निको हुन्छ निन्द्रामा उठ्ने रोग

बुधबार, २२ मङि्सर २०७३, १० : ०४ शुक्रवार , Kathmandu
निको हुन्छ निन्द्रामा उठ्ने रोग

मेरो भाइ २५ वर्षको भयो । अध्ययनका लागि काठमाडौँमा बस्छ । कलेजको होस्टेलमा बस्ने व्यवस्था मिलाइएको छ । निद्रामा जुरुक्क उठेर जथाभावी हिँड्ने उसको बानीका कारण होस्टलमा बस्ने उसका अन्य साथीलाई डिस्र्टब हुने भन्दै होस्टेल व्यवस्थापनले उसलाई हटाउन खोजिरहेको छ । घरमा हुँदा पनि ऊ यसरी नै निद्रामा हिँड्ने गथ्र्यो । राति ऊ निदाइसकेपछि कहिलेकाहीँ कोठामा बाहिरबाट चुकुल लगाइदिने गरेका थियौँ । ऊ निद्रामा उठेर हिँडेको थाहा पाउनेबित्तिकै उसलाई समाएर सुताउने गथ्र्यौं । कतिपटक घरको कौसी र भ¥याङबाट खस्न लागेको अवस्थामा उसलाई जोगायौँ । तर, होस्टेलमा बस्दा उसलाई केयर गरिदिने कोही नभएकाले निकै समस्या परेको छ । निद्रामा यसरी हिँड्ने कुनै रोग हो कि होइन ? यसको समाधान केही छ कि ?
कृष्ण

तपाईंले प्रश्नमा उल्लेख गर्नुभएको विवरणका आधारमा तपाईंको भाइलाई निद्रासम्बन्धी विशेष प्रकारको परासोम्निया रोग लागेको बुझ्न सकिन्छ । निद्रामा बोल्नेलाई सोम्नालोक्वी र हिँड्नेलाई सोम्नाम्बुलिजम भनिन्छ । यो नौलो रोग होइन । धेरै अघि नै चिकित्सा विज्ञानले पहिचान गरेको रोग हो । धेरैलाई यो समस्याले सताएको हुन्छ । निदाइरहेको अवस्थामा जुरुक्क उठेर हिँड्ने भएकाले दुर्घटना हुने सक्ने सम्भावना बढी हुन्छ । कतिपयको घरको कौसीबाट खसेर तथा भ¥याङबाट लडेर अंगभंग हुने वा मृत्युसमेत हुन सक्छ । त्यसैले यस्ता समस्या भएकाको अभिभावक तथा आफन्तले सर्तकता अपनाउनुपर्छ । जो समस्यामा छ उसलाई केही थाहा नहुने र निद्रामा हुने भएका कारण अन्यले ध्यान दिनुपर्ने हुन्छ । घरपरिवारका अन्य सदस्य पनि राति मस्त निद्रामा हुने भएकाले यस्तो समस्या भएकालाई हेरचाह गर्न निकै कठिन हुन्छ । त्यसैले यो रोगको चिकित्सकीय उपचार छिटोभन्दा छिटो गर्नुपर्ने हुन्छ ।
केही व्यवहार परिवर्तन गर्ने विधि अपनाउँदा पनि समस्याबाट छुटकारा पाउन सकिन्छ । चिया, कफी, कोकजस्ता पेय पदार्थको सेवन बन्द गर्नुपर्छ । चुरोट, सुर्ती तथा मद्यपान गर्नुहुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । राति अबेरसम्म अनिदो नबस्ने गर्दा पनि यस्तो समस्या भएकालाई फाइदा पुग्छ । यसरी व्यवहार परिवर्तन गर्दा पनि समस्या ज्युँका त्युँ रहेमा औषधि सेवन गर्नुपर्ने हुन्छ ।  
औषधि सेवन गरेर गरिने उपचार विधि सुरु गर्नुभन्दा अघि विशेष किसिमको छारे रोग कम्प्लेक्स पार्सियल सिजर हो÷होइन, पत्ता लगाउनुपर्ने हुन्छ । कम्प्लेक्स पार्सियल सिजरका कारण यस्तो भएको रहेछ भने गर्नुपर्ने उपचार विधि र त्यो नभईकन भएको रहेछ भने अन्य विधि अपनाउनुपर्ने भएकाले छारे रोग हो होइन थाहा पाउन मस्तिष्कको विद्युतीय प्रवाह जाँच गर्ने ईईजी परीक्षण आवश्यक पर्छ ।
यो औषधि उपचार गरेर पूर्ण रूपमा निको पार्न सकिने रोग भएकाले छिटोभन्दा छिटो पायक पर्ने मनोचिकित्सक वा न्युरोलोजिस्टसँग परामर्श गरेर उपचार गराउन हुन सल्लाह दिन्छु ।

 

Leave A Comment