साँढेको जुधाइ, बाछाको मिचाइ

आइतबार, १९ मङि्सर २०७३, १० : ०४ राम लोहनी , Kathmandu
साँढेको जुधाइ, बाछाको मिचाइ

नेपाली भाषाको ’वर्णविन्यास’ सम्बन्धी विवाद केही दिनअघिको प्रज्ञा–प्रतिष्ठानको निर्णयले थोरै मत्थर पारेको छ । नेपाली लेखनलाई सहज र सरल बनाउने प्रयासको इतिहास लामो छ । केही वर्षअघि नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा २०६७ सालमा एउटा गोष्ठीको आयोजना गरेको थियो । गोष्ठीको निचोडका रूपमा केही निष्कर्ष पनि निकालिए । तिनमा मुख्य गरेर संयुक्त वर्णको लेखन र आगन्तुक तथा तद्भव शब्दहरूको वर्णविन्यास प्रमुख थिए । अर्को महŒवपूर्ण विषय थियो– पदयोग र पदवियोग । यद्यपि, केही निष्कर्षउपर वैकल्पिक विचार आएका र केही सुझावउपर अन्तिम निर्णय गर्नुपूर्व थप छलफल गर्नुपर्ने भन्ने ठहर भएको थियो ।
संयुक्त वर्णको लेखन वर्णविन्यास नभएर लिपिविन्यासको कुरा हो । देवनागरी लिपिमा संयुक्त अक्षरका लागि केही चिह्नहरू छन् । व्यञ्जन वर्णका आधा अक्षरलाई कसरी छरितोसँग लेख्ने भन्ने उद्देश्य हुन सक्छ ती चिह्नहरूको विकास हुनुका पछाडि । जस्तै द् र य लाई ‘द्य’, द् र म लाई ‘द्म’ लेखिने प्रचलनअनुसार ‘पद्य’ र ‘पद्म’ प्रचलनमा छन् । त्यस्तै द् र ध लाई द्ध, द् र द लाई द्द, द् र व लाई द्व आदि । कैयौँ संयुक्त लिपिचिह्न प्रयोगबाट हराइसके । यी लिपिचिह्नको सही विन्यासको बारेमा सर्वसाधारण प्रयोक्तामा एक प्रकारको भ्रम पनि कायमै छ । जस्तो कि ‘द्य’ लाई ‘ध’ ठान्ने– ‘विद्यार्थी’ लेख्दा ‘विध्यार्थी’, ‘विधार्थी’ लेख्ने र त्यस्तै उच्चारण समेत गर्ने गरेको पाइन्छ । त्यस्तै ‘द्ध’ मा कुन सिङ्गो वर्ण हो कुन आधा वर्ण हो भन्ने अलमल सामान्य प्रयोक्तामा देखिन्छ । देख्दा ‘द’ लाई सिङ्गो देखिन्छ, र ‘ध’ चाहिँ आधा देखिन्छ । ‘बुद्ध’ शब्द ‘बुद्ध’ हो कि ‘बुध्द’ हो भनेर स्पष्ट नभएकाहरू धेरै भेटिन्छन् । यसो हुनुको मुख्य कारण अपूर्ण सिकाइ हो । ‘द्य’ भनेको द् र य हो, ‘क्त’ भनेको क् र त हो, ‘द्ध’ भनेको द् र ध हो भन्ने सिकाउनु जरुरी छ ।
प्रज्ञा–प्रतिष्ठानको उक्त गोष्ठीले संयुक्त वर्णलाई सिकाइमैत्री बनाउनु उपयुक्त हुने सुझाव दियो । पछि यसलाई विद्यालयस्तरीय पाठ्यक्रममा लागू गर्न पाठ्यक्रम विकास केन्द्रले त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग र प्रज्ञा–प्रतिष्ठानसँग अन्तिम राय सुझाव माग्यो । दुवै निकायले उक्त सुझाव लागू गर्दा भाषा सिकाइमा सकारात्मक परिणाम देखिने राय दिए । पाठ्यक्रममा लागू भएर आयो । ‘विद्या’ को ठाउँमा ‘विद्या’ लेखियो, ‘बुद्ध’ को ठाउँमा ‘बुद्ध’ लेखियो । ‘संयुक्त वर्णलाई टुक्य्राएर लेख्न प्रोत्साहित गर्ने’ सुझाव ‘टुक्य्राएर नलेखे अशुद्ध हुने’ ढङ्गबाट पढाइ हुन थालेका समाचार पनि आए । २०७२ सालमा प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोशले पनि ‘प्रोत्साहित गर्ने’ नीतिलाई नै पछ्यायो । ‘द्वन्द्व’ शब्दलाई प्राथमिकताका साथ ’द्वन्द्व’ लेखियो । ‘द्वन्द्व’ रूपसँग बानी परेका प्रयोक्ताहरूलाई असहज लाग्यो ।
