गुरिल्ला हाम्रो उद्धारका निम्ति आएको छ’ भन्ने महसुस गरे । भीडमा रहेका कसैलाई पनि त्यतिबेला क्यास्ट्रोले क्युबाका निम्ति कस्तो योजना बनाएका छन् भन्ने भेउ थिएन ।  
एउता तानाशाहले झैँ उनले सम्पूर्ण शक्तिलाई आफूमा निहित गरे र देशभित्रका सबै गतिविधिमाथि नियन्त्रण कायम गरे । क्युबाली सेनाको ट्यांकमाथि उभिएर उनले ‘बे अफ पिग्स’ हुँदै क्युबामाथि भइरहेको हमलाको प्रतिरोध गर्न निर्देशन दिए । अंगोलामा रहेका क्युबाली सैनिकले लगाउने पोशाकको रङ तय गर्नेदेखि उखु उत्पादनको लक्ष्य निर्धारण गर्ने, गाईको उन्नत नश्ल निर्माण गर्नेसम्मका मसिना काम पनि उनले गरे । साथै, आफैँ अघि सरेर असंख्य मानिसलाई जेलमा कोच्ने काम पनि उनले गरे ।
यद्यपि, दमन र भयका आधारमा मात्रै उनको सर्वसत्तावादी सरकार सत्तामा यति लामो अवधि टिकेको होइन । उनको मुक्तकण्डले तारिफ गर्ने र कटू आलोचना गर्ने दुवै खालका मानिस क्युबामा र अन्यत्र पनि थिए । केहीले उनलाई व्यक्तिका अधिकार र स्वतन्त्रतालाई कुण्ठित गर्ने कठोर मनमौजी शासक ठाने । बाँकीले उनलाई क्रान्तिकारी वीरका रूपमा स्वीकार गरे ।
भाइ राहुललाई सत्ता हस्तान्तरण गरेपछि अमेरिकामा रहेका उनका दुश्मनहरूले पुनः एकपटक कोकोहोलो मच्चाए । सत्ता हस्तान्तरणबाट तानाशाही व्यवस्था लम्ब्याउने काम भएको भन्दै अमेरिकी सरकारले यसको भत्र्सना ग¥यो ।
सन् २०१४ को डिसेम्बरमा अमेरिका र क्युबाबीच दशकौँ लामो शत्रुताको पारोलाई तल झार्न अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो शासकीय अधिकार प्रयोग गरे । उनले दुई देशबीच बन्दी आदानप्रदान गर्ने र दुई देशबीचको दौत्य सम्बन्धलाई सामान्य अवस्थामा ल्याउने प्रयत्न गरे ।
त्यतिबेला क्यास्ट्रो कमजोर भइसकेका थिए र सार्वजनिक रूपमा त्यति देखिन छाडेका थिए । त्यस्तो अवस्थामा पनि अमेरिकाप्रतिको आफ्नो अविश्वासलाई उनले प्रकट गरे । सन् २०१६ मा ओबामाले बहुप्रचारित क्युबा भ्रमण गरेर शान्ति प्रस्ताव राखे । ‘अमेरिकाले राखेको कुनै पनि प्रस्ताव क्युबालाई आवश्यक छैन’ भनी उनले आक्रोशमिश्रित जवाफ दिए ।
धेरै मानिसका लागि फिडेल त्यस्ता कट्टरपन्थी हुन्, जसलाई उनको गन्तव्यबाट कसैले डगमगाउन सक्दैन; उनी त्यस्ता छेपारा हुन्, जसको आर्थिक तथा राजनीतिक रङ कुनै अमूक सिद्धान्तले भन्दा व्यवहारवादले बढी निर्धारित गरिदिन्छ । तर, पनि अन्तर्यबाट उनी एउटा विशुद्ध विद्रोही थिए । एउटा क्रान्तिकारीमा हुनुपर्ने सबै गुण उनमा थियो ।
१९ औँ शताब्दीमा भएको स्वतन्त्रता संग्रामयता ल्याटिन अमेरिकामा उदय भएका सबैभन्दा महŒवपूर्ण नेता सायद क्यास्ट्रो नै हुन् । क्यास्ट्रोले नेतृत्व गरेको क्रान्तिले क्युबाली समाज रूपान्तरित भयो । साथै, २० औँ शताब्दीभरि ल्याटिन अमेरिकामा भएका विद्रोहलाई यसले फिका बनाइदियो । सन् १९१० मा भएको मेक्सिको क्रान्तिलाई भने अपवादका रूपमा लिन सकिन्छ ।
उनको पालामा क्युबामा समाज सुधार र बढ्दो गरिबी, नश्लीय समानता र राजनीतिक उत्पीडन, मेडिकल क्षेत्रमा सुधार र क्युबाको दयनीय अवस्थाको निरन्तरताजस्ता राम्रा–नराम्रा उपलब्धि छ्यासमिस भए । प्रकारान्तरमा उनी संसारभरि क्रान्तिको प्रतीक बन्न पुगे । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले उनलाई आफ्नो सैद्धान्तिक गुरुका रूपमा स्वीकार गरे । फिडेलकै शैली अपनाएर उपकमान्डर मार्कोसले दक्षिणी मेक्सिकोका पहाडी क्षेत्रमा विद्रोह गरे ।

