‘हार्मोनियम बेचेर औषधि खाएँ’

शुक्रबार, ०१ पुष २०७३, १२ : ३५ शुक्रवार , Kathmandu
‘हार्मोनियम बेचेर औषधि खाएँ’

लक्ष्मण शेष, संगीतकार
स्कुल पढ्दाताका खूब गीत गाउँथेँ । स्कुले जीवनमा गीत गाएर थुप्रै पटक प्रथम भएँ । काँधमा बाजा बोकेर रिहर्सलमा महिनौँ बिताउँथेँ । म यसरी गायक भएको परिवारलाई पटक्कै मन परेको थिएन । आईकम पास गरेपछि हेटौँडा सिमेन्ट उद्योगमा खुल्ला प्रतिस्पर्धामा नाम निकालेँ । बाजा काँधमा बोकेर गाइने जीवन बिताउँदै त्यहाँ जागिर खान पुगेँ । त्यतिबेला म १९ वर्षको थिएँ ।
मेरो गायनबारे अफिसका जीएम तेजकान्त झालाई थाहा भयो । उहाँले ‘तिमी संगीततिर राम्रो गर्न सक्छौ, यहाँ नबस काठमाडौँ जाऊ र गीत गाऊ,  भोलि ठूलो कलाकार बन्छौ’ भन्नुभयो ।
म काठमाडौँ हिँडेको पनि परिवारलाई मन परेको थिएन । म जिद्दी गरेर घरबाट निस्किएँ । त्यसपछि मैले घरबाट पाउने सहयोगमा कटौती भयो । काठमाडौँ त आएँ तर जीविकोपार्जनका लागि केही आधार थिएन । परिवारको सहमतिविना हिँडेकाले उनीहरूले केही दिने कुरै भएन । काठमाडौँमा पानी र बिस्कुट खाएर दिन बिताउँथेँ । नयाँ बानेश्वरको एउटा गल्लीमा सानो अँध्यारो कोठा भाडामा लिएर बसेको थिएँ । बल्खुमा दिदी बस्नुहुन्थ्यो । कहिलेकाहीँ हिँड्दै दिदीकोमा जान्थेँ । त्यहीँ भात खाएर भोक मेट्थेँ ।
कलाकार बन्न रेडियो नेपाल जान खोजियो । तर, रेडियो नेपाल कसरी छिर्ने ? थाहा थिएन । त्यही समयमा एक दिन मलाई धेरै ज्वरो आयो । बिरामी परेँ । असाध्यै गलेपछि सिमेन्ट उद्योगमा सहयोगीका रूपमा काम गर्नेलाई सहयोगका लागि बोलाएँ । उसले मेरो हेरविचार गर्न थाल्यो । कुरा गर्ने क्रममा उसले हार्माेनियम किन्ने रहर भएको बतायो । मलाई औषधि किन्न पैसाको अभाव थियो । मैले उसलाई आफ्नो हार्माेनियम २५ सयमा बेचेँ । मामाले उपहार दिनुभएको र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको हार्माेनियम बेच्दा कम्ती मन पोलेन ।
त्यसपछि मलाई काठमाडौँ देखेर डर लाग्न थाल्यो । घर फर्किने विचार पनि नगरेको होइन । ठीक त्यही बेला सञ्जय बाबु ढकालसँग भेट भयो । सञ्जय मेरो बाल्यकालको साथी हो । उसलाई आफ्नो गीत सुनाएँ । त्यो बेला मैले थुप्रै स्टक गीत बनाएर राखेको थिएँ । ऊ चाहिँ त्यो समय स्थापित भइसकेको थियो । सञ्जयले निर्देशक शिव रेग्मी, राजुध्वज राणासँग मेरो परिचय गराइदियो । मेरा संगीत सुनेर मन पराएपछि उनीहरूले फिल्ममा काम गर्ने अवसर दिएँ । फिल्म ‘सिन्दुर’ को गीत निकै लोकप्रिय पनि भयो ।
त्यसपछि मैले एकपछि अर्को गर्दै कयौँ फिल्ममा संगीत गरेँ । गीतको लोकप्रियताले मलाई मुम्बईसम्म पु¥यायो । त्यहाँका धेरै गायकगायिकासँग काम गर्ने अवसर पाएँ । मेरो सांगीतिक जीवन सफल भए जस्तो लाग्यो । तर, संघर्ष सकिएन ।
२०५८ सालमा जब दरबार हत्याकाण्ड भयो । नेपाली गीतसंगीत र फिल्मको बजार एकाएक खस्कियो । त्यसपछि मैले नयाँ चरणको संघर्ष गर्नुप¥यो । म एक्लो थिइनँ, त्यो बेला । श्रीमती, छोरी सँगै थिए ।  फिल्म नबनेपछि काम पाइनँ । काम नपाएपछि परिवार पाल्न निकै गाह्रो भयो । वर्षमा दुइटाजति फिल्ममा काम गरेर गुजारा चलाउन सकस भयो । काठमाडौँमा बाँच्ने नसकिने स्थिति बन्यो । त्यतिखेर धेरै दुःख गरियो । थोपाथोपा गरी जम्मा गरेको पैसाले स्टुडियो खोलेँ । स्टुडियो चलेन । भएको पैसा पनि गयो । म ऋणमा डुबेँ । भाडा तिर्न नसकेर स्टुडियो बन्द गर्नुप¥यो ।
त्यसपछि म रोयल्टी संकलन समाजको अभियानमा सामेल भएँ । खल्तीमा एक पैसा थिएन । भोकभोकै काम गर्न थालेँ । दुई वर्ष मैले ऋण गरेर जीवन चलाएँ ।
मैले आफ्नो रेकर्डिङ स्टुडियो जसलाई बेचेको थिएँ उनले मलाई इमानदार व्यक्ति ठान्थे । उनले नै फेरि त्यही स्टुडियो चलाऊ भनेपछि फेरि स्टुडियो चलाउन थालेको छु ।

 

Leave A Comment