सञ्जालमार्फत समाज सेवा

शुक्रबार, ०१ पुष २०७३, १२ : १२ शुक्रवार , Kathmandu
सञ्जालमार्फत समाज सेवा

फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट समाज सेवा गरिरहेका केही समूहः
ट्वीट फर कज
सन् २०११ मार्च २४ मा ट्वीटेहरूको भेला भृकुटीमण्डपमा बोलाइयो । भेलामा विभिन्न पेशामा आबद्ध ट्वीटेहरूले २१ हजार ३ सय रुपैयाँ जम्मा पारे । रकम संयुक्त खातामा जम्मा गरियो । साना बालबालिकाको मुहारमा हाँसो ल्याउन उक्त रकम खर्चिन निधो भयो । धापासीमा रहेको पवित्र सेवा समाज नेपालका २४ जना बालबालिकाको अवस्था दयनीय भएको खबर पाएपछि उनीहरू ट्वीटरमार्फत फन्ड कलेक्सनमा जोड दिए । उनीहरूले ती लालाबालालाई ६० हजार बराबरको सामान प्रदान गरे ।
ट्वीटरमा टीएफसी खोलेको दुई महिनापछि भृकुटीमण्डपमा उनीहरू भेला भएका थिए । जसको नेतृत्व  पेशाले इन्जिनियर रहेका प्रमोद न्यौपानेले गरेका थिए । उनैले साथी ईश्वर काफ्ले, अनिल घिमिरे, आकार पोस्टलगायत साथीहरूको पहलमा भेला डाकेका थिए । सुरुमा १४ जना मात्र आए पनि यसले छोटो समयमै धेरै मनकारी सदस्यहरू पाएको प्रमोद बताउँछन् । उनका अनुसार टीएफसीमा विद्यार्थी, डाक्टर, इन्जिनियर, वकिल, पत्रकार र सरकारी कर्मचारी आबद्ध छन् । ‘हामीले सामाजिक काम गर्छु नै भनेर यो खोलेको होइन । टिम भएसी समाजप्रतिको उतरदायित्व पनि वहन गर्न प्रेरित गर्दौरैछ,’ उनी भन्छन् ।
पहिलो कामबाटै हौसिएका उनीहरूलाई अझ धेरै बालबालिकाको मुहारमा हाँसो थप्ने ऊर्जा मिल्यो । टीएफसीकै एक सदस्यले भत्केपाटी कीर्तिपुरमा एचआईभी संक्रमितहरूका लागि स्कुल खोलिएको तर स्थिति एकदमै दयनीय रहेको सुनाए । त्यसका लागि अभियान चलाइयो  र त्यहाँ रहेका १६ बालबालिकालाई तीन महिना पुग्ने खाद्यान्नको व्यवस्था भयो । ‘एक वर्षपछि जाँदा त्यहाँ आफ्नै घर ठडिएको थियो । ठडिएको घर देख्दा मन हर्षित भयो,’ प्रमोद भन्छन्, ‘सामाजिक सञ्जालको प्रभाव हामीले साँच्चै त्यहाँ भेट्यौँ ।
यस अवधिमा उनीहरूले सुन्दरीजलस्थित डीआरसी नेपाल, हेटौँडा, उदयपुरद, धादिङलगायत २० वटा मिसन पूरा गरे । करिब ५० लाखको सामान बाँडे । जुन एकदुई जनाले सम्भव नहुने प्रमोद बताउँछन् । ‘यो टिम वर्क हो । टिम वर्कविना यो काम गर्न सकिँदैन,’ उनी भन्छन् ।  टीएफसीले आफ्नो सबै खर्च विवरण आफ्नो आधिकारिक वेबसाइट टीएफसीनेपाल डटकम डटनेपीमा राखेका छन् । ‘ट्रान्सपरेन्सी नभए यस्ता ग्रुप चल्न सक्दैन्न् । त्यसैले २० वटै मिसनका तस्बिर, डोनरका नाम र खर्च विवरण वेबसाइटमा राखेका छौँ,’ प्रमोद भन्छन् ।
भारतको नयाँ दिल्लीमा सन् २०१४ को नोभेम्बरमा सशक्तीकरणमा सोसल मिडिया कार्यक्रमअन्तर्गत टीएफसीले अवार्ड पनि जित्यो ।