अमेरिकाको विरोध
क्यास्ट्रोको अमेरिकाप्रतिको सनक र अमेरिकाको उनीप्रतिको अरुचिले उनको शासनलाई धेरै हदसम्म निर्धारित गरिदियो । उनले कम्युनिजम स्वीकार गरेपछि अमेरिकाले उनलाई शैतान र तानाशाहका रूपमा चित्रण गर्न थाल्यो । साथै, उनलाई शक्तिबाट हटाउने प्रयत्न गर्न थाल्यो । यसैको उपज थियो– ‘बे अफ पिग्स’मा सन् १९६१ मा भएको असफल हमला, दशकौँसम्म जारी आर्थिक नाकाबन्दी र उनको हत्या प्रयासको शृंखला । अमेरिकाले फिडेलको शाख गिराउन उनको दाह्री कमजोर पारी खसाउने षडयन्त्रसमेत ग¥यो ।
अमेरिकी प्रभुत्वलाई अस्वीकार गर्ने क्यास्ट्रो ल्याटिन अमेरिका र अन्यत्र पनि प्रतिरोधका प्रतीक बन्न पुगे । त्यस्तै, उनको बाक्लो दाह्री, ओठमा च्यापिरहने मोटो क्युबाली सिगार र उनले पहिरिने हरियो पोशाक संसारभरि विद्रोहका प्रतीक बन्न पुगे ।
क्यास्ट्रोले तस्बिर र खास गरी टेलिभिजनमा निहित शक्तिलाई राम्रोसँग बुझेका थिए । क्युबाले बेहोरेका कठिनतम घडी र बाँकी संसारबाट अलग भएर बस्नुपर्दाका दिनमा उनले टेलिभिजनमार्फत जनतालाई  अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दीका कारण क्युबाली जनता कठिन जीवन बिताउन बाध्य हुनुपरेको बताएर जनताप्रतिको आफ्नो भरोसा टिकाइराख्ने काम गरे । अमेरिकाको विरोध गर्दै उनले दिने भाषणले क्युबाली जनतामा पनि अमेरिकाप्रति घृणाभाव जगायो । फलस्वरूप उनीहरू पनि अमेरिकाबाट हुन सक्ने सैन्य, आर्थिक अथवा सैद्धान्तिक आक्रमणप्रति चनाखो भएर बस्न थाले ।  
क्यास्ट्रोले जीवनमा सयौँ अन्तर्वार्ता दिए । अन्तर्वार्तामा अप्ठेरा प्रश्नहरूलाई पनि आफ्नो अनुकूल हुने गरी उत्तर दिने उनमा असीम क्षमता थियो । सन् १९८५ मा प्लेब्वई म्यागजिनले उनलाई ‘अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले त तपाईंलाई निर्मम सैन्य तानाशाह भनेका छन् नि ?’ भनी प्रश्न गरेको थियो । जवाफमा उनले भने, ‘विधिसम्मत आदेशमार्फत शासन गर्नु तानाशाही हो भने तपाईंले पोपलाई पनि तानाशाह भन्नुपर्ने हुन्छ । उता, रेगनसँग थर्मोन्युक्लियर युद्धका निम्ति आदेश दिने हदैसम्मको विकृत अप्रजातान्त्रिक अधिकार निहित छ । अब तपाईं नै भन्नुस्, उनी ठूला तानाशाह हुन् कि म ?’
क्यास्ट्रोले शक्तिमा पुगेको केही समयपछि नै क्युबालाई सोभियत संघको पक्षमा  उभ्याए । अफ्रिका र ल्याटिन अमेरिकामा क्रान्ति फैलाउन उनले क्युबाली सेनालाई परिचालन गर्ने कामसमेत गरे ।  
सन् १९६२ को अन्त्यतिर उनले सोभियत संघलाई क्युबाली भूमिमार्फत क्षेप्यास्त्र हमला गर्ने केन्द्र निर्माण गर्ने अनुमति दिएपछि अमेरिका र सोभियत संघबीच ठूलै कूटनीतिक घम्साघम्सी भयो । दुई महाशक्तिबीच पारमाणविक युद्ध भड्किनेसम्मको जोखिम उत्पन्न भयो । १३ दिनपछि तनाव समाप्त भयो र क्युबामा गर्ने भनिएको निर्माण कार्य सोभियत संघले रोक्ने निर्णय ग¥यो ।
सन् १९९१ मा सोभियत संघको पतनपछि क्युबालाई सोभियत संघबाट प्राप्त हुने अनुदानबिनै अस्तित्वमा हनुपर्र्ने जोखिम उत्पन्न भयो । त्यतिखेर आफ्नो राजनीति समाप्त हुन्छ भन्ने भविष्यवाणीलाई उनले ‘वाहियात’ भने । ठूलै चुनौती सिर्जना भएको बेलामा उनले अमेरिकाको चर्को विरोध गरेर स्थितिलाई काबुमा राख्ने काम गरे । तर, जब क्युबाली अर्थतन्त्र पतनको सँघारमा पुग्यो, तब उनले अमेरिकी डलरलाई क्युबाभित्र वैधानिकता प्रदान गरे ।  
