‘सुखदुःखको साथी संगीत’

शनिबार, ०२ पुष २०७३, १० : ११ शुक्रवार , Kathmandu
‘सुखदुःखको साथी संगीत’

मीरा कार्की, गायिका

केमा व्यस्त हुनुहुन्छ ?
नयाँ एल्बम ‘बहार’ बजारमा ल्याएकी छु । त्यसकै प्रचारप्रसारमा कुदिरहेकी छु ।

कस्ता–कस्ता गीत छन्, एल्बममा ?
सबै आधुनिक गीत छन् । एउटा लभ, एउटा डान्सिङ बिट, एउटा राष्ट्रिय भाव झल्किएको गीत छ । जम्मा पाँच वटा गीत छन्  ।

गाउन थालेको कति भयो ?
संगीत सिकेको तीन वर्ष भयो । एल्बम चाहिँ भर्खरै निकालेको हुँ ।

गाउने रहर कसरी जाग्यो ?
सानैदेखि गाउने रुचि थियो । बाल्याकालको चाहना बिहेपछि श्रीमान्को साथ र समर्थनबाट पूरा भएको छ ।

एउटा गीत त श्रीमान्ले नै लेख्नुभएको छ रे !
हो । गायक प्रमोद खरेलसँग मिलेर गाएको ‘सिरसिर हावासँगै’बोलको गीत श्रीमान्ले नै लेख्नु भएको हो ।

कस्ता गीत गाउन रुचाउनुहुन्छ ?
सबै किसिमका गीत गाउन मन पर्छ । बढी रुचि चाहिँ आधुनिकमा हो ।

के–के बजाउनुहुन्छ ?
हार्मोनियम बजाउँछु ।

पहिलोपल्ट स्टुडियोमा गीत रेकर्डिङ गराउँदाको अनुभव सुनाउनुस् न ?
स्टुडियोभित्र छिर्दा सुरुमा अलिअलि डर लागेको थियो । एक छिन त नर्भस पनि भइयो । त्यसपछि त गाइयो, राम्रोसँग गाइयो ।

नयाँ गायिकाका लागि यो क्षेत्रमा कत्तिको गाह्रो छ ?
कसैलाई चिनिएको हुँदैन । त्यहीभएर प्रमोसन गर्न धेरै गाह्रो हुन्छ ।

गीत गाएरै बाँच्न सकिन्छ त ?
पैसा कमाउने उद्देश्यले गायनमा आएको होइन । गायनमा सानैदेखि रुचि भएकोले संगीतमा पछिसम्म नै लाग्ने विचार छ ।

मन पर्ने गायक/गायिका ?
नारायण गोपाल, तारादेवी, अरुणा लामाका गीत धेरै सुन्छु ।

तपाईंका लागि संगीत के हो त ?
मेरा लागि सुखदुःखको साथी हो संगीत । दुवै पलमा सुन्न मन लाग्छ संगीत ।

 

Leave A Comment