‘एक रात घरमा एक रात शहरमा’

सोमबार, २७ मङि्सर २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
‘एक रात घरमा
एक रात शहरमा’

ना. १ ज ४०७७
मंगल तामाङ

कहाँको रुटमा चलाउनुहुन्छ, गुरुजी ?
काठमाडौँदेखि सर्लाहीसम्मको टाटा सुमो ।
कति किलोमिटर छ ?
१ सय ५० हाराहारी । छ घण्टाजति लाग्छ ।
भाडा कति छ ?
६ सय ७० ।
यति छोटो रुटमा महँगो भएन र ?
कहाँ महँगो हुनु ? सडकको हालत हेरेर त धेरै सस्तो हो ।
यो रुटमा गाडी चलाउन थालेको कति भयो ?
पाँच वर्षजति । योभन्दा पहिला १० वर्ष जति पूर्वको नाइट बस चलाएँ ।
बाटोका दुःख के छन् ?
सडक साँघुरो छ । आधा जति मात्र पिच छ । भएको पनि भत्काएर सडक बनाइरा’छ । धुलोले ढपक्क ढाक्छ । अगाडि केही देखिन्न ।
बाटोका सुख चाहिँ के छन् नि ?
यात्रुहरू असल छन् । हाम्रो गाह्रोसाह्रो बुझ्छन् ।
तपाईंहरू यहाँ बल्खुनिर जहिल्यै यात्रु तानातान किन गर्नुहुन्छ ?
हाम्रो रुटमा त्यस्तो छैन । हेटौँडातिर अलिअलि हुन्छ । काउन्टरका स्टाफहरू सुरुमा आफ्नो गाडी भर्न चाहने भएर त्यस्तो गर्छन् ।
गुरुजीको घर कहाँ हो ?
सर्लाही, हरिवन हो । एक रात घरमा बसिन्छ, एक रात राजधानी शहरमा ।
काममा खुशी हुनुहुन्छ ?
खुशी छु । घरपायक परेर पनि यो रुट चित्त बुझेको छ ।
गीत कस्ता सुनिन्छन् ?
मलाई त पुराना नेपाली र हिन्दी गीत मन पर्छन् । तर, यात्रुहरूको डिमान्डअनुसार पनि बजाइदिनुपर्छ ।
तपाईंलाई मन पर्ने केही गीत ?
नारायणगोपालको ‘मोहनी लाग्ला है’ । नयाँ गीतमा ‘सुर्के थैली’ र ‘पूर्वपश्चिम रेल’ । अञ्जु पन्त र सत्य–स्वरूपराज आचार्यका गीत पनि खूब सुन्छु ।

गुरुजीका अन्य सोख चाहिँ के–के छन् ?
नाचगान ।
यो मंसिरमा कत्तिको नाचियो त ?
निम्ता भएको बिहेमा जान पाइएको छैन । अब गाउँमै भतिजीको बिहेमा मज्जाले नाचिन्छ ।
प्रस्तुतिः अम्मर

 

Leave A Comment