कमेडीमय देश

शुक्रबार, १७ मङि्सर २०७३, १० : ०३ ईश्वर दाहाल , Kathmandu
कमेडीमय देश

देशमा कमेडीको व्यापार मालामाल छ । सिंहदरबारभित्रको कमेडी, कोटेश्वर हबेलीको कमेडी, सानेपा दरबारको कमेडी र धुमबाराही महलको कमेडी देशका प्रमुख र चर्चित कमेडी हुन् । जताततै कमेडी नै कमेडीको कारोबार छ । लोकलाई खुशी र सन्तुष्ट बनाउन बेलाबेलामा बाबा रामदेवको त पाउकष्ट हुन्छ भने यहीँ उपलब्धहरूले दुःखी नेपालीलाई मनोरञ्जन दिनु स्वाभाविकै हो । कमेडियनहरूको आ–आफ्नै शैली र भूमिका छन् । सभापित देउवा आफ्नो रोलअनुसार भन्नुहुन्छ, ‘मधेशलाई अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्छ ।’ उता चन्द्र भण्डारीको आफ्नै रोल छ । रोलले निर्दिष्ट गरेको डाइलगअनुसार उहाँ भन्नुहुन्छ, ‘जनताभन्दा पार्टी माथि हुँदैन । संशोधन गरे ठीक हुँदैन ।’ कमरेड प्रचण्ड प्रधानमन्त्री अर्थात् मुख्य कमेडियनको रोलमा हुनुहुन्छ । सजिलोका लागि हिरोकै रोल भन्न सकिन्छ । उहाँले सम्पूर्ण सामथ्र्य संविधान संशोधनकै लागि लगाउनुभएको छ । तर, आफ्नै अध्यक्षको रोल टोपबहादुर कमरेडलाई मन परेको छैन । मन परोस् पनि कसरी ? उहाँको भागमा जस्तो रोल र डाइलग छ, त्यसमा अध्यक्षको रोल र डाइलग एकरत्ति मेल खाँदैन । घोषित रूपमै एउटै मिसन र कित्तामा उभिएका मधेशी मोर्चामा पनि अभिनेताअनुरूप आ–आफ्नै स्टाइल छ । महतोको आफ्नै रोल छ । उपेन्द्र यादवको आफ्नै रोल छ । यी विभिन्न कमेडियनका तौरतरिकाका अभिनय र संवादहरूले नेपाली जनतालाई दिनुसम्म मनोरञ्जन दिएका छन् ।
मेरो टोलमा एकजना मनुवा छन् । चिन्नेहरू उनलाई राजनीतिको जानकारका रूपमा चिन्छन् । सजिलोका लागि उनलाई हामी कमेडी समीक्षक पनि भन्न सक्छौँ । किनकि, नेपालमा राजनीति हुने भए पो उनलाई राजनीतिक विश्लेषक भन्नु ? यहाँ त हुने भनेकै कमेडी हो । एक बिहान प्रातः भ्रमणको क्रममा समीक्षकले भने, ‘बुझ्नुभो मित्र, एउटा ठूलो टर्निङ प्वाइन्टको सम्भावना देखिँदैछ ।’
‘के भयो त्यस्तो ?’ मैले सोधेँ ।
‘प्रधानमन्त्री निकै आक्रामक बन्लान् जस्तो छ ?’
‘कसरी ?’
‘प्रधानमन्त्रीले आफ्नो नाम बिगारेर पुष्पकमल लेख्ने पत्रकारहरूलाई थर्काएछन् नि ।’
‘थर्काएको होइन । नाम जे हो त्यो लेखिदिनुप¥यो भनेर आग्रह पो गरेका हुन् ।’
‘ल तपाईं पनि,’ मित्रले मलाई सम्झाउँदै भने ‘कुरो स्पष्ट छ । अब प्रचण्डले आफ्नो रोल परिवर्तन गर्नेछन् । पुष्पकमलले पुरानै प्रचण्डको अभिनय गर्नेछन् । हिजो प्रचण्डको अभिनय रहँदा अवस्था कस्तो थियो ? ती बेलाका दिन, एकपटक सम्झनुस् त । प्रचण्डको नाम सुन्दा सिंहदरबारको पनि मुटु काम्थ्यो । तर, पछिल्ला दश वर्षको पुष्पकमल रोल सुपरफ्लप भयो । अब उनी प्रचण्डकै रोलमा फर्किए भने ठूलै उथलपुथल हुन सक्छ । यसो हेर्दा उनी उथलपुथलकै पक्षमा लाग्लान् जस्तो देखियो । नत्र दशदश वर्षसम्म सारा संसारले पुष्पकमल देख्दा, लेख्दा र बोल्दा हुने तर आज उनलाई किन प्रचण्ड चाहियो ? कुरो गम्भीर छ ।’
