‘मनको शान्ति हो संगीत’

शुक्रबार, २४ मङि्सर २०७३, १० : २५ शुक्रवार , Kathmandu
‘मनको शान्ति हो संगीत’

अञ्जु राई, गायिका
नयाँ गीत बजारमा ल्याउनुभएछ । कस्तो छ प्रतिक्रिया ?
भर्खरै बजारमा आएका गीतहरू कार्यक्रममा गाइरहेकी छु । देउसीभैलो कार्यक्रममा पनि खूब गाएँ । सुन्नेहरू सबैले राम्रो छ भनेर हौस्याउनुभएको छ ।
निकै समयपछि नयाँ गीत रेकर्ड भयो नि ?
पहिला केही गीत गरेपछि स्टेज कार्यक्रम, धरान संगीत प्रतिष्ठानका कार्यक्रम र मालिंगो रेस्टुरेन्टमा ब्यान्डसँग गाउन व्यस्त भएँ । तर, आफ्नै नयाँ गीत नहुँदा सबैले सोध्छन् । अफर आए पनि विदेश जान गाह्रो भयो । त्यसैले नयाँ गीत गर्नैपर्ने रहेछ भनेर रेकर्ड गराएँ ।
कसरी लाग्नुभयो संगीतमा ?
सात वर्षको उमेरदेखि नै साई भजन गाउँथेँ । त्यसपछि अन्य गीत पनि गाउन थालेँ । गाउँदानाच्दै हुर्किएँ ।
कस्ता गीत गाउँदा आनन्द आउँछ ?
कलाकार भएका हिसाबले सबै किसिमका गीत मन पर्छ । सुरुमा गरिमा भाग १ एल्बममा सांस्कृतिक गीतहरू गाएकी थिएँ । पप– आधुनिक शैलीको ‘चञ्चल यो मन’ गाएँ । स्रोतालाई आनन्द दिन पाउँदा सन्तुष्ट हुन्छु ।
कुनकुन ठाउँमा कन्सर्ट गरिसक्नुभयो ?
पूर्वका प्रायः सबै ठाउँमा गाइसकेकी छु ।

तपाईंका निम्ति संगीत के हो ?
मनको शान्ति हो संगीत । गाउँदा सबै पीडा भुलिन्छ । त्यसमाथि स्रोताको मायाले झन् जोश दिन्छ ।
सपना के छ ?
धेरै ठूलो सपना छैन । एउटा सक्षम गायिका बन्न सकूँ ।
 
प्रस्तुतिः गोपाल दाहाल

 

Leave A Comment