विकासका काममा विवादैविवाद

शनिबार, १८ मङि्सर २०७३, ०३ : ४१ गोपाल दाहाल , Kathmandu
विकासका काममा विवादैविवाद

धरानलाई विकासको नमुना नगरका रूपमा चिनिन्थ्यो कुनै बेला । स्थानीय निकाय र समुदाय मिलेर सडक निर्माण गर्ने काम देशमै उदाहरणीय बन्यो । त्यसैले अझै पनि अन्य नगरले धरानलाई विकासमा नागरिक र सरकार एकजुट हुने नगरका रूपमा चिन्छन् ।
तर, एक दशकयता विकासमा एकजुट होइन, विकासका नाममा विवादैविवाद उत्पन्न भएको शहर बनिरहेको छ, धरान । पछिल्लो समय धरानमा भएका कार्यालयहरू अन्यत्र सारिदा चुपचाप बस्ने तर विकासका कुनै काम हुने भए विरोधमा उत्रिने प्रचलन बढेको छ ।
लाहुरे समुदायको बाक्लो बसोवास रहेको धरानमा विकासका काममा पनि उनीहरू नै अग्रसर थिए । आफ्नो घरअगाडि पैसा उठाएर सडक बनाउनेदेखि आफूले बनाएका सडक सरसफाई गर्नमा उनीहरू नै खटिन्थे । केही समययता लाहुरे समुदाय बेलायत जान थाले त्यससँगै धरानमा विकासमा विवादहरू देखापर्न थाले ।
२०७२ सालमा जर्मन दातृ संस्था जीटीजेड यूडीएलईको प्राविधिक सहयोगमा धरान–८ मा सुन्दरबस्ती निर्माण गर्ने योजना बन्यो । बसपार्क सहितको आधुनिक बस्ती निर्माण गर्न भनेर स्थानीयवासीको जग्गा एकीकृत गरियो । तर, त्यो जग्गा वितरण गर्ने बेलामा राम्रो जग्गा नगरपालिकाका केही कर्मचारीले आफ्नो नाममा पारेको भन्दै विवाद उत्पन्न भयो । विरोध चुलिँदै जाँदा योजना अलपत्र भयो । अहिलेसम्म पनि स्थानीयको एकीकृत गरिएको जग्गा त्यत्तिकै अलपत्र छ ।
त्यसपछि धरानको भानुचोकमा रहेको बसपार्क साँघुरो भयो भनेर बसपार्कको विकल्प खोजियो । बसपार्कमा राजनीतिक दलहरूको विवाद देखियो । एमालेले सुन्दरबस्ती योजनाअन्तर्गत धरान–८ मै बसपार्क निर्माण गर्नुपर्नेमा जोड दियो । नेपाली कांग्रेसले धरान–१६ मा बसपार्क निर्माण गर्नुपर्ने निर्णय ग¥यो भने माओवादीले धरान–१७ सप्तरंगी पार्क नजिकै बसपार्क निर्माण गर्नुपर्ने निष्कर्ष निकाल्यो । दलहरूबीच एकमत नहुँदा कतै पनि बसपार्क बन्न सकेन । अहिले भानुचोककै अस्तव्यस्त बसपार्क सञ्चालनमा छ । धरान–१५ मा गत वर्ष रात्री बसपार्क निर्माण गरिए पनि अझै व्यावहारिक रूपमा सञ्चालन हुन सकेको छैन ।
त्यसो त धरान–१७ डाँडाघोपामा एयरपोर्ट निर्माण गर्न भनेर स्थानीयवासीको जग्गा सस्तो दाममा अधिग्रहण गरियो । यति इन्कर्पोरेट प्रालिले एयरपोर्ट निर्माण गर्ने तयारी थाले पनि विवाद उत्पन्न भयो । एयरपोर्टको योजना पनि अहिलेसम्म अलपत्र छ ।
धरानमा लामो समयदेखि खानेपानीको अभाव थियो । विभिन्न अध्ययनले अझै पनि सर्दुजलाधारमा धरानलाई ३० वर्षका लागि पुग्ने पानी छ भन्ने देखाए । तर, खानेपानी संस्थानले पानी बढाउने, जलाधार संरक्षण गर्ने काममा लगानी गरेन । जलाधार अतिक्रमण बढ्यो । त्यसपछि एसियाली विकास बैंकको ऋण तथा अनुदानमा धरान खानेपानी परियोजना सुरु भयो । एडीबीको परियोजना सुरु हुनुअघिबाटै विरोध सुरुभयो । पटकपटक आन्दोलन भए, वार्ता भए । अन्ततः परियोजना आयो । बल्लबल्ल काम सुरु भयो तर विरोध कायमै छ ।
धरानमा पर्यटनको कुरा गर्ने धेरै छन् । तर, पर्यटकहरू आए घुम्ने ठाउँ खासै छैनन् । पर्यटनको विकासमा महŒवपूर्ण योगदान पुग्ने भन्दै धरान–२० मा पर्ने छोटीमोरङमा रहेको खाली जमिनमा १ सय ७५ फिट अग्लो बुद्धमूर्ति निर्माण गरी ‘थाउजेन्ड बिग बुद्ध’ बनाउने योजना आयो । धरान उपमहानगरपालिका र सूर्योदय बुद्धविहारले संयुक्त रूपमा सञ्चालन गर्ने गरी झण्डै एक अर्बको लगानीमा पर्यटकीय केन्द्र निर्माण गर्ने योजनाको पनि अहिले त्यसरी नै विरोध भइरहेको छ ।
धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा विवादैविवादले धरानको विकासमा ठूलो असर परेको बताउँछन् । विकासका काम गर्दा पछि विकृति आउँछ भनेर सुरुमै काम हुन नदिनु गलत भएको उनी बताउँछन् । धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्वो पटकपटक भएका विवादकै कारण धरान विकासमा धेरै पछि परिसकेको बताउँछन् । ‘यही क्रम जारी रहने हो भने धरान खण्डहर बन्छ । यसबारे धरानवासीहरू जागरुक हुन जरुरी छ,’ उनी भन्छन् ।

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17