भाषाका ध्वनिहरू–१

शुक्रबार, २४ मङि्सर २०७३, १० : १४ राम लोहनी , Kathmandu
भाषाका ध्वनिहरू–१

भौतिकशास्त्रको एउटा सिद्धान्तले भन्छ– ‘शक्तिलाई नष्ट गर्न सकिँदैन, निर्माण गर्न पनि सकिँदैन, तर एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न सकिन्छ ।’ प्रकाश शक्ति, विद्युत शक्ति, चुम्बक शक्ति भने जस्तै ध्वनि पनि शक्तिको एउटा रूप हो । भाषाका ध्वनिहरू श्वासप्रश्वासको प्रवाहलाई उपयोग गरेर पैदा गरिएका शक्ति हुन् । रमाइलो कुरा चाहिँ के छ भने यस्ता आवाज पैदा गर्नको लागि प्राणीहरूको शरीरमा छुट्टै प्रणालीको विकास भएको छैन । हामी घाँटीदेखि ओठसम्मको मुख (र नाक पनि) को भाग र त्यसभित्र रहेका विभिन्न अङ्गलाई उपयोग गरेर भाषामा प्रयोग हुने ध्वनि उत्पन्न गर्छौं । अङ्गहरूको बनोट र रूपमा परिवर्तन हुँदै गएपछि विविध ध्वनि निकाल्न सक्ने क्षमता विकास भएको हो । अन्य प्राणीमा अङ्गहरूमा आवश्यक परिवर्तन नभएका कारण तिनीहरू मानिसले जस्तो विविध प्रकारका ध्वनि पैदा गर्न सक्दैनन् । भाषाको विकासमा यो क्षमताको विकास महŒवपूर्ण घुम्ती हो ।
घाँटीमा भोजननली र श्वासनली छुट्टिसकेपछि श्वासनलीको मुखमा ओठ जस्तै बनोटका एक जोडी अङ्ग हुन्छन् । त्यसलाई स्वरयन्त्र (ल्यारिङ्स) भनिन्छ । सामान्य अवस्थामा स्वरयन्त्रका यी दुई ‘ओठ’ खुल्ला नै रहन्छन् र सहज श्वासप्रश्वास भइरहेको हुन्छ । ध्वनि उत्पादन गर्ने समयमा हाम्रा स्नायुहरूले स्वरयन्त्रका यी ओठलाई नियन्त्रण गर्छन् र आवश्यकताअनुसार बन्द गर्ने, आंशिक रूपमा खोल्ने वा पूरै खुल्ने गरी छाड्दछन् । बन्द भएको स्वरयन्त्रका ओठहरू हावाको दबाबको बलले खुल्दा यी ओठमा कम्पन हुन्छन् । यो कम्पनबाट उत्पन्न शक्ति ध्वनिको रूपमा प्रवाह हुन्छ । स्वरयन्त्रका ओठहरू आंशिक रूपमा बन्द छन् भने कति बन्द छन् त्यसको अनुपातमा ओठमा कम्पन हुन्छ र त्यसैअनुसार ध्वनिको गुणमा फरकपन भेटिन्छ । उदाहरणका लागि गह्रुँगो भारी बोकेको बेला वा कन्दै गरेको बेला यी ‘ओठ’ को धेरै अंश बन्द नै हुन्छ । त्यस्तो अवस्थामा पैदा भएको ध्वनि फरक प्रकारको हुन्छ । स्वरयन्त्र सुन्निने वा यसमा सामान्य सङ्क्रमण भयो भने स्वर बस्ने जस्ता समस्या हुन सक्छ । खानेकुरा निल्ने समयमा स्वरयन्त्र बन्द हुन्छ । निल्दै गर्दा बोल्न खोजियो भने वा कुनै कारणवश स्वरयन्त्रको बन्द ‘ओठ’ खुल्यो भने खानेकुरा श्वासनलीभित्र छिर्छ । श्वासनलीले त्यसलाई प्रतिकार गर्छ, जसलाई हामी ‘सर्किएको’ भन्छौँ ।