आफूले वास्तविक र काल्पनिक चुनौतीविरुद्ध संघर्ष गर्ने गरेको उनी स्वयंले स्वीकार गरेका छन् । दशकौँसम्म अमेरिकाको समर्थनमा क्युबामाथि हुन सक्ने आक्रमणको प्रतिरोध गर्ने तयारी उनले गरे । तर, यस्तो आक्रमण कहिल्यै भएन । क्युबेक शहरमा सन् २००१ को अप्रिलमा उत्तर र दक्षिण अमेरिकाका सबै राष्ट्र ‘अमेरिकीहरूको सम्मेलन’मा सहभागी भए । तर, क्युबालाई आमन्त्रण गरिएन । उनले गर्वका साथ भने, ‘संसारमा क्युबा मात्र त्यस्तो देश हो, जसलाई अमेरिकासँग व्यापार गर्न आवश्यक छैन ।’

राजनीतितर्फको पाइला
फिडेल क्यास्ट्रो क्युबाको ओरिएन्ते प्रान्तमा जमिनदार परिवारमा जन्मिएका थिए । उनका बाबु स्पेनिस मूलका थिए । फिडेलले जेसुइट क्रिस्चियनद्वारा सञ्चालित स्कुलबाट शिक्षा हासिल गरे । स्कुले जीवनदेखि नै उनी सुरो थिए भन्ने मान्यतालाई बल पु¥याउने प्रशस्तै किस्सा क्युबामा प्रचलित छन् । सन् १९४५ मा उनी हवाना विश्वविद्यालयको कानुन संकायमा भर्ना भए र लगत्तै विद्रोही खालको राजनीतिक गतिविधिमा संलग्न हुन पुगे । डोमिनिकन रिपब्लिकका तानाशाह राफेल ट्रुजिलोलाई पदच्युत गर्न गरिएको आक्रमणमा उनी पनि सरिक थिए । तर, त्यो प्रयास सफल भएन ।
त्यसपछि उनी क्युबाको राजनीतिमा अझ बढी भिज्न थाले । विश्वविद्यालयमा भर्ना हुनुअगावै उनी विद्यार्थीहरूको विरोध र प्रदर्शनलाई नेतृत्व गर्ने भइसकेका थिए ।
विश्वविद्यालयमा कम्युनिजमप्रति झुकाव राख्ने व्यक्तिका रूपमा उनको छवि निर्माण भइसकेको थियो । सन् १९८१ को एउटा अन्तर्वार्तामा उनले भने, ‘त्यतिबेला म कम्युनिस्ट सिद्धान्तसँग नजिकिइरहेको थिएँ, कम्युनिस्ट पार्टीमा प्रवेश गरिसकेको भने थिइनँ । त्यतिबेलै म माक्र्सवादी साहित्यको निकट पुगेँ । त्यतिबेला हवाना विश्वविद्यालयमा केही कम्युनिस्ट विद्यार्थी थिए । उनीहरूसँग मेरो मैत्रीपूर्ण सम्बन्ध थियो । त्यसभन्दा बढ्दा केही थिएन । म क्रान्तिकारी चेतना ग्रहण गरिरहेको थिएँ । त्यतिबेला म स्वतन्त्र लडाकुमात्रै थिएँ ।’
कानुन विषयमा स्नातकोत्तर गरेपछि उनी गरिबहरूको पक्षमा काम गर्न थाले । गरिबहरूलाई खाना दिलाउने शर्तमा उनले विभिन्न ठाउँमा आफ्नो श्रम बेचे । सन् १९५२ मा उनले प्रतिपक्षमा रहेको अर्थोडक्स पार्टीका तर्फबाट कंग्रेस सदस्यको उम्मेदवारी दिए । त्यत्तिकैमा बाटिस्टाले ‘कु’ गरी शासनसत्ता हत्याएपछि निर्वाचन खारेज हुन पुग्यो ।

संविधानबाट बन्दुकतिर
सुरुमा उनले बाटिस्टा सरकारले संविधान उल्लंघन गरेको भन्दै कानुनी रूपमा बाटिस्टा सरकारको विरोध गर्न खोजे । तर, त्यो प्रयत्न सफल भएन । उनले निर्माण गरेको विद्रोही स्वभावका विद्यार्थीहरूको समूहले बिस्तारै समर्थक जुटाउँदै गयो । सन् १९५३ को जुलाई २६ मा उनले समर्थकलाई साथमा लिएर सान्टियागो दे क्युबामा रहेको सैन्य ब्यारेकमा हमला गरे । भिडन्तमा परी धेरै विद्रोही मारिए । क्यास्ट्रो, उनका भाइ राहुललगायत बाँचेकाहरू बन्दी बनाइए ।
क्यास्ट्रोले आफूहरूको कदमको सशक्त बचाउ गरे । ‘मलाई थाहा छ कि जेलजीवन कठिन हुन्छ । यो चेतावनी, धृष्टता र डरछेरुवा प्रवृत्तिको बर्बरताले युक्त हन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । तर, मलाई त्यस्तो जीवनसँग रत्तिभर भय छैन । मेरा ७० जना बन्धुहरूको ज्यान लिने तानाशाहसँग पनि मलाई भय छैन । मलाई दोषी ठह¥याऊ, यसले मेरो रौँ पनि हल्लाउँदैन । मलाई थाहा छ– इतिहासले मलाई क्षमा गर्नेछ,’ मुद्दाको सुनुवाइका क्रममा उनले भने ।