द्व र द्व दुवै उही हुन्, उच्चारणको हिसाबले कुनै फरक पर्दैन । द्य र द्य पनि उही हुन् । दुवै रूप प्रचलनमा रहिरहेकै छन् । जस्तो ‘विद्या’ मा जसरी ‘द्य’ लाई सहज मानिन्छ, ‘कुद्यो’ मा ‘द्य’ लाई सहज मानिँदैन, ‘कुद्यो’ प्रचलनमा छ । ‘भगवद्विचार’ लेख्नुभन्दा ‘भगवद्विचार’ सहज देखिन्छ । अझ उच्चारणकै कुरा गर्दा ‘विद्या’ को उच्चारण ‘वि.द्या’ हुँदैन, ‘विद्.द्या’ हुन्छ । द र य एकसाथ उच्चारण गरिने हुँदा द्य लेखिनुपर्छ भन्ने तर्कअनुसार ‘कुद्यो’ हुनुपर्छ, न कि ‘कुद्यो’ । ‘द्+य’ लाई ‘द्य’ पनि लेख्ने प्रचलन छँदैछ भने ‘विद्या’ लेख्नै हुँदैन, अशुद्ध हुन्छ भन्नु जायज हुँदैन । एउटा रूपलाई शुद्ध र अर्को रूपलाई अशुद्ध मानिनुपर्ने कुनै कारण छैन । ‘ध’ र ‘द’ को पारस्परिक प्रभावको कारण ‘द्ध’ बनेकोले ‘बुद्ध’ को ‘द्ध’ लाई टुक्राउन नमिल्ने तर्क गरिएको पाइन्छ । तर, यस्तै प्रकृतिको संयुक्त व्यञ्जनलाई टुक्राएर लेख्ने प्रचलन पनि छ । जस्तो, ‘वाङ्मय’ भन्दा ‘वाङ्मय’ बढी प्रचलनमा छ, जबकि ‘वाच्’ को ‘च्’ पछाडिको ‘म’ को कारण ‘वाङ्’ भएको हो । कतिपय संयुक्त वर्ण स्पष्ट नदेखिने कारण फुटाएर लेख्न थालिएका पनि छन् ।
आगन्तुक शब्दका हकमा २०४० को शब्दकोश निर्माण गर्दा ‘सबै आगन्तुक शब्दहरूलाई नेपाली वर्णविन्यासअनुसार लेख्ने’ नीतिगत निर्णयलाई अनुसरण गरिएको थियो । प्रचलनमा आइसकेकाले  २०४० सालको शब्दकोशले ‘शहीद’ लाई कायम राखेको भए पनि पछिल्ला संस्करणले त्यसलाई हटाएर ‘सहिद’, ‘शहर’ लाई ‘सहर’ लेख्न थाल्यो । २०७२ को कोशले विकल्पलाई हटाउँदै जाने परम्परालाई सैद्धान्तिक आधार मान्यो । संस्कृतबाट लिइएका शब्दलाई ‘तत्सम’ मानेर त्यसको विन्यासलाई चाहिँ आजसम्म यथावत राखिएको छ । तर, संस्कृतबाट जस्ताको तस्तै नआएका शब्दहरूको हकमा भाषाविद्हरूबीच मतैक्य हुन सकेका छैनन् । एकथरिको मत छ, संस्कृतबाट जस्ताको तस्तै आएकालाई पो यथावत राख्ने, सबैलाई संस्कृतको नियम लगाउँदा नेपाली भाषाको मौलिकता हराउँछ । अर्काथरिको मत छ तद्भव भन्ने नै हुँदैन, शब्दको इतिहास मेट्नु हुँदैन ।
