हदै लोकप्रिय ‘अम्मा’

शुक्रबार, २४ मङि्सर २०७३, १० : १८ शुक्रवार , Kathmandu
हदै लोकप्रिय ‘अम्मा’

हृदयघातबाट भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ । ६८ वर्षीया जयललिता तीन महिनायता अस्पतालमा भर्ती थिइन् । ‘हार्ट फेल’ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । छ पटक तमिलनाडुकी मुख्यमन्त्री बनेकी जयललिता नेतृ बन्नुअघि अभिनेत्री थिइन् । उनले तमिल, कन्नड, हिन्दी र इंग्लिस गरी तीन सयभन्दा बढी फिल्ममा काम गरेकी छिन् । उनको करिअरको एक मात्र इंग्लिस फिल्म ‘द इपिसल’ थियो ।
सन् १९४८ मा मैसूरको तमिल ब्राह्मण परिवारमा जयललिताको जन्म भएको थियो । हजुरआमाले उनको नाम ‘कोमलावल्ली’ राखेकी थिइन् । दुई वर्षकी हुँदा जयललिताले बुबालाई गुमाइन् । पिताको मृत्युपछि परिवारको संघर्ष सुरु भयो । आमा ‘वेदवल्ली’ले नाम परिवर्तन गरी ‘सन्ध्या’ राखिन् र तमिल फिल्ममा काम गर्न थालिन् । जयललिता मावली हजुरआमा–बासँग बेंगलुरुमा बस्न र पढ्न थालिन् ।
भारतीय मिडियालाई अन्तर्वार्ता दिने क्रममा जयललिताले भनेकी थिइन्– ‘मेरी आमा क्यारेक्टर आर्टिस्ट थिइन् । म बेंगलुरुमा र आमा चेन्नईमा बस्नुहुन्थ्यो । उहाँ मलाई भेट्न आउनुहुन्थ्यो । मलाई फेरि छोडेर जानुहुन्छ कि भनेर म उहाँ सारीको किनार समातेर सुत्थेँ । मलाई थाहै नदिई आमा त्यो सारी फुकाएर जानुहुन्थ्यो । मेरो हातमा सारीको किनार मात्र हुन्थ्यो ।’
जयललिता पढाइमा अब्बल थिइन् । तैपनि, उनकी आमाले उनलाई फिल्ममा काम गर्न लगाइन् । १३ वर्षको उमेरमा बालकलाकारका रूपमा उनले काम सुरु गरिन् । १६ वर्षको उमेरमा ‘वेन्नीर अढाई’ (सेतो पहिरन) नामक तमिल फिल्ममा उनले काम गरिन् । यस फिल्ममा उनी विधवाको भूमिकामा थिइन् । फिल्मले ‘ए’ सर्टिफिकेट पाएको थियो र १८ वर्षमुनि भएकाले उनले आफैँले भने हलमा गएर फिल्म हेर्न पाइनन् ।
क्लासिकल म्युजिक, वेस्टर्न क्लासिकल पियानो र विभिन्न क्लासिकल डान्सको तालिम लिएकी जयललिताले दक्षिण भारतीय फिल्मका सुपरस्टार मरुदुर गोपालन रामचन्द्रन (एमजीआर), शिवाजी गणेशन, राजकुमार, एनटी रामाराव, रविचन्द्रनसँग फिल्म गरिन् । एमजीआरसँग उनको जोडी हिट थियो । त्यतिबेलाको समयका हिसाबले जयललिताले फिल्ममा धेरै ‘बोल्ड सिन’ दिएकी थिइन् । उनी स्कर्ट लगाउने पहिलो तमिल स्टार थिइन् ।
सन् १९७०–८० का दशकमा तमिल फिल्म इन्डस्ट्रीमा उनको राज रह्यो । सन् १९६५ देखि १९८० का बीच उनी अधिकतम पारिश्रमिक पाउने अभिनेत्री थिइन् । यस बीच उनले १ सय ४० फिल्म गरिन् । जसमा १ सय २० ब्लकबस्टर साबित भएका थिए । सन् १९६८ मा फिल्म ‘इज्जत’ बाट उनले बलिउडमा प्रवेश गरेकी थिइन् । फिल्ममा धर्मेन्द्र मुख्य भूमिकामा थिए । तर, बलिउडले उनलाई लोभ्याउन सकेन । उनको आकर्षण तमिल फिल्मतिरै रह्यो ।