क्यास्ट्रोलाई १५ वर्षको कारावास सजाय सुनाइयो । त्यसलगत्तै बाटिस्टाले एउटा ठूलो रणनीतिक भूल गरे । नागरिक समाजका अगुवाहरूको विरोधका बीच आफू तानाशाह नभएको प्रमाणित गर्न उनले सन् १९५४ को राष्ट्रपतीय निर्वाचनपछि क्यास्ट्रो र उनका समर्थकलाई रिहा गरिदिए ।
जेलमुक्त भएपछि क्यास्ट्रोले मेक्सिकोमा निर्वासित जीवन बिताउँदै क्युबा फर्किने योजना बुन्न थाले । एउटा अमेरिकी डुंगा किनेर त्यसमा चढी समर्थकसहित देश फर्किने योजना उनले बनाए । तर, डुंगा किन्ने प्रयास सफल हुन सकेन । अर्को डुंगा लिएर उनी समर्थकसहित क्युबा फर्किए । त्यो डुंगा हवानाको संग्रहालयमा अहिले पनि देख्न सकिन्छ ।

सत्तारोहणसँगै अमेरिकासँग टक्कर
चे ग्वेभारासहित ८० जना कमरेडहरूसँग उनी सन् १९५६ को डिसेम्बरमा पूर्वी क्युबाको सिएरा माएस्त्रामा उत्रिए । त्यहीँबाट उनले स्वतन्त्रता संग्राम आरम्भ गरे । गुरिल्ला युद्ध सञ्चालन गरेर उनले बाटिस्टा सरकारलाई जिस्काउन थाले ।
लडाकुको संख्या र हातहतियारमा क्यास्ट्रोको भन्दा बाटिस्टाको हैसियत निकै माथि थियो । तर, फिडेलको वाक्पटुताबाट बाटिस्टा भयभीत हुन पुगे । उनले सरकारी सेनालाई फिडेलको हत्या नगरुञ्जेल आराम नगर्न निर्देशन दिए । उनी मारिएको रिपोर्ट सेनाले पटक–पटक दियो । सन् १९५७ मा संसारभरिका पत्रपत्रिकामा फिडेलको मृत्यु भएको समाचार प्रकाशित भयो । त्यसको तीन महिनापछि उनले अन्तर्वार्तामार्फत आफू जीवितै रहेको सन्देश दिए ।
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका पत्रकार हर्बर्ट एल म्याथ्युजले फिडेलसँगको अन्तर्वार्तामा आधारित एउटा लेखमा त्यतिबेला भनेका थिए, ‘फिडेलमा स्वतन्त्रता, प्रजातन्त्र र सामाजिक न्यायप्रतिको प्रतिबद्धता छ । उनी संविधान पुनर्वहाली गरेर निर्वाचन गराउन चाहन्छन् । साथै, अमेरिका र अमेरिकी नागरिकप्रति आफूहरूको कुनै वैरभाव नरहेकोसमेत उनले बताएका छन् ।’
क्युबाली सरकारले म्याथ्युजको लेखको भत्सर्ना गर्दै यसलाई ‘अतिरञ्जना’ भन्यो । त्यो लेखले फिडेल जीवित रहेको सन्देश संसारलाई दियो, जसकारण क्युबामा उनले सुरु गरेको आन्दोलनले पुनर्जीवन पायो । बिस्तारै उनको पक्षमा क्युबाभित्र र बाहिर जनमत बढ्दै गयो । त्यतिबेला क्युबाका शहरमा अन्य विद्रोही समूहले पनि बाटिस्टा सरकारलाई अपदस्थ गर्न संघर्ष गरिरहेका थिए ।
फिडेलसँग रहेका हतियारले भन्दा पनि उनले हाँकेको आन्दोलनको विचारले बाटिस्टा बढी भयभीत थिए । सन् १९५९ को नयाँ वर्षको मध्यरातमा हवानास्थित विमानस्थलबाट बाटिस्टा देश छोडेर भाग्दा फिडेलको विराट व्यक्तित्व निर्माण भइसकेको थियो । फलतः विपक्षमा रहेका अन्य समूहले शक्ति हत्याउन सकेनन् ।
शक्ति हत्याएको केही महिनापछि फिडेलको सार्वजनिक छवि रूपान्तरित भयो । बाटिस्टाको समयका पाँच सयभन्दा बढी सरकारी अधिकारीलाई उनले कोर्ट मार्सल र विशेष सुनुवाइमार्फत दोषी करार गरीकन मृत्युदण्ड दिए । फिडेलको यस्तो कदमबाट अमेरिकामा उनी प्रजातान्त्रिक चरित्रका मानिस होइन रहेछन् भन्ने छाप प¥यो । शक्ति हत्याएकै वर्ष उनले निजी स्वामित्वमा रहेका खेतीयोग्य भूमि राष्ट्रियकरण गरे । यीमध्ये कतिपय भूमि अमेरिकी नागरिका पनि थिए । यसरी उनले अमेरिकी सरकारलाई खुलेआम भड्काउने काम गरे ।