घाँटी (स्वरयन्त्र) देखि ओठसम्मको भाग वास्तवमा एक प्रकारको हावा भरिएको लचकदार ‘पाइप’ जस्तै हो । यसको लम्बाइ र मोटाइ आवश्यकताअनुसार रूपान्तरण हुन सक्छ । पाइपको मोटाइ र लम्बाइको फरकले ध्वनिको गुणमा फरकपन पैदा गर्छ । यो कुरा पानी भर्दै गरेको गाग्रीबाट आएको फरक आवाजमा अवलोकन गर्न सकिन्छ । गाग्री भरिँदै जाँदा गाग्रीमा हावाको भाग घट्दै जान्छ र आवाज फरक हुँदै जान्छ । जिब्रो र ओठको सहयोगले यसको मोटाइ र लम्बाइमा परिवर्तन गर्न सकिन्छ । जिब्रोको कुनै भाग उठाएर ‘पाइप’ को मोटाइलाई कम गर्न वा हावाको प्रवाहलाई नै अवरुद्ध गर्न सकिन्छ । यसरी हावाको प्रवाहलाई अवरुद्ध गर्दा पाइप दुई भागमा विभक्त हुन्छ । हावा भरिएको पाइपलाई बीचमा हलुका वा ट्याप्प थिचे जस्तै हो यो ।
जिब्रोलाई यथावत राखेर ओठ टम्म गर्न सकिन्छ । यो अवस्थामा प, फ, ब जस्ता ध्वनि पैदा गर्न सकिन्छ । जिब्रोको टुप्पो उठाएर माथिल्लो दाँतको पछाडि छुँदा त, द जस्ता ध्वनि उत्पन्न हुन्छ । त्यस्तै जिब्रोको त्यही टुप्पो अलि पछि लगेर हावाको प्रवाहलाई रोक्ने हो भने ट, ड जस्ता ध्वनि पैदा हुन्छ । जिब्रोको पछिल्लो भागलाई माथि उठाएर तालुतिर जोडेर क, ख, ग जस्ता ध्वनिहरू पैदा गरिन्छ । जिब्रो फर्काएर टुप्पोले मुखको तालुमा छुँदा ष, ण जस्ता ध्वनि पैदा हुन्छ । तमिल, तेलेगु जस्ता द्रबिड भाषामा यी ध्वनि पाइन्छन् । संस्कृतमा पनि यी ध्वनि थिए । नेपाली लेखनमा यी ध्वनि चिह्न भए पनि उच्चारणमा भने पाइँदैन । ञ जस्ता ध्वनि पैदा गर्न जिब्रोको मध्यभागलाई माथि उठाएर तालुमा छुवाउनु पर्दछ । नेपालीमा जिब्रो माथि उठे पनि हावाको प्रवाहलाई रोक्ने गरी तालुमा स्पर्श भने गर्दैन । त्यसैले लेखनमा प्रचलनमा रहे पनि बोलाइमा भने यो ध्वनि छैन । म, न, ञ, ण, ङ ध्वनिलाई नाके व्यञ्जन भनिन्छ । उच्चारण गर्दा हावा नाकबाट पनि निस्कने हुँदा यी ध्वनि नाके भएका हुन् । नाक बन्द गरेर कुनै ध्वनि नाके हो कि होइन चिन्न सकिन्छ ।
ओठ गोलो पार्दा ‘पाइप’ अझ लामो हुन्छ, जस्तै ‘उ’ को उच्चारण गर्दा । ‘ओ’ को उच्चारण गर्दा ओठ गोलो त रहिरन्छ, तर ‘उ’ को उच्चारण गर्दा भन्दा थोरै खुल्ला हुन्छ । ‘इ’ को उच्चारण गर्दा ओठ दायाँबायाँ तन्किएर खुल्ला हुन्छ, तर जिब्रो थोरै माथितिर तानिने हुँदा पाइपको मोटाइ घट्छ । ‘आ’ को उच्चारण हुँदा मुख अझ खुल्छ, जिब्रोको अघिल्लो भाग तलतिर धस्सिन्छ । फलस्वरूप पाइपको मोटाइ बढ्छ । सामान्य रूपमा हेर्दा घाँटीदेखि ओठसम्मको पाइपको लम्बाइ र मोटाइमा हुने परिवर्तन उल्लेखनीय होइन । तर थोरै परिवर्तन नै ध्वनिमा परिवर्तन ल्याउन काफी हुन्छ । ‘उ’ र ‘इ’ को उच्चारण गर्दा जिब्रोको स्थितिमा पनि फरक हुन्छ । ‘उ’ को उच्चारण गर्दा जिब्रोको पछिल्लो भाग माथि उठ्छ, अघिल्लो भाग धस्सिन्छ । ‘इ’ को उच्चारण गर्दा जिब्रोको अघिल्लो भाग माथि उठ्छ । जिब्रोको अघिल्लो भागलाई ‘इ’ उच्चारण गर्दाकै जस्तो अवस्थामा राखेर ‘उ’ उच्चारण गर्दा ओठ गोलो बनाए जस्तै गरेर पैदा गरेको ध्वनि ‘इ’ र ‘उ’ भन्दा फरक हुन्छ । जिब्रोलाई ’उ’ उच्चारण गर्दाको अवस्थामा राखेर ओठलाई ‘इ’ उच्चारण गर्दाको जस्तै दायाँबायाँ फैलाउँदा अर्कै खालको ध्वनि पैदा हुन्छ । पछिल्ला दुई प्रकारका ध्वनि नेपाली, अङ्ग्रेजी भाषामा छैनन् । तर, फ्रान्सेली भाषामा छ । ओठ र जिब्रोको सहायताले पाइपको लम्बाइ र मोटाइलाई फरक पार्दै थुप्रै प्रकारका ध्वनि उच्चारण गर्न सकिन्छ । यसरी उच्चारण गरिएका सबै ध्वनि स्वर हुन् ।
