क्यास्ट्रोः पारदर्शी क्रान्तिकारी

शुक्रबार, ०१ पुष २०७३, ११ : ४९ शुक्रवार , Kathmandu
क्यास्ट्रोः पारदर्शी क्रान्तिकारी

क्यास्ट्रोले भने, ‘जहाँ जे फल्छ, रोप, खानेकुरा रोप ।’ त्यसपछि क्युबाका मानिसले सडकपेटीमा, घरका छतमा, यहाँसम्म कि गाडी राख्ने ग्यारेजमा पनि खेती गर्न थाले, खानेकुरा उब्जाउन थाले ।  त्यसको सात वर्षपछाडि संसारले मान्नुप¥यो– संसारको सर्वाेत्कृष्ट ‘अग्र्यानिक स्टेट’ क्युबा हो ।
क्यास्ट्रोले दर्शन, राजनीति र लडाइँको मात्रै कुरा गरेका थिएनन् । उनी खुद्रा–मसिना कुरामा संसारका पुँजीपतिहरूसँग, पुँजीवादीहरूसँग बहस गरिराखेका थिए ।


–राम कार्की
क्युबाली क्रान्तिको संश्लेषण गर्ने क्रममा चे ग्वेभाराले ‘रिमिनिसेन्सेज अफ द क्युबन रिभोल्युसनरी वार’ नामक किताब लेखेका छन् । त्यस किताबमाथि टिप्पणी गर्दै फ्रान्सका पत्रकार तथा दार्शनिक रेजिस देब्रेले ‘रिभोल्युसन इन द रिभोल्युसन ?’ पुस्तक लेखे । त्यसमा उनले भनेका छन्, ‘धन्न, क्यास्ट्रो र चेले माओत्से तुङ पढेका थिएनन् ।’ उनीहरूले गरेजस्तो विद्रोहको प्रयास ल्याटिन अमेरिकामा पहिले पनि भएको थियो । र, त्यहाँ कस्तो चलन थियो भने लामखुट्टेले टोक्यो भने पनि माओको ‘रेड बुक’ पल्टाएर हेरिन्थ्यो– लामखुट्टको टोकाइबारे माओले के भनेका रहेछन् भनेर ।
तर, फिडेल र चेले माओत्से तुङ पढेका थिएनन् । चे ग्वेभारालाई उनको पृष्ठभूमिका कारण ‘यो माक्र्सवादी हो कि ?’ भनेर मान्छेले शंकास्पद रूपमा हेर्थे । तर, फिडेललाई त सत्ता लिइसकेपछि अमेरिकाको भ्रमणमा निस्कँदा पनि अमेरिकाको ठूलो पत्रिकाले ‘यो कुनै बेला पनि कम्युनिस्ट हुनै सक्दैन’ भनेर ठोकुवा गरेको थियो ।
अरू कम्युनिस्ट र यिनीहरू (चे र फिडेल) बीच ताŒिवक भिन्नता थियो । लेनिन मजदुर वर्गको कुरा गर्छन्, माओत्से तुङ किसानको कुरा गर्छन् । तर, यिनीहरू भने बारम्बार ‘मान्छे’ भन्छन्, मान्छे र मानवताको कुरा गर्छन् । यो सामान्य अन्तर होइन । यसबाट अरू कम्युनिस्ट र उनीहरूबीचको ताŒिवक दार्शनिक भिन्नता प्रस्ट बुझ्न सकिन्छ । अर्थात्, माक्र्सवादभित्र देखिइने जुन रिडक्सनिजम (अवव्याख्यावाद) छ, त्यसबाट फिडेल र चे मुक्त थिए ।
हामी माक्र्सवादलाई ‘फर्मुला’ का रूपमा पढ्छौँ । आधार र उपरि संरचनामा आधारलाई मुख्य भन्छौँ । कहिलेकाहीँ आधारलाई मुख्य भन्दा आधारलाई मात्र समात्छौँ, उपरि संरचनालाई समात्दैनौँ । जस्तो, ‘जेनरल लाइन’ बनाउने बेलामा हामी माओत्से तुङको ‘जेनरल लाइन ठीक हुँदा सबै कुरा ठीक हुन्छ, बेठीक हुँदा सबै कुरा बेठीक हुन्छ’ भन्ने सूत्रलाई मात्र ध्यान दिन्छौँ । जेनरल लाइन भनेको जाल जस्तै हो भन्छन् । नेपालमा हामी जुनसुकै पार्टी वा कित्तामा भए पनि हामीले त्यही नारालाई चर्को रूपमा लगाएका छौैँ तर मलाई के लाग्छ भने जाल मात्र भएर पुग्दैन, त्यो जालमा चारो पनि हुनु आवश्यक छ । चारो भएन भने हातमा जाल मात्रै आउँछ, माछा आउँदैन । अर्थात्, जेनरल लाइनसँगै संगठनात्मक लाइन र अरू सबै लाइनलाई पनि त्यसकै तादात्म्यमा विकास गर्नुपर्छ । माक्र्सवादभित्र यदाकदा देखिने यो रिडक्सनिजमबाट फिडेल मुक्त छन् ।