पछिल्लो समय नेपालीको भाषा वैज्ञानिक अध्ययन हुन थालेपछि केही तथ्य सार्वजनिक भएका छन् । जस्तै, नेपाली उच्चारणमा ह्रस्व र दीर्घको भेद छैन, ‘श’, ‘ष’ र ‘स’ को पनि भेद छैन, ‘ञ’ र ‘ण’ को उच्चारण संस्कृतको जसरी हुन सक्दैन आदि । संस्कृतबाट सोझै आएका शब्दबाहेक अन्य शब्दको हकमा नेपाली वर्णविन्यास लगाउने निर्णय गरेर प्रज्ञा– प्रतिष्ठानले पछिल्लो शब्दकोश प्रकाशित ग¥यो । यसले गर्दा प्रचलनमा रहेका केही शब्द प्रभावित भए ।  सबभन्दा बढी चर्चा ‘फूल’ शब्दको भयो– ‘चराको फुल’ र ‘चढाउने फुल’ मा अन्तर नदेखिएकोमा विरोध भयो । उच्चारणमा भेद नभए पनि लेखाइमा त थियो नि भन्ने आवाज चर्को रूपमा अगाडि आए ।
पदयोग र पदवियोगमा व्यक्तिको मध्यनामको बढी चर्चा भयो–  मध्यनाम जोड्ने कि नजोड्ने भनेर । अङ्ग्रेजी भाषाको प्रयोगको व्यापकताले मध्यनाम छुटाएर लेख्ने प्रचलन अत्यधिक बढेको छ । संशोधित प्रस्तावनाले लिपिचिह्न गन्ने आधार प्रयोगमा ल्यायो । लिपिचिह्न गनेर योग र वियोग गर्दा उस्तै प्रकृतिका शब्दहरू कतै जोडिए, कतै टुक्रिए । ‘राम प्रसाद’ वियोग भयो, ‘रामनाथ’ योग भयो । कतिपयले ‘राम नाथ’ वियोग गरेरै लेख्छन् पनि । नामयोगी, द्वित्वहरूमा पनि योग र वियोगको विवाद देखियो । सार्थक द्वित्व जोड्ने, स्वतन्त्र अस्तित्व भएका नामयोगीलाई छुट्ट्याउने जस्ता प्रस्तावनाहरू पछिल्लो संशोधनमा थिए ।  चौथो विवाद ‘हरू’ शब्दमा देखियो । २०६७ को गोष्ठीले यसलाई ह्रस्व बनाउने सुझाव दिएको थिएन । तर, आम प्रचलनमा ‘हरू’ दीर्घ हुन्छ भन्ने धेरैलाई थाहा छैन । नेपाली पाठसङ्ग्र्रह (नेपाली नेसनल कर्पस) बनाउन सन् १९९१ को आसपास प्रकाशित विभिन्न विधाका पुस्तकहरूबाट आठ लाख शब्द संकलन गरिएको थियो । त्यसमा नब्बे प्रतिशत जति ह्रस्व ‘हरू’ देखिएका थिए ! ‘र’ मा दिइने उकारमा ह्रस्व र दीर्घको भेदको बारेमा धेरै प्रयोक्ता स्पष्ट छैनन् । उच्चारणमा पनि ह्रस्व हुने भएकाले ह्रस्व प्रचलनमा ल्याउन खोजेको हुन सक्छ । तर, ‘विना म्यान्डेट’ को परिवर्तन भनेर चर्को आलोचना भयो ।
संशोधित प्रस्तावनाअनुसार पाठ्यपुस्तकहरू छापिए, त्यसैअनुसार पढाइ भएको पनि केही वर्ष भैसक्यो । प्रयोक्ताहरूको मागलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले आफूले पहिले गरेको निर्णय ‘खारेज’ गरेको बताएपछि एकप्रकारको अन्यौल सिर्जना भएको छ । प्रतिष्ठानले पहिले गरेको निर्णय पनि भाषाविद्हरूकै राय सल्लाहमा लागू भएको तथ्य बाहिर आएका छन् । भाषाविद्ले कहिले एउटा कुरा, कहिले अर्को कुरा गरिरहने कारण आम प्रयोक्ता मारमा परेका छन् । आज ठीक भनेको कुरा भोलि बेठीक भनिदिँदा त्यसबाट पर्ने नोक्सानीको भार कसले व्यहोर्ने यक्ष प्रश्न छ । शब्दकोशकै सन्दर्भमा पनि अब २०४० मै फर्कनुपर्छ भन्ने खालको कुरा आउन थालेको छ । २०४० साल यता गरेका संशोधन र सुधारका कारण भाषाविद्हरू दण्डभागी हुन्छन् त ? बेलाबेलामा गरेका गोष्ठी र त्यसका निर्णयहरू बदर हुन्छन् ? सबभन्दा ठूलो कुरा आम नेपालीभाषीले जानेको भनेको कुरा जति सबै ‘अशुद्ध’ भए ? पछिल्लो समय विद्यालयको पाठ्यपुस्तकलाई आधार मानेर पढे, पढाइएका कुरा अशुद्ध भए ? अहिले प्रतिपक्षमा उभिएका भाषाविद्हरू यो गोष्ठी र निर्णयसँग बेखबर थिएनन् ।
