‘गायक र नायक बन्ने सपना छ’

शनिबार, १८ मङि्सर २०७३, ०३ : ४७ शुक्रवार , Kathmandu
‘गायक र नायक बन्ने सपना छ’

आत्मादेव लामा
बा. १ ज ५५३६


गुरुजीको घर कहाँ हो ?
मकवानपुर, भीमफेदी, जेलरोड ।
कहिलेदेखि यो पेशामा हुनुहुन्छ ?
२०६० सालमा लाइसेन्स लिएर चलाउन थालेको हुँ ।
कसरी यो पेशामा आउनुभयो ?
आमाबुबा इन्डियातिर तीर्थ जाने बेला गाडी चलाउने मान्छे देखेको थिएँ । त्यसैबेलादेखि मनमा गाडी चलाउने भूत पसेको हो । त्यसपछि जसरी होस्, गुरुजी बनेरै छाड्छु भनेर लागेँ ।
सुरुमै ट्याक्सी चलाउनुभयो वा अरू केही ?
सानै गाडीबाट सिकेँ । पछि हेभीको लाइसेन्स लिएँ । विदेशमा नौ वर्षजति चलाएँ । नेपाल आएपछि यो आफ्नै ट्याक्सी चलाउन थालेको छु । विदेश गएका बेला भाइलाई दिएको थिएँ यो ।
कुन देशमा चलाउनुभयो ?
कतार, कुवेत र इराकमा चलाएँ । कतार एयरवेजमा काम गर्दागर्दै छाडेर घर फर्किएँ ।
कमाईले पुगेर घर फर्किनुभयो वा अरू केही कारणले ?
पैसाले पुगेरै भन्नुपर्ला । खुसीविनाको पैसाको के भ्यालु ? विदेश छिरेपछि थाहा हुँदो रहेछ सब कुरा– मायाप्रेम, सुखदुःख, परिवार, आफन्त, गाउँघर अनि देश ।  
के थाहा भयो ?
पैसा मात्र सबथोक रहेनछ । घरपरिवार, छोराछोरीको भविष्य ख्याल गर्नुपर्दो रहेछ । परिवारसँग बसेर दुःखसुख गर्नुको मज्जा बेग्लै रहेछ । यस्तै सिकियो ।
देशबारे के सिक्नुभयो ?
नेतासेताको आश गरेर नहुँदो रहेछ । आफैँले परिश्रम गर्नुपर्दो रहेछ । सारा तन्नेरी बाहिर गएपछि देशको हालत के होला ? यस्तैयस्तै ।
अबको सपना के छ ?
गायक बन्ने । सकिएछ भने नायक पनि बन्ने हो ।
त्यसका लागि केही अभ्यास गर्दै हुनुहुन्छ कि ?
अभ्यासभन्दा पनि पैसै चाहिँदो रहेछ यहाँ । स्वर त ठीकै छ जस्तो लाग्छ । तर, चान्स पाइएको छैन । नायक बन्नका लागि दाइहरूको आश गरेर बसेको छु ।
दाइहरू भन्नाले ?
निश्चल बस्नेत दाइसँग राम्रो परिचय छ । ऋचा शर्मा, केकी अधिकारीले पनि मलाई चिन्नुहुन्छ । दयाहाङ दाइसँग पनि चिनजान छ । दाइहरूलाई भन्न सकेको छैन र पो । सानोतिनो रोल दिनुहोला भन्ने आशा मनमा छ ।
नेपाली फिल्म मन पर्छ ?
एकदमै । अचेल त राम्रो आशा जगाउने खाले गज्जबगज्जब नेपाली फिल्म बनिरहेका छन् ।
अहिलेसम्मकै मन परेको फिल्म ?
‘टलकजंग भर्सेस टुल्के’ । अनि, छ कक्षामा पढ्दा हेरेको ‘देउता’ पनि मनमा बसेको छ ।
नेपालमा ट्याक्सी चलाउँदाका दुःख के पाउनुभयो ?
पार्किङ छैन । पार्किङकै लागि महँगो फ्युल खर्चेर काँ–काँ पुग्नुपर्छ । मिटरमा पनि बार्गेनिङ गर्न खोज्ने चलन छ । विनाकारण दुःख दिन खोज्ने सिस्टम छ ।

Leave A Comment