कस्मेटिक सर्जरी कसलाई आवश्यक ?

आइतबार, १९ मङि्सर २०७३, ११ : ०३ डा. जयनमान श्रेष्ठ , Kathmandu
कस्मेटिक सर्जरी कसलाई आवश्यक ?

‘कस्मेटिक सर्जरी’ भन्ने बित्तिकै सुन्दरता बढाउने सर्जरी हो भन्ने धेरैको बुझाइ छ । ‘कस्मेटिक’ शब्द ‘ब्युटी’सँग सम्बन्धित भएकाले धेरैले यस्तो सोच्नु सामान्य नै हो । तर, कतिपयका लागि कस्मेटिक सर्जरी सुन्दरता बढाउने उपाय सँगसँगै आवश्यकता पनि हुने गरेको छ । आगोले जलेर कसैको च्यापु र घाँटी जोडिएको छ, औँलाहरू एकआपसमा टाँसिएका छन् भने यस्तो अवस्थामा गरिने ‘प्लास्टिक सर्जरी’ ‘कस्मेटिक’ भित्र पर्दैन । यो ‘कन्सट्रक्टिभ’ सर्जरी हो ।
कसैको जीवनयापन सहज बनाउन गरिने यस्ता सर्जरी कसैका लागि भने सुन्दरता बढाउने माध्यम बनिरहेका छन् । आँखा, नाक, ओठजस्ता अंगको बनावट ठीक भएमा मानिस सुन्दर देखिन्छ । ‘बडी रिपेयर’ भनेर गरिने ‘कस्मेटिक सर्जरी’मा अहिले यी अंगलाई चाहेजस्तो साइजमा ढाल्न अपरेसन गराउनेहरू बढ्दै गएका छन् । मेडिकल भाषामा ‘प्लास्टिक सर्जरी’का रूपमा चिनिने ‘कस्मेटिक’ तथा ‘कन्सट्रक्टिभ’ सर्जरी कतिपयका लागि अति आवश्यक पनि हुन सक्छ ।
कस्मेटिक सर्जरीको चाहना धेरैले गरेका हुँदैनन् । आफ्नो अनुहार तथा शरीरमा केही कमजोरी छ र त्यो लुकाउन सकिन्छ भन्ने लागेमा कसैकसैले कस्मेटिक सर्जरी गर्ने चाहना राखेको हुन्छ । कस्मेटिक सर्जरी गराउने भन्ने बित्तिकै पैसा बढी भएर वा धेरै राम्रो देखिन गरेको भन्ने रूपमा पनि बुझ्नु हुँदैन । आँखा, नाक, ओठजस्ता अंगको बनावट ठीक भएमा मानिस सुन्दर देखिन्छ ।
ट्रान्सजेन्डरका लागि कस्मेटिक सर्जरी
यौनिक अल्पसंख्यकका लागि पनि विभिन्न कस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध छ ।  ‘मेल’बाट ‘फिमेल’ बन्न चाहनेहरूका लागि ब्रेस्ट इम्प्लान्ट अपरेसन गर्ने गरिएको छ ।  मेलबाट फिमेल बन्नेहरूका लागि अण्डकोष निकाल्ने, अनुहारलाई सानो देखाउने कस्मेटिक सर्जरी गर्ने गरिएको छ । फिमेलबाट मेल बन्नेहरूका लागि ब्रेस्ट निकाल्ने अपरेसन पनि नेपालमै हुन्छ । स्पष्ट कानुनी प्रावधानको अभावमा लिंग परिवर्तन गर्ने अपरेसन सुरु गर्न सकिएको छैन । कानुन हुने हो भने ट्रान्सजेन्डरका लागि नेपालमै लिंग परिवर्तन गर्ने सर्जरी पनि गर्न सकिन्छ । जानकारीको अभावमा अहिले पनि धेरै ट्रान्सजेन्डरहरू विदेशमा गएर महँगो शुल्कःमा यस्ता सर्जरी गराउन बाध्य छन् । नेपालमा अहिले उपलब्ध सेवा अन्तर्राष्ट्रिय स्तरको रहेको छ ।  
नेपालमा हुने कस्मेटिक सर्जरी
भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी सेवा नेपालमै उपलब्ध छ । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनी टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनी सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने प्रक्रियामा योनीद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनी वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।