स्वरको उच्चारण हुँदा स्वरयन्त्रबाट फुत्केको श्वासको प्रवाहलाई जिब्रो र ओठले अवरोध गर्दैनन्, मात्र पाइपको लम्बाइ र मोटाइमा परिवर्तन हुन्छ । यो अवस्था भनेको हावा भरिएको पाइपलाई हलुका थिच्दा थिचिएको स्थान थोरै साँगुरिएर पाइपका भित्ताहरू नजिकिए जस्तै हो । जिब्रो र ओठको स्थिति यथावत राखेर उच्चारण अवधि घटबढ गरेर स्वरको ह्रस्व र दीर्घ भेद पैदा गर्न सकिन्छ । त्यस्तै, स्वरयन्त्रका ‘ओठ’ हरूको कम्पनमा फरक गरेर एउटै स्वरलाई बेग्लाबेग्लै स्वरूप दिन पनि सकिन्छ । ‘थोरै कम्पन’, ‘ठिक्क कम्पन’, ‘धेरै कम्पन’, ‘बढ्दो कम्पन’, ‘घट्दो कम्पन’ आदिको कारण स्वरको गुणमा फरक पर्छ । स्वरका यी हरेक भेद सबै भाषामा पाइँदैनन् ।
स्वरयन्त्रबाट निस्केर आएको श्वास प्रवाहलाई ओठ र जिब्रोले कुनै प्रकारको अवरोध गरे भने त्यसरी पैदा हुने ध्वनिलाई ‘व्यञ्जन’ भनिन्छ । भिन्नभिन्न स्थानमा हुने अवरोधले भिन्न प्रकारका ध्वनि पैदा गर्छन् । अवरोधको तरिकामा पनि फरक पर्न सक्छ । पूरै अवरोध भए क, ग, प, ब जस्ता ध्वनि उच्चारण हुन्छन् । आंशिक अवरोध हुँदा स, ज जस्ता ध्वनि उत्पन्न हुन्छन् । ‘ल’ को उच्चारण हुँदा जिब्रोको बीच भागमा पूरै अवरोध हुन्छ, तर दायाँबायाँबाट हावा प्रवाह हुन्छ । ओठमा अवरोध हुँदा एक थरि, दाँतमा अवरोध हुँदा अर्को थरि, तालुमा अवरोध हुँदा अर्कै थरि ध्वनि पैदा हुन्छन् । सबै सम्भावित स्थान र सम्भावित प्रकृतिका अवरोध हरेक भाषामा हुनु जरुरी छैन । भाषाहरूलाई एक अर्काबाट फरक तुल्याउने पहिलो आधार त्यसमा पाइने ध्वनि हो ।
स्वरयन्त्रका ‘ओठ’ हरू खुल्ला छन् भने हावा सहजै प्रवाह हुन्छ । तिनले ‘ओठ’ हरूलाई कम्पित तुल्याउँदैनन् । यसरी प्रवाह भएको श्वासमा ध्वनि शक्ति हुँदैन । यो श्वास प्रवाहलाई ओठ, दाँत, तालु आदि स्थानमा अवरुद्ध गरियो भने ती स्थानमा ध्वनि ‘निर्माण’ हुन्छ । संक्षेपमा, स्रोतको आधारमा तीन खालका ध्वनि भाषामा पाइन्छन् । पहिलो, स्वरयन्त्रमा मात्र पैदा भएको ध्वनि शक्तियुक्त ध्वनि, जस्तै स्वर । दोस्रो, स्वरयन्त्रमा कम्पन नभई प्रवाह भएको श्वासलाई मुखको कुनै बिन्दुमा अवरोध गरेर पैदा भएको ध्वनि । क, च, ट, त, प, स आदि ध्वनि यो वर्गमा पर्छन् । तेस्रो, स्वरयन्त्र र मुखको कुनै भागमा भएको अवरोधको कारण समेत गरेर दुई ठाउँमा पैदा भएको ध्वनि शक्ति भएको ध्वनि । ग, ज, ड, द आदि व्यञ्जन यो वर्गमा पर्छन् ।
क्रमशः...

Leave A Comment