नरभूपाल शाहको मृत्युदिन

शनिबार, १८ मङि्सर २०७३, ०३ : ५२ प्रा. दिनेशराज पन्त , Kathmandu
नरभूपाल शाहको मृत्युदिन

रणबहादुर शाहको पालामा तयार भएको सम्पुट (ठ्यासफु) मा सं. १७९९ शा. १६६४ रामनवमि नरभूपाल मुक्त भया. पृथ्वीनारायण राजा भया भनी लेखिएको छ । यसैको आधारमा गणना गरी गोरखाका राजा नरभूपाल शाहको मृत्यु वि.सं. १७९९ चैत्र २५ गते भएको हो भनी निर्णय गरिएको छ । वि.सं. २०२५ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ४९९–५०० पृष्ठमा, वि.सं. २०३२ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ३३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको गोरखाली राजाहरूका राज्यकाल भन्ने लेखमा (त्यस पूर्णाङ्कका २८–३५ पृष्ठमा), वि.सं. २०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागको २४३ पृष्ठमा, वि.सं. २०४३ मा दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास तेस्रो भागको ८३८ पृष्ठमा, वि.सं. २०६४ मा काठमाडौँबाट खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको राजज्योतिषी लीलानाथ पाँडेले तयार पारेको तिथ्यावलीका १३, ४७ पृष्ठमा तथा वि.सं. २०६९ मा काठमाडौँबाट जङ्गी अड्डाद्वारा प्रकाशित त्रिरत्न मानन्धर, तीर्थप्रसाद मिश्र, दिनेशराज पन्त, कमलसिंह राठौर र भवेश्वर पंगेनीको नेपाली सेनाको इतिहासको ७ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भएता पनि अशुद्ध कुराको प्रचार पनि भइरहेछ । यसको उदाहरणको रूपमा वि.सं. २०७१ मा काठमाडौँबाट ब्रदर बुक्स प्रकाशन प्रा.लि.द्वारा प्रकाशित प्रेमसिंह बस्न्यातको नेपाली सेना लिगलिगकोटदेखि वर्तमानसम्मको २५ पृष्ठमा वि.सं. १७९९ पौष २५ गते बाबु नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह गोर्खाका राजा भए भनी लेखिएकोलाई देखाउन सकिन्छ ।
 
 

Leave A Comment