सन् १९६० मा उनले क्युबामा रहेका अमेरिकी र बेलायती तेल प्रशोधन केन्द्रलाई सोभियत संघबाट आउने तेल खरिद गर्न निर्देशन दिए । अमेरिकी कंग्रेसको दबाबमा राष्ट्रपति ड्वाइट डी  आइजनहावरले क्युबाबाट खरिद गर्दै आएको चिनीको मात्रामा कटौती गरे । वैकल्पिक बजार खोज्न फिडेल बाध्य भए । त्यसपछि उनले सोभियत संघसँग आर्थिक सहयोग तथा राजनीतिक समर्थन मागे । यसरी अमेरिका र क्युबाबीचको आधा शताब्दी लामो शत्रुता आरम्भ भयो ।
सन् १९६१ मा उनले हवानास्थित अमेरिकी दूतावासका कर्मचारीको संख्या ६० बाट झारेर १८ मा पु¥याउन अमेरिकालाई ४८ घण्टा लामो ‘अल्टिमेटम’ दिए । जवाफमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध खारेज गर्दै हवानास्थित अमेरिकी दूतावास बन्द ग¥यो । त्यतिबेला बन्द भएको दूतावास अन्ततः सन् २०१५ मा खुल्यो ।

व्यवस्था निर्माण गर्ने कसरत
कानुनमा स्नातक गरे पनि फिडेलसँग अर्थतन्त्र र सरकार सञ्चालनसम्बन्धी अनुभव थिएन । शिक्षामा सुधार गर्ने र अमेरिकामाथिको क्युबाको निर्भरता घटाउनेबाहेक उनीसँग नयाँ समाज कस्तो निर्माण गर्ने भन्ने स्पष्ट दृष्टिकोण थिएन ।
कुनै समय क्युबामा धनाढ्य अमेरिकी पर्यटक र गुन्डाहरूको बिगबिगी थियो । क्युबाली जनताबीचको आर्थिक भिन्नता ठूलो थियो । यति हुँदाहुँदै पनि क्युबा क्यारेबिनय क्षेत्रको आर्थिक रूपमा उन्नत मुलुकमा पर्दथ्यो ।
शक्ति हत्याएपछि फिडेलले मध्यमार्गी धारका मानिसलाई बटुलेर मन्त्री परिषद् गठन गरे । तर, मन्त्री परिषद् लामो समय टिकेन । उनले फिलिप पाजोस नाम गरेका अर्थशास्त्रीलाई क्युबाको राष्ट्रबैंकका प्रमुख बनाए । तर, पाजोसले कम्युनिस्टप्रतिको क्यास्ट्रोको नरम भाव र प्रजातन्त्र पुनःस्थापना नगर्ने उनको कदमको विरोध गर्न थालेपछि उनलाई हटाइयो । उनको ठाउँमा अर्जेन्टिनाका चिकित्सक चे ग्वेभारालाई ल्याइयो । चेलाई मौद्रिक नीतिबारे केही थाहा थिएन । तर, उनको क्रान्तिकारिता भने निर्विवाद थियो ।
त्यत्तिकैमा क्यास्ट्रो सरकारको विरोधमा किसान र कम्युनिस्टविरोधीहरूले हतियार उठाए । सन् १९६५ मा क्युबाली सेनाले विद्रोहलाई पूर्ण रूपमा दबायो ।
फिडेलविरुद्ध द्वन्द्व उठेपछि त्यहाँका मानिस निर्वासित भएर अमेरिका जाने क्रम सुरु भयो । निर्वासित भएर अमेरिकाको मियामी र न्युजर्सी पुग्नेहरूको पहिलो समूहका अधिकांश मानिस फिडेलका पूर्वसमर्थक थिए । अन्ततः निर्वासित भएर अमेरिका आउने मानिसको संख्या १० लाख पुग्यो । उनीहरू मध्यम वर्गका मानिस थिए ।
निर्वासित जीवन बिताइरहेका क्युबाका पूर्वसैनिकलाई क्युबामाथि पुनः कब्जा जमाउन सामथ्र्यवान बनाउने ध्येयले अमेरिकी गुप्तचर संस्था सीआईएले प्रशिक्षण दिन थाल्यो । उनीहरूलाई क्युबाको दक्षिण तटीय क्षेत्रको दुर्गम ‘बे अफ पिग्स’मा अवतरण गराउने र सोही क्षेत्रलाई आधार बनाएर जनउभार सिर्जना गराउने योजना सीआईएले बनायो ।
सन् १९६१ को अप्रिल १७ मा १५ सय क्युबाली लडाकु ‘बे अफ पिग्स’मा ओरालिए । त्यहाँ क्यास्ट्रो उनीहरूको प्रतीक्षा गरिरहेका थिए । अधिकांश लडाकु या त मारिए, या त बन्दी बनाइए । लडाकुहरूको सहयोगमा अमेरिकाले हवाई सेना पठाउने भनेको थियो । तर, पठाएन । यो घटनाले अमेरिकाको विश्वसनीयतामाथि प्रश्नचिह्न उठायो । यसलाई क्यास्ट्रोले जीवनभर राजनीतिक उपलब्धिका निम्ति भजाउने काम गरे ।    

कम्युनिस्ट भएको घोषणा
