टिम नै गुमाउने गरेर भएका दुर्घटना

आइतबार, १९ मङि्सर २०७३, ११ : ४७ शुक्रवार , Kathmandu
टिम नै गुमाउने गरेर भएका दुर्घटना

लोकोमोटिभ यारोस्लाभ आइस हकी टिम
रसियाको हकी क्लब लोकोमोटिभ यारोस्लाभको टिम चढेको विमान सन् २०११ को सेप्टेम्बरमा दुर्घटनाग्रस्त भएको थियो । रसियन ओपन च्याम्पियनसिपको उपाधि तीन पटक जितेको यो क्लबको टिम सिजनको पहिलो आइस हकी खेलका लागि बेलारुस जाँदै गरेका बेला विमान दुर्घटना भएको हो । यसमा क्लबका सबै खेलाडी, प्रशिक्षक र खेल सहयोेगी गरेर ४४ जनाको ज्यान गएको थियो । रसियाको शहर यारोस्लाभको विमानस्थलबाट उड्नेबित्तिकै टावरमा ठोक्किएको विमानमा आगो लागेका थियो । विमान विमानस्थलबाट २ किलोमिटर टाढा दुर्घटना भएको थियो ।
जाम्बिया राष्ट्रिय फुटबल टिम
सन् १९९३ को अप्रिल २७ मा जाम्बियाको राष्ट्रिय फुटबल टिम विश्वकप छनोट खेलका लागि सेनेगलको डकार जाँदै गर्दा दुर्घटनामा परेको थियो । जाम्बियाको वायु सेनाको विमान गेबान नजिक दुर्घटनाग्रस्त भएको थियो । जाम्बियाका १८ जना फुटबल खेलाडी, फुटबल संघका अध्यक्ष, प्रशिक्षक तथा पत्रकार र अन्य गरेर ३० जना चढेको विमान दुर्घटना भएको थियो । विश्वकप छनोटका लागि राष्ट्रिय टिमलाई डकार पु¥याउन जाम्बियाको वायुसेनाले आफ्नो विमान दिएको थियो ।
एलियान्जा लिमा
पेरुको सबैभन्दा सफल फुटबल क्लब एलियान्जाका खेलाडी चढेको विमान लिमाबाट फर्कने क्रममा सन् १९८७ मा दुर्घटनामा परेको थियो । अवतरणको केही अघिमात्रै विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा रहेका ४३ जनासहित एलियान्जा लिमा टिमका सबै खेलाडी दुर्घटनामा मारिएका थिए । यी खेलाडी पेरुको कालो शहरमा लिग खेलेर फर्कंदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनामा विमानका चालक मात्र बाँच्न सफल भएका थिए ।
वल्र्ड क्रिस्चियन रग्बी टिम
सन् १९७२ को अक्टोबर १३ मा उरुग्वेको रग्बी टिम वल्र्ड क्रिस्चियनका खेलाडी चढेको विमान दुर्घटनाग्रस्त भएको थियो । उरुग्वेको राजधानीबाट चिलीको सान्टियागो जाँदै गरेको ४५ जना चढेको विमान हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा २७ जना बाँच्न सफल भएका थिए । तर, समयमै दुर्घटनास्थल पत्ता लाग्न सकेन र समयमै उद्धार हुन सकेन । त्यसैले चिसो तथा अन्य कारणले अरू ११ जनाले दुर्घटनास्थलमा नै ज्यान गुमाएका थिए । दुर्घटनाको ७२ दिनपछि १६ जनालाई जीवितै उद्धार गरिएको थियो । यो दुर्घटनामा बाँच्न सफल भएको विषयमा किताब लेखिएको छ । त्यही किताबमा आधारित भएर चलचित्र पनि बनेको छ ।
अमेरिकाको फिगर स्केटिङ टिम
सन् १९६१ मा भएको विमान दुर्घटनामा अमेरिकाको फिगर स्केटिङ टिमका १८ खेलाडीसहित विमानमा रहेका सबै ७३ यात्रुको ज्यान गएको थियो । विमान ब्रसेल्सको विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । टिमका खेलाडी विश्व च्याम्पियनसिपमा भाग लिन प्राग अर्थात् तत्कालीन चेकोस्लोभाकिया जाँदै थिए । अमेरिकी टिमले यो प्रतियोगितामा सन् १९५० देखि दबदबा कायम गरेको थियो । तर, दुर्घटनामा धेरैजसो खेलाडी तथा प्रशिक्षक गुमाएको टिमलाई माथि उठ्न निकै वर्ष लागेको थियो ।

 

Leave A Comment