देश एउटा अगेनु

आइतबार, २६ मङि्सर २०७३, १० : ०० ईश्वर दाहाल , Kathmandu
देश एउटा अगेनु

जाडो बढ्दैछ । बढ्दो जाडोमा बुटवलले आगो बालिरहेको छ । अग्निकुण्डको केन्द्र बुटवल छ भने पाल्पा, अर्घाखाँची र गुल्मी सस्याना अगेनु बनिरहेका छन् । कतिपयलाई अगेनुवरिपरि उभिन निकै हतारो छ । उनीहरूले आगो बाल्नुसँग आफ्नो भविष्य, सपना र प्राप्तिको हिसाबकिताब गरिरहेका छन् । अग्निकुण्डलाई आवश्यक दाउरा जुटाउने कार्यको ठेक्का एमालेले लिएको छ । मूल ठेक्का एमालेको भए पनि पेटी ठेकेदार बन्ने दौडमा टोपबहादुर रायमाझी र चन्द्र भण्डारी पनि दौडिरहेका छन् । दैनिक ज्यालादारीमा भने माले र राष्ट्रिय जनमोर्चालगायत क्रियाशील छन् ।
केही वर्ष अगाडिसम्म एउटा मान्यता थियो । उक्त मान्यता अनुसार नेपालमा आगो फागुनको अन्त्य र जेठको आधाआधीसम्म मज्जाले दन्किन्छ भन्ने विश्वास गरिन्थ्यो । २००७, २०३६, २०४६ र २०६२÷६३ को नजिरमा निर्मित मान्यता अहिले पूरै बदलिएको छ । यो मान्यतालाई आमूल परिवर्तन गराउने श्रेय मधेश आन्दोलनलाई जान्छ । जसले २०६३ माघको मध्य शीतलहरमा पूर्वी तराईका जिल्लाहरूमा चर्काे आगो बालेको थियो । पोहोर पनि मधेश आन्दोलनले शीतलहरकै आसपास नाकाबन्दीरूपी आगो बालेर मधेश मात्र होइन, हिमाल र पहाडका गाउँहरूलाई पनि सेक्नु सेकेको थियो । मधेशी दल र एमाले दुई नदीका दुई किनारा जस्ता छन् । लाग्छ, उनीहरूको मिलन असम्भव छ । तर, आगो बाल्ने कुरामा भने उनीहरूबीच गज्जबको शैली र स्वरूप मिल्दो रहेछ ।
हाम्रो पूर्वीय दर्शन र वाङ्मयले अग्नि महिमालाई उल्कै महŒव दिएको छ । सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको पहिलो मन्त्र नै अग्नि उपासनासँग सम्बन्धित छ । यसरी हेर्दा अग्नि पूजन हाम्रो चरित्र र स्वभाव हो । हरेक मांगलिक कार्यमा आगो अनिवार्य छ । अग्निकुण्डबिना कुनै पनि शुभ कार्य सम्पन्न हुँदैन । अग्निकुण्डका लागि समिधा चाहिन्छ । हाम्रा राजनीतिक दलहरूले पनि आफ्ना आवश्यकताअनुसार अग्निकुण्ड निर्माण गर्दै आएका छन् । कहिले पूर्वी मधेश अग्निकुण्ड बन्छ त कहिले थारुवान । कहिले सुर्खेत बन्छ त कहिले बुटवल । अग्निकुण्डको स्वरूप र शैलीअनुसार समिधा पनि फरक फरक हुनु स्वाभाविकै हो । कहिले जनवादी शासन समिधा बन्छ त कहिले संघीयता । कहिले राष्ट्रियता बन्छ त कहिले स्वायत्तता ।
अहिले एमालेले राष्ट्रियतालाई समिधा बनाएको छ । बुटवललाई अगेनु बनाएर राष्ट्रियताको समिधा होम्दा आगामी निर्वाचनमा राम्रै पाती–प्रसादको उपभोग गर्न पाइन्छ भन्ने एमालेको ठहर छ । आखिर राजनीतिक दलको यज्ञ भनेकै निर्वाचन हो । जो अब्बल पुरोहित बन्छ, उसैले ठूलो यज्ञ भाग पाउँछ । राष्ट्रियतालाई होमेर मूल पुरोहित बन्ने एमाले सपना बुटवलरूपी अगेनुले पूरा गर्ला÷नगर्ला ? शाखा पुरोहित बन्न भगीरथ प्रयत्न गरिरहेका चन्द्र भण्डारी र टोपबहादुर रायमाझीको भविष्य के होला ? ज्योतिषाचार्यहरूलाई पनि फलादेश बताउन मुस्किल छ ।
अगेनु, आगो र समिधाको जोरजाम गर्न सबैभन्दा सिद्धहस्त पार्टी माओवादी थियो । तर, समयको कठोर प्रवाहले माओवादीको चातुर्य स्वाहा भएको छ । संसदीय व्यवस्था रौरव नर्क भएको दाबी गर्दै माओवादीले सिंगो देशलाई नै सशस्त्र विद्रोहको अगेनु बनायो । कहिले सामन्ती सफाया, कहिले सुरुङ युद्ध, कहिले मालिकसँग वार्ता, कहिले राष्ट्रिय स्वाधीनता त कहिले राष्ट्रिय मुक्तियुद्ध नामका समिधा होम्दाहोम्दा माओवादीले २०६४ चैतको यज्ञमा सबैभन्दा ठूलो यज्ञ भाग पायो । माओवादी आफैँले होमेका समिधाहरू राम्रो गरी जलेनन्, बरु नजलेका समिधाले माओवादीलाई नै जलायो र २०७० को यज्ञमा तेस्रो दर्जाको पुरोहित बन्यो । अहिले माओवादीसँग अगेनु पनि छैन र आफ्ना भागका समिधाहरू अरूकै हातमा पुगिसकेका छन् ।