कम्युनिस्टहरूसँग क्यास्ट्रोले खुलेआम सम्बन्ध राखेकोमा शीतयुद्धमा लडिरहेको सीआईए चिन्तित थियो । यसप्रति फिडेलकै कतिपय बफादारले पनि आपत्ति जनाएका थिए । संघर्षका दिनदेखि क्यास्ट्रोको निकट रहँदै आएका ह्युबर माटोसले कामाग्वे प्रान्तको सैन्य गभर्नरबाट राजीनामा नै दिए । शासनसत्तामा कम्युनिस्टहरूको बढ्दो प्रभाव र कम्युनिस्टप्रति नरम भाव राख्ने राहुल क्यास्ट्रोलाई क्युबाली सैन्य दस्ताको कमान्डर बनाउने कदमको विरोधमा उनले राजीनामा दिएका थिए । राजीनामापछि ह्युबर प्रतिक्रान्तिकारी षडयन्त्रमा लागेको आशंकामा पक्राउ गरी फिडेलले उनलाई राष्ट्रद्रोही करार गरे ।
‘बे अफ पिग्स’ काण्डपछि मात्रै फिडेलले आफूले नेतृत्व गरेको क्रान्ति समाजवादी चरित्रको रहेको घोषणा गरे । सन् १९६१ को डिसेम्बर २ मा अन्ततः उनले घोषणै गरे, ‘म माक्र्सवादी–लेनिनवादी हुँ ।’
प्रजातन्त्र स्थापनाका निम्ति फिडेलमातहत रहेर संघर्ष गर्ने धेरै क्युबालीलाई फिडेलको घोषणाले जिल्ल बनायो । त्यस्ता मानिसले फिडेलसँग नाता तोडे । ‘आफूलाई कम्युनिस्ट बनाएर उनले धेरै मित्रलाई मात्र होइन, घरकै सदस्यलाई पनि धोका दिए,’ प्रजातन्त्रका निम्ति उनका पक्षमा लडेकी उनकी बहिनी जुअनिताले सन् १९६४ मा ‘लाइफ म्यागजिन’मा लेखिन् । कतिपय विश्लेषकका अनुसार सुरुका दिनमा फिडेल कम्युनिस्ट थिएनन् । अमेरिकी दबाबका कारण उनी कम्युनिस्ट बन्न बाध्य भए ।
आफूलाई कम्युनिस्ट घोषणा गरे पनि उनले क्युबालाई कम्युनिस्ट राज्य बनाएनन्, न त कम्युनिस्ट पार्टीको शास्त्रीय सिद्धान्तलाई नै आत्मसात् गरे । क्युबालाई अनुकूल हुने गरी मात्रै उनले कम्युनिस्ट सिद्धान्त स्वीकार गरे । उनले अर्थतन्त्रलाई केन्द्रीकृत गरे । क्युबाली समाजको परम्परागत तहगत संरचनालाई सम्याउने काम गरे । यसका लागि उनले क्युबालीहरूको शिक्षा र स्वास्थ्यमा सुधार गरे । सँगसँगै उनीहरूलाई वाक् स्वतन्त्रता र आर्थिक अवसरबाट भने वञ्चित गरे ।
तर, क्युबा कम्युनिस्ट राज्यझैँ पोलिटब्युरोबाट शासित भएन । फिडेल र पछि उनका भाइ राहुलले सरकार र सेना सबैतिर महŒवपूर्ण पदमा आफ्ना मान्छे राखे । क्युबामा रहेका फिडेलका समर्थकले पनि आफूलाई कम्युनिस्ट भनेर होइन, फिडेलवादी भनेर चिनाए ।

पारमाणविक युद्धको सँघार
फिडेल सोभियत संघको खेमामा पुगेपछि शीतयुद्ध अमेरिकाको प्रभावक्षेत्रसम्म विस्तारित हुन पुग्यो । यस्तोमा मुठभेड अवश्यम्भावी थियो, जुन अक्टोबर १९६२ मा भयो ।
उत्तर अमेरिकासम्म मारक क्षमता भएको पारमाणविक क्षेप्यास्त्रयुक्त सैन्य आधार क्युबामा राख्ने तयारीमा सोभियत संघ र क्युबा क्रियाशील भएको कुरा अमेरिकी गुप्चतरहरूले पत्ता लगाए । त्यसपछि अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र सोभियत संघका नेता निकिता ख्रुश्चेभबीच आरोपप्रत्यारोप चल्न थाल्यो, जसले फिडेललाई छायामा पारिदियो । केनेडीले अमेरिकी सेनालाई चनाखो अवस्थामा राखे र क्युबामाथि समुद्री नाकाबन्दी लगाए । गतिरोधको अवस्थामा शीतयुद्धका दुई पक्ष १३ दिनसम्म आमनेसामने भए । सारा संसारको रौँ ठाडो भयो । अन्त्यमा अमेरिकाले टर्कीबाट क्षेप्यास्त्र हटाउने र क्युबामाथि हमला नगर्ने प्रतिबद्धता जनाएपछि सोभियत संघले क्युबामा पठाइसकेको क्षेप्यास्त्र फिर्ता ल्यायो र निर्माण गर्दै गरेको सैन्य आधार भत्कायो ।
त्यसपछि पनि क्युबामा सोभियत संघको उपस्थिति निरन्तर बढ्दै गयो । रुसी सैनिक, प्राविधिक र इन्जिनियर क्युबामा जाने र घरजम गरी बस्ने क्रम बढ्यो । सोभियत संघले क्युबाले उत्पादन गर्ने सबै चिनी खरिद गरिदिने मनसाय देखायो । फलतः क्युबाले चिनीलाई मुख्य बाली र सोभियत संघलाई मुख्य विक्रेता बनाउने क्रमलाई निरन्तरता दियो ।

