एप्पलको अर्को कदमः स्वचालित कार

आइतबार, २६ मङि्सर २०७३, १० : ०८ शुक्रवार , Kathmandu
एप्पलको अर्को कदमः स्वचालित कार

आइफोनलगायत ग्याजेट उत्पादन गर्दै आएको एप्पलले स्वचालित कार बनाउने घोषणा गरेको छ । उसले पहिलो पटक आधिकारिक रूपमै स्वचालित गाडी बनाउने तयारीमा जुटिरहेको उल्लेख गरेको छ । कम्पनीका अनुसार उसले स्वचालित गाडी निर्माणमा ठूलो लगानी गरेको छ ।
एप्पलले अमेरिकी यातायात नियामक प्राधिकरणलाई एक पत्र लेखेर भनेको छ कि ऊ, कैयन् क्षेत्रमा खास गरी यातायातको क्षेत्रमा स्वचालित प्रणालीको सम्भावनालाई लिएर निकै उत्साहित छ ।
एप्पलका अनुसार स्वचालित गाडीका धेरै सामाजिक फाइदा छन् र ती सबै फाइदाको उपयोग गर्नुपर्छ । लामो समयदेखि एप्पलले स्वचालित गाडी बनाउन थालेको हल्ला चलिरहेको भए पनि ऊ आफैँले यसको पुष्टि गरेको थिएन । तर, अहिले पहिलो पटक एप्पलले स्वचालित गाडी बनाउन थालेको कुरा पुष्टि गरेको छ ।
एप्पलले हालै केही यस्ता इन्टरनेट डोमेन नाम दर्ता गराएको छ जसको सम्बन्ध गाडीहरूसँग छ । एप्पल डट कार तथा एप्पल डट अटो जस्ता डोमेन एप्पलले दर्ता गराएको छ ।
एप्पलले स्वचालित गाडीको परीक्षणका लागि धेरै नियम कानुन नतेर्साउन पनि सरकारी निकाय समक्ष अनुरोध गरेको छ । एप्पलले स्वचालित गाडी निर्माणको क्षेत्रमा लागेका अन्य कम्पनीलाई पनि आग्रह गरेको छ कि सबै कम्पनीले दुर्घटनाबारे सबै तथ्यांक र जानकारीको साझेदारी गरुन्, जसले गर्दा सबै कम्पनी मिलेर अरू सुरक्षित प्रणाली बनाउन सकियोस् ।
गुगलले यसअघि नै स्वचालित कारको सडकमै परीक्षण गरिरहेको छ । विद्युतीय गाडी बनाउने कम्पनी टेस्लाले सबै गाडीमा स्वचालित प्रणाली जडान गर्ने बताइसकेको छ ।

Leave A Comment