आत्मसुरक्षाका उपाय

शुक्रबार, २४ मङि्सर २०७३, १२ : ४२ शुक्रवार , Kathmandu
आत्मसुरक्षाका उपाय

गिरीबहादुर सुनार पेशाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत रहेको आयोजना कार्यान्वयन निर्देशनालयमा पुनर्वासविज्ञका रूपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरिरहेका उनी तेक्वान्दोका चार डन खेलाडी पनि हुन् । पछिल्लो समय उनी महिलामाथि हुने हिंसाविरुद्ध मैदानमा उत्रेका छन् । हिंसाविरुद्ध शारीरिक र मानसिक रूपमा संरक्षित हुने तरिकाबारे विभिन्न पत्रपत्रिकामा लेखरचना लेख्दै आएका उनी महिलाहरुलाई बल, बुद्धि र विवेक लगाएर यौनजन्य हिंसाको शिकार हुनबाट जोगिने ज्ञान बाँडिरहेका छन् । उनी हाल काठमाडौँमा रहेर महिलाहरुलाई आत्मरक्षाको तालिम दिन व्यस्त छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा उनले पस्केका आत्मरक्षाका केही उपाय यस्ता छन्ः

- शारीरिक हाउभाउमा ध्यान दिनुपर्छ । गलत मानसिकता भएका व्यक्तिको ध्यान सुरुमै महिलाको हाउभाउतिर केन्द्रित हुन्छ ।

- सानो र साँघुरो गल्लीको साटो मान्छेको चहलपहल भएको बाटोबाट हिँड्नु उपयुक्त हुन्छ ।

-रातको समयमा बढी सावधानी अपनाउनुपर्छ ।

-भरसक समूहमा हिँड्ने ।

-अरूले दिएको खानुकुरा विश्वाससाथ खाइहाल्नु हुँदैन । नशालु पदार्थ मिसाएको पनि हुन सक्छ ।

-घुम्न जानुअघि पूर्वयोजना बनाउनुपर्छ र त्यसबारे अभिभावक र साथीभाइलाई जानकारी दिनुपर्छ ।

-घरमा एक्लै भए झ्यालढोकामा चुकुल लगाउनुपर्छ । दुईतीन वटाभन्दा बढी कोठामा बत्ती बाल्नुपर्छ । बाहिरबाट हेर्नेले एक जना मात्रै छैन है भन्ने बुझोस् ।

-बाहिर जाँदा परिचयपत्र बोक्नुपर्छ ।

-रातमा अपरिचित व्यक्तिसँग सकभर लिफ्ट माग्नु हुँदैन । लिफ्ट दिनेको नियत गलत पनि हुन सक्छ ।

- बाटोमा एयरफोन कानमा कोचेर नहिँडौँ ।

-कसैले गलत नियतले नजिक हुन खोज्दा ‘नो’ भन्ने ।

-अप्ठ्यारो परे चिच्याउने–कराउने, प्रहरी बोलाउने । लाज वा अरू कारणले चुपचाप भइदिँदा नराम्रो घटना हुन सक्छ ।

-बन्दुक, खुकुरी, भाला मात्र हतियार होइनन् । तपाईंको साथमै हुने मोबाइल पनि हतियार बन्न सक्छ । मोबाइलको कुना पारेर घाँटीको नशामा हानियो भने जुनसुकै मानिस पनि केही घण्टा बेहोश हुन सक्छ ।

-कसैले तपाईंको झोला तान्यो भने त्यसमा बहुमूल्य सामान छ भनेर तान्ने होइन । उसले बेस्सरी तान्दा झ्याट्टै छोडिदियो भने ऊ ढल्न सक्छ ।

-पत्रिकालाई बेरेर पनि हतियार बनाउन सकिन्छ ।

-कलम, छाता, साँचो, भान्सामा प्रयोग हुने सामान, खुर्सानीको धुलोजस्ता सामानले पनि सुरक्षामा साथ दिन्छन् ।

-केही गाह्रो पर्दा कराउन नसके सिटी फुकिदिने । सिटीको आवाज सुनेर अरू मान्छे आउन सक्छन् र गलत मान्छे भाग्न सक्छ ।

-केही पनि हतियार नभएको खण्डमा कुहिनाले हान्ने, खुट्टाले संवेदनशील ठाउँमा हान्ने, चिथोर्ने, टोक्ने आदि ।

Leave A Comment