दुई पटक उनीहरूले आत्मघाती प्रयास गरे । पहिलो पटक, मोन्काडो ब्यारेक आक्रमणमा भाग लिने १ सय १९ जना विद्रोहीमध्ये ६० जना मारिए । दोस्रो पटक १२ जनामात्र चढ्न मिल्ने नाउमा उनीहरू ८२ जना जबर्जस्ती चढेर गए । प्रशासनले थाहा पाइसकेका कारण उनीहरू बीचबाटोमै एम्बुसमा परे र जम्मा १२ जना मात्र बाँचे । बाँच्न सफल भएका उनीहरू सिएरा मायस्त्रातिर लागे । रमाइलो कुरा के छ भने आफ्ना अनुभवद्वारा उनीहरू पनि त्यही निष्कर्षमा पुगे, जुन निष्कर्ष माओले चीनमा निकालेका थिए । क्रान्तिका लागि गाउँलाई आधार क्षेत्र बनाउने, ‘पपुलर आर्मी’ वा छापामार दस्ताले ठूलो शक्तिशाली सेनालाई हराउन सक्छ भन्ने कुरा माओको जुन संश्लेषण थियो, उनीहरू पनि आफ्ना अनुभवद्वारा  त्यही निष्कर्षमा पुगेका थिए ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क्यास्ट्रोको संगठनात्मक संरचनालाई ‘फोकोवाद’ पनि भन्ने गरिएको छ । चे ग्वेभाराले त्यसको डटेर विरोध गरेका छन् । फोकोवादले विद्रोह वा जनयुद्ध सुरु गर्न सही परिस्थिति कुर्नु आवश्यक छैन भन्छ । एउटा कुरा साँचो हो कि उनीहरूसँग पार्टी थिएन । हवाना कब्जा गर्दा पनि उनीहरूसँग पार्टी थिएन । सन् १९५३ जुलाई २६ मा भएको मोन्काडो आक्रमणसम्म पनि उनीहरू पार्टी वा संगठन निर्माण गर्ने तहमा थिएनन् ।
मोन्काडो आक्रमणमा ६० जना क्रान्तिकारी मारिएका थिए । त्यस आक्रमणमा क्यास्ट्रो कसरी बाँचे त भन्ने सन्दर्भमा रमाइलो घटना छ । त्यहाँ उनलाई एक जना लुटेन्यान्टले समातेको थियो । क्यास्ट्रोले उसलाई आफ्नो असली नाम भन्दैनन्, अर्कै भन्छन् । उनले ती लुटेन्यान्टलाई भने, ‘तिमी विचारलाई मार्न सक्दैनौ ।’ क्यास्ट्रोले त्यसो भनेपछि त्यो लुटेन्यान्ट कति प्रभावित भयो भने उसले पनि भन्यो, ‘तिमी विचारलाई मार्न सक्दैनौ ।’ यसरी क्यास्ट्रो बाँच्न सफल भएका थिए । र, पछि एम्नेस्टीको सहायतामा संसारभरिबाट उठेको आवाजका कारण उनी मुक्त भए ।
उनीहरूको संगठनमा हामीकहाँ भन्ने गरिएको जनवादी केन्द्रीयता कहीँ लागू भएको छैन । मैले नेपालमा विगत साठी वर्षदेखि जनवादी केन्द्रीयता लागू भएको भेटेको छैन । यो लेनिनकै पालामा अलिअलि लागू भएको रहेछ । लेनिनको उदात्त चेतनाले हो वा उनीसँग भएको टिम साँच्चिकै गतिलो टिम भएकाले हो, त्यहाँ चाहिँ उनको कमिटीमा लोकतन्त्र देखिन्छ । किनभने, आफूसँग असहमति राख्ने कामेनेभ, बुखारिन, ट्राट्स्कीजस्ता सबै मानिसलाई लेनिनले पर्याप्त जिम्मेवारी दिएको देखिन्छ । सबैभन्दा बढी त उनले ट्राट्स्कीलाई जिम्मेवारी दिएका थिए । युवा बुखारिनलाई लेनिनले विश्वास गरेको देखिन्छ । हामीकहाँ मैले जनवादी केन्द्रीयता देखेको छैन । यहाँ कि केन्द्रीयता लागू हुन्छ, कि अराजकता वा गुटबन्दी । अहिले अधिकांश पार्टीहरूमा गुटबन्दीले काम गरेको छ ।