समीक्षक मित्रको भनाइमा मैले कुनै प्रतिक्रिया दिइनँ । एक हदसम्म त उनी ठीकै थिए । यी नेताहरूले देशमा परिवर्तन गर्छु भने पनि कहिल्यै गर्ने होइनन् । यिनीहरूले गर्ने भनेकै रोल परिवर्तन हो । हिजो उनीहरू बागीको रोलमा थिए, जनताको अधिकार र हितको कुरा गर्थे । आज शासक छन् । आफ्नो हित र रक्षाको कुरा गर्छन् ।
राजनीतिरूपी कमेडीले मात्र नपुगेर कला, साहित्य, सञ्चार र रंगमञ्चहरूमा पनि कमेडीको बोलवाला छ । टेलिभिजन च्यानलहरूमा कमेडी कार्यक्रम नै उच्च स्थानमा छन् । यस्तै एउटा चर्चित कार्यक्रममा राष्ट्रवादी नेतालाई आमन्त्रण गरिएको थियो । पछिल्लो समय राष्ट्रवादी नेताका रूपमा दमदार हास्य अभिनय गरिरहनुभएका नेताको विगतको अभिनय शैली भने अलि पृथक् थियो । उतिबेला उहाँको अभिनयमा दक्षिणी प्रभाव पर्ने गरेको विश्वास गरिन्थ्यो । तर, आज भने उहाँ पूरै राष्ट्रवादी ध्रुवमा हुनुहुन्छ । आखिर कलाकार भएपछि समय, परिस्थिति र कथाले जस्तो रोल माग्छ, उसमा खरो उत्रनु पेशागत धर्म नै हो ।  
‘अध्यक्षज्यू, दर्ता भयो त ।’ कार्यक्रम सञ्चालकले राष्ट्रवादी अध्यक्षलाई सोधे । ‘के दर्ता भयो ? मैले त कुरो बुझिनँ ।’
‘संशोधन । के हुनु नि । रातारात गरेर दर्ता गराइछाडे । यसमा तपाईंको के धारणा छ ?’  सञ्चालकले मुस्कुराउँदै सोधे ।
‘मेरो के धारणा हुनु नि । केही छैन । तैपनि शनि र राहुले पिरोलेपछि मान्छे रातबिरात चलमलाउँछ भन्ने सुनेको थेँ । मलाई हो जस्तो लाग्यो । संशोधन दर्ताकारहरूलाई पनि शनि र राहुले घेरेको स्पष्ट छ ।’
 ‘कसरी नि ?’
‘कुरो बुझ्न टाउको कन्याउनैपर्दैन । जिम्मेवार प्रतिपक्ष छ । प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्छ ।’
‘यसमा शनि र राहु कताबाट आयो ?’
‘प्रतिपक्ष खनिएपछि शनिले समातेभन्दा चर्काे पर्नेछ । हामी संशोधन प्रस्ताव पास हुन दिँदैनौँ । देशलाई विखण्डन हुनबाट बचाउँछौँ ।’
‘तर, तपार्इंहरू आफ्नो अडानमा टिक्नुहुन्न भनिन्छ नि ?’ सञ्चालकले सोधे ।
‘कसले भनेको ?’ राष्ट्रवादी अध्यक्ष जंगिए, ‘हामी कहिले टिकेनौँ ? हाम्राविरुद्ध दुष्प्रचार भइरहेको छ ।’
‘तपाईंहरूले हिजो प्रतिगमनलाई पनि आधा सच्याउनुभयो । ठेलगाडा चढेर अमेरिका जान सकिँदैन भन्नुभयो । त्यही भएर मानिसहरूले शंका गरेका होलान् ।’
‘सधँै गीता पढेर हुँदैन । हिजो गीता पढ्नुपर्ने बेलामा गीता पढियो । अस्ति माक्र्सवाद पढ्ने बेलामा माक्र्सवाद पढियो । आज राष्ट्रवाद पढ्ने बेलामा राष्ट्रवाद पढिन्छ । यसमा कसैले शंका नगरे हुन्छ । कुन बेला के चाहिन्छ ? सोअनुरूप हामीहरू अगाडि बढ्छौँ ।’
सञ्चालकले अन्त्यमा सोधे, ‘अध्यक्षज्यू, संशोधन प्रस्ताव त दर्ता भइसक्यो । अब तपाईंहरूको आगामी कदम के हुन्छ ?’
‘कदम उचालेपछि थाहा हुन्छ,’ अध्यक्षले आफ्नो सुपरिचित रमाइलो शैलीमा भन्नुभयो, ‘खुट्टा उचाल्दै नउचालेको अवस्थामा कदम यस्तै हुन्छ भनेर कसरी भन्ने ?’
राष्ट्रवादी अध्यक्षसँगको संवादबाट तपाईंले के बुझ्नुभयो ? त्यो तपार्इंकै जिम्मा । आखिर कमेडीमा बुझ्ने भन्दा रमाइलो मान्ने जो गरिन्छ ।

 

Leave A Comment