जयललिताले तमिल फिल्म ‘पत्तिनकाडा पत्तनामा’ का लागि सन् १९७३ मा राष्ट्रिय अवार्ड पाइन् । फिल्म ‘पत्तिनकाडा पत्तनामा’ र ‘सूर्यागान्धी’ का लागि क्रमशः सन् १९७२ र ७३ मा पनि उनले फिल्म फेयर अवार्ड हात पारिन् । तेलगु फिल्म ‘श्री कृष्णा सत्या’ का लागि सन् १९७३ मा पनि उनले फिल्म फेयर अवार्ड पाइन् । सन् १९७१ देखि १९७५ सम्म जयललितालाई पाँच पटक तमिलनाडु स्टेट फिल्म अवार्ड मिल्यो ।
तमिल फिल्मबाट प्रशस्तै नाम कमाएकी जयललिताको राजनीतिक करिअर सन् १९८२ देखि सुरु भयो । दक्षिण भारतको राजनीतिका दक्षिण भारतको राजनीतिका ‘आइकन’ मानिने एमजीआरले उनलाई राजनीतिमा ल्याएका थिए । सन् १९८२ मा उनी ‘अल इन्डिया द्रविड मुन्नेत्र कझगम’ (एआईएडीएमके) पार्टीकी सदस्य बनिन् । त्यतिखेर उनी ३४ वर्षकी थिइन् । सन् १९८३ मा उनी पार्टीकी प्रचार सचिव बनिन् । सन् १९८४ मा एमजीआरले उनलाई राज्यसभामा पठाए । सन् १९८९ सम्म उनी सांसद रहिन् । सन् १९८७ मा एमजीआरको मृत्युपछि पार्टी दुई भागमा बाँडियो । जयललितालाई मन नपराउनेहरूले एमजीआरकी श्रीमती ‘जानकी’ लाई मुख्यमन्त्री बनाए । तर, १९८९ को चुनावमा पार्टी हारेपछि विरोधीहरू पनि फेरि जयललितालाई समर्थन गर्न पुगे । सन् १९९१ को चुनावमा कांग्रेससँग गठबन्धन गरेको जयललिताको पार्टीलाई बहुमत मिल्यो र उनी पहिलो पटक तमिलनाडुकी मुख्यमन्त्री बनिन् ।
बाल्यकालमा जयललिता आफ्नी आमालाई अम्मो भन्थिन् । सन् १९९१ को दमदार जीतपछि उनका प्रशंसक उनलाई ‘अम्मा’ भन्न थाले ।
यसपछि सन् २००१ मा उनी मुख्यमन्त्री बनिन् । तर, सुप्रिम कोर्टले उनको नियुक्ति अवैध घोषित ग¥यो । बाध्य भएर उनले आफ्ना विश्वासपात्र मन्त्री ओ. पन्नीसेल्वनलाई मुख्यमन्त्री बनाइन् । मद्रास हाई कोर्टबाट राहत पाएपछि उनी २००२ मा तेस्रो पटक र २०११ मा चौथो पटक मुख्यमन्त्री बनिन् । सन् २०१४ मा आयभन्दा बढी सम्पत्तिका मामिलामा जयललिताले जेल जानुप¥यो र मुख्यमन्त्री पद पनि छोड्नुप¥यो । जयललिता  जेल गएपछि उनका २  सय ४४ समर्थकले आत्महत्या गरेका थिए । यसले उनको असीम लोकप्रियतालाई जनाउँछ । सन् २०१५ मा आरोपबाट मुक्ति पाएर उनी पाँचौँ पटक र मे २०१६ मा  छैटौँ पटक तमिलनाडुकी मुख्यमन्त्री बनिन् ।
राजनीतिज्ञ र सार्वजनिक व्यक्तित्व भए तापनि जयललिता मिडियाबाट टाढा बस्थिन् । उनले आफ्नो जीवनकालमा धेरै कम अन्तर्वार्ता दिएकी छिन् । सन् १९९९ मा सिमी ग्रेवाललाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी थिइन्– ‘राजनीतिमा आउँदा म एकदमै लज्जालु थिएँ ।

मान्छेहरूलाई भेट्न मलाई मन पर्थेन । लाइमलाइटमा बस्नु त झनै मन पर्दैनथ्यो । म त पूरै पर्दापछाडि बस्ने क्यारेक्टर हुँ । साउथको नम्बर वान स्टार भए पनि मलाई यो कहिल्यै मन परेन । तर, एक पटक म जे काम सुरु गर्छु, त्यो चाहिँ अवश्य पूरा गर्छु ।’
उनले तमिलनाडुका गरिब जनताका लागि थुप्रै कल्याणकारी योजना ल्याएकी थिइन् । उनलाई गरिबहरू भगवानै मान्थे ।

Leave A Comment