क्यास्ट्रोको महानता कहाँ देखिन्छ भने उनी जनतालाई परिचालन गर्न सक्थे । एउटा नेतामा विश्वसनीयता छ भने उसले जनतालाई कसरी परिचालित गर्न सक्छ भन्ने कुरा उनमा देखिन्छ । त्यतिबेला क्युबाको जनसंख्या एक करोड पनि थिएन । त्यति थोरै जनसंख्या भएको देशले ३ लाख ५० हजार त गुरिल्ला पठायो, संसारभरि । तिनीहरूको ठूलो संख्याले शहादत प्राप्त ग¥यो ।
क्षेत्रफलका हिसाबले क्युबा सानो देश हो । क्युबाभन्दा अमेरिका ८९ गुना ठूलो छ । यति सानो देशलाई कल्ले गन्थ्यो ? तर, अमेरिकाको नाकैमुनि उसले क्रान्ति सम्पन्न गर्न सक्यो । उनीहरूको ‘पोलिटिकल म्यान्युभर’ जडताबाट मुक्त थियो । त्यसै हुनाले उनीहरूले यति ‘मुभ’ गर्न सके । क्युबालीहरूले अफ्रिका र ल्याटिन अमेरिकामा गएर त्यति ठूलो बलिदान गरे । स्वाभाविक रूपमा त्यहाँका मान्छे क्युबासँग जोडिए । सोभियत संघको पतनपछि अर्थात् सन् १९९० पछि विश्वप्रसिद्ध पत्रकार आन्द्रेस ओपेनहाइमरको एउटा बेजोड किताब निस्कियो– ‘क्यास्ट्रोज फाइनल आवर’ । तर, क्यास्ट्रोको त्यो फाइनल आवर फाइनल डे, फाइनल इयर, फाइनल डिकेड हुँदै अगाडि गयो । त्यो समय–सीमालाई क्यास्ट्रोले ‘क्रस’ गरिदिए ।

क्युबाको शासनसत्ता क्यास्ट्रोको हातमा आएपछि, त्यतिबेला भनिन्छ कि क्युबाका आम जनताको वजन सातदेखि १० पाउन्ड घट्यो । किनभने, उखुबाहेक केही छैन आफूसँग । उखु किन्ने कोही पनि छैन । त्यतिबेला क्यास्ट्रोले के भने भने, ‘जहाँ जे फल्छ, रोप, खानेकुरा रोप ।’ त्यसपछि क्युबाका मानिसले सडकपेटीमा, घरका छतमा, यहाँसम्म कि गाडी राख्ने ग्यारेजमा पनि खेती गर्न थाले, खानेकुरा उब्जाउन थाले ।  त्यसको सात वर्षपछाडि संसारले मान्नुप¥यो– संसारको सर्वाेत्कृष्ट ‘अग्र्यानिक स्टेट’ क्युबा हो । आज अग्र्यानिक खानेकुराको निम्ति क्युबा प्रसिद्ध छ, जबकि क्रान्तिअगाडि क्युबा भनेको घाम ताप्ने, जुवा खेल्ने र ऐस गर्ने ठाउँ थियो । त्यस्तो ठाउँलाई क्यास्ट्रोले ‘भ्यानगार्ड’हरूको केन्द्रमा बदलिदिए, हरेक क्षेत्रमा अग्रणी ! आज पनि क्युबाका मानिसहरू संसारमा बन्दुक लिएर गइराखेका छैनन्, स्टेथेस्कोप, रक्तचाप नाप्ने मेसिन लिएर उनीहरू संसारभरि विचरण गरिरहेका छन् । गत वर्षको भूकम्पछि नेपालमा पनि आएर उनीहरूले १०–११ हजार मान्छेका साना–ठूला अप्रेसन गरे ।
फिडेल क्यास्ट्रोका सन्दर्भमा अर्को महŒवपूर्ण कुरा के छ भने उनले दर्शन, राजनीति र लडाइँको मात्रै कुरा गरेका छैनन् । उनले खुद्रा–मसिना कुराहरू, जो कम महŒवपूर्ण छैनन्, मा संसारका पुँजीपतिहरूसँग, पुँजीवादीहरूसँग बहस गरिराखेका छन् । उनको पर्यावरणसम्बन्धी एउटा बेजोड डकुमेन्ट छ– ‘टुमरो विल बी टू लेट’ । यसमा उनले सिंगो संसार, सिंगो मानवता र सिंगो प्राणीजगतलाई सम्बोधन गरेका छन् ।