मंगोलियन आँखा भएकाहरूको परेला र आँखाको ढकनीको बीचमा जुन ‘सानो’ स्पेस हुन्छ, त्यो फोल्ड नहुन सक्छ । परेला बाहिरसम्म निस्किएको हुँदैन । कतिपयको त परेला नै देखिँदैन । जसले गर्दा आँखा एकदमै साना देखिन्छन् । अपरेस गरेर ढकनी फोल्ड हुने र परेला पनि प्रस्टसँग देखिने बनाउन सकिन्छ । यसो गर्दा आँखा पनि केही ठूलो देखिन्छ । एक पटक अपरेसन गराएपछि यो स्थायी हुने र अपरेसन गरेको भागमै ‘फोल्ड’ हुने भएकाले आँखाको ढकनीमा दाग पनि देखिँदैन ।  
‘नोज रिसेपिङ’ भनिने नाकको मर्मत गर्ने प्रक्रियामा ठूलोलाई काटेर ठिक्कको बनाउने र सानोलाई कुर्करे हाड जोडेर ठूलो बनाउने गरिन्छ । नदेखिने भागबाट गरिने नाकको मर्मतमा ठूलो हुनेको कुर्कुरे हाड फालिने र सानो हुनेको शरीरका अन्य भागबाट कुर्कुरे हाड लिएर जोडिने गरिएको छ । थेप्चो नाकलाई इम्प्लान्ट राखेर चुच्चो बनाउने सुविधा पनि नेपालमा उपलब्ध छ ।  चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ सर्जरी पनि हुने गरेको छ ।
स्तन घटाउने र बढाउने सर्जरी
स्तनमा सिलिकन राखेर ठूलो देखाउने, झोल्लिएको स्तन टाइट बनाउने र ठूलो स्तन घटाएर सानो बनाउने सर्जरी नेपालमा हुन थालेको एक दशक बितिसकेको छ । स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । १८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।
स्तन सानो भएर चिन्ता गर्नेहरू जति छन्, त्यो भन्दा धेरै स्तन ठूलो भएका कारण समस्या भोग्नेहरू पनि छन् । अस्वभाविक देखिने ठूला स्तनका कारण ढाड तथा गर्धन दुख्ने समस्या हुने, हिँडडुल गर्न अप्ठेरो हुने तथा कपडा लगाउँदा मिल्दै नमिल्ने भन्दै कतिपय अविवाहित युवती स्तनको साइज घटाउन चिकित्सककोमा आउने गरेका छन् । यसै गरी झोलिएका स्तनलाई ‘अपलिफ्ट’ गर्ने अपरेसनका लागि पनि महिलाहरू आउने गरेका छन् ।
पेट र हिपको पनि रिपेयर हुन्छ
खानपिन र आरामदायी जीवनशैलीले पेट वरिपरि बोसो लागेर भद्दा देखिने समस्या शहरवासीमा धेरै नै देखिन्छ । एक्सरसाइज गर्ने जटिल र लामो प्रक्रियाका सट्टामा सर्जरीकै माध्यमबाट ‘छिनेको कम्मर’ बनाउन चाहने महिला र पुरुषको संख्या बढ्दो छ । त्यसै गरी ठूलो हिप र थाई भएकाहरूले पनि अपरेसन गरेर नै सानो बनाइरहेका छन् ।
लाइपोसक्सन प्रक्रियाद्वारा पेट वरिपरिको बोसो घटाउन धेरै महिला एवं पुरुष आउने गरेका छन् । यो प्रविधिबाट सानो प्वाल बनाएर अनावश्यक बोसो झिक्ने गरिन्छ । त्यसरी पेटमा झोल्लिएको छालासमेत चिटिक्क पारेर मिलाउने ‘टमी टक’ अपरेसन गराउनेहरू पनि बढ्दै छन् ।  
 

 

Leave A Comment