युथ फर ब्लड
विसं. २०६८ जेठ १३ गते विराटनगरका सरोज कार्कीलाई ‘बी पोजेटिभ रगत चाहियो’ भन्दै फोन आयो । उनले आफूले चिनेका ठाउँमा फोन घुमाए । बल्लतल्ल दशरथ साह रगत दिन राजी भए । सरोजले दशरथलाई साइकलमा राखेर राति नै अस्पताल पु¥याए । बिरामीलाई अझै रगतको आवश्यकता परेर सरोज फेरि रगतको जोहो गर्न थाले । तर, उनलाई रगत खोज्न हम्मेहम्मे प¥यो । दोस्रो पटक उनले मुस्कान कटुवाललाई तयार पारे । र, बिरामीको जीवन जोगाए ।
त्यतिबेला आफूलाई रगतको महŒव थाहा भएको सरोज बताउँछन् । ‘हाम्रो देशमा रगतको अभाव र यसको महŒवबारे त्यतिबेला बुझेँ । त्यसपछि यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ भन्ने लाग्यो । र, फु¥यो ‘युथ फर ब्लड,’ उनी भन्छन् ।
उनी विभिन्न कार्यक्रममा सहभागी हुन थाले । त्यहाँ जानुको उनको एउटै उद्देश्य हुन्थ्यो । उपस्थित सबैको रगत समूह र मोबाइल नम्बर टिपोट गर्ने । डेढ महिनाको अवधिमा उनले धेरै नाम र नम्बर संकलन गरे । पछि चिनजानका करिब ६० जनालाई जम्मा पारे । तर,  पाँच जना मात्र युथ फर ब्लड अभियानमा सरिक भए । पछि साथीहरूले पनि साथी ल्याउन थाले । ‘एक कान दुई कान मैदान हुँदै आजको दिनसम्म युथ फर ब्लडले पचास हजारभन्दा बढी अफलाइन डाटा जम्मा पार्न सफल भएको छ,’ सरोज भन्छन् ।
पाँच जनाबाट सुरु भएको युथ फर ब्लडले अहिले पाँच वटा च्याप्टर खोलेको छ, काठमाडौँ, विराटनगर, झापा, सुनसरी र चितवन ।  यिनै च्याप्टरबाट उसले सेवा प्रदान गरिरहेको छ । प्रत्येक च्याप्टरमा एउटा हटलाइनको व्यवस्था गरिएको सरोज बताउँछन् । रगतको माग आएपछि उनीहरूले आफूसँग रहेको डाटाबेसमा नाम लिस्ट खोजेर रगत दिन आग्रह गर्छन् । त्यति मात्र होइन, फेसबुक ट्वीटरमा रगत चाहिएको सन्देश पनि प्रवाह गर्छन् । युथ फर ब्लडको १५ हजारभन्दा बढी लाइक भएको फेसबुक पेज र ५८ हजार सदस्य भएको ग्रुप छ । ट्वीटरमा यसका तीन हजार सदस्य छन् ।
‘युथ फर ब्लड एउटा काम गर्ने फोरम हो । रक्तदानप्रति उत्प्रेरणा जगाउनु नै यसको मुख्य उद्देश्य हो,’ सरोज भन्छन्, ‘त्यही उद्देश्य प्रतिको दायित्व बुझेर सन् २०१५ मा संस्थाले इनजीओ अवार्ड जित्यो ।’ सामाजिक सञ्जालको माध्यमबाट सामाजिक काम गर्नेहरूलाई यो अवार्ड प्र्रदान गरिन्छ ।
अभियान सुरु गर्दा उनीहरूले फोन खर्च आफैँ जुटाउँथे । आजभोलि रगत उपलब्ध गराएका व्यक्तिहरूले नै स्वेच्छाले सहयोग गर्छन् । त्यसैबाट उनीहरूले फोन खर्च चलाउँछन् । त्यसका अतिरिक्त कहिलेकाहीँ उनीहरूले सामाजिक सञ्जालमा अनुरोध गर्छन् र मनकारीहरूले सहयोग गर्छन् ।