आर्थिक–सामाजिक पहल
पूरै देशमा उखुखेती गर्ने नियम लागू गर्दा पनि सन् १९७० मा क्युबाले एक करोड टन उखु उत्पादन गर्न सकेन । फिडेललाई सोभियत संघ र चिनीप्रतिको निर्भरता बढाउनुपर्छ भन्ने महसुस भयो । त्यसपछि उनले क्युबाली नश्लका उन्नत गाई उत्पादनतिर आफूलाई केन्द्रित गरे । उनले पशुपालनसम्बन्धी कुनै तालिम लिएका थिएनन् । तर, पनि एसियन जिबस र उन्नत होलेस्टाइन गाईलाई क्रस गराएर धेरै दूध दिने गाईको नयाँ प्रजाति निर्माण गर्न उनी तस्मिए । तीमध्ये केहीले मात्र सोचेजति दूध दिए । यसरी दूध दिने गाईसम्बन्धी जानकारी क्युबाका संग्रहालयमा राख्ने काम भयो ।
त्यस्तै, सयौँ क्युबाली विद्यार्थीलाई विज्ञान र चिकित्साशास्त्र अध्ययन गर्न भनेर मस्को, पाराग्वे र सोभियत खेमाभित्र पर्ने देशका शहरहरूमा पठाइयो । त्यतिखेर क्युबाका स्वास्थ्य सेवा र साक्षरतामा आएको सुधारले अमेरिकीसहित संसारभरिका मानिसलाई चकित तुल्यायो ।
क्युबामा रहेको वर्णविभेदलाई अन्त्य गर्न भनेर ग्रामीण क्षेत्रमा कृषक जीवन बिताइरहेका अफ्रिकी मूलका अश्वेतहरूलाई हवानामा बोलाइयो । तिनीहरूका पुर्खालाई स्पेनिसहरूले दास बनाएर कुनै बेला अफ्रिकाबाट क्युबा ल्याएका थिए । अमेरिकातिर भागेका मध्यमवर्गीय क्युबालीहरूका गतिला घरमा उनीहरूलाई बसाइयो । ती घरमा बसेबापत अत्यन्तै न्यून बहाल तिर्न लगाइयो । उनीहरूलाई आवश्यक पर्ने दूध, अण्डालगायत खाद्यान्न सरकारी पसलमा लागतभन्दा कम मूल्यमा उपलब्ध गराइयो ।   
विदेशमा जन्मिएका चर्चका पुजारीलाई देश निकाला गरियो । स्थानीय पुरोहितलाई अनेक खालका दुःख दिएर अधिकांश चर्च बन्द गराइयो । सन् १९४९ मा कम्युनिजमलाई समर्थन नगर्ने भनी गरिएको निर्णय फिडेलले उल्लंघन गरेको भन्दै रोमन क्याथोलिक चर्चले उनलाई बहिष्कार गर्ने निर्णय ग¥यो ।
फिडेलले चाहिँ स्थानीय स्तरमा ‘क्रान्ति प्रतिरक्षा समिति’हरू गठन गरे । यस समितिमार्फत छिमेकीहरूबाट छिमेकीकै गतिविधिबारे सूचना सरकारलाई प्राप्त भयो । फलस्वरूप हजारौँ सरकारप्रति असन्तुष्ट र समलिंगीहरूलाई पक्राउ गरी जेल पठाउने अथवा श्रम शिविरमा राख्ने काम भयो । दशकौँसम्म क्युबाली सत्ताले देशभित्र हुने सबै खाले छापा तथा प्रसारण माध्यममाथि नियन्त्रण ग¥यो । सूचनासँगै मालसामानसम्म क्युबाली जनताको पहुँचलाई समेत सरकारले नियमन ग¥यो ।
क्युबामा क्रान्ति संस्थागत भइसकेपछि फिडेलले क्रान्तिलाई निर्यात गर्ने ध्येयले अंगोला, मोजाम्बिक र इथियोपियामा कम्युनिस्ट विद्रोहीहरूको पक्षमा लड्न भनेर क्युबाली सैनिकलाई पठाए । यसले क्युबाको ढुकुटीमा भार थोपरे पनि कम्युनिस्ट संघर्षमा विश्वस्तरका खेलाडी बन्ने मोह फिडेलले त्यागेनन् । सोभियत संघप्रति निर्मम रूपमा प्रस्तुत भइरहेका चे ग्वेभाराले अन्ततः फिडेलसँग नाता तोडेर बोलिभिया गई त्यहाँ पनि क्रान्तिको उभार उठाउन खोजे । तर, सन् १९६७ मा उनी उतै बन्दी बनाइए र मारिए ।

हत्या प्रयासको शृंखला
क्यास्ट्रोले क्रान्तिका आरम्भका दिनमा अमेरिकाविरुद्ध आगो ओकल्ने गरे पनि अमेरिकाले उनीसँग सम्बन्ध सुधार्ने प्रयास जारी राख्यो । यसमा अमेरिकी राष्ट्रपति केनेडी अग्रसर भएका थिए । सन् १९६३ मा केनेडीको हत्या भयो । उनको हत्यामा फिडेल र क्युबालीहरूको संलग्नता रहेको आशंका गरियो । त्यसपछि दुई देशबीचको शत्रुता र अविश्वास पुनः चुलियो ।