नेपाली समाजमा नेतालाई पारदर्शी हुन दिइएन । यहाँ त राजनीति ‘डस्टबिन’ भएको छ । सबै खराबीका निम्ति राजनीतिज्ञलाई दोष दिन थालिएको छ । कोही पनि दायित्वशील छैन । कसैलाई उसको दायित्वको बोध गराइदियो भने, चाहे त्यो डाक्टर होस्, चाहे पत्रकार होस्, इन्जिनियर वा व्यापारी होस् वा राजनीतिज्ञ नै किन नहोस्, जीउमा हरेउ हालिदिए जस्तो गरिहाल्छन् ।
पहिलेपहिले माक्र्सवादीहरूले के गर्दा रहेछन् भने माक्र्सका रचनामा जे पायो, त्यो चाहिँ यहाँ ‘फलो’ गर्ने, नपाएको चिज चाहिँ हाम्रो यहाँ जे चलेको छ, त्यसैबाट चलाउँदा रहेछन् । त्यसैले हामीकहाँ पाखण्ड छ । मैले जेजे खान्छु, मैले जिन्दगीमा जेजे गरेको छु, त्यो सबै कुरा मैले भन्ने हो भने मलाई यहाँ टिक्नै दिँदैनन् । उता, पाब्लो नेरुदाको संस्मरण पढ्नुस् त । यहाँ भए उनलाई १ सय २० वर्षको कारावास सजाय हुन्थ्यो होला । उनी त्यहाँको राष्ट्रपतिको उम्मेदवार थिए, एलेन्देको ठाउँमा नेरुदालाई नै उठाउन खोजिएको थियो ।
हामीकहाँ नेतालाई मात्र गाली गरिन्छ । हामी जनता पनि पाखण्ड मन पराउँछौँ । नेतालाई उसको आफ्नो रूपमा आउन दिँदैनौँ । अलिअलि आउन खोज्यो भने यसरी त्यसलाई बाध्य पारिदिन्छौँ कि उसले ढाँट्नैपर्छ, छल्नैपर्छ ।
यस मामिलामा एन्डिजको संस्कृति, त्यहाँको माया सभ्यता र पुरानो अमेरिकन सभ्यताले उनीहरूलाई खुला र पारदर्शी बन्न सघाउ पु¥याएका छन् । हामीले पनि त्यसको अध्ययन गर्न आवश्यक छ । क्यास्ट्रो त कतिसम्म खुला थिए भने उनी ह्विस्की देखाएर ‘चियर्स, म खाँदैछु’ भन्थे । सिगार खान्थे । पछि छोडे । सिगार छोड्दा पनि वक्तव्य दिए । फेरि उनले एकचोटि वक्तव्य दिए, ‘आदरणीय जनसमुदाय, तलतल लाग्यो, रोक्नै सकिनँ, फेरि खान थालेँ ।’ उनले फेरि सिगार खान थाले । त्यसप्रकारको खुलापन र जनतासँगको ऐक्यबद्धता थियो उनमा । हामीकहाँ त आफूले भित्र मस्त खाने, अनि बाहिर गएर ‘भोकै बस्नुपर्छ, समाजवाद महान हो’  भनेर भाषण दिइन्छ । यस्तै पाखण्ड क्यास्ट्रोले पनि देखाएको भए उनलाई कसले पत्याउँथ्यो र ? उनी त आफैँ साइकलमा हिँडे । हरेक मान्छेले देख्न सक्थ्यो कि क्यास्ट्रो कहाँ बस्छन् ? पछि भेनेजुएलाका नेता ह्युगो चाबेजले उनका यस्तै कुरालाई अनुकरण गरेका थिए, तर चाबेजको स्वास्थ्यले उनलाई साथ दिएन ।
(कार्ल माक्र्स द्विशतवार्षिकी मूल समारोह भेला आयोजक समितिले मंसिर १९ गते प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा आयोजना गरेको ‘क्युबाली क्रान्तिमाथि परिचर्चा’ कार्यक्रममा माओवादी केन्द्रका नेता कार्कीले दिएको सम्भाषणको सम्पादित अंश)

Leave A Comment