जाडो र छालाका समस्या

शनिबार, २५ मङि्सर २०७३, १० : ५० डा. धर्मेन्द्र कर्ण , Kathmandu
जाडो र छालाका समस्या

जाडोमा घाम सबैका लागि प्यारो हुन्छ । तर, निरन्तर घाममा बस्दा छालामा भने अल्पकालीन तथा दीर्घकालीन रूपमा विभिन्न असर देखापर्न सक्छन् । गोरो छाला हुनेले धेरै समय घाम ताप्दा सन बर्न हुने समस्या भोग्नुपर्ने हुन्छ । घामकै कारण चायापोतोको समस्या पनि बढ्ने गर्छ । चायापोतोलाई मेडिकल टर्ममा मेलज्मा वा कोलाज्मा भनिन्छ । विशेष गरी महिलाहरू गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो । जुन हर्मोनको गडबडीका कारणले हुन्छ भनी सोचिए पनि चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको छ ।
छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ । छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने सेलले मेलानिन भन्ने तŒव उत्पादन गर्छ । मेलानिन घाम तथा अन्य कृत्रिम लाइटमा पनि उत्तिकै सक्रिय हुन्छ । घामको किरण अनुहारमा परेपछि मेलानिन भन्ने तŒव छालाको सतहमा फैलिन थाल्छ । घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ । धेरै कम मानिसमा मात्र घामको किरणले यो मेलानिन भन्ने तŒव सक्रिय हुँदैन र चायापोतो देखिँदैन । मेलानिन सक्रिय भएर छालाको सतहमा देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो ।
चायापोतोबाट जोगिन अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ । मेलानिन भन्ने तŒव आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्युटरमा काम गर्दा पनि असर गर्ने भएकाले लाइटबाट छालालाई जोगाउने उपाय अपनाउँदा मात्र चायापोतोको समस्याबाट बच्न सकिन्छ ।
‘तीन महिनामा चायापोतो चट’ भन्ने विज्ञापनको पछि लागेर जथाभावी औषधि प्रयोग गर्नु हुँदैन । चायापोतो एक पटक आइसकेपछि पूर्ण रूपमा हटेर जाँदैन । विज्ञापनका पछि लाग्नु भनेको आफ्नो अनुहारको छालालाई झन् बिगार्नु हो । टीभी सप, स्काई सप नेपाल तथा पत्रपत्रिका, रेडियो र टेलिभिजनको फर्माइसमा औषधि तथा क्रिम प्रयोग गर्नु हुँदैन । नक्कली सामग्रीले छालाको रेसा नै देखिने गरी पातलो बनाउँछन् । प्रयोग गरेलगत्तै दाग गएजस्तो देखिए पनि दुईतीन हप्तापछि अनुहार पूरै ढाक्ने गरी पोतो देखिन्छ । विज्ञापन पढेको वा सुनेको भरमा क्रिम लगाउने अनि ब्युटिपार्लर धाएर पनि केही सीप नलागेपछि महिलाहरू चिकित्सककोमा पुग्ने गरेका छन् । चायापोतोलाई ‘मेन्टेन’ गर्न सकिन्छ । धेरै बेर घाममा नबस्ने, अनुहारको छालालाई घामबाट जोगाउन सनस्क्रिन लोसन लगाउने । एक पटक लगाएको लोसनले तीनचार घण्टामात्र काम गर्छ । त्यसैले दिनमा दुईतीन पटक लोसन लगाउने । चिकित्सकको सल्लाहमा ‘केमिकल पिर्लस’ प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ थाइराइड हर्मनको गडबडीले पनि चायापोतो देखिने भएकाले थाइराइडको उपचार गर्नुपर्छ । चिकित्सकको निगरानीमा औषधि तथा क्रिम लगाएर केही कम गर्न सकिए पनि चायापोतो पूरै हट्दैन ।
