हरिश अधिकारीका कविताहरु

शुक्रबार, १७ मङि्सर २०७३, १० : १० शुक्रवार , Kathmandu
हरिश अधिकारीका कविताहरु

पर्खालहरू

सदियौँ पुराना
जीर्ण पर्खालहरू
लडाउने, भत्काउने र पन्छाउने काम
हामीले पर्खालहरूलाई नै सुम्पिएछौँ—
नयाँ पर्खालहरूलाई

जो नयाँ हुनुकै दम्भमा
नयाँनयाँ रङमा
खूब ठाँटिएर ठडिएका छन्
ती पुराना पर्खालभन्दा पनि
बहिरा बनेर ।

फोसिल

आवेगको हातमा जिन्दगी
सुम्पिएर हिँडेको ऊ

आज यही समाजको पत्रमा
चेपिएर फोसिल बनेछ

अति प्रज्वलनशील, सायद
थाहा छैन उनीहरूलाई !

सानो शहर र ठूलो शहर

साँघुरिँदै गरेको ठूलो शहरबाट
गाँउ छिरेँ

खै कता हो कता
दुईचार वर्षमै
गाँउ त सानोसानो
शहर पो भएछ

फैलँदै गरेको नागबेलीजस्ता
बाटैबाटा
घरैघर

मौलाउँदै गएको वनमाराले जस्तो
खाएछ
ती लमतन्न
धानबारीका गराहरू
सप्पै सप्पै
उदेकलाग्दो प्लटिङले ।
 

Leave A Comment