कारपुल
गत वर्ष भारतले पेट्रोलियम पदार्थलगायत विभिन्न सामानमा नाकाबन्दी लगाएपछि नेपालीमाझ विषम परिस्थिति पैदा भएको थियो । सवारीसाधन नचल्दा घण्टौँ दूरीको पैदल यात्रा गर्नुपर्ने स्थिति थियो । त्यति बेलै एक सिर्जनशील दिमागले लिफ्ट लेनदेन अर्थात् कारपुलको अवधारणा ल्याए । विश्वका अन्य मुलुकमा पनि सफल भइसकेको यो अभियानकी अभियन्ता हुन्, सुमना श्रेष्ठ ।
उनले फेसबुकमा एउटा ग्रुप बनाइन्, ‘कारपुल काठमाडौँ’ । यो अभियानले समस्या परेको बेला एक अर्कोलाई सहयोग गर्नुपर्ने भावना जागृत भएको सुमना सुनाउँछिन् । ‘अन्य देशमा यस्तो अभियान सञ्चालन भए पनि हामीकहाँ यस्तो थिएन । नाकाबन्दीको बेला यसको आवश्यकता देखेर कारपुल अभियान सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो,’ सुमना सुनाउँछिन् । यो अभियानपछि नेपालीमा लिफ्ट दिनुपर्छ वा लिनुपर्छ भन्ने कुराको विकास पनि भएको उनी बताउँछिन् ।
‘यो अभियान यति सफल होला भन्ने नसोचेकै थिइनँ । लगातार हिँडाइले खुट्टा गल्यो । लिफ्ट माग्ने सोच आयो । तर, लिफ्ट दिने र लिने कल्चर नभएकाले के सोच्लान् भन्ने भयो,’ उनी सम्झिन्छिन्, ’हाम्रो समाजले हामीलाई बच्चैदेखि ‘नचिनेकोसँग नबोल्नू’ भनेर सिकाएको छ । अपरिचितसँग नबोल्ने भनेर हुर्केका हामी एकैचोटि लिफ्ट दिने र लिने कुरामा सहमत हुन सजिलो थिएन ।’
कुनै पनि अभियान चलाउन सामाजिक सञ्जालले सजिलो बनाइदिएको अनुभव उनले सुनाइन् । ‘फेसबुकमा संसारभरिका मानिस आबद्ध छन् । जसको माध्यमबाट हामीले जुनसुकै अभियान सञ्चालन गर्न सक्छौँ । यही माध्यम सजिलो लागेर कारपुल काठमाडौँ अभियानो थालनी भएको हो,’ उनले भनिन् ।
उनले सुरक्षाको दृष्टिकोणबाट महिलाका लागि खतरा भए पनि एकदुई जना खराब भयो भन्दैमा निरुत्साहित हुन नपर्ने बताउँछिन्, सुमना । बरु, त्यस्ता व्यक्तिबाट खतरा महसुस भए कडा रूपमा प्रस्तुत हुन महिलाहरूलाई उनले आह्वान पनि गरिन् । ‘सयमा १० जना खराब मानसिकता भएका भेटिए भने पनि निरुत्साहित हुनु हुन्न । आफूलाई लिफ्ट दिने व्यक्तिले राम्रो व्यवहार गरेन भने डटेर बोल्नुपर्छ,’ उनी भन्छिन् । उनले सुरक्षालाई नै केन्द्रित गरेर लिफ्ट दिनेसँग सेल्फी खिचेर फेसबुकमा राख्ने, सवारीको प्लेटको तस्बिर खिचेर नजिकको मान्छेलाई पठाउने अभियान पनि चलाएकी थिइन् ।
कारपुलको उनले एप नै विकास गरेकी छिन् । लिफ्ट अफर गर्न वा माग्न सहज होस् भनेर उनले एपको विकास गरेकी हुन् । एप अफलाइन प्रयोग गर्न सकिन्छ । ‘केही सदस्यले आफू सुन्धारामा कुरिरहेकालाई आफ्नो सवारी रोकेर लिफ्टका लागि अफर गरेको बताउनुभएको छ । भोलि यो अफलाइन पुग्यो भने आफैँले सोधेर अफर गर्ने संस्कृतिको विकास हुन्छ । त्यो दिनको अपेक्षा गरेरै यसको सुरुवात भएको हो,’ उनी भन्छिन् ।

 

Leave A Comment