चिलब्लेन्सको समस्या
जाडो याममा छालासम्बन्धी हुने अर्को समस्या भनेको हातखुट्टाका औँला सुन्निने, चिलाउने, पोल्ने तथा फुटेर घाउ हुनु हो । यस्तो खालको समस्यालाई मेडिकल भाषामा चिलब्लेन्स अथवा पर्नियोसिस भनिन्छ । यस्तो समस्या हुँदा चिसोले हातखुट्टाका औँला तथा नाकको टुप्पो, कानको लोती सुन्निने हुन्छ । यी अंगमा रातो हुने, चिलाउने र घाउसमेत हुन सक्छ । यो समस्या साधारणतयाः बच्चा र ४० वर्षभन्दा माथिकोमा बढी देखिन्छ । तर, यो समस्या जुनसुकै उमेरमा पनि देखिन सक्छ ।
जाडोमा शरीरका अत्यन्त चिसो हुने भाग जस्तैः हातखुट्टाका औँला, नाकको टुप्पो, कानको लोतीमा भएका रक्तनलीहरू साँघुरिन्छन् । जसले गर्दा ती भागमा रक्तसञ्चार कम हुन्छ । जब अचानक यी चिसो भागलाई न्यानो बनाउँदा वा तताउँदा रक्तनली एक्कासि खुम्चिन्छन् जसले गर्दा केही मसिना रक्तनली फुट्छ र आन्तरिक रक्तस्राव हुन्छ र ती भागमा रातो हुने, चिलाउने र पोल्ने हुन्छ ।
यस्तो समस्या विभिन्न अवस्थामा देखिन सक्छ । यो समस्या वंशानुगत पनि हुन सक्छ । महिलामा यो समस्या बढी देखिन्छ । बस्ने कोठा धेरै चिसो छ भने यस्तो समस्या बढी देखिन्छ । धेरै व्रत बस्ने, पानी कम पिउने व्यक्तिलाई यो बढी हुने गरेको पाइन्छ । यो समस्या प्रत्येक वर्ष दोहोरिएको छ भने छालाको बाथसँग सम्बन्धित हुन सक्छ । शरीरमा चिनीको मात्रा बढी र रगतमा बोसोको मात्रा धेरै छ भने पनि यो समस्याले बढी दुःख दिन सक्छ । यसलाई समयमै रोकथाम र उपचार गरिएन भने सुन्निएको रातो औँलाको भागहरू फुट्न सक्छ र घाउ हुन्छ । घाउ पाकेर हाडको इन्फेक्सन पनि हुन सक्छ ।
सुत्ने एवं बस्ने कोठा न्यानो बनाउनुपर्छ । सकेसम्म चिसोपानी चलाउनु हुँदैन । चलाउनै परेमा बाक्लो खालको रबरको पञ्जा लगाएर चलाउनुपर्छ । भेसलिन, पेट्रोलियमजेली वा लोसन लगाउनुपर्छ । त्यसपछि पञ्जा लगाएर हातलाई न्यानो राख्नुपर्छ । धेरै व्रत बस्ने गर्नुहुँदैन । न्यानो कपडा एवं पञ्जा तथा मोजा लगाउनुपर्छ । चिसो मौसममा एक घण्टाको फरकमा मुट्ठी कस्ने र छोड्ने गर्ने गर्नुपर्छ । सुगर र रगतमा बोसोको मात्रा नियन्त्रण गर्नुपर्छ ।
सम्पूर्ण शरीरलाई न्यानो बनाउनुपर्छ । धेरै चिसो भयो भन्दैमा एक्कासि तातो बनाउन हिटर वा ग्यास बालेर सेक्नु हुँदैन । हात तथा खुट्टाका औँला सुन्निने, चिलाउने, पोल्ने तथा फुटेर घाउ लक्षण देखिएमा तुरुन्त तातो बनाउने उपाय झन् बढी हानिकारक हुन सक्छ । लक्षण बढ्दै गएमा हाइ पोटेन्ट कोटीको स्टेरोइड औषधि सेवन गर्नुपर्छ । घाउ पाकेको छ भने एन्टिबायोटिकयुक्त मलम लगाउनुपर्छ । यति गर्दा पनि सुधार नदेखिएमा छालारोग विशेषज्ञसँग जँचाएर थप औषधि उपचार गर्नुपर्ने हुन्छ ।

 

Leave A Comment