सीआईएले फिडेलको हत्या गर्ने अथवा उनको हैसियतलाई कम गर्ने प्रयत्न पटकपटक ग¥यो । एक पटक त दाह्री झर्ने रसायन उनको छेउमा छोड्ने कामसम्म भयो । अर्को पटक उनलाई विषयुक्त कलममार्फत मार्न खाजियो । फिडेलले आफूलाई मार्ने प्रयास कसरी असफल बनाइयो भन्ने जानकारी हवानाका संग्रहालयमा राख्न लगाए ।
आइजनहावरको पालामा अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दीलाई केनेडीले थप विस्तार गरे । क्युबामाथि अमेरिकाले पाँच दशकभन्द बढी अवधिसम्म नाकाबन्दी लगायो । सोभियत संघले क्युबालाई बर्सेनि पाँच अर्ब अमेरिकी डलर अनुदान दिएर अमेरिकी नाकाबन्दीलाई फिका साबित गरिदियो । क्युबालाई असाध्यै आवश्यक पर्ने तेल र दूरगामी प्रकृतिका आर्थिक सहयोग गरेर भेनेजुएलाले पनि फिडेललाई सहयोग ग¥यो । क्यानडाजस्ता अमेरिका पक्षधर राष्ट्रले पनि क्युबासँगको व्यापारलाई निरन्तरता दिए । पछिल्ला अमेरिकी राष्ट्रपतिहरूले क्युबामाथिको नाकाबन्दीलाई खुकुलो बनाउँदै विभिन्न आर्थिक गतिविधिलाई खुला गरिदिए । तर, उनीहरूले क्युबा भ्रमण गर्न अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्ध भने खोलेनन् ।

शीतयुद्धपछिको चुनौती
क्युबालाई अनुदान दिए टिकाउँदै आएको सोभियत संघ विघटन भएपछि फिडेलले ठूलो चुनौती बेहोरे । सोभियत संघको पतनसँगै क्युबाले तेलको भरपर्दो आपूर्तिकर्ता र क्युबाली चिनीको स्थिर ग्राहक गुमायो । त्यत्तिकैमा अमेरिकामा निर्वासित जीवन बिताइरहेका क्युबालीहरू देश फर्किएर फिडेलको सत्ता पल्टाउन चमचमाउन थाले ।
यसविरुद्ध फिडेलले कसैले नसोचेको हतियार प्रयोग गरे– अमेरिकी डलर । अमेरिकी डलरलाई भ्रष्ट पुँजीवादी व्यवस्थाको प्रतीक भन्दै उनले क्युबामा डलरमाथि प्रतिबन्ध लगाएका थिए । सन् १९९३ मा उनले क्युबा घुम्न आएका विदेशी पर्यटक र निर्वासनमा रहेका परिवारका सदस्यले पठाएको डलर क्युबाली जनताले राख्न पाउने नियम ल्याए । किसानहरूलाई प्रचलित बजारभाउमा अतिरिक्त कृषिउपज बेच्न दिए । क्युबाली जनताले खोल्ने ससाना होटल र रेस्टुरेन्ट प्रचलित बजारभाउअनुरूप सेवा दिएर सञ्चालित भएको पाइए बन्द नगर्न सरकारी अधिकारीलाई उनले निर्देशन दिए । साथै, स्पेन, इटाली र क्यानडाका कम्पनीलाई क्युबाली सेनासँगको सहकार्यमा रिसोर्ट, होटल र छुट्टी मनाउने केन्द्र  खोल्न दिए । अर्थतन्त्रमा यस्तो सुधार गर्न उनलाई भाइ राहुलले उक्साएका थिए ।
यसले आर्थिक क्रियाकलापमा क्युबाली जनतालाई व्यस्त बनायो । तर, हवानालगायत क्युबाका शहरी क्षेत्रमा सरकारविरोधी भावनालाई मत्थर पार्न यतिमात्र पर्याप्त भएन । प्रजातन्त्रका पक्षमा मुलुकका विभिन्न क्षेत्रमा उठेका आन्दोलनमाथि उनले दमन गरे । निष्पक्ष निर्वाचनको माग गर्नेलाई जेल हाले । क्युबाली पत्रकारमाथि धरपकड गर्ने, जेल हाल्ने आदि गरेर स्वतन्त्र प्रेसमाथि धावा बोले । यस्तो कदमको भत्र्सना गर्ने अन्तर्राष्ट्रिय जगतलाई उनले वास्तै गरेनन् । विभिन्न बहानामा अमेरिकाविरुद्ध विषवमन गरेर उनले जनतालाई पुनः आफ्नो पक्षमा पार्ने काम गरे । यसरी शीतयुद्धपछिको अत्यन्तै प्रतिकूल अवस्थामा पनि उनले आफ्नो शासनसत्तालाई डगमगाउन दिएनन् ।
(‘न्युयोर्क टाइम्स’को अनलाइन संस्करणबाट । डिपाल्मा अमेरिकी लेखक तथा पत्रकार हुन् ।)

 

Leave A Comment