मधेशवादी दलहरूले पनि मधेशलाई रामै्र अगेनु बनाए । उनीहरूले बालेको आगोको रापले काठमाडौँलाई खलखली पसिना छुट्यो । संघीयता र समावेशिताको समिधाले मधेशी दलहरूलाई चौथो शक्तिको रूपमा सिंहदरबार भिœयायो । तर, उनीहरूले जति पाए, त्यसको संचिता गर्न सकेनन् । अहिले मधेशी दलहरूसँग गज्जबका समिधा त छन्, तर मजबुत अगेनु छैन । अर्थात्, अगेनुको आगोले आवश्यकताअनुसार ऊर्जा निकाल्छ भन्ने उनीहरूलाई नै विश्वास छैन ।
समयले पनि विचित्रलाग्दो कोल्टे फेर्छ । पुरानो अनुभव र रंगढंग भएका कांग्रेस र एमालेसँग अगेनु बनाउने औजार र नयाँनयाँ समिधाहरू थिएनन् । उनीहरूले उहिल्यै उहिल्यै पकाइसकेका मिष्टान्नहरू भण्डारण गरेका थिए । त्यही पुरानो पाकशालामा भण्डारण गरेका मिष्टानहरूमार्फत कांग्रेस र एमालेले गुजारा गरिरहेका थिए । कांग्रेस–माओवादी गठबन्धनले ओली सरकार गल्र्याम्म भएपछि एमालेले अगेनु निर्माणस्थल र समिधाको खोजलाई तीव्र बनाएको थियो । सरकारले संविधान दर्ता गराएर एमालेलाई प्रदेश न. पाँचरूपी अगेनु र राष्ट्रियतारूपी समिधा उपलब्ध गराइदियो । र, अहिले एमाले अहिले बुटवलमा आगो बालेर आफ्नो रोटी सेकिरहेको छ ।
कांग्रेसले अगेनु र समिधा बिर्सिएको दशकौँ भइसक्यो । नयाँ यज्ञ, अगेनु र समिधाको झन्झटिलो खोजबाट कांग्रेस मुक्त छ । बरु आधा शताब्दी पुरानो बीपी पुराणको वाचनमा नै कांग्रेसले आफ्नो श्रेष्ठता भेट्टाएको छ । आवश्यकताअनुसार दुई–पाँच वर्षमा कांग्रेस बीपी पुराणलाई गाउँगाउँमा लगेर वाचन गर्छ । अनि, अर्का चार–पाँच वर्षका लागि दरिलो पोकोमा पोको पारेर थन्क्याउँछ ।
अगेनु भोगाइ हामी नेपालीको नियति हो । अगेनु कथा हाम्रो इतिहास हो । नेपाली राजनीति अगेनुको सिर्जना गर्छ र समिधा होमिरहन्छ । कहिले माओवादीले होम्छन्, कहिले मधेशवादीले होम्छन्, कहिले एमालेहरूले होम्छन् । देशलाई अगेनु बनाएर आफ्नो रोटी सेकिरहन्छन् । जबसम्म आफ्नो भागको रोटी पाक्दैन, तबसम्म अगेनु निर्माण र समिधाको कथा अन्त्य हुँदैन ।
बडो मज्जाको कुरो त के छ भने स्वदेशी दाजुभाइमात्र होइनन्, विदेशी मित्रहरू पनि नेपाललाई अगेनु बनाउन मरिहत्ते गरिरहन्छन् । नेपाल कहिले अमेरिकाले जोरेको समिधाको अगेनु बन्छ त, कहिले भारतले जोरेको । पछिल्लो समय उत्तरी मित्रले पनि अगेनु र समिधाप्रति उल्कै चासो राख्न थालेको छ ।
पृथ्वीनारायण शाहले हाम्रो देशलाई दुई ढुंगाबीचको तरुल भनेका थिए । उनको यो पुरानो कथामा हामीले पुनर्विचार गर्ने बेला आएको छ । अब हाम्रो देश तरुल होइन, तरुल पोल्ने अगेनु बन्यो । धर्म, भाषा, जात र अन्य विभिन्न विषयलाई लिएर विदेशीहरू पनि हाम्रो देशरूपी अगेनुमा आगो ताप्न आइरहन्छन् ।
बुटवलको आगोमा सबैले सबै थोक देखेका होलान् । कसैको हृदयमा प्रदेशसभाको मुख्यमन्त्रीको योजना सल्बलाएको होला । कसैको आँखामा केन्द्रीय सदस्यको सपना होला । कसैले माननीयका लागि आवश्यक भोट डिपोजिट भएको निक्र्याेल गरेका होलान् । जसले जे देखे र सोचे पनि अन्त्यमा सिंगो देश नै अगेनु बन्ने हो र जनता नै समिधा बन्ने हुन् ।

 

Leave A Comment