व्यक्तिगत प्रतिस्पर्धा, जस लिने होड, विद्वानको आवरणमा लुकेको अल्पज्ञान आदिको कारण सर्वसाधारण प्रयोक्ता कतिसम्म आक्रान्त भइरहने ? साँढेहरू जुध्ने र बाछाहरू सधँै मिचिइरहने ? भाषाको प्रवाह र परिवर्तनलाई इतिहासको दुहाई दिएर थुनछेक गर्ने प्रयास टिकाउदार हुँदैन । पानीले आफ्नो सतह आफैँ निर्धारण गर्छ भने जस्तो आम भाषा प्रयोक्ताले जस्तो प्रयोग गर्छ, त्यो आधिकारिक रूपले शुद्ध हो, न कि कुनै ‘पण्डित’ ले व्यासासनमा बसेर घोषणा गरेको उर्दी । भाषाविद्हरूको काम आम प्रयोक्ताले अनुसरण गरेको ‘नियम’ पत्ता लगाएर त्यसको उजागर गर्नु हो, निर्देशन गर्नु होइन । लेखाइमा एकरूपता ल्याउन के कस्ता तरिका अपनाउनुपर्छ, भाषा सहज र सरल ढङ्गले सिक्न, लेख्न कस्तो लेखनलाई प्रोत्साहित गर्नुपर्छ विज्ञजनले सुझाव दिन सक्छन् । व्यक्तिगत प्राथमिकता, व्यक्तिगत छनोटको प्रयोगशाला भाषाका प्रयोक्ता हुनुहुँदैन । प्रज्ञा–प्रतिष्ठानले भाषाविद्हरूको सहमतिमा लागू गरेको भनेको एउटा निर्णयलाई बदर र खारेज र परिवर्तन गर्न अर्को कुनै गोष्ठी, भेला पनि गरेन । भाषा जस्तो कुरामा लहड र दबाबमा निर्णय गर्न र त्यसलाई लागू गर्न कसकसले पाउँछन् ? यदि पहिले गरेको निर्णय गलत थियो भने त्यसको उचित कारणसहित आम प्रयोक्तालाई जानकारी दिनु यसको दायित्व पनि हो । साँढेहरू जुधिरहने, बाछाहरू चेपुवामा परिरहने अध्यायको अन्त्य हुनुपर्छ । प्रज्ञा–प्रतिष्ठानले निर्णय गर्दै, बदर गर्दै जान्छ भने यसको विश्वसनीयतामा शंका उठ्छ ।
मुख्य विवाद रहेको संयुक्त वर्णको हकमा जोडेर वा फुटाएर लेख्ने दुवै तरिका शुद्ध हुन् भने दुवैलाई प्रचलनमा ल्याउँदा भैहाल्थ्यो । प्रयोक्तालाई जुन सहज लाग्थ्यो, त्यही लिपिविन्यास प्रयोग गर्थे । शब्दकोशले विकल्पहीन तुल्याएका विन्यासलाई विकल्पयुक्त बनाएर पनि तत्कालको समस्या समाधान गर्न सकिन्थ्यो । यसो हुँदा शुद्ध र अशुद्धको छद्म युद्धको अन्त्य हुन्थ्यो । वास्तवमा, भाषा प्रयोगका नियमलाई अनावश्यक रूपले कठोर र अपरिवर्तनीय बनाउन खोज्नु भाषाको पक्षमा लाभकारी हुँदैन । नेपाली भाषाबारे निर्णय गर्दा यो भाषा आधाभन्दा बढी जनसङ्ख्याको दोस्रो भाषा र सरकारी कामकाजको पनि भाषा हो भन्ने कुरालाई पनि विचार गर्नुपर्छ । कठोर नियम र अनुशासनको कारण धेरैले ‘शुद्ध’ लेख्न सक्दैनन् भने उनीहरूलाई ‘शुद्ध’ लेख्न सक्ने तुल्याउनु विद्वानहरूको दायित्व हो ।

 

Leave A Comment