गीतको कथा

सोमबार, २० मङि्सर २०७३, ०४ : ४१ शुक्रवार , Kathmandu
गीतको कथा

राधिका अधिकारी

यो सम्झिने मन छ
गीतकारः दिनेश अधिकारी
संगीतकार÷गायकः नारायणगोपाल
एल्बमः गीति यात्रा भाग–१
नारायण गोपालले गाउनुभएको मेरो यो गीत २०४४ सालतिर रेकर्ड भएको हो । नारायण दाइसँग मेरो राम्रै उठबस र संगत थियो । यस  गीतअघि दाइले मेरो ‘तिमी जुन रहरले ममा फुल्न आयौ’ बोलको गीत गाइसक्नुभएको थियो । यो गीत रेकर्ड भएपछि नारायण दाइ र मेरो संगत बाक्लिएको थियो ।
२०४१ सालको दशैँपछिको कुरा हो । म त्यतिबेला लोकसेवा आयोगबाट नेपाल सरकारको न्याय सेवाको सरकारी वकिलको पदमा नियुक्त थिएँ । त्यसपछि मेरो पोस्टिङ बैतडी भयो । बैतडी जानुअघि दाइलाई भेट्न गएँ । त्यसबेला दाइले ‘दिनेश राम्रो गीत लेखेपछि मलाई पठाउनू है’ भन्नुभएको थियो । ‘यो सम्झिने मन छ’ मैले बैतडीबाट हुलाकमार्फत दाइको घरको ठेगानामा पठाएको थिएँ । दाइलाई गीत पठाएपछि हामीबीच थप केही कुरा भएन ।
त्यसपछि मेरो सरुवा बारा जिल्लाको कलैयामा भयो । यो २०४३ सालको कुरा हो । कलैयाबाट बिदामा काठमाडौँ आएको थिएँ । मलाई अझै पनि सम्झना छ, नयाँ सडकको रञ्जना सिनेमा हलको आसपासमा मारवाडी सेवा समिति भन्ने थियो । त्यहाँबाट मैले नारायण दाइलाई फोन गरेँ र भनेँ, ‘म काठमाडौँ आएको थिएँ । समय छोटो भएकाले भेट्न सकिनँ ।’ उहाँले  ‘दिनेश मलाई तिम्रो गीत चाहिएको छ’ भन्नुभयो । मैले ‘दाइ मेरो डायरी त कलैयामा नै छ, ल्याको छैन, तर मैले बैतडीबाट हजुरलाई एउटा गीत हुलाकमार्फत पठाएको छु’ भनेँ । उहाँले ‘म खोज्छु’ भन्नुभयो ।
त्यसपछि हाम्रो सम्पर्क भएन । म कलैया गएँ, उतै थिएँ । २०४४ सालको कुरा हो, म्युजिक नेपालसँग आबद्ध साउन्ड इन्जिनियर प्रदीप उपाध्यायले कलैया घर जान्छु भनेपछि नारायण दाइले ‘यो गीतको टेप दिनेशलाई लगिदिनू’ भन्नुभएछ । म कलैया बसिरहेको बेला प्रदीपजीले मलाई यो गीत दिनुभयो । अनि, बल्ल थाहा भयो गीत रेकर्ड भएछ । यो गीत नारायण दाइको ‘गीति यात्रा भाग–१’ एल्बमका लागि रेकर्ड भएको हो भनेर त्यो बेलाको ‘समीक्षा’ साप्ताहिक पत्रिकामा पढेर थाहा पाएँ ।
२०४० साल पुसमा लेखेको यो गीत २०४३ सालको अन्त्य अथवा २०४४ सालको सुरुवाततिर रेकर्ड भएको हुनुपर्छ । मिति ठ्याक्कै याद छैन ।
गीत लेख्दा म युवा अवस्थाको थिएँ । उमेरकै प्रभाव त होला, त्यो बेला साथीहरूबीच प्रेमको निकै चर्चा हुन्थ्यो । त्यही बेला कतिले कतिलाई बिर्सिदे भन्थे । हो, त्यही बेला मनमा लागेको थियो– बिर्स भन्दैमा बिर्सन सकिन्छ होला र ? त्यही भाव समातेर मैले लेखेको हुँ– ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी, तिमी नै भनिदेऊ ए जाने निठुरी ।’  
नारायण दाइले आफ्नै संगीतमा गाउनुभएको यो गीतलाई धेरैले माया गरिदिनुभयो । गीतको म्युजिक भिडियो आजसम्म बनेको छैन । त्यसतर्फ मैले पनि सोचिनँ । ‘नारायणगोपाल स्वर्णिम सन्ध्या’ नामक कार्यक्रममा उहाँले गाउनुभएको छायांकनकै यो गीत टेलिभिजनहरूमा प्रसारण हुँदै आएको छ । केही साथी यो गीतको म्युजिक भिडियो बनाउने प्रस्ताव पनि लिएर आउनुभएको थियो । तर, म डराएँ । डराएँ यस अर्थमा गीतभन्दा म्युजिक भिडियो कमजोर बन्यो भने के गर्ने ?
–दिनेश अधिकारी

यो सम्झिने मन छ, म बिर्सूं कसोरी
तिमी नै भनिदेऊ, ए जाने निठुरी

यी औँला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिनँ आफ्नै प्रतिविम्ब छोप्न
म सक्दिनँ छाती फुटाएर जोड्न

यो सम्झिने मन छ...

पखाले यी आँखा पनि दृश्य उही छ
जहाँ नै म हिँडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न

यो सम्झिने मन छ...

 

Leave A Comment