मान्छेका चार गुण

सोमबार, २७ मङि्सर २०७३, ०९ : ३६ शुक्रवार , Kathmandu
मान्छेका चार गुण

दान दिने स्वभाव, मीठो बोल्ने बानी, धैर्य एवम् समुचित जानकारी यी चार, मानिसका सहज गुण हुन् । जुन अभ्यासले उपलब्ध हुँदैनन् । दाननिष्ठता, प्रिय वचन, धैर्य र सर्वज्ञताका गुण जन्मैदेखि प्राप्त हुन्छन् । उक्त गुणहरू कसैले कसैलाई सिकाउनुपर्दैन । जति नै अभ्यास किन नगरोस् तर यी चार गुण प्राप्त हुँदैनन् । यी जन्मसिद्ध हुन्छन् ।
आफन्तलाई त्यागेर अर्को वर्गका व्यक्तिसँग सहारा लिने व्यक्ति त्यसरी नै नष्ट हुन्छ जसरी अधर्मबाट राज्यको नाश हुन्छ । जुन देशमा धर्म अर्थात् न्याय, कानुन व्यवस्थाको अभाव छ, त्यो देश बिस्तारै–बिस्तारै नष्ट हुन्छ । आफ्नो समाज अथवा देशसँग द्रोह गरेर अर्को समाज या देशसँग मिल्ने व्यक्तिको नाश हुनु अवश्यम्भावी छ ।
हात्तीको जीउ ठूलो भए तापनि त्यो माहुतेले समातेको सानो अंकुशेको वशमा पर्छ भने के अंकुशे र हात्तीबराबर हुन्छन् र ? हुँदैनन् । बत्ती बलेपछि धेरै गाढा अँध्यारो भए पनि हराउँछ । त के अँध्यारो बत्ती बराबर छ र ? छैन । सानो भईकन पनि वज्रले ठूला–ठूला पहाडहरू चूरचूर पारेर फोर्दछ । त के पहाड वज्रबराबर छन् र ? छैनन् । यसैले मोटो र तगडा मात्रैले केही लाभ हुँदैन, जसमा हिम्मत छ, तेज छ ऊ नै बलियो मानिन्छ, किनकि ठूलो मोटो र हृष्टपुष्ट जस्तोसुकै भए पनि हिम्मत भए नै बलियो हुन्छ ।
–चाणक्यको नीतिशास्त्र

Leave A Comment