लेकका हामी केटाकेटी

शनिबार, २५ मङि्सर २०७३, १० : ३३ शुक्रवार , Kathmandu
लेकका हामी केटाकेटी

प्रस्तुतिः राधिका अधिकारी  

शब्द÷संगीत संयोजनः आभास
संगीतः रामेश
गायनः सामूहिक

२०४३/४४ सालतिर लेखिएको र कम्पोज गरिएको गीत हो यो । त्यतिबेला रामेश दाइ, मञ्जुल दाइ र मलगायत साथीहरू मिलेर  ‘आस्था परिवार’ नामक ब्यान्ड बनाउने तरखर हुँदै थियो । हामी नियमित रिहर्सल गथ्र्याैं । काठमाडौँ, नरदेवीको उत्तरपट्टि स्वर्णिम स्कुलको सानो भवन थियो । त्यही स्कुलको सानो कोठामा हामी संगीत अभ्यास गथ्र्याैं ।
अभ्यासकै क्रममा एक दिन त्यो समयका कथाकार सुन्दर जोशी (जो अहिले अमेरिकामा हुनुहुन्छ) ले मलाई भन्नुभयो, ‘लेकका बच्चाहरूका बारेमा एउटा गीत बनाउनुप¥यो ।’
‘थोरै थिम भन्नू त,’ मैले भनेँ ।
उहाँले थिम दिँदै भन्नुभयो, ‘त्यहाँ एकदमै कुहिरो लाग्छ । पढ्न मन हुँदाहुँदै पनि त्यहाँका बच्चाहरू पढ्न जान पाउँदैनन् । घरको काम उस्तै हुन्छ । यस्तै सामाजिक कथावस्तु समेटियोस् न गीतमा ।’
मैले तत्काल त्यहीँ बसेर लेखेँ–
‘लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौँरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुश्किल छ ।’

रामेश दाइले तुरुन्तै हर्मोनियम लिएर कम्पोज गर्नुभयो । गीत जति लेखिएको थियो, त्यति ट्युनिङ भयो । हामी छुट्टियौँ । सम्भवतः त्यसको पर्सिपल्ट मैले त्यो गीत पूरा गरेँ । त्यसपछि रामेश दाइले कम्पोज गर्नुभयो । यो काम हामीले ग्रुपमा बसेर गरेका थियौँ ।
गीतको प्रचारका लागि हामीले यो गीत धेरै स्कुलका बच्चाहरूलाई सिकायौँ । रामेश दाइ स्कुलमा पढाउनुहुन्थ्यो । म पनि केही स्कुलमा संगीत शिक्षक थिएँ । त्यसैले पनि हामीले हाम्रा स्कुलमा यो गीत गाउन लगायौँ । यो गीत बच्चाहरूमा लोकप्रिय भइसकेको थियो ।
२०५५ सालतिर मैले एउटा स्डुडियो खोलेँ । मैतीदेवी र डिल्लीबजारको बीचमा आफ्नै अपार्टमेन्टमा स्टुडियो खोलेको थिएँ । रामेश दाइले बच्चाहरूको गीतको एल्बम निकाल्ने कुरा गर्नुभयो । मैले ‘आउनुस्, म रेकर्ड गरिदिन्छु’ भनेँ । यो गीतको एरेन्जर र रेकर्डिस्ट म आफैँ हुँ ।
गीत स्वर्णिम स्कुलका नानीहरूले सामूहिक रूपमा गाए । रामेश दाइले नानीहरूलाई लिएर आउनुभएको थियो । उनीहरूले खुल्ला हृदयले गीत गाए । धेरै पटक नानीहरूले अभ्यासमा स्कुलमा यो गीत गाएका थिए । त्यसैले पनि सजिलोसँग सलल गाए । यसरी यो गीतको एउटा यात्रा सकियो ।
यो गीतको भिडियो बनेको छैन । धेरै साथीहरूले भनेपछि मैले गीतको लिरिकल भिडियो बनाएर युट्युवमा हालेको छु । त्योभन्दा अघि नै धेरै जनाले विभिन्न स्कुलमा नानीहरूले प्रस्तुति दिएको भिडियो हालेका थिए ।
म यो गीतको भिडियो नबनोस् भन्ने नै चाहन्छु । हुन त आज समय यस्तो भइसकेको छ कि गीत सुन्नेभन्दा हेर्ने चिज बढी भएको छ । अहिले मैले भिडियो नबनाउने कुरा गर्दा मान्छेहरूलाई अचम्म लाग्ला । मैले यसो भन्नुको कारण छ । यो गीत सुन्ने मान्छेअनुसार मान्छेको दिमागमा एक खालको भिजुअल आफैँ बन्छ । भिडियो बनायो बने यो गीतको फराकिलो दायरा खुम्चन्छ ।
–आभास
(कुराकानीमा आधारित)

लेकका हामी केटाकेटी

 

लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ


हिउँमा कोरेको अक्षर त
एकछिनमा बिलाई जाइजान्छ
दिनभरि हेर्नु छ गाईबस्तु
नहेरे भालुले खाइजान्छ  


नागीमा उडेको धुवाँ त
बादल बन्न जाइजान्छ
बादलको अक्षर आकाशमा
देखेर यो मन कल्पन्छ

कलमले लेख्ने मन थियो
हिउँले पो औँला खाइदियो
कुहिरोमा लुकेको स्कुलले
टाढै बसेर बोलायो

लेकका हामी केटाकेटी
कुहिरोभित्र स्कुल छ
चौँरीलाई चराउँदै दिन बित्छ
पढ्नु र लेख्नु मुस्किल छ ।